Jan 30, 2008

ढोल (केलाङ्ग) नाचको उत्पति

राजेश राई
परापूर्व कालमा एउटा परिवारमा दाजु वहिनी वस्दथे । दाजुको नाम तिगेब्जङ हाङवा र बहिनीको नाम इत्नासो सरहाङमा -खापुना मरङना ) थियो । उनीहरु एक आपसमा ज्यादै मिलेर बसेका थिए । तिगेब्जङ हाङबा शिकारी थिए । उनको पेशा नै शिकार मार्ने थियो । उनका हरेक दिनहरु शिकार गर्नेमा नै बित्दथे । वहिनी इत्नासो सरङहाङमा पनि दाजु सँगै शिकारमा जाने गर्दथिन् र दाजुलाई पछ्याउदै जंगलमा उनी पनि जाने गर्दथिन् । यसरी दाजु बहिनीको दिनचर्या शिकार पकार गर्दै वितीरहेको थियो र यहीक्रममा एकदिन तिगेब्जङ हाङबा शिकार खेल्न गए सँगै बहिनी पनि गएकी थिइन् । त्यो दिन बहिनी इत्नासो सरङहाङ अलि पछि परेकी थिइन् । दाजु शिकार खेद्दै निकै अगाडि पुगीसकेका थिए भने उनी पछाडि तिर्खाले छट्पटीदै दाजुलाई पछ्याईरहेकी थिइन् र तिर्खाले छट्पटीदै दाजुलाई पछ्याइरहेकी थिइन् । तिर्खाले ज्यादै सताएपछि उनीले पानी खोज्न थालिन् । पानी खोज्दै जाने क्रममा एउटा खोविल्टो परेको ढुंगामा पानी -लथुङ पाक्वा च्वात ) भेटाइन् । तर त्यो पानी नभएर बाघको पिसाव थियो । उनीले त्यही खोविल्टाको पानी पिइन् तर उक्त पानीले उनको प्यास मेटिएन । उ तिर्खाले ज्यादै ब्याकुल थिइन् । खोविल्टाको पानीले तिर्खा नभेटिएपछि फेरी पानी खोज्न थालिन् । पनुः पानी खोज्दै जादा एउटा रुखको टोड्कामा पानी भेर्टाईन् । त्यही टोड्काको पानी -सिभङ पाक्व च्वात ) पिइन् । तर उक्त टोड्काको पानी नभएर उनको दाजु तिगेब्जहाङबाको पिसाव थियो । त्यसपछि उनको पानीको प्यास भेटियो । यसरी पहिलो चोटी बाघ र आफ्नो दाजुको पिसावले तिर्खा भेटाएपछि उनी दाजु भएको तिर नलागी आफ्नो बाटो लागिन् । पिसाव सँग विर्य पनि मिसिएकोले उनी गर्भवती बनिन् । बाघ र दाजुको विर्य पिएकोले उनीले जुम्ल्याहा बच्चा जन्माइन् । इप्नासो सरङमाका र्दुवटा छोरा जन्मिए । जसमा जेठा छोरा बाघको स्वारुप लिएर जन्मीए भने कान्छा छोरा मान्छेको स्वारुप लिएर जन्मीए । उनीले जेठा छोराको नाम केसमी -बाघ) र कान्छा छोराको नाम नामसामी -मनुष्य ) राखे । इप्नासो सरङमाले आफ्ना दुइ छोराको हेरचाह गर्दै समय विताउन थालिन् । उनकी दुइ जुम्ल्याहा छोरा कसमी र नामसामी एक आपसमा ज्यादै मिल्ने गथ्र्यो । उनीहरु सँगै वस्थे सँगै खाने सँगै खेल्ने गर्दथे । एक आपसमा एकले अर्कालाई ज्यादै सहयोग गर्दथे केसामी को दुःखमा नामसामीले , नामसामीको दुःखमा केसमीले सहयोग गर्दथे । यसरी प्रगाढ सम्वन्धमा उनीहरुको आठवर्षवितीसकेको थियो । यही क्रमा एकदिन अर्थात आठवर्षो उत्तराद्धतिर एकदिन नामसामीले किरा, छेपारो, माउसुली जस्ता विभिन्न किसिमका जिव जन्तुहरु मार्न थाले । जति यस्ता जिव जन्तुहरु मार्दै गए त्यती नै दाजु केसामीले खान थाले । यसरी यस्ता किरा,फट्यङग्रा, जिव जन्तु खाएको देखेपछि नामसामी अच्चम्ममा परे, उसलाई ज्यादै घिन लागेर आयो र उनले दाजुलाई भन्यो- "दाजु, यस्ता फोहोर जन्तुहरु किन खानु भएको , तपाईलाई घिन लाग्दैन ।" नामसामीले यो प्रश्न गरेपछि केसामीलाई ज्यादै रिस उठ्यो । उनी आक्रोशित भएर भाईलाई पनि खान खोज्दै झम्टीयो । यसरी दाजु केसामीले खान खोजेपछि आमाकहाँ गएर सवै कुरा सुनाए । दाजु केसामीले नामसामीलाई खान खोजेको कुरा थाहा पाएपछि आमाले दुवैजनालाई भनिन्-" अव तिमीहरु सँगै खेल्न नजानु केसामी उत्तर तर्फसिङयोक मदेन) जादा नामसामी दक्षिण तर्फ-तिमेन सेगा) जानु यदि तिमीहरु सँगसँगै गयौ भने तिमीहरुलाई कारवाही गर्छु ।" त्यसदिन देखी उनीहरु आमाले भने झै दाजु उत्तर तिर जादा भाई दक्षिण तर्फभाई उत्तर तिर जादा दाजु दक्षिण तर्फखेल्न जान थाले । केहिदिन यसरी फरक-फरक दिन गएता पनि केही समयपछि दाजु केसामीले भाईलाई खोज्न थाले । केसामीले आमालाई भाइको वारे सोध्न थाले । तर आमाले नामसामी उत्तर गएको वेला दक्षिण र दक्षिण गएको बेला उत्तरतिर गएको छ भनिन् । केसामीले भाईलाई खोज्दा कहिल्यै भेट्न सकेन, यसरी भाईलाई नभेटेपछि आमाले आफूलाई छलेको महसुश गरे । आमाले भनेको दिशातिर नभेटेपछि उनी आमादेखी नै रिसाएर आमालाई भन्यो-" आमा ! भाई कुन दिशातर्फखेल्न जान्छ, सत्य कुरा भन्नुहोस्, नत्र म तपाई खान्छु । " केसामीले आमालाई यसरी धम्की दिएपछि आफ्ना कान्छा छोरा नामसामीलाई सवै कुरा बताइन् । नामसामी दाजुको यस्तो क्रुरता देखी ज्यादै आक्रोशित बने । दाजुको क्रु्रता विरुद्ध लड्ने संकल्प गरी फेन्लेरेे फेन्थतीहाङ कहाँ गएर नौ वटा फलामको धनुवाण वनायो । जसमा पहिलो वनाएको बाण टुक्रे -लेखेव्पा तोङ) थियो । उनले नौ वटा वाण तयार गरेपछि ताप्लेजुङ्ग जिल्लाको तमोर खोला स्थित पाङवादेन भन्ने ठाउँमा रहेको ठूलो सिमलको रुखमा नौतला खोपेर चाङ्ग बनायो । यसरी नौवटा धनुवाण बनाइसके पछि आफ्ना आमा कहाँ गएर भने " आमा आज मेरो दाजूसँग युद्ध हुदैछ दाजूलाई पाङवादेन भन्ने ठाउँमा पठाइदिनु त्यहाँ हाम्रो युद्ध हुन्छ त्यसैले मेरो नाममा सेकमरी पुङसरी र दाजुको नाममा आन्दङफुङ सरी -बाबरी फूलको कलस) राख्नु यदि म मरे भने मेरो नाममा राखेको कलस ओइलिएर जान्छ र दाजू मर्‍यो भने दाजुको नाममा राखेको कलस जान्छ । यति भनेर नामसामी दाजुसँग लड्न युद्ध स्थल लागे । " नामसामीले भने उनीकी आमाले केसामीलाई पनि युद्धस्थल तिर पठाइन् । नामसामी युद्ध स्थल पाङवादेनमा पुगेर धनुवाण लिएर सिमलको रुखमा नौ तलामाथि चाङ्गमा तयारी अवस्थामा बसे । केही समयमै केसामी पनि त्यहाँ आईपुगे । दाजु आइपुगेपछि नामसामीले नौ तलामाथि चाङ्गबाट धम्की दिदै भन्यो " मलाई खाने भए त्यो चाङ्गमाथि आउनु " केसामी पनि भाइको कुरा सुनेपछि चाङ्गमाथि चढ्न थाल्यो । नामसामीले केसामी जति तला माथि चढ्यो उति धनुवाणले केसामीलाई धनुवाणले हान्यो । तर अन्तिम तलासम्म माथि चढ्दा सम्म केसामीलाई वाणले लागेन । अन्तमा नामसामीको हातमा एउटा टुक्राबाण -लखेत्पातुङ) मात्र नामसामीको हातमा रह्यो । नामसामी अत्यन्तै नरभस भए । अव दाजुले खाने नै भयोे भनेर दाजुसँग भने -"आँखा चिम्म पारेर बस्नु म आफै उफ्रेर त्रि्रो मुखमाथि झर्छु मलाई खानु" भाईको कुरालाई मान्दै केसामीले आँखा चिम्लेर मुख आँ पारेर वसे । केसामीले आँखा चिम्लिएपछि नामसामीले आफूसँग भएको एउटा वाणले हान्यो उक्त टुक्रेबाणबाट ठूलो बिजुली चम्कीयो एकैछिन ठूलो बिजुली चम्किएर तुरुन्तै केसामीको मुखभित्र गाडिन पुग्यो । वाणले लागेपछि केसामी आठ तलाबाट गर्ल्याम्म भूइमा झर्‍यो केसामी सिमलको रुखबाट लडेर झर्दा एक पट्टीको हाँगा पनि लाछेर झार्‍यो आज भोलि पनि सिमलको रुखमा एकापट्टी हाँगा हुदै त्यही केसामीले लाछेर झारेको हुनाले नभएको हो भन्छन् बुडापाकाहरु । केसामी भुइमा लडेर झरेतापनि नामसामी मरेका छैनन् भन्ने डरले रुखमा नै बसीरहे । ८ दिनसम्म नासामी सिमलको रुखमा बसीरहे , आठदिनमा केसामीको नाकबाट हरिया झिंगा निस्की उड्दै नामसामीको नाकमा वस्न आइपुग्यो । उक्त झिगा उनलाई ज्यादै गनायो । उक्त झिंगा गनाएपछि केसामी मरेको हो भन्ने निश्चित भएपछि उ सिमलको रुखबाट तल झर्‍यो । त्यसपछि नामसामीले दाजुको छाला काढेर मजेत्रो बनाए । त्यही छालाको मजेत्रो ओढेर उनी तिब्वत तिर गयो । नामसामीले बाघको छाला काढेको देखेर त्यहाका मान्छेहरु पनि खुसी भए । नामसामीलाई पुरस्कार बापत मेल्लुकको बोसो दिन पठाए । उनी तिब्बतबाट फर्केर मधेसतिर लागे । मधेसका मान्छेहरु पनि बाघको छाला ओढेको देखेर खुसी भएर नामसामीलाई पुरस्कार बापत नून दिएर पठाए । नामसामी दाजूको छाला ओढेर भोट मधेस गर्दा पनि छाला नसुके पछि आमा भएको ठाउँमा पुगे । नामसामीले आमा कहाँ गएर युद्धमा आफ्नो जित भएको सुनाए । केसामीको मृत्युको समाचार ले आमालाई ज्यादै स्तब्ध बनायो छोराको सम्झना गर्दै बिलौना गरिन् । नामसामीलाई दुखित हुदै भनिन् " तिमीहरु दुवै मेरा सन्तानहरु हौ । एउटै कोखबाट जन्मिएका हौ, मलाई सबैको बरावरी माया लग्छ त्यसैले त्रि्रो दाजुको मृत्युमा तिमीले १० दिनसम्म नुन तेल बार्नुपर्छ " नामसामीले पनि आमाले भने जस्तै नुनतेल बार्न थाले केसामीको सम्झनामा अन्य छिमेकीहरुले पनि नुन बारे । १० दिन पश्चात आमाले नासामीलाई सिङयोक मदेनबाट मेल्लुकक स्रोत र तिमेन आरङबाट अदुवा र नुन ल्याउन लगाई मुखमा चोख्याउन लगाइन् । आज सम्म पनि लिम्बु किरातीसमाजमा मरेको बेलामा मुख वार्ने प्रचलन छदैछ । यो प्रचलन त्यही बेलादेखी चलिआएको बिश्वास राख्छन् किराती लिम्बुहरु । यति गरेर पनि आमा इप्नासो सरहाङमा छोराको मृत्युले दुखित बनी रहिन् आमाको पिर दुख हटाउन उनले दाजुको छाला काढेर च्याब्रुङ बनाए । आमाले पनि सोही गर्न लगाए । नामसामीले बनाएको च्याब्रुङ बजाउदा बाघ जस्तै गरी बज्ने भयो दाजुको सम्झना गर्दै उक्त बाजाको नाम दाजुको नाम केसामीबाट के अर्थात ढोल राखे -लिम्बु भाषामा के को अर्थ ढोल हुन्छ ) यसरी केसामीको छालाबाट च्याब्रुङ बनाए त्यही के ढोल बजाएर लिम्वुहरु नाच नाच्न थाले । त्यही नाचलाई केलाङ्ग भन्न थालियो । यस्तै त्यही समयमा त्यही गाउँको एउटा परिवारमा लोकफालेम्बा हाङतेन्वा भन्ने दाजुभाई बस्दथे ती दाजु भाइको एउटी बहिनी सापरी चेन्परी हाङनन नाम गरेकी एउटी चेली थिइन् । उनले एकदिन बदेलले घर बनइराखेको देखिन् त्यो देखेपछि उनले आफ्ना माइतीहरुलाई पनि घर बनाउने सल्लाह दिइन् । बहिनीको सल्लाह बमोजिम उनीहरुले घर बनाउने सोच गरी खम्बा ल्याए । खम्बा ल्याएर घर बनाउनको निम्ती खाडलमा गाड्न खोजे तर खम्बा गाडदै गाडिएन खम्बा जति गाडे पनि गाडिएन त्यसपछि दाजुभाइ हैरान परे केही छिनपछि आकस्मत खम्बा बोल्यो " म तिमीहरुले गाड्दा गाडिन सक्दिन तिमीहरुको बहिनी अएर मलाई उचालिन भने मात्र गाडिन्छु । खम्बाले यस्तो कुरा भनेपछि दाजुभाइले बैनीलाई आग्रह गरे । त्यसबेला उनीले केश कोरीरहेकी थिइन् । आफ्नो काइयोलाई केशमा सिउरेर उनी खम्बा गाड्नका लागि आइन् । आएर खाबो उचाल्न लाग्दा अचानक उनको काइयो खाल्डोमा र्झन पुग्ग्यो । काइयो खाल्डोमा झरेपछि उनले दाजुहरुलाई खाम्बा थेाग्न लगाएर काइयो टिप्न खाल्डोमा निहुरिन् त्यह बिेला अचनाक खाबो खाल्डोमा झरेर बहिनीको टाउको किच्यो । उनीहरुका बहिनी त्यही खाल्डोमा मरिन् ।उनी मरेपछि उनीहरु ज्यादै दुखित बने खाल्डोमा बहिनी मरेतापनि बहिनीको चाहना घर बनाउने भएकोले बहिनीको सपना पूरा गर्न दाजुभाइले त्यही घर बनए । त्यही समयमा नामसामीले दाजु केसामीको स्मृतिमा बनाएको के ढोल को गुरु केलाङ्ग ढोल नाचको एक जना गुरु मान्छे थिए । लोकफातेम्बा र हाङफातेम्वाले घर बनाइसकेको थाहा पाएपछि खाक्थाङ्ना हाङबा चाफुक्चा नाम गरेकी एकजना केटीलाई अगडि लगाएर उनीहरुको घरमा आएर नाच्न थाले । दाजुभाइ बहिनीको मृत्युले शोकाकुल भएर बसी रहेको अवस्थामा खाथुक्वा हाङवा आएर नाच्दै खुशी मनाएको देखेर सिरले चुर भई दाजुभाइले उनीहरुलाई कुटेर खेद्न खोजे खाथुक्वाले पिटाइ खाएपछि रिसाउदै भने रिसाउदै भने- " ठिकै छ तिमीहरुले हामीलाई कुट्यो । हामी त तिमीहरुको घरमा धमिरा झार्न आएको मात्रै थियौ अव तिमीहरुको घर धमिराले ढाल्छ ।" यति भनेर उसले आफ्नो बाटो ततायो उसले भने झै केही दिनमा नै धमिरा लागेर उनीहरुको घर ढल्यो । उनीहरुको घर ढलेपछि फेरी बनाउने बिचार गरे नयाँ घडेरी तयार गरी लदेहाङ र फुङदेहाङ नाम गरेको दुइजना कर्मीहरुलाई बोलाएर घर बनाउने थाले । पुनः अर्को घर बनाइ सके पछि पहिले कुटेर खेदाएको खाथुक्वा हाङवालाई फकाएर धमिरा हटाउन डाके । त्यसपछि सबै मिलेर नयाँघरमा धुमधाम केलाङ अर्थात च्याबु्रङ नाचको शुरुवात भएको मानिन्छ । लिम्वु समाजमा केलाङ्ग -च्याब्रुङ्ग) विभिन्न नामले चिनिन्छ । बिशेष गरी केसामीको स्मृतिमा बनाइएको के अर्थात ढोल बाट शुरुवात भएको नाच हुनाले यसलाई केलाङ नाच अर्थात ढोल नाच भनिन्छ । यसरी सुरुवात भएको केलाङ नाच आज लिम्बु संस्कृतिको एउटा महत्वपूर्ण र प्रमुख नाचको रुपमा नाचिदै आएको छ । बिभिन्न अवसरमा नानिचे यो नाच समग्रमा आदीवासी जनजातीहरुको महत्वपूर्ण मौलिक संस्कृतिको रुपमा चिनिन्छ, त्यति मात्रै नभए विश्वमा नेपालको लोक संस्कृतिको पहिचान दिनमा महत्वपूर्ण भूमिका रहेकोछ ।
स्रोतहरुः- ताप्लेजुङ्ग, पाँचथर, लिम्वुका मुन्दुम साँवा, फेदाङ्मा -पुजारीहरुसँग भएको कुराकानी ।
भोजपूर, हाल धनकुटा

No comments: