Apr 30, 2008

नयाँ नेपालका नयाँ चुनौतिहरु

गोपाल दाहाल
नयाँ नेपाल निर्माणका लागि,नयाँ संविधान बनाउन गरिएको संविधानसभाको निर्वाचनमा नयाँ राजनीतिक दल नेकपा माओवादी, विज्ञ विश्लेषकहरुका विश्लेषणहरुलाई असफल गराउदै र आफ्नै आँककलनमा समेत फेल हुदै संसारलाई नै चकित पारेर नेपाली राजनीतिकै ठुलो दलका रुपमा स्थापित हुने क्रममा छ । नयाँ बर्षको बेलामा नयाँ इतिहास रचेको माओवादीले नयाँ बर्षको खुसीयाली सँगै विजय उत्सव मनाईरहेको छ । यसअघिका मितिमा तोकिएका निर्वाचनमा समेत जाउँ कि नजाउँ भनेर डराईरहेको माओवादीले अहिलेको चुनावको संघार सम्मपनि आफ्नो पार्टीले यतिविधि मत र सिट ल्याउँछ भन्ने विश्लेषण गरेको भए सायद एमालेसँग तालमेलको हात पसार्ने थिएन । र आफुले हारेमा पुन बबाल गछौर्ं भन्ने आवाज निकाल्ने थिएन । एमालेले साचेको थियो, गाउँगाउँमो दिएका दुःखका कारण जनताहरु माओवादीसँग विच्किएका छन् । शहरी क्षेत्रका आफ्ना कार्यकर्ताप्रतिवद्ध छन् चलमलाएका छैनन् । जीत एमालेकै पक्का छ । माओवादी त तेस्रो स्थानमा मात्र आउँछ । यहि अनुमान लगाउदै जनताको चाहना र माग विर्सेर एमाले कोठामा बसेर आफ्ना पकेटका भोट गन्दै ' लालकिल्ला' कायम रहनेमा ढुक्क मात्र होइन 'ओभर कन्पिmडेन्ट' भयो । काँग्रेसको दाउ दुई ठुला वाम पार्टी माओवादी र एमाले लडेपछि भोट काटाकाट हुन्छ,जीत्ने चै काँग्रेस नै हो र सायद काँग्रेसले बहुमत ल्याउन सक्छ भन्ने थियो । विभिन्न क्षेत्रका र स्वतन्त्र अधिकांश विश्लेषकहरुलेपनि माओवादीले अहिलेको जस्तो चुनावी परिणाम ल्याउला भन्ने विश्लेषण गर्न सकेका थिएनन् । त्यसकारणपनि यो चुनावी सुनामीदेखि अरु त अरु स्वयम माओवादीसमेत आश्चर्य चकित भएको हुनुपर्छ । माओवादी अध्यक्ष प्रचण्ड यतिबेला सोचिरहेका होलान् -हाम्रो निती, नारा र नयाँ विचार नेपाली जनताले छर्लङ्ग बुझेछन् र त भोट दिए । केहि हद सम्म यो सोचपनि सही नै हो तर त्यो भन्दा बढि सहिकुरा चै के हो भने, नेपाली जनताले धेरै बर्षदेखि परिवर्तन खोजिरहेका छन् । परिवर्तनकालागि जनताहरु अधर्य बनिसकेका छन् । यसअघि काँग्रेस र एमालेलाईपनि जनताले यसरी नै केहि गरिहाल्ला कि भनेर अमुल्य मतदानगरी माथि पुर्‍याएका थिए । जनताहरु उनिहरुका पक्षमा उभिएका थिए तर प्रजातन्त्र र बहुदलिय व्यवस्थाको यत्रो बर्ष सम्मपनि यि दलबाट जनताले सोचे अनुरुपको व्यवहार नभएपनि, तीनिहरुको विकल्पका रुपमा अर्थात् यसले पो केहि राम्रो गरिहाल्ला कि भनेर माओवादीमा आफ्नो मत दिएर विजयी बनाएका छन् ।माओवादीले यति धेरै मत पाउनुका पछाडि अन्य कारणहरुपनि छन् । यि कारण मध्येको अर्को ठुलो कारण नेपाली जनता एक दशक भन्दालामो द्वन्द्वदेखि सारै विचलित भएका छन् । माओवादीले चुनाव अघिदेखि नै आफुले नजिते विद्रोह गर्ने बताउदै आएपछि, जनतालाई माओवादीले हारेभने फेरि बबाल गर्छन् र पहिला जस्तै दुख व्यहोर्नुपर्छ भन्ने लागेको थियो । त्यसकारणपनि कति जनताले त फेरि हात्या,हिंसा र दुख खप्नु भन्दा माओवादीले नै जितोस् न त शान्ति हुन्छ भने भनेरपनि माओवादीलाई मत दिएका छन् । बहुसंख्यक जनताले निर्वाध रुपमा शान्तिपुर्वक 'गरिखाने वातावरण होस्' भन्नाका खातिर माओवादीलाई जिताएका छन् । अनि कतिले चैं माओवादीले उठाएका जातिय,आर्थिक,सांस्कृतिक आदि नीति मनपराएर पनि मत दिएकै हुन् । यत्रो गरेर पनि हार व्यहोर्नु परेको भए माओवादीले जंगल पस्नु मात्र होइन, जंगलै जंगल वनवास जानुको विकल्प बाँकि रहँदैनथ्यो ।यहाँ सम्म आई पुग्न, माओवादीले पार्टीको प्रचारप्रसारमा पनि कम्ति लगानी गरेको छैन । आफ्ना पार्टीका गणतन्त्र एफएम र जनदिशा, जनविद्रोह, कोशी जस्ता अनेकौं मुखपत्रले मात्र प्रचार गर्दा नपुगेर सञ्चार मन्त्रालय नै माओवादीको हातमा थियो । क्रान्तिकारी पत्रकार संघ गठन गर्नु, सरकारी मिडियाहरु नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस र गोरखापत्रमा आफ्नै पार्टीका मान्छे नियुक्ति गर्नु र यि मिडियाले बारम्बार पार्टीकै बखान गरिरहनु पार्टीको विजयकालागि गरेको पुर्व तयारी नै थिए । जनतालाई एकोहोरो बनाउन पार्टीका र पार्टीको पकडका मिडियाले सकेसम्म र हुने सम्म गरेकै हुन् । यसो गर्दागर्दा एकोहोरोभई एकपक्षिय समेत भएका कारण सरकारी मिडियाप्रति प्रेस काउन्सीलको ध्यान आकर्षणपनि भएको र रेडियो नेपालको घट्ना र विचार जस्ता कार्यक्रम चुनाव बेला बन्द भएका उदाहरणपनि छन् । त्यतिमात्र नभएर अन्य नीजि मिडियाले माओवादीको 'सपोर्ट' नगरेको आरोप लगाउँदै माओवादी अध्यक्ष प्रचण्डले अन्य मिडिया विरुद्ध आमसभामै बक्तव्य दिनुलाई पनि आफ्ना मिडियाले बनाउन खोजेको माहौल भत्केला भनेर हो भन्ने ठाउँ मान्न सकिन्छ । त्यसबाहेक माओवादीले प्रचारमा ल्याएका नाराहरुपनि निक्कै आकर्षक थिए । 'सवैलाई हेर्‍यौं पटक पटक, माओवादीलाई हेरौं यसपटक ' जस्ता चुनावी नाराले जनतालाई ए साँच्चै हो त , हेरौं न त यिनीहरुलाई पनि एक पटक, के के गर्दा रहेछन् भन्ने बनाएको हो । तर, सत्ता प्राप्तिकालागि हिजो माओवादीले जसरी गुलिया कुरा गरेको थियो, अस्ति अस्ति एमाले र काँग्रेसले पनि यसैगरेका थिए । अब भोलि माओवादीलेपनि आफ्नो कुरा अनुसारको काम गरेन भने काँग्रेस र एमाले भन्दा फरक ब्यवहार गर्ने छैनन् नेपाली जनताले माओवादीलाई । यदि अहिले मत देखेर दङ्ग परेर बस्ने अनि भोलिका दिनमा भुमिगतकालमा भात खुवाएका जनताको घर आँगन विर्सने, उकाली ओराली गरेका अफ्यारा बाटाहरु छाडिदिने अनि अरुपार्टी झैं कोठामै बसेर नक्शा हेर्दै यो हाम्रो लाल किल्ला हो भनेर मख्ख पर्न थाले माओवादीपनि दोस्रो एमाले हुनेमा कुनै दुईमत छैन । अबको नेपाली राजनीति माओवादीको व्यवहारमा भरपर्ने प्रष्ट छ । ठुलो दल भएपछि माओवादी र नेपाली सेना समायोजनको प्रमुख जिम्मा माओवादीलाई नै जान्छ । त्यसबाहेक विदेशी शक्तिहरुसँगको व्यवहार कस्तो हुने हो त्यो माओवादीकालागि चुनौतिको विषय हुनेछ । पार्टीको छविलाई केहि हद सम्म नकारात्मक बनाउने वाईसियललाई सुधार्ने वा विघटन गरेर अर्कै केहि राम्रो काम गर्ने समुहको छवि बनाउने त्योपनि माओवादीले तत्काल ध्यान दिनुपर्ने कुराहुन् । यि बाहेक माओवादीकालागि अवका दिनमा नयाँ चुनौतिहरु प्रसस्त देखा पर्ने सम्भावना छन् । पहिलेदेखि असन्तुष्ट जातिय संगठन र गुटहरुलाई मिलाएर लैजानु जस्ता कनेकन चुनौतिपार गर्नु पर्ने छ नै । माओवादीसँग जनताले धेरै आशा र आकांक्षा गरेको यस पटकको चुनावको परिणामले प्रष्ट पारिसकेको छ । यदि माओवादीले आफ्ना आकर्षक नाराहरुलाई जनताको मर्म बुझ्दै व्यवहारमा लागु गरे एमाले जस्ता पार्टी अफै बडारिने निश्चित छ भने माओवादीलेपनि उहि पहिलेकै पार्टीहरुका झैं कुरा जसरी काम गर्न सकेन भने उल्टै माओवादी 'साफ' हुने सम्भावना हुन्छ । हुन त नारा दिए जसरी काम गर्न, आकाश पातालकै फरक हुन्छ । तर कम्तिमा जनताले पनि बुझ्न सक्नेगरी सकेसम्मको कोशीस माओवादीले गर्नैपर्ने छ, आफ्नो अस्तित्व र देश र जनताको भविष्यकालागिपनि ।

Apr 23, 2008

बन्द ढोका र हामी


प्रकाश थाम्सुहाङ

किरात प्रदेशको याङरकबाट
चढेर चेतनाको रातो घोडा
अर्जाप्दै मस्तिष्कमा विचारको सिरूपाते खुकुरी
देश थर्काउँदै आवाजले
हो, थर्काउँदै शासकहरूको खुराफाती मुटु पनि..
लु है ! आइपुग्यौं, हामी नेपाल खाल्डोमा
अब खोज्छौं हिसाबकिताब
हाम्रा एकएक उत्सर्गहरु
विभेदको साँवा ब्याज
अरू थुप्रैथुप्रै पीडाहरूको साँवा ब्याज,

हौ, आदाङबा आदाङमा से
लुः एकमुष्ट गरौं असन्तुष्टिको मार्तोल
फोर्नुपर्छ अब
राज्यसत्ताको सुगुप ढोका !

कति बाँधिनु -
तथाकथित नियमकानुनको साँघुरो परिधि
माकति खुम्चिनु -
एक भाषा, एक धर्म र एक देशको
खोक्रो राष्ट्रियतामा,
कति शहीद पार्नु हाम्रो जिजीविषालाई -
बाँधेर तानाशाहको क्रुर फलामे साङ्लीझैं
यो देशको संविधानमा
निकालेर जब्बर तर्क मस्तिष्कबाट
त्यस्तो नाथे अन्तरिम संविधान
उहिल्यै जलाइदियौं माइतिघर मण्डलामा !

सधैं बाहिर
सधैं पाखा
बनाएर पराई हामीलाई
खुलेनन् ढोकाहरू,
किन खुलेनन् ढोकाहरू -
ढोका- अवसरको
ढोका- अधिकारको
ढोका- समावेशिताको
ढोका- आत्मनिर्णनयको
ढोका- राज्यनीतिको
फगत बाँचिरह्यौं
अजिन्दगी !
हरायौं आफ्नो कुरा सप्पैसप्पै
अनुहार, रङ
भाषा, धर्म
जग्गा, किपट
र भूमिपुत्र नै
भूमिहीन बाँचिरह्यौं,

ढोका अझै बन्द छ
अझै पनि ढोका बन्द छ
काङसोरे तिम्रो बलिदानको कसम
हामी चेतनाको रातो घोडा चढी
मस्तिष्कमा विचारको सिरूपाते अर्जाप्दै
बन्द ढोका फोर्न अग्रसर छौं
बन्द ढोका फोर्न कटिबद्घ छौं ।

Apr 21, 2008

इर्ष्याको आख्यान


टंक वनेम

सृष्टिको निर्माण पछि
इर्ष्याको बीउ रोपियो टुसाउँदै
बिचरा !
सृष्टिको निर्माण गर्ने पोराक्मी नैं
इर्ष्याको बाणले हानिएर
मृत्यु वरण गर्न पुगे
थोकपेत तेम्बेको उकालोमा
सुसुवेङ लालावेङ
सौताहरुको डाहीले
भोक भोकै मरे
चुङजीगेन येत्छाले
नपाए पछि बीउबिजन
ढुकुरको गाँडबाट
अन्न झिकी
बीउ छरेर गरिखाए ।
ढुङ्गे खोपिल्टामा जमेको पानीले
तृष्णा मेट्दा
मेल्लङहाङ्माले
केसामी र नामसामी जन्माइन
सिल्लरी फूल जाग्दा
अन्दङ फूल ओइलियो
सुम्दाङगेन तक्मी जस्तो
भिमकाय जनवारलाई
नाथे-
भुइमा कुदिहिड्ने
खाम्लुङ अईले
बङरंघ खाड्लमा खसाली दियो ।
हो-
हात्ती बिनाको
इक्सा खाम्बेक
सुहाँउदो भएन पक्कै
अनित
तेलेले तेन्छाममुक र
तेन्जीयेप येवाले
हात्तीको उद्धार गरे
रुख माथि शितल ताप्दै
सृष्टिको मज्जा लिंदा
अहा ! क्या सुरिलो स्वरले
गाउँन थाल्यो माङनेने
त्यही स्वर खोज्न खबुहाङ
ताघाप हिराबाट
स्वात्तै झिकी
माङनेने खोज्न हिड्दा खबुहाङ्
खबुहाङमाको इर्ष्याले
तातियो प्रचण्ड घाम
त्यही तापले सुकाइ दिए
खबुहाङको थुङदे लेवा ।
याक्चाना घाटमा युमा
.......तम्मरको छाल घुसाउँदै
तान बुन्दै थिईन ब्यास्त
यत्तिकैमा आई पुगे
काप्पोबा साम्माङ
......... टेकेर
कामुक काप्पोबा र युमा
होमिए संम्भोगको समाधिमा
काल्लेरे भए काप्पोबा
अरुले देखे पछि
छुट्टनि त छुट्टयिो
अतृप्त यौंन इच्छा
तर-
पृथ्वीको लागि
सुहाउँदो भएर टाँगिएन
जन्म र मृत्युको जीवनरुपी धागो
इष्याको ब्याडमा झाँगियो
काँडेदार इष्याका फूलहरु ।

लिम्बुवानमा माओवादी पराजित

रविन गिरी
धरान, ६ बैशाखः जातीयताको आधारमा छुट्टै स्वायत्त राज्यका रुपमा नेपाल कम्युनिष्ट पार्टीले-माओवादी) प्रस्ताव गरेको लिम्बुवान क्षेंत्रका अधिकांश स्थानमा माओवादी स्वयंले पराजय ब्योहोरेको छ । माओवादीद्धारा पारित लिम्बुवान क्षेंत्रमा पूर्वी पहाडका छ जिल्ला समेटिएका छन । जसमा इलाम,पाचथर,ताप्लेजुग,संखुवासभा,तेह्रथुम र धनकुटा पर्दछन । ती जिल्लाका कुल १२ निर्वाचन क्षेंत्रमध्ये धनकुटाका दुई र संखुवासभाका एक गरी तीन निर्वाचन क्षेंत्रमा मात्र सिमित हुन माओवादी हुन बाध्य भएको छ ।लिम्बुवान अलग राज्यका लागि पार्टीभित्रै लामो संघर्ष गरेर लिम्बुवानका नेतृत्व लिएका कतिपय शीर्षस्थ नेताहरु समेत आफ्नै क्षेंत्रको हार शिकार बन्नुभएको छ । जसमा माओवादीद्धारा घोषित लिम्बुवान राष्टि्य मुक्ति मोर्चाका अध्यक्ष श्रीप्रसाद जवेगु र पार्टीका तर्फबाट लिम्बुवान राज्य समितिका ईन्चार्जसमेत रहनुभएका सुरेन्द्र कुमार कार्की-पार्थ)समेत हुनुहुन्छ ।पाँचथर निर्वाचन क्षेंत्र न.१बाट निर्वाचनमा उम्मेदवारी दिनुभएका मोर्चाका अध्यक्ष जवेगु पराजित हुनुभएको थियो । विजयी नेपाली कांग्रेसका पूर्ण कुमार सेर्माको प्रमुख प्रतिस्पर्धी नेकपाका-एमाले) गणेश कुमार काङबाङ बन्नुभएको थियो भने जवेगुले तेस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो । पाचथरकै क्षेंत्र नं.२ मा भने एमालेका डम्बरसिं सम्बाहाम्फे विजयी बन्नुभएको थियो । यस क्षेंत्रमा पनि नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे दोस्रो स्थानमा रहनुहुँदा माओवादीका प्रत्यासी अमरसिं थापा तेस्रो स्थानमा रहनुभएको थियो । उता पार्टीमा पूर्वी क्षेंत्रका प्रभावशाली मध्येका एक नेताका रुपमा मानिनुहुने कार्की पनि ताप्लेजुङ क्षेंत्र न.१बाट नेपाली कांग्रेसकै उम्मेदवार सुर्यमान गुरुङसँग पराजय स्वीकार गर्नुपरेको थियो । सोही जिल्लाकै क्षेंत्र न.२मा पनि माओवादी उम्मेदवार एवं विधायक टंक प्रसाद आङबुहाङलाई हराउदै एमालेकै डम्बरध्वज तुम्बाहाम्फे विजयी बन्नुभएको थियो । मोर्चाकै केन्द्रीय सचिवसमेत रहनुभएका हर्क बहादुर लावती-कान्छा) लिम्बुवान क्षेंत्र मानिने इलाम क्षेंत्र न.२ बाट एमालेका सुभासचन्द्र नेम्बाङको निकटतम प्रतिस्पर्धी समेत बन्न सक्नुभएन । लावती प्रतिस्पर्धामा काग्रेसका केशव थापा भन्दा धेरै पछि रहनुभएको थियो । जिल्लाकै क्षेंत्र नं.१ र ३ मा पनि माओवादी उम्मेदवारहरु क्रमशःसुर्य प्रकाश बाला र सरिता राई तेस्रो स्थानमै रहनुपर्‍यो । क्षेंत्र नं १ मा कांग्रेसका बेनुपराज प्रसाईलाई हराउदै एमालेका झलनाथ खनाल विजयी बन्नुभयो भने क्षेंत्र न.३मा कांग्रेसका कुल बहादुर गुरुङले एमालेका धर्म प्रसाल उप्रेतीलाई पराजित गर्नुभएको थियो । तेह्रथुममा कांग्रेसका तुलसी सुब्बाले एमालेको भवानी खापुङलाई करिब चार हजार मत अन्तरले हराउदा माओवादीका नरबहादुर लिम्बू भने नौ हजार मतले तेस्रो स्थानमा हुनुहुन्थ्यो । संखुवासभामा भने दुई मध्ये माओवादी र एमालेले एक,एक स्थान बाडेका थिए । क्षेत्र नं.१मा माओवादीका पूर्ण प्रसाद राईले एमालेका कवानसेन राईलाई हराउनुभएको थियो भने क्षेत्र नं.२ मा राजेन्द्र कुमार किरातीलाई एमालेका डम्बरबहादुर खडकाले पराजय चखाउनुभएको थियो । लिम्बुवान प्रस्ताव जिल्ला मध्ये धनकुटामा भने माओवादीले शानदार विजय हासिल गरेको थियो । धनकुटाका क्षेंत्र न.१मा माओवादीका हेमराज भण्डारीले एमालेका पूर्व सांसद रकम चेम्जोङलाई स्तब्ध पार्नुभएको थियो । पूर्व प्रधानमन्त्री सुर्य बहादुर थापाले उम्मेदवारी दिनुभएको क्षेत्र नं.२मा पनि एमालेका धर्मराज पौडेललाई थोरै मतले हराउदै माओवादीका हरिराज लिम्बू विजयी बन्नुभएको थियो । मोर्चाका महासचिव मुक्सामहाङ मेन्याङबोले लिम्बुवान क्षेंत्रमा पार्टीका नेताहरुको पराजयको कुनै ठूलो कारण नभएको बताउनुभयो । हुनसक्छ हामी शहरमा केन्दि्रत हुँदा आफ्नै ठाउँमा राम्रो प्रचार गर्न सकेनौ,उहाँले भन्नुभयो । शीर्ष नेताको पराजयका कारण पनि लिम्बुवान प्राप्तिमा भने कुनै शंका नलिन उहाँको आग्रह थियो । लिम्बुवानको राजनीतिःईतिहास,वर्तमान र दस्तावेज नामक पुस्तकका लेखक भवानी बरालले भने गएको भदौमा मात्र माओवादीले किराती राज्यबाट लिम्बुवानलाई छुट्याएको जसका कारण पर्याप्त प्रचारकै कमीले उनीहरु पराजय भएको हुनसक्ने बताउनुभयो । ऐतिहासिकताको आधारमा लिम्बुवान कतिपय जिल्लाहरुलाई कोचिला प्रदेश बनाईनु अनि लिम्बू र किरातकै सीमामा समेत अस्पटता भएकाले पनि जनताको यस्तो प्रतिक्रिया आएको हुनुपर्छ,बराल विश्लेषण थियो ।

सपना नदीको मृत्युमा


हाङयुग अज्ञात

नीलोनीलो समुन्द्रले निलिरहेको छ
मेरो नुनिलो सपनाको नदी
जसलाई मैले
लिम्बूहिमालको मुटुबाट
निरन्तरनिरन्तर चोखो र पवित्र
युगौंयुगदेखि बोकेर आएको छु
हो, तेही सपनाको काबेलीलाई
नीलोनीलो समुन्द्रले निलिरहेको छ,

लिम्बुवानको नून खाएर
नुनिलो भएको मेरो नदीले
यो समुन्द्रमा मिसिएपछि
बिर्सेको छ नूनको कहानी
यस्तो बेला म उसलाई
कुनै गब्बरसिंहले जस्तो
'मेरो नुन खाइस्,
अब गोली खा !' भन्न सक्दिनँ,

तमोर खोलाको तिरैतिर
जब किराँतेश्वर च्याब्रुङ बजाउँदै
कैलाशपर्वततिर लागेको थियो
त्यो प्रचण्ड घामको गर्मीमा
जो पसिना खस्यो
उसको थेप्चो नाकबाट
त्यो मेरै नदीको पानीमा खस्यो
तर हिजोआज यो सहरमा
अरूण पनि प्रभुनदी भएको सुन्छु
लिखु पनि प्रभुनदी भएको सुन्छु
तमोरको त के कुरा गर्नु
आफ्नै पानीको तरङ्गमा
सैतानको तस्बीर देख्छ
तेसैले त
नीलोनीलो समुन्द्रले निलिरहेको छ
मेरो कलिला सपनाहरूको मीठो सपना !

हो, यो सहरमा आउनु अघि
मसित धेरै सपनाहरू थिएनन्
यौटा सपना अनामनगर धोबीखोलामा
घरबेटीको घरमा (देश छोड्नु अघि)
डेराको अन्तिम रात देखेको थिएँ
जसलाई मैले
मनको एल्बममा सुरक्षित राखेको छु
र जसको मैले शिर्षक राखेको छु
'स्विट होम् स्विट !'
र अर्को सपना मैले
तात्कालीन शाही वायुसेवा निगमको
आर.ए. ४०९को अन्तिम सिटमा देखेको थिएँ
जसलाई मैले
आँखाको फोल्डरमा सेभ गरेको छु
र जसको मैले शिर्षक राखेको छु
'जीवन संघर्ष हो, संघर्ष हो जीवन !'

तर सपना जतिसुकै सुरक्षित राखे पनि
त्यो समयले सङ्क्रमित हुँदोरहेछ
र घाउ पाकेजस्तो पाकेर
कुहिएर गन्हाउँदै फत्फत् खस्तोरहेछ
जसरी सतीदेवीको लास महादेवको काँधबाट
अङ्गअङ्ग कुहिदैं खस्यो दक्षप्रजापतिको राज्यमा
तेसरी नै खस्तैछ मेरो सपनाको लास
यो सहरको सडक र गल्लीहरूमा
म्याक्डोनाल, वेलकम र सेभेनइलेभेनमा
एकतलामाथि भुटन र सानमिगेलमा
रात्रीबजारमा नेपालीपसलमा चकाबमा
धेरै चोक्टाहरू त जागिरमा खस्तछन्
जसलाई कवितामा लेख्नु भनेको
पाठकहरूलाई यातनागृहमा थुन्नु हो,

तेसैले मजस्तै सपनाको मृत्युमा
उत्सव मनाउनेहरू
चे गुवारा छापिएको टिर्सटभन्दा
'जिन्दगी जागिर होइन' लेखिएको
गन्जी लगाउन मन पराउँछन्
यसकारण पनि यो प्रभुजी सहरमा
नीलोनीलो समुन्द्रले निलिरहेको छ
मुजिक्ना, मोहम्मद आलम
र छोमाको कमलो सपनालाई
जसको लागि मैले कविता लेखिनँ भने
कविहरूले मलाई ब्लु जिनमा डुबाउनेछन्
कवियत्रीहरूले मलाई प्रेमप्रस्तावमा तान्नेछन्
भो, म यो उमेरमा
प्रेमको कविता लेखेर
मेरो स्वास्नीको मनमा शंका उमार्न चाहन्न
भो, म ब्लू जिनमा डुबेर कविता लेख्न चाहन्न
तेसैले प्रिय सपनाहरूको मृत्युमा
रूनुभन्दा हाँस्नु राम्रो, रिसाउनु राम्रो,
कराउनु राम्रो, चिच्याउनु राम्रो
किनभने यो सहरको मुटुमा
कुनै कथाकारले प्लाटेनियम स्प्रे गरिदिएको छ
जसलाई हाम्रो सम्वेदनाको तरङ्गले छुदैन
तेसैले
समयले टाटो लगाएको मन
रोएर पखालिदैन
हाँसेरै जाती हुन्छ छातीको घाउ
कराएरै निको हुन्छ खप्परको तनाव
चिच्याएरै शान्त हुन्छ आक्रान्त वर्तमान,

र त सात वर्षछि बल्ल सोच्दैछु
'स्विट होम स्विट !'को पूर्ण सपना
'जीवन संघर्ष हो, संघर्ष हो जीवन !'को पूर्ण सपना
र पुरा गर्दैछु
सात वर्षअघि थाती राखेको अपूर्ण कविता
र बुझ्दैछु नियतिको समिकरण
पूर्ण सपना‌‍‍‍‍‍‌‍ ‌‍बराबर अपूर्ण विपना हुँदोरहेछ
पूर्ण कविता बराबर अपूर्ण जिन्दगी हुँदोरहेछ
तेसैले यो क्षण मेरो अवस्था
र्सपले आदि निलेको भ्यागुताको जस्तो छ
न जो चल्मलाउन सक्छ
न जसले आत्मर्सपण नै गर्न सक्छ
मात्र टुलुटुलु आँखाहरू पारेर
पर्खिरहेको छ कुनै अधार्मिक मान्छे
जसले र्सपलाई लाट्ठी हिर्काएर
उसलाई मुक्त गरोस् नर्कबाट..
मुक्त गरोस् र्सपजस्तो व्यवस्थाको मुखबाट..
मुक्त गरोस् मालिकहरूको हुकुमबाट..
र्सपले आदि निलेको भ्यागुताले
यदि यसबेला
कुनै मानिस सम्झिरहेको छ भने
मलाई सम्झिरहेको हुनुपर्छ
किनभने मैले पनि यो बेला
त्यो अर्धमरो भ्यागुतालाई सम्झिरहेको छु !

हो, हामी भ्यागुता
हामी धार्नी पुग्दैनौं
हामी कान्ला नाघ्न सक्दैनौं
र्सपको मुखभित्र आदि छिरेका छौं
किनभने हामी सहरमा बसेका छौं
र सहर भनेको र्सप हो
साँच्चै, सहर भनेको खतरनाक र्सप हो
डस्छ यसले हाम्रो मस्तिष्क
र हामीलाई डिप्रेसनको बिरामी बनाउँछ
डस्छ यसले हाम्रो हृदय
र हामीलाई सम्वेदनहीन मूकदर्शक बनाउँछ
हो, यो सहर यस्तो र्सप हो
जसले मानिसहरूलाई भ्यागुता बनाउँछ,

र यो समुन्द्र यसको विष हो
जहाँ सपना नदीको विर्सजन भएको छ
हाम्रो रगत, पसिना र आँसु खसेको छ
हाम्रो इच्छा र आकाङ्क्षाहरूको कोमल शरीर
यसलाई छुनसाथ मोमजस्तो पग्लेर
तिहीँ समाहित भएको छ

र यो समुन्द्र यो सहरको कालकुट विष हो
जसलाई पिउनु यहाँ किराँतेश्वर आउनुपर्छ
सप्पै सपनाहरू रित्तिसकेको
म तेही किराँतेश्वर हूँ
यो युगमा फेरि एकचोटि आएको छु
यो सहरलाई घाँटीमा बेरेर
यो समुन्द्रलाई घट्घटी पिएर
आएको छु मानिसहरूको उद्घार गर्न..

सप्पै सपनाहरूको मृत्युपछि
अथवा सपनाहीन भएपछि
कि त मानिस ईश्वर हुन्छ कि त पागल
साँच्चै एकदिन यो सहरमा म सपनाहीन हुनेछु
र मानिसहरूले भन्नेछन्
ईश्वर हाङयुगको मृत्यु भयो
पागल हाङयुगको मृत्यु भयो
त्योभन्दा धेरै त पक्कै भन्दैनन् होला
किनभने ईश्वर र पागलभन्दा ठूलो गाली
अरू के होला -
तर यतिबेला
नीलोनीलो समुन्द्रले निलिरहेको छ
मेरो नुनिलो सपनाको नदी
जसलाई मैले लिम्बूहिमालको मुटुबाट
निरन्तरनिरन्तर चोखो र पवित्र
युगौंयुगदेखि बोकेर आएको छु
हो, तेही सपनाको काबेलीलाई
नीलोनीलो समुन्द्रले निलिरहेको छ
नीलोनीलो समुन्द्रले मेरो सपना निलिरहेको छ
नीलोनीलो समुन्द्रले हाम्रो सपना निलिरहेको छ
नीलोनीलो समुन्द्रले देशको सपना निलिरहेको छ ।

Apr 17, 2008

मनोभावको माइनर अपरेसन

हाङयुग अज्ञात
शब्द,संगीत र स्वरको संयोजन नै गीत हो भन्ने आधारभूत तथा प्रचलित परिभाषा रहिआएको छ । तर शब्द मात्रै या संगीत मात्रै या स्वर मात्रै पनि गीत हुन्छ भन्ने मान्यता पनि विश्वका कलाप्रेमीहरु माझ व्याप्त छ । कति शब्दकार अथवा गीतकार भन्दछन् 'शब्द स्वयंले संगीत र स्वरको प्रकार मागिरहेको हुन्छ ।' त्यस्तै संगीतकारहरु भन्दछन्'संगीतले पोशब्द र स्वरको प्रकार खोज्दछ त ।' फेरि गायकको आफ्नै जिकिर हुन्छ 'होइन स्वरको तह हेरेर पो शब्द र संगीतको निर्माण हुन्छ त ।' जेहोस् गीत तयार हुन तीन थोक मिल्नै पर्दछ । यद्यपी,असल गीत बन्नलाई चाँहि शब्द,संगीत,स्वरको सन्तुलित र उत्कृष्ट तालमेल हुन आवश्यक पर्दछ । नत्र गीत आँडे हुन्छ । यहाँ त्यस्तैसन्तुलित र उत्कृष्ट तालमेलमा तयार भएको गीतहरुको संग्रह 'मनोभाव' बारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिन्छ ।
'मनोभाव' मा संगीतकार र गीतकार सिङ्गो छन् । अर्थात,सम्पूर्ण संगीत एकल संगीतकार दिनेश सुब्बा र सम्पूर्ण गीत या शब्द एकल गीतकार टंक सम्वाहाम्फेको छ भने स्वर विविध प्रकारका गायकहरुको छ । गीतको पहिलो र्सत हो आनन्द दिनु । सो,मनोभावले श्रोताहरुलाई भरपुर आनन्द दिन्छ नै। तर आनन्द दिंदादिदैपनि कहीँ कहीँ भात खाँदा दाँतमा ढुंगा परेझैँ लाग्दछ ।
गीतकार टंक सम्वाहाम्फे र उनको पहिलो मनोभाव आधुनिक गीतिसंग्रह
संगीतलाई आधार मानेर मनोभावको संगीतलाई मूल्यांकन गर्दा यहा उनले कतिपय गीतमा 'फाष्टफुड' तयार गरे जस्तो संगीत दिएकाछन् । त्यसो त पबित्र सुब्बाद्वारा गाइएको 'बषन्तको आँगनीमा कोइली बोल्यो कि -'भन्ने गीतको संगीत भने प्रशंसायोग्य र अनुकरणीय छ । संगीतकार दिनेश सुब्बाले यहाँ नेपाली संगीतको इतिहासमा चिनियाँ शैलीको संगीत भित्र्याएर नविनतम् कार्य गरेकाछन् । एकै किसिमको संगीत सुन्दासुन्दै वाक्कदिक्क भैसकेको श्रोताले नयाँ स्वाद चाख्न पाएको छ । संगीतको विकास यस्तै प्रयोगात्मक र सृजनशील सोचहरुले मात्र संभब छ । त्यसकारण दिनेश सुब्बा भित्रको संगीतकार अझ जीवित र सशक्त रहेछ भन्ने आभास 'मनोभाव' सुन्ने जो कोहीलाई हुने गर्दछ । लोकभाकाको राजेश पायल र्राईले गाएको 'दुखियाको एउटा झुप्रोपहाडको गाउँमा छ' बोलको गीतको संगीत पनि संगीतकार सुब्बाले नाक फुलाए अस्वभाविक लाग्ने छैन ।
शब्दको आधारमा मनोभावको अप्रेसन गर्ने हो भने यहाँ चार प्रकारका गीतहरु संग्रहित छन् ।
प्रकार एकमा राष्ट्रिय गीत,प्रकार दुइमा जीवन-दर्शन गीत,प्रकार तीनमा मायाको ट्रयाजिक गीत र प्रकार चारमा नारी साइकोलोजीको गीत । शान्ति आहृवान र दुखियाको गीत प्रकार एकको गीत हुन् । जीवन के हो,सोच्दा यहाँ र चट्याङ पर्‍यो प्रकारका दुइका गीत हुन् । माथि चढुँ हिउँ पहिरो,आजकालको समय,ढुंगा कस्ले हान्योर हे चरी भुरुरु प्रकार तीनका गीत हुन् र लाज लाग्छ तथा बसन्तको आँगनीमा प्रकार चारका गीत हुन् । यसरी चार प्रकार गीतहरु एउटै एलबम या संग्रहमा राख्नसक्नु गीतकार टंक सम्वाहाम्फेको सामर्थ्य हो । शब्द चयनको यस दृष्टिकोणबाट हेर्दा निश्चय नै गीतकार सम्वाहाम्फे नेपालका उत्कृष्ट गीतकारहरुको कोटिमा पर्दछन् । यद्यपि,दुइएक ठाउँमा उनले शब्दलाई अर्थै नबुझी प्रयोग गरेको अनुभूति हुन्छ । जस्तो कि दुखियाको गीतमा भाका पूर्वेली छ,गीत सुन्दा पूर्वेली गाउँको तस्वीर आउँछ तर गीतको दास्रो अन्तरामा 'दोहोरी' शब्द प्रयोग गरिएको छ । नेपालको पूर्वतिर दोहोरी भाका नगाइएर 'जुहारी' चाँहि गाइन्छ ।
दोहोरी नेपालको पश्चिमको विम्व हो । पूर्वेली भाकामा दोहोरी शब्द गाउँदा अस्वभाविक लाग्दो रहेछ । मानूँ टिसर्टमा टाइ लाए जस्तो । जे होस्,दुइएक भ्रम नराखी गीत 'पपुलर' हुदैन भन्ने मान्यता पनि नेपाली गीत संगीतको फाँटमा मौलाउँदै गएको पाइन्छ । प्रसंगबस् श्रवण मुकारुङको 'माथिमाथि सैलुङ्गेमा....' भन्ने गीतको कुरा कोट्याऔं । 'मारुनी' भनेको केटाले कटी बनिएर नाच्नु हो । तर,यहाँ कुन्ती मोक्तान गाउँछिन्,'मैले जति मारुनी कल्ले नाचेको छ -' त्यसकारण कतिपय विद्वानहरु भन्दछन् गीत भनेको अवचेतनाको मीठो प्रतिफल हो । समग्रमा 'मनोभाव' भित्रका शब्दहरु विशिष्ट,परिपक्क,सुन्दर एवं मन छुने किसिमका छन् । यसका निम्ति गीतकार टंक सम्वाहाम्फेलाई जति बधाई दिए पनि र जति प्रशंशा गरे पनि थोरै हुनेछ । उनी जस्तो प्रतिभाशाली गीतकार नेपाली गीतसंगीतले पाउनु ठूलो उपलब्धी हो ।
अन्तमा यस्तो महत्वपूर्ण एल्बम् निर्माण गर्ने साहसी निर्माताद्वय कमला सुब्बा र मातृदीप राइ,एल्बमकी उद्घाषिका अरमाली श्रेष्ठ र आवरण सज्जाका निम्ति सुरज श्रेष्ठ सप्पै धन्यवादका पात्र छन् । एकचोटी प्रत्येकले सुन्नै पर्ने मनोभावमा पक्कै पनि परदेशमा बाँचिरहेका नेपालीहरुको मनोभाव छ मनोव्यथा छ ।

Apr 16, 2008

गन्थन सुभाज्यू संग...................


मिजास तेम्बे

सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

यी सन्तानहरु कहिल्यै मिलेर बस्न सकेनन् ।
कहिले रोटीमा झगडा गर्छन् ।
कहिले भेटिमा लुछाचुडी गर्छन् ।
आफै नियम बनाउछन् / आफै बिगार्छन् ।
यी चार जातीका छत्तीस् वर्णहरु,
चार वर्णका छत्तीस् जातीहरु ,
अंश वण्डा मागी रहेका छन् अहिले ।
सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

यो पिरोलो घरको पनि, कहिल्यै बिसेक नहुने भयो ।
इतिहास देखि नै यहाँ
किसिम किसिम हुदै आएको छ ।
येस खेप, यो दाफा
कानले के के सुने पनि,
आँखाले थरी थरी देखे पनि,
अखबारमा बाङ्गो टिङ्गो पढे पनि,
टि भिमा नौटङकी हेरे पनि, मेरो मनको देवता मान्दैन ।
यहाँ नेर तुस् छ है.........तु......स........
प्रसंगले गलत अर्थ लागेमा, रिसानी माफ पाऊँ ।
मनमा के के लागिरह्यो,
भित्र भित्रै पोलीरह्यो, सो बोलि दिए, सो ओकलि दिए ।

सुभा ज्यू !
यसरी आफ्नो परबेटी कुरा गरेर
हजूरलाई बस्नु न उठ्नुको,
असमञ्जसमा पार्नु नहुने थियो ।

Apr 11, 2008

ब्युझदै खम्वूवान

गोपाल दाहाल
संविधानसभा अगाडि नै संघीय व्यवस्था र स्वायत्तताको सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै पूर्वी पहाड र तराईमा आन्दोलनरत संगठनहरुको मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारबीच १८ फागुनमा 'स्वशासिनयुक्त स्वायत्त गणराज्यसहित संघीय शासन प्रणालीको वैधानिक व्यवस्था गर्ने' सहमति भएको दुई दिनमै पूर्वी पहाडमा आन्दोलनरत खम्बुवान राष्ट्रिय मोर्चाले चुनावकालागि माओवदीसंग सहकार्य गर्ने निर्णय गर्‍यो ।आत्मनिर्णयको अधिकारसहित संघिय लोकतान्त्रिक गणतन्त्रयुक्त नेपालको परिकल्पना गरेर आन्दोलनगरी रहेको खम्बुवान राष्ट्रिय मोर्चाले जम्मा सोह्र थुमको प्रस्ताव गर्दै आएको छ । एक समयमा गोपाल खम्बुले नेतृत्व गरेको खम्बुवान राष्ट्रिय मोर्चा माओवादीमा विलय भएपछि, अन्यौलमा परेको खम्बुवान आन्दोलन २०६४ सम्म आईपुग्दा नयाँ कार्यसमितिसहित पुनर्गठन भएर आन्दोलनमा होमिएको छ । यो अवधिमा सरकारसँग वार्ताको टेवलमा समेत बसिसकेको छ, अहिले आएर चुनावकालागि भन्दै पुन माओवादीसँग सहकार्य गर्न लागेको खम्बुवान पुन माओवादीमै विलय हुने पुर्व संकेत त होइन भन्ने अनुमानपनि गर्न थालिएको छ । तर मोर्चाका आधिकारिक व्यक्तिहरु त्यसको खण्डन गर्छन् । अरु भन्दा माओवादीले जातिय मुद्दालाई राम्ररी उठाउदै आएकाले उसलाई सहयोगमात्र गर्न लागिएको उनिहरुको तर्करहँदै आएको छ । आँखीभुई भेलाबाट माओवादीमा मोर्चालाई विलय गराईएपछि, त्यसबाट खम्बुको हित नहुने ठानी असन्तुष्ट रहेका केहिले व्युताएको खम्बुवान जनवादी मोर्चा अहिलेपनि खोटाङ लगायतका पहाडि ईलाकामा संघर्ष गरिरहेको छ भने माओवादीमा विलय भएर 'किरात राष्ट्रिय मुक्ति मोर्चा'बनेको पुर्व खम्बुवान राष्ट्रिय मोर्चा अहिलेपनि माओवादीकै भातृ संगठनका रुपमा कार्यरत छ ।गोपाल खम्बुले मोर्चालाई माओवादीमा मिसाएपछि निक्कै समय अन्यौलमा परेको खम्बुवान आन्दोलन अहिले जोडतोडका साथ जागिरहेको छ । संघिय लिम्बुवान राज्य परिषद्सँग आन्दोलनको सहकार्य गर्दै एउटै कार्यालय समेत चलाएको खरामो पछिल्लो समयमा संघिय लिम्बुवान राज्य परिषद टुक्रिएपछि कहिले एउटा त कहिले अर्कोसँग सहकार्य गर्दै आन्दोलन गरिरहेको छ । पहिला संजुहाङ पालुङ्वा पक्ष परिषदसँगै कार्यालयसमेत चलाएको मोर्चा अहिले उससँग छुटेर कुमार लिङ्देन पक्षको परिषदसँग सहकार्य गरिरहेको छ ।
खम्बुवानको विगत र वर्तमान
गोर्खाली सेनाले १८३० मा खम्बुवान राज्यमा आमन्त्रण गरी विजय गर्‍यो । त्यसकारण राईलाई लालमोहर दिइएन । पछि १८६४ मा खम्बुवानको हतुवाथूमका युवराज अटलसिंह खम्बुले गोर्खाली विरुद्ध विद्रोह गरे । विद्रोहमा संलग्न ६ जना खम्बुलाई कुलवंश, नाता, छिमेकी सहित मृत्युदण्ड र अरु ११ लाई सर्वस्वसहित कैद गरिएको दुर्गाहाङ याक्खा राईको पुस्तक 'किरात हिजो र आज'मा उल्लेख छ । त्यसपछि २००७ सालको राणाविरोधी आन्दोलनमा रामप्रसाद राई, नारदमुनि थुलुङ जस्ता किरात सहिदको संलग्नता थियो । भोजपुरमा हेडक्वार्टर रहेको तत्कालिन जनमुक्ति सेनाका कमाण्डर रामप्रसाद राईले कम्युनिष्ट पार्टीको समर्थन लिएर २००८ माघ ८ मा दिल्ली सम्झौता विरुद्ध सिंहदरबारमै विद्रोह गरेका थिए । पञ्चायतकालमा खुलेको किरात राई यायोक्खाले पञ्चायकालमा पनि गोष्ठी सभा गर्ने काम गरे । गोपाल खम्बुले २०४९ मा प्रकाशन गरेको पुस्तक नेपालको जातीय मुक्ति आन्दोलनका अनुसार त्यसबेला जातीय मुक्ति आन्देालन चरमरुपमा पुगेको थियो ।२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि अघिदेखि कार्यरत १५ जातीय संगठनहरुको २०४७ साल वैशाख २२ गते काठमाण्डौमा भएको भेलाले छाता संगठनका रुपमा नेपाल जनजाति महासंघ गठन भयो । त्यसैबेलादेखि महासंघ राजनीतिक संगठनका रुपमा स्थापित भएको थियो । त्यसको भोलिपल्टै २३ वैशाखमा काठमाण्डौमै पहिलो जातीय मुक्ति २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि अघिदेखि कार्यरत १५ जातीय संगठनहरुको २०४७ साल वैशाख २२ गते काठमाण्डौमा भएको भेलाले छाता संगठनका रुपमा नेपाल जनजाति महासंघ गठन भयो । त्यसैबेलादेखि महासंघ राजनीतिक संगठनका रुपमा स्थापित भएको थियो । त्यसको भोलिपल्टै २३ वैशाखमा काठमाण्डौमै पहिलो जातीय मुक्ति आन्दोलनकारी राजनैतिक संस्था 'नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा' स्थापना भयो । त्यसपछि जातयि मुक्ति आन्दोलनको नाममा राजनीतिक संगठनहरु स्थापना भए । लिम्बुवान मुक्ति मोर्चा, नेपाल राष्ट्रिय जनजाति पार्टी, मंगोल राज्यको अवधारणामा 'मङ्गोल नेसनल अगनाइजेसन'खुले । २०४८ को आम निर्वाचन अवधिमा पनि थुप्रै जातीय पार्टी र मोर्चा खुले । तर २०४८ सालको चुनावमा जातीय नारा ल्याउने पार्टीले सफलता पाएनन् । चुनावमा असफल भएपछि २०४८ मै नेपाल राष्ट्रिय जनमुक्ति मोचार्, नेपाल राष्ट्रिय जनजाति पार्टी र नेपाल राष्ट्रिय जनपार्टी एक भएर राष्ट्रिय जनमुक्ति पार्टी गठन गरियो । स्थापनाको १० वर्षपछि २०५४ सालमा गोरेबहादुर खपाङ्गीको नेतृत्व रहेका राष्ट्रिय जनमुक्ति पार्टी फुट्यो । र कमल छाराहाङको नेतृत्वमा जनमुक्ति पार्टी नेपाल खुल्यो । पछि छाराहाङ र कुमार लिङ्देन लगायतका नेताहरु जनमुक्ति पार्टी नेपाल छाडेर राष्ट्रिय जनमुक्ति पार्टीमै मिल्न गए । भने जनमुक्ति पार्टी नेपालका अध्यक्ष अटलमानसिंह राई बने र सो पार्टीले भूमिगत रहेको गोपाल खम्बुको खम्बुवानलाई सहयोग गरिरहेको थियो ।०४६ को जनआन्दोलनको उपलब्धी भनिएको २०४७ को संविधानले पनि जनजातिलाई चित्त बुझाएन । संविधानको धारा ११२ ले जातीय तथा साम्प्रदायिक कुरा उठाउने र स्वायत्त राज्यको माग गर्ने संगठनलाई चुनाव लड्न प्रतिबन्ध लगाएको आरोप लगाउँदै जातीय स्वायत्त पक्ष संगठनहरु हिंसात्मक आन्दोलनमा होमिएको पाइर्न्छ । संविधानको प्रतिबन्धकै कारण देखाउँदै २०४९ साल भदौ ५ मा गोपाल खम्बुको अध्यक्षतामा खम्बुवान राष्ट्रिय मोर्चा गठन भयो । जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको माग गर्दै मोर्चाले २०५० सालमा तत्कालिन सभामुख दमननाथ ढुंगानालाई अनुरोध पत्र बुझायो, सुनुवाई नभएपछि ०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई ज्ञापनपत्र बुझायो । त्यसपछि २०५३ सालमा प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई सुझावपत्र बुझायो, केही नलागेपछि २०५४ साल साउनमा प्रधानमन्त्री रहेका लोकेन्द्रबहादुर चन्दलाई अन्तिम चेतावनी पत्र बुझायो । यो बेला माओवादी सशस्त्र विद्रोह शुरु गरेको डेढ वर्ष पुगेको थियो । त्यही बेला २०५४ साउन ७ गते मोर्चाले पनि भोजपुरको दिङला र गोगने तथा सोलुखुम्बुको सल्यानस्थित संस्कृत विद्यालयहरुमा बम प्रहार गरी भूमिगत रुपमा हिंसात्मक बाटोमा प्रवेश गर्‍यो । त्यसपछि खम्बुवान जस्तै विचार र सिद्धान्त लिएर २०५७ मा भक्तराज कन्दङ्वाको अध्यक्षतामा गठन भएको लिम्बुवान राष्ट्रिय मोर्चासंग खम्बुवानको एकिकरण भई, किरात राष्ट्रिय मोर्चा -किरामो)को जन्मभयो । माओवादीसंगै सहकार्य गर्दै युद्धमा किरामो पनि सामेल भयो । -२०५५ वैशाख १० गते खरामोले माओवादीसँग सहकार्य गरेपनि सैद्धान्तिक मतभेद भन्दै ८ महिनामै मोर्चाले सहमति तोडेको थियो । त्यसपछि माओवादीको सल्लाहमा खम्बुवान राष्ट्रिय मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चाले गरिरहेको विद्रोहको संयोजन गर्नका लागि २०५६ चैत २४ मा खरामोकै सक्रियतामा किरात वर्कस पार्टी गठन गरियो । २०५७ असार ७ मा खरामोले पुनः माओवादीसंग सहकार्य गर्‍यो । त्यसपछि २०५८ असोज २७ र २८ गते संखुवासभाको आखिभुईमा माओवादीले आयोजना गरेको भेलाबाट खम्बुवान राष्ट्रिय मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्तिमोर्चालाई नविकरण गरी किरात राष्ट्रिय मोर्चा -किरामो) गठन भयो । त्यसपछि रोल्पामा भएकेा माओवादीको जनवर्गीय संगठन भेलामा खम्बुवानका गोपाल खम्बु र लिम्बुवानका भक्तराज कन्दङ्वालाई बाबुराम भट्टराईको संयोजनमा गठित जनपरिषद्को केन्द्रीय सदस्य बनाइयो । तर किरामो गठन भएको सात महिनापछि नै माओवादीले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै, २०५९ असार १८गते माओवादीबाट अलग्गिएको घेाषणा गरे त्यसपछि पहिलेकेा खम्बुवानलाई सक्रिय गराउदै किरात वर्कस पार्टी पुनर्गठन गरे । भोलिपल्टै खम्बुले माओवादी नेतृत्वलाई आफू असन्तुष्ट हुनुको कारण खुलाएर, छलफल गरी सहकार्य गर्न तयार रहेको बताउदै पत्राचार गरेपछि माओवादी र कि.व.पाको माथिल्लो तहको वार्ता धरानमा भयो । वार्तापछि पुनः सहकार्य भयो । त्यसपछि २०६० साउन २ गते पाँचथरको याङ्नाममा प्रचण्ड र बाबुराम समेत उपस्थित उपस्थित भै पुनः किरामो बनाए । माओवादीको जातिय संगठनका रुपमा रहेको यो किरामोबाट २०६४मा आएर लिम्बुवान राष्ट्रिय मोर्चा छुटिएपछि बाँकीरहेको किरामोमा अहिलेपनि माओवादीसँग आवद्ध खम्बुहरु कार्यरत छन् । यता ०६४ सालमै पुनर्गठन भएको खम्बुवान राष्ट्रिय मोर्चा भने अहिले सम्म खम्बुहरुलाई जगाउदै आन्दोलनरत छ । उता नविन किरातीहरुले खोलेको खम्बुवान जनवादी वर्कस पार्टी खोटाङ् लगायतका पहाडि भेगमा चौकी कब्जा गर्ने जस्ता कार्य गरिरहेका छन् भने एक समय खम्बुवानको नाममा पैसा कमाएर घर बनाएको आरोपमा कारबाही परेका आङ्गामी र सुरज खम्बुहरुपनि अहिले सम्म बेला बखत खम्बुवानको नाममा विज्ञप्ती निकाल्नेकाम गरिरहेका छन् । यसरी एकपछि अर्को अफ्ठ्यारो पार गर्दै आएको खम्बुवान आन्दोलन आगामी दिनमा कता जाने हो, अनुमान गर्न गाह्रो छ । फरक यति मात्र हो, अबको नेतृत्व कस्तो हुन्छ त्यसैमा भरपर्छ । यो खम्बुवानकालागि आन्दोलनरत विज्ञहरुको अनुमान हो ।

Apr 3, 2008

४० बर्षपछि थप अर्को बहादुर काजीमान लिम्बू

विश्वास दीप तिगेला
अमेरिकी सेना भित्रको रेन्जर आर्मीमा काम गरेका लेफ्टिनेण्ट कर्र्णोल थोमस ब्रोअरका साथमा अर्का लेफ्टिनेण्ट कर्र्णोल, एक क्याप्टेन र दुइ हवल्दार क्याम्प र्फकन्दै गर्दा बीच बाटोमा अचानक एम्बुसमा परे । नयाँ सरकार अर्न्तर्गतको अफगानी सैनिकहरुलाइ तालिम दिदै गरेका काजीमान लिम्बूलाई भर्खरै आफ्नो ठाँउमा आएर र्फकन्दै गरेका अमेरिकी सहकर्मीहरुबाट एम्बुसमा परेपछि सहायताको लागि अनुरोध आयो । आफ्ना सहायक संजिब र कृष्णलाई बाँकी कामको जिम्मा दिएर काजीमान अरु ५ जना अमेरिकी सेना लिएर एम्बुस थाप्ने शत्रु माथि आक्रमण गर्न झण्डै २ कि मी टाढाको दुश्मन नजिक पुग्ो । सहासका साथ काजीमान गोली खोल्न थाल्यो । अमेरिकन साथीहरुले पनि उनलाई साथ दिए र त्यसबेला उसले आफ्नो सहकर्मीहरुलाई कमाण्ड गर्दै थियो । उसको अगाडी झण्डै १५ मिटर टाढा एउटा अमेरिकन आर्मी धर्मराउदै उठ्यो र फेरी लड्यो । काजीमानले दोहोरो फायरिङको वास्तानगरी त्यो ढलेको मान्छे ल्याउन अगाडी खुल्ला भागमा दौडियो, उसका दाँयावाँयाबाट थुप्रै गोलिहरु आए तर उसले त्यो घाइतेलाई बोकेर पछाडी शुरक्षित ठाँउमा ल्याई छाड्यो र प्राथमिक उपचार गर्‍यो र त्यस पछि घाइते बिस्तारै होसमा आयो । काजीमान घाइतेलाई त्यहि छोडेर फेरी पुरानो सत्ताको सेनाउपर गोली हान्दै आफ्नो सहकर्मी अमेरिकनहरुलाई कमाण्ड गर्न पुग्यो । मध्ये रातमा कतै पनि साथीहरु संग सर्म्पर्क हुन सकेन । बल्लतल्लको सर्म्पर्क पछि थप अमेरिकनहरु आए, त्यसवेला बिहानको ७ बजि सकेको थियो । एम्बुसमा पर्ने बित्तिकै उल्टै जाइलाग्न जाने बहादुर सैनिकलाई दुश्मनको नजिक पुग्नै लाग्दा उसको छात्तिमा ३ गोली, टाउकाको देब्रे छेउमा १ गोली र खुट्टामा १ गोली लाग्यो र उ ढल्न पुग्यो तर घाइतेको छात्तिमा लागाएको बडिआर्मर - ढाल ) ले उसलाई निक्कै सुरक्षा दियो तब छात्तिबाट गोली वारपार जान पाएन । उनी झण्डै १० मिनेट जति बेहोस भएर भुइमा लडि रर्‍यो र केही समय पछाडी बेहोसमै उठेर साथीहरु तर्फजान खोज्दा फेरी त्यहि लडेका थिए लेफ्टिनेण्ट कर्र्णोल थोमस । हो त्यसै बेला काजीमानले उनलाई देखेका थिए । घट्ना विवरण सुन्दै मुटु काप्ने त्यो एम्बुस आक्रमणमा तपाइचाहि कसरी बच्नु भो भन्ने प्रश्नको जवाफमा भन्नुहुन्छ अलिकति भाग्य र अलिकति चाहि राम्रो तालिम गरेकोले गर्दानै बचेको बताउछन् । उसलाई त्यो आक्रमण ताका आफ्नो देब्रेपट्ट रहेको एक अमेरिकन हवल्दारले बिस्तृत देखेको थियो र स्वयं घाइते कर्र्णोलले काजीमानको अकल्पनिय पराक्रमको बारे बोल्यो र लेख्यो जस्को फलस्वरुप घट्नाको ठिक अर्को महिना - ११ नोभेम्बर २००३ ) अमेरिकन आर्मीकै सर्वोच्च श्रेणीमा पर्ने बहादुरीताको मेडलले सम्मानित बन्यो काजीमान । घटना घटेको भोलिपल्ट मात्र काजीमानको अन्य गोरखाहरु संग सर्म्पर्क भयो । गत ७ सेप्टेम्बर ०४ मा बेलायत सरकारले दिने घोषणा गर्‍यो र गत ९ डिसेम्बर ०४ का दिन बकिङहम प्यालेसमा बेलायती महारानी एलिजावेथ द्धितीयद्धारा सो बहादुरी प्रदान गर्‍यो ।अफगानिस्थानको राजधानी काबुल नजिकको त्बलप न्चबखभथबचम जंगलमा ११ अक्टोवर २००३ को मध्येरातमा उक्त भिडन्त भएको थियो । सैनिक पेशामा अत्यन्तै समर्पित बहादुर काजीमान सन् १९७० मा तेह्रथुम जिल्लाको छथर पोखरी ३ लुकुवामा जन्मेका थिए भने सन् १९८९ मा ब्रिटीस गोरखा सैनिकमा भर्ति भएका थिए । हाल सेरिया ब्रुनाइ स्थित श्रीमति सुनिता छोरी मेधावी र छोरा रिवाजको साथमा कार्यरत हुनुहुन्छ ।गोर्खाली इतिहासमा सम्भवत यो बहादुरीता विगत झण्डै ४० बर्षपछिको सबैभन्दा उच्च बहादुरी हो । यो बहादुरीताको सम्मानले काजीमान लिम्बूको जीबनमा गौरव गर्ने राम्रो ठाँउ त बन्यो नै अझ ब्रिटिस गोर्खाजको इतिहासमा अर्को उचाइ थपेको छ । बधाई छ बहादुर काजीमान लिम्बू ःऋ र उसको पुरुषार्थलाई ।

भि.सी. रामबहादुर लिम्बु



६५ बर्षिय लिम्बुको जन्म पाँचथर जिल्लाको च्याङ्थापुमा भएको हो । सन् १९६५ मा मलेशिया र इन्डोनेसियावीच सरुवाक भन्ने ठाँउमा भएको युद्धमा दखाएको बहादुरीको कदर स्वरुप सो पदक प्राप्त गर्नुभएको हो । २२ बर्षे उमेरमा वि.स. २०१४ सालमा व्रिटिश सेनामा भर्ती हुनुभएका भिसी लिम्बुले २२ वर्ष ब्रिटिश सेनामा र ७ वर्ष ब्रुनाई (GRU) मा नोकरी गर्नुभयो । उहाँ भिसी पदक प्राप्त गर्ने ११ जना ब्रिटिश गोर्खालीहरु मध्ये सबभन्दा कान्छा हुनुहुन्छ ।