हाङयुग अज्ञात
नीलोनीलो समुन्द्रले निलिरहेको छ
मेरो नुनिलो सपनाको नदी
जसलाई मैले
लिम्बूहिमालको मुटुबाट
निरन्तरनिरन्तर चोखो र पवित्र
युगौंयुगदेखि बोकेर आएको छु
हो, तेही सपनाको काबेलीलाई
नीलोनीलो समुन्द्रले निलिरहेको छ,
लिम्बुवानको नून खाएर
नुनिलो भएको मेरो नदीले
यो समुन्द्रमा मिसिएपछि
बिर्सेको छ नूनको कहानी
यस्तो बेला म उसलाई
कुनै गब्बरसिंहले जस्तो
'मेरो नुन खाइस्,
अब गोली खा !' भन्न सक्दिनँ,
तमोर खोलाको तिरैतिर
जब किराँतेश्वर च्याब्रुङ बजाउँदै
कैलाशपर्वततिर लागेको थियो
त्यो प्रचण्ड घामको गर्मीमा
जो पसिना खस्यो
उसको थेप्चो नाकबाट
त्यो मेरै नदीको पानीमा खस्यो
तर हिजोआज यो सहरमा
अरूण पनि प्रभुनदी भएको सुन्छु
लिखु पनि प्रभुनदी भएको सुन्छु
तमोरको त के कुरा गर्नु
आफ्नै पानीको तरङ्गमा
सैतानको तस्बीर देख्छ
तेसैले त
नीलोनीलो समुन्द्रले निलिरहेको छ
मेरो कलिला सपनाहरूको मीठो सपना !
हो, यो सहरमा आउनु अघि
मसित धेरै सपनाहरू थिएनन्
यौटा सपना अनामनगर धोबीखोलामा
घरबेटीको घरमा (देश छोड्नु अघि)
डेराको अन्तिम रात देखेको थिएँ
जसलाई मैले
मनको एल्बममा सुरक्षित राखेको छु
र जसको मैले शिर्षक राखेको छु
'स्विट होम् स्विट !'
र अर्को सपना मैले
तात्कालीन शाही वायुसेवा निगमको
आर.ए. ४०९को अन्तिम सिटमा देखेको थिएँ
जसलाई मैले
आँखाको फोल्डरमा सेभ गरेको छु
र जसको मैले शिर्षक राखेको छु
'जीवन संघर्ष हो, संघर्ष हो जीवन !'
तर सपना जतिसुकै सुरक्षित राखे पनि
त्यो समयले सङ्क्रमित हुँदोरहेछ
र घाउ पाकेजस्तो पाकेर
कुहिएर गन्हाउँदै फत्फत् खस्तोरहेछ
जसरी सतीदेवीको लास महादेवको काँधबाट
अङ्गअङ्ग कुहिदैं खस्यो दक्षप्रजापतिको राज्यमा
तेसरी नै खस्तैछ मेरो सपनाको लास
यो सहरको सडक र गल्लीहरूमा
म्याक्डोनाल, वेलकम र सेभेनइलेभेनमा
एकतलामाथि भुटन र सानमिगेलमा
रात्रीबजारमा नेपालीपसलमा चकाबमा
धेरै चोक्टाहरू त जागिरमा खस्तछन्
जसलाई कवितामा लेख्नु भनेको
पाठकहरूलाई यातनागृहमा थुन्नु हो,
तेसैले मजस्तै सपनाको मृत्युमा
उत्सव मनाउनेहरू
चे गुवारा छापिएको टिर्सटभन्दा
'जिन्दगी जागिर होइन' लेखिएको
गन्जी लगाउन मन पराउँछन्
यसकारण पनि यो प्रभुजी सहरमा
नीलोनीलो समुन्द्रले निलिरहेको छ
मुजिक्ना, मोहम्मद आलम
र छोमाको कमलो सपनालाई
जसको लागि मैले कविता लेखिनँ भने
कविहरूले मलाई ब्लु जिनमा डुबाउनेछन्
कवियत्रीहरूले मलाई प्रेमप्रस्तावमा तान्नेछन्
भो, म यो उमेरमा
प्रेमको कविता लेखेर
मेरो स्वास्नीको मनमा शंका उमार्न चाहन्न
भो, म ब्लू जिनमा डुबेर कविता लेख्न चाहन्न
तेसैले प्रिय सपनाहरूको मृत्युमा
रूनुभन्दा हाँस्नु राम्रो, रिसाउनु राम्रो,
कराउनु राम्रो, चिच्याउनु राम्रो
किनभने यो सहरको मुटुमा
कुनै कथाकारले प्लाटेनियम स्प्रे गरिदिएको छ
जसलाई हाम्रो सम्वेदनाको तरङ्गले छुदैन
तेसैले
समयले टाटो लगाएको मन
रोएर पखालिदैन
हाँसेरै जाती हुन्छ छातीको घाउ
कराएरै निको हुन्छ खप्परको तनाव
चिच्याएरै शान्त हुन्छ आक्रान्त वर्तमान,
र त सात वर्षछि बल्ल सोच्दैछु
'स्विट होम स्विट !'को पूर्ण सपना
'जीवन संघर्ष हो, संघर्ष हो जीवन !'को पूर्ण सपना
र पुरा गर्दैछु
सात वर्षअघि थाती राखेको अपूर्ण कविता
र बुझ्दैछु नियतिको समिकरण
पूर्ण सपना बराबर अपूर्ण विपना हुँदोरहेछ
पूर्ण कविता बराबर अपूर्ण जिन्दगी हुँदोरहेछ
तेसैले यो क्षण मेरो अवस्था
र्सपले आदि निलेको भ्यागुताको जस्तो छ
न जो चल्मलाउन सक्छ
न जसले आत्मर्सपण नै गर्न सक्छ
मात्र टुलुटुलु आँखाहरू पारेर
पर्खिरहेको छ कुनै अधार्मिक मान्छे
जसले र्सपलाई लाट्ठी हिर्काएर
उसलाई मुक्त गरोस् नर्कबाट..
मुक्त गरोस् र्सपजस्तो व्यवस्थाको मुखबाट..
मुक्त गरोस् मालिकहरूको हुकुमबाट..
र्सपले आदि निलेको भ्यागुताले
यदि यसबेला
कुनै मानिस सम्झिरहेको छ भने
मलाई सम्झिरहेको हुनुपर्छ
किनभने मैले पनि यो बेला
त्यो अर्धमरो भ्यागुतालाई सम्झिरहेको छु !
हो, हामी भ्यागुता
हामी धार्नी पुग्दैनौं
हामी कान्ला नाघ्न सक्दैनौं
र्सपको मुखभित्र आदि छिरेका छौं
किनभने हामी सहरमा बसेका छौं
र सहर भनेको र्सप हो
साँच्चै, सहर भनेको खतरनाक र्सप हो
डस्छ यसले हाम्रो मस्तिष्क
र हामीलाई डिप्रेसनको बिरामी बनाउँछ
डस्छ यसले हाम्रो हृदय
र हामीलाई सम्वेदनहीन मूकदर्शक बनाउँछ
हो, यो सहर यस्तो र्सप हो
जसले मानिसहरूलाई भ्यागुता बनाउँछ,
र यो समुन्द्र यसको विष हो
जहाँ सपना नदीको विर्सजन भएको छ
हाम्रो रगत, पसिना र आँसु खसेको छ
हाम्रो इच्छा र आकाङ्क्षाहरूको कोमल शरीर
यसलाई छुनसाथ मोमजस्तो पग्लेर
तिहीँ समाहित भएको छ
र यो समुन्द्र यो सहरको कालकुट विष हो
जसलाई पिउनु यहाँ किराँतेश्वर आउनुपर्छ
सप्पै सपनाहरू रित्तिसकेको
म तेही किराँतेश्वर हूँ
यो युगमा फेरि एकचोटि आएको छु
यो सहरलाई घाँटीमा बेरेर
यो समुन्द्रलाई घट्घटी पिएर
आएको छु मानिसहरूको उद्घार गर्न..
सप्पै सपनाहरूको मृत्युपछि
अथवा सपनाहीन भएपछि
कि त मानिस ईश्वर हुन्छ कि त पागल
साँच्चै एकदिन यो सहरमा म सपनाहीन हुनेछु
र मानिसहरूले भन्नेछन्
ईश्वर हाङयुगको मृत्यु भयो
पागल हाङयुगको मृत्यु भयो
त्योभन्दा धेरै त पक्कै भन्दैनन् होला
किनभने ईश्वर र पागलभन्दा ठूलो गाली
अरू के होला -
तर यतिबेला
नीलोनीलो समुन्द्रले निलिरहेको छ
मेरो नुनिलो सपनाको नदी
जसलाई मैले लिम्बूहिमालको मुटुबाट
निरन्तरनिरन्तर चोखो र पवित्र
युगौंयुगदेखि बोकेर आएको छु
हो, तेही सपनाको काबेलीलाई
नीलोनीलो समुन्द्रले निलिरहेको छ
नीलोनीलो समुन्द्रले मेरो सपना निलिरहेको छ
नीलोनीलो समुन्द्रले हाम्रो सपना निलिरहेको छ
नीलोनीलो समुन्द्रले देशको सपना निलिरहेको छ ।
No comments:
Post a Comment