Jun 16, 2009

'बन्द’ संस्कृतिको विकृत अनुहार

खगेन्द्र संग्रौला
'बन्द'को हिंस्रक र विनाशक संस्कृतिमा बद्नाम नम्बर एक समुन्द्रसमीपको बंगलादेश हो कि हिमालमुनिको नेपाल ? यो कृष्ण हाछेथु, सुधीन्द्र शर्मा र सौभाग्यजङ शाहको अनुसन्धानको नवीनतम विषय हो । सुतीखेती गरून् । तर, 'बन्द'बाट पीडित, आहत, आजित र क्रुद्ध नेपालीका नजरमा 'बन्द'को मानवद्वेषी संस्कृतिमा नम्बर एक नेपालै हो । के हामी नेपाली अल्छे, बेढंगे, संवेदनहीन, अभद्र, नरपीडक र विनाशप्रेमी जाति हुनाले हामीलाई 'बन्द' नम्बर एकको यो अपश्रेय प्राप्त भएको हो ? 'हो' भन्न मलाई लाज लाग्छ । 'होइन' भन्ने ठावैँ छैन । 'बन्द' गर्न बुद्धि र विवेक चाहिँदैन । 'बन्द' गर्न संवाद र तर्कको कौशल चाहिँदैन । 'बन्द' गर्न सीप र लगन चाहिँदैन । 'बन्द' गर्न शिष्टता र मर्यादा चाहिँदैन । 'बन्द' गर्न उद्यमशीलता र सिर्जनशीलता चाहिँदैन । 'बन्द' गर्न लगानी र धैर्य चाहिँदैन । 'बन्द' गर्न 'बन्द'कर्ता भुसतिघ्रे भए पुग्छ । 'बन्द'कर्ता हुल्लडबाज भए पुग्छ । 'बन्द'कर्ता उन्मादी जत्था भए पुग्छ । 'बन्द'कर्ता विनाशवीर भए पुग्छ । 'बन्द'कर्ता परपीडाका स्रष्टा भए पुग्छ । र, 'बन्द'कर्ता अराजक जम्बोरी भए पुग्छ । 'बन्द'कर्ताको झुन्ड भालेको डाकमा ट्रयाकसुट लाएर, झोलामा पानीको सिसी र हातमा पार्टीको झन्डा बोकेर सडकमा निस्कन्छ । अनि उसको पहिलो काम-कर्तव्य हुन्छ- पक्राउ परेका केही निजी वा सरकारी वाहनलाई थलैमा दागबत्ती दिएर तिनको दाहसंस्कार गर्नु । ढुंगा थुपारेर र मुढा तेस्र्याएर सडक छेक्नु । टायर बालेर बस्तीमाथिको प्रदूषित आकाशमा थप विषाक्त धुवाँ फैलाउनु । हाउडे मुद्रामा हा-हा, हो-हो गर्दै वातावरणमा भयका जनपिराहा तरंगहरू सञ्चार गर्नु । यो अवरोध, यो विनाश र यो धुवाँले 'बन्द'कर्ताको पराक्रमको पहिलो कृतिको रूप लिन्छ । अनि, यो विद्रूप कृतिको समाचार आतंकयुक्त सन्देश बोकेर तुफानी गतिमा छिनभरमै बस्तीभरि फिँजिन्छ । अनि, भयाक्रान्त वाहनहरू आतुरीसाथ सडकबाट सरक्क पाखा लाग्छन् । पसल र कलकारखाना झ्याप्झुप् बन्द हुन्छन् । ताल्चा झुन्डिएका शिक्षालय रात्रिकालका मसानघाटसरी सुनसान हुन्छन् । सडकभरि निस्तेज पदयात्रीको लस्कर जीवनको बाजी हारेका अनुहार लिएर लुखुर-लुखुर हिँडेको उच्च्ााटलाग्दो दृश्य देखिन्छ । र, सहर भयानक युद्धपछिको विरक्तलाग्दो खण्डहर प्रतीत हुन्छ । मानिसलाई जति धेरै आतंकित तुल्याउन सक्यो, 'बन्द' त्यति नै सफल मानिन्छ । सडकहरू जति सुनसान भए, 'बन्द' त्यति नै सानदार ठहरिन्छ । सडकमा रगतका छिटा, वाहनका कंकाल, सिसाका टुक्रा र खरानीको थुप्रो जति धेरै भयो, 'बन्द' त्यति नै सशक्त साबित हुन्छ । अनि विनाश, यातना र कोलाहलका जति धेरै कथा रचियो, बन्दले त्यति नै ठूलो गौरव प्राप्त गर्छ । हुँदा-हुँदा 'बन्द'को यो संहारकारी व्याधिले अति सस्तो र चुत्थो रूप धारण गरेको छ । लोग्ने-स्वास्नीको झगडा पर्‍यो कि झोँकै-झोँकमा तिनले सडक 'बन्द' गर्ने खतरा पैदा हुन्छ । सडकमा ट्यापे कान्छाहरूको ग्याङफाइट पर्‍यो कि 'बन्द'को खतरा उत्पन्न भइहाल्छ । लामो दूरीका मूल सडकका दायाँ-बायाँ छाप्रा-टहरा बनाएर बसेका विपन्न नरनारी कुखुराका चल्लालाई चर्न सडकमा छाडिदिन्छन्, र कुन बेला वाहनले किच्ला भनी एक टकले दाउ हेरी बस्छन् । चल्लो क्याच्च भए तिनले नखत दस लाख हर्जाना र सहिद घोषणाको दाबी गर्दै सडक छेक्न अब बेर लाग्नेछैन । सोचौँ, 'बन्द'को विकारले बन्दकर्ता युवाहरूको मन-मानस र मनोविज्ञानमा के गर्दो हो ? लाटो बुद्धिले पनि अनुमान गर्न सकिन्छ, यसले उपध्रो गर्छ । यसले अभाव, अतृप्ति, उपेक्षा र असफलताको कारण तिनमा सञ्चित भएको कुण्ठा, क्रोध र प्रतिशोधरूपी रोगका जरामा युरियामल हालिदिन्छ । यसले तिनमा विनाश उत्तम हो, परपीडा परम् धर्म हो र हुल्लडबाजी जीवनको उदात्त पराक्रम हो भन्ने प्रेरणा सञ्चार गरिदिन्छ । उसो त यसले तिनमा अभद्रता नै भद्रता हो, अशिष्टता नै शिष्टता हो, विनाश नै निर्माण हो, अराजकता नै मर्यादा हो, हिंसा नै अहिंसा हो र परपीडा नै परोपकार हो भन्ने भाव पनि सञ्चार गरिदिन्छ । यो सत्य हो भने के 'बन्द' अमर्यादा, असभ्यता, मानवद्वेष र विनाशको उत्पादन गर्ने कारखाना हो ? हो भने नयाँ सभ्यताको निर्माण गर्ने अभियानमा जुटेका राजनीतिक दलहरूमा 'बन्द'प्रति यति ठूलो अनुराग र लालसा किन ? 'बन्द'ले जनसाधारणको नियमित दैनिक जीवनलाई क्षतविक्षत तुल्याउँछ । 'बन्द'ले अर्थतन्त्रमाथि बन्चरो बजार्छ र शिक्षामाथि घातक छर्रा प्रहार गर्छ । 'बन्द'ले जनजनका मनमा बन्दकर्ताप्रति केवल क्रोध र वितृष्णा जगाउँछ । तैपनि, बन्दको महामारी घट्नुको सट्टा झन्झन् बढ्दो छ । 'बन्द'मार्गी कुनै नेताले मलाई बन्दको एउटासम्म फाइदा बताइदेओस्, म निज हजुरलाई धनुष्टंकार मुद्रामा तीनचोटि नमस्कार गर्नेछु । विद्रोही पथमा छलाङ मार्दै शान्तिपथमा आएको माओवादी अहिले पार्टी प्रतिपक्षमा छ । र, उसको आह्वानमा अन्तहीनजस्तो लाग्ने 'बन्द' सिरियल जारी छ । लाग्छ, यो अदूरदर्शी 'बन्द' सिरियलबाट सबैभन्दा धेरै घाटा उसैलाई छ । धेरैजसो दैनिक ज्यालादारी श्रमिकहरू निःसन्देह माओवादीका मतदाता हुन् । 'बन्द'ले तिनको ज्याला खाइदिन्छ र तिनको चुलो तात्दैन । नाङ्लेपसलेदेखि लिएर धेरैजसो साना पसलेहरू उसैका मतदाता हुन् । 'बन्द'ले तिनका पेटीपसल वा कोठेपसलहरू बन्द गरिदिन्छ र पेट भर्ने तिनको चारो हरण गरिदिन्छ । उद्योग र कारखानाका धेरैजसो कामदार उसैका मतदाता हुन् । 'बन्द'ले तिनको रोजीरोटी हजम गरिदिन्छ र तिनलाई भोकको उपहार टक््रयाउँछ । धेरैजसो वाहनचालक र खलाँसीहरू उसैका मतदाता हुन् । 'बन्द'ले तिनका हात खाली गरिदिन्छ र तिनका खाली पेट मुसाको ताण्डव देख्न श्रापित हुन्छन् । 'बन्द'ले अस्पताल जान लागेका कतिपय मधौरुहरूको ज्यान बीच बाटामै शेष गरिदिन्छ । बन्दले सुत्केरी हुन प्रसूतिगृहको बाटो लागेका कतिपय नारीको दुर्दशा गराइदिन्छ । के मानवतावाद र श्रमिकमुक्तिको ध्वजामुनि संसार फेर्ने सपना बोकेर हिँडेको 'बन्द'कर्मी माओवादीलाई यति नाथे कुरा पनि थाहा छैन ? संविधानको लछुमन रेखा नाघेर उपध्य्राइँ गर्ने राष्ट्रपति रामवरण यादव, अनि तिनको विरोधको नाउँमा जनसाधारणले सास्ती खप्नुपर्ने किन ? जंगी पेसाको मर्यादाको मान राख्न नजान्ने महारथी रुक्मांगद कटवाल, तिनको विरोधको नाउँमा निर्दोष नागरिकले हैरानी झेल्नुपर्ने किन ? शान्ति-प्रक्रियामाथि तेजाब खन्याएर युद्ध निम्त्याउन आतुर हुने बाइस दल, लोकका गरिखाने नरनारीमाथि तिनमाथिको झोँक पोखिनुपर्ने किन ? अनि टाउको दुखेको ओखती नाइटामा लाउने तालको यो निसानाहीन र प्रभावहीन 'बन्द'को नरद्वेषी वितण्डा किन ? जो कसुरदार हो, विरोधको निसाना हुनुपर्ने उही हो । विरोधको लप्काले घेर्नुपर्ने त राष्ट्रपति कार्यालय शीतलनिवास पो हो । जो वितण्डाको व्यूहरचनाकार हो, हैरानीको भागी हुनुपर्ने उही हो । विरोधको आवेग र आवाजले घेर्नुपर्ने त सिंहदरबार हो, बालुवाटार दरबार हो, बल्खुदरबार हो, सानेपादरबार हो । जो होचो उसैका मुखमा घोचो भनेभै“m विरोधका नाउँ र निहुँमा 'बन्द'को नौटंकी रचेर जनसाधारणको हुर्मत लिनुको तुक के हो ? सिर्जनशील विवेक र चतुर जुक्तिले काम गर्ने हो भने विरोधका रचनात्मक र प्रभावकारी तरिका पनि त हुँदा हुन् । द्वन्द्वका उपासकको सातो जाने गरी विशाल विरोध र्‍यालीहरू निकाल्न सकिँदो हो । युद्धका अभियन्ताका मुटु थर्किने गरी अपार जनसागरको प्रदर्शन गर्न सकिँदो हो । धर्ना र घेराउको मञ्चन गर्न सकिँदो हो र आमरण अनशनको ध्वाँस दिन पनि सकिँदो हो । फराकिला डबलीमा चोट्टलिा गीत र कटाक्षकारी हास्य अभिनयका बाणले जनजनका नजरमा सर्वांग नांगिने गरी इतिहासका खलपात्रहरूको धज्जी उडाउन सकिँदो हो । के अमानवीय र विनाशकारी 'बन्द'को चक्रलाई बन्द गर्न 'बन्द'पीडित नागरिकले हात-हातमा लाठा र भाँटा बोकेर ग्वाग्र्वार्ती सडकमा निस्कनै पर्ने हो ? 'बन्द'का अति उत्साही अभियन्ताहरू हो ! 'बन्द'को वितण्डा सदाका लागि बन्द गर । यो अतिशय 'बन्द'पीडित आमनेपालीको हृदयको आवाज हो ।

Jun 1, 2009

लिम्बुवानको आलोकाँचो सवाल

भवानी बराल
लिम्बुवानवासी जनताको उत्कट चाहना र आन्दोलनलाई सम्बोधन गरी राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै संविधानसभाबाट वर्तमान नेपालको राज्य पुनःसंरचना गर्दा लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक क्षेत्र लगायतका आधारमा स्वायत्त राज्यहरूको संवैधानिक व्यवस्था गरी संघीय शासन प्रणाली अवलम्बन गरिनेछ ।’ (सात दल सम्मिलित सरकारी वार्ता समिति र संघीय लिम्बुवान राज्य परिषदबीच भएको सहमति, ०६४ चैत ६ गते)
लिम्बुवान राज्य स्थापनार्थ संघर्षरत समूह र सरकारबीच संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको यो पछिल्लो सहमति हो । तर लिम्बुवान स्वायत्त राज्यको माग गर्ने लिम्बुजन्य संगठनको प्रस्ताव यतिखेर पूरै ओझेलमा छ । संघीय राज्य निर्माणमा लिम्बुवानको मानचित्र कहाँनेर पर्छ, अत्तोपत्तो छैन । जातीय राज्यको त कुरै छाडौं, संघीयतामै बादल लागेको बेला लिम्बुवानको मुद्दा नउठ्नु स्वाभाविकै हो ।
केही दिनअघि लिम्बुवानलाई राजनीतिक परिदृश्यमा ल्याउन संविधान विशेषज्ञ समूहको सहयोगमा आठवटा लिम्बुजन्य संगठनको मोर्चाले राजधानीको तारेहोटलमा लिम्बुवानको अवधारणा प्रस्तुत गर्‍यो । अवधारणामा लिम्बु र थातथलो खुलेका जातिलाई मात्र राजनीतिक, आर्थिक, भाषिक, धार्मिक र सांस्कृतिक अग्राधिकार तथा विशेषाधिकार हुने प्रस्ताव गरेपछि गोष्ठीले जातीय राज्यको माग साम्प्रदायिक अर्थको हुने संकेत गरेकोमा सहभागीले राय बझाए । अझ लिम्बुवानमा लिम्बु भाषा सरकारी कामकाजको भाषा हुनेछ र सम्पर्क भाषा खस नेपाली र अंग्रेजी हुने तथा अन्य आदिवासीको भाषाले राज्य भाषाको मान्यतामात्र पाउने कुराको प्रस्तावले पहिलो गाँसमै ढुंगा परेको सहभागीको गुनासो थियो ।
भाषाकै सवालमा समाजशास्त्री बालकृष्ण माबोहाङले मुखै फोरेर भने- ‘लिम्बुवानमा बहु-भाषिक नीति हुनुपर्छ । सरकारी कामकाजको भाषा लिम्बु र खस नेपाली हुनुपर्छ ।’ प्रस्तावको अन्य विषय कोटयाउँदै उनले लिम्बुवानमा अरू रैथाने आदिवासी रहेकोले लिम्बुवानको अलग विधान र राज्यको सभा दुई सदनात्मक हुनुपर्नेमा जोड दिए । लिम्बुजन्य संगठनले एक वा दुई सदन आवश्यकताअनुसार हुनेमात्र प्रस्ताव गरेको थियो ।
टिप्पणीकारको हैसियतले उपस्थित पत्रकार श्रीकृष्ण अनिरुद्ध गौतमलाई त लिम्बुवान नाम राख्ने अनुमति दिन पनि अप्ठयारो परेको सजिलै बुझ्न सकिन्थ्यो । उनले ठाडै भने- ‘ठकुरी र राणाहरूले २४० वर्ष राज्य गरे । गाली खाने बाहुन परे । बाहुनले त राणा र ठकुरीलाई सहयोगमात्र गरेका हुन् । संघमा जाने हो भने पहिले सीमा निर्धारण गरौं, त्यसपछि नामकरण गरौं । लिम्बुवान नामकरण गर्नुभन्दा श्री जंगाहाङ थेवे (लिम्बु जातिका प्रसिद्ध समाज सुधारक) प्रदेश राख्दा कसो होला ? भारतमा पनि सबै जातिलाई अटाउने मेघालय प्रदेश बनाएको छ । मेघालय भन्ने जाति त त्यहाँ छैन त ?’
डा पुष्पराज कँडेलको जातीय आधारलाई प्रतिस्थापन गर्न गैरभौगोलिक र वित्तीय संघीयतामा जानुको विकल्प नरहेको सुझाव थियो । उनी भन्दै थिए- ‘एकात्मक राज्यप्रणालीको लामो अभ्यास गरिसकेको देश संघीयतामा जाँदा सामाजिक सद्भाव भड्किन्छ । यसलाई रोकथाम गर्न गैरभौगोलिक संघीयतामा जानुपर्छ । अर्को वित्तीय संघीयताको बाटो पनि हुनसक्छ । लोकतन्त्रमा कसैलाई अग्राधिकार मिल्दैन । जातीय आधारमा संघ बनाउँदा सबैलाई ‘होमल्यान्ड’ बाँड्दै हिँड्ने बाध्यता हुन्छ । यसले क्षेत्रीय असमानता बढाउँछ, भयाभव निम्त्याउँछ र देश टुक्रन्छ ।’
लिम्बुवानको त्यो अवधारणामा आत्मनिर्णयको अधिकार कतै उल्लेख नभए पनि माओवादी सभासद पद्मलाल विश्वकर्माले नेपालको सन्दर्भमा देश टुक्रिनेगरी आत्मनिर्णयको अधिकार दिन नहुने जिकिर गरे । पार्टीगत कारणले उनले लिम्बुवानको समर्थन गरे तापनि लिम्बुवानमा दलितलाई विशेषाधिकार हुनुपर्ने र खस नेपाली भाषा सरकारी कामकाजको हुनुपर्ने धारणा राखे । माओवादी सभासद सुरेश आले मगरले संघीयतामा जातीय आधार फरक ढंगले राखे । उनले भने- ‘इतिहासमा जातीयताको आधारमा लिम्बुवान थियो । आज पनि त्यही आधारमा लिम्बुवान हुने हो । इतिहास, पहिचान र अधिकारको आधारमा लिम्बुवान अपरिहार्य आवश्यकता हो । तर लिम्बुवानको
सिमाङ्कनमा छलफल गर्नुपर्छ ।’ प्रदेशको नामपछि आउने राज्य शब्दमा भने उनले आपत्ति गरे । एउटा देशमा एउटैमात्र राज्य हुने भएकोले राज्यको साटो प्रान्त वा प्रदेश नाम राख्नुपर्ने उनको भनाइ थियो ।
विदेशी संविधानविद प्रो यस घईले संघीयताका अनेक पक्षमा प्रश्नको पोको खोले । नेपालको संघीयता तीनचक्के हुनुपर्ने धारण राख्दै उनले भने- ‘राज्यका तीन तह अब संघीयताको छलफलको विषय हुनुपर्छ । संघीयताबाट दलितले के पाउँछन्, म निश्चित छैन । प्रान्तीय सरकार बनाउँदा केन्द्रलाई कमजोर बनाउनु हुँदैन । जनरल फ्रेन्कोको नेतृत्वको स्पेनमा एकात्मक सरकार हुँदा विखण्डनको संघारमा पुगेको थियो । तर उनलाई हटाएर संघीयतामा गएपछि स्पेनको राष्ट्रिय एकता सुदृढ भयो । अहिले स्पेन संघीयताको पूर्णतातिर अभ्यासरत छ ।’
लिम्बुवानको वास्तविकता :- विसं १८३१ साउन २२ गते लिम्बुवानका केही गणप्रमुख र राजा पृथ्वीनारायण शाहबीच भएको सहमतिमार्फत नेपाल अन्तर्गत आएको अरुण(सप्तकोसी) पूर्वको लिम्बुवान संघीयता निर्माणको सिलसिलामा पनि संघीय राज्यको एक इकाइको रूपमा परिपक्व हुनसकेको होइन । यो सहमतिलाई चलनचल्तीको भाषामा ‘नुनपानी’को सहमति भनिन्छ । तर पानीमा नुन यतिका वर्षपछि पनि घोलिएन । हुन त लिम्बुवानका केही गण प्रमुखहरूले यो सन्धि गरेको भए पनि लिम्बुवान विजयपुरका गणप्रमुख बुद्धिकर्ण रायले लिम्बुवानको ‘गोर्खाकरण’ विरुद्ध त्यतिबेलै विद्रोह गरेका थिए । त्यो विद्रोहलाई दबाउन गोर्खाली सेनाले उनको हत्या गरेका थिए ।
लालमोहर, इस्तिहारअनुसार लिम्बुवानको माग ऐतिहासिक पृष्ठभूमिको आधारमा उठेको हो । अघिल्लोपटक विसं २०११ साल जेठ ३२ गते राजा त्रिभुवनको टेबलमा इमानसिंह चेम्जोङ सभापति र तेजबहादुर प्रसाईं प्रधानमन्त्री रहेको अखिल लिम्बुवान सुधार संघले लिम्बुवान राज्यको माग राखेको थियो । -हेर्नुहोस्, पुस्तक लिम्बुवानको राजनीति) पछिल्लोपटक ०६४ सालमा पनि लिम्बुवानको माग सम्बोधन भएकै हो, तर लिम्बुवानको सवाल काँचै छ । लिम्बुवान गोर्खा राज्यको विस्तारको क्रममा पराजित भएर नेपाल अधिनस्त आएको होइन । स्वायत्तताको अधिकार प्रयोग गर्नेगरी नेपाल र लिम्बुवानको करारबमोजिम नेपाल अन्तर्गत सह-राज्यको रूपमा आएको हो । त्यसअघि यो स्वतन्त्र राष्ट्र थियो । लिम्बुवान र अहिले उठेका अनेकन जातीय राज्य र लिम्बुवानको माग समान होइन । गोर्खा राज्यको विस्तारको क्रममा अन्य जातीय गणराज्य पराजित भएका थिए ।
यो बिती बाते भइसकेको छ । यद्यपि लिम्बुवानको यो ऐतिहासिक पृष्ठभूमि हो । तर यो ऐतिहासिक पृष्ठभूमिका आधारमा प्राग-ऐतिहासिक लिम्बुवानको पुनःस्थापना गर्न खोजियो भने त्यो आधुनिक राज्य हुन सक्तैन । आजको सामाजिक सन्तुलन अनुसारको अर्थात् लिम्बुवानवासी समेतको साझा राज्य नै आधुनिक लिम्बुवान हो ।
लिम्बुवानको सिमाङ्कन :- अरुण (सप्तकोशी) पूर्वको ऐतिहासिक भूमि नै लिम्बुवानको अहिलेको सिमाना हुनुपर्छ । ऐतिहासिक आधारबाट सिमाना तय गरिएन भने अनेक बखेडा आउँछ । लिम्बुवानभित्र थातथलो खुलेकाको विशेष स्वायत्त क्षेत्र र नखुलेकाको स्वशासित इलाका बनाउनु जरुरी छ । नेपाल अन्तर्गतको लिम्बुवान पनि तीनचक्के हुनुपर्छ । गजबको कुरो त के छ भने, लिम्बुवानको ऐतिहासिक सिमानाभित्र माओवादीले कोचिलाको अवधारणा -सुनसरी, मोरङ र झापा जिल्ला) ल्याएको छ । तर माओवादी सम्बद्ध लिम्बुवान मोर्चाले अवधारणामा कोचिलालाई ठाउँ दिएको छैन ।
रहलपहल ः संघीय सरकार र लिम्बुवान राज्यबीचको विविध पक्ष र पहलुको बारेमा ढिलै सही चर्चा हुनुलाई स्वाभाविक अर्थमा लिनुपर्छ । संघीय राज्यको अन्तिम कडीलाई जोड्नु मुलुकको निम्ति हितकर हुन्छ । राजतन्त्र ढलेपछि उसैसँग गरेको सन्धिअनुसार गाभिएको लिम्बुवान स्वतः स्वतन्त्र भएको अर्थ लगाएर मुलुकलाई विखण्डनतिर ढल्काउने कोसिस भइरहेको बेला यो समवेदनशीलतालाई पनि बुझ्न जरुरी हुन्छ । षटकोणजस्ता देखिने मोर्चाहरूले बल्लतल्ल यतिको अवधारणालाई ल्याएका छन् । यसलाई पनि नजरअन्दाज गरियो भने एकात्मक राज्यप्रणालीमा देश नटुक्रिने जोखाना हेरेर बस्ने घाटे वैद्यहरूको पनि चेत खुल्छ ।