Apr 23, 2008

बन्द ढोका र हामी


प्रकाश थाम्सुहाङ

किरात प्रदेशको याङरकबाट
चढेर चेतनाको रातो घोडा
अर्जाप्दै मस्तिष्कमा विचारको सिरूपाते खुकुरी
देश थर्काउँदै आवाजले
हो, थर्काउँदै शासकहरूको खुराफाती मुटु पनि..
लु है ! आइपुग्यौं, हामी नेपाल खाल्डोमा
अब खोज्छौं हिसाबकिताब
हाम्रा एकएक उत्सर्गहरु
विभेदको साँवा ब्याज
अरू थुप्रैथुप्रै पीडाहरूको साँवा ब्याज,

हौ, आदाङबा आदाङमा से
लुः एकमुष्ट गरौं असन्तुष्टिको मार्तोल
फोर्नुपर्छ अब
राज्यसत्ताको सुगुप ढोका !

कति बाँधिनु -
तथाकथित नियमकानुनको साँघुरो परिधि
माकति खुम्चिनु -
एक भाषा, एक धर्म र एक देशको
खोक्रो राष्ट्रियतामा,
कति शहीद पार्नु हाम्रो जिजीविषालाई -
बाँधेर तानाशाहको क्रुर फलामे साङ्लीझैं
यो देशको संविधानमा
निकालेर जब्बर तर्क मस्तिष्कबाट
त्यस्तो नाथे अन्तरिम संविधान
उहिल्यै जलाइदियौं माइतिघर मण्डलामा !

सधैं बाहिर
सधैं पाखा
बनाएर पराई हामीलाई
खुलेनन् ढोकाहरू,
किन खुलेनन् ढोकाहरू -
ढोका- अवसरको
ढोका- अधिकारको
ढोका- समावेशिताको
ढोका- आत्मनिर्णनयको
ढोका- राज्यनीतिको
फगत बाँचिरह्यौं
अजिन्दगी !
हरायौं आफ्नो कुरा सप्पैसप्पै
अनुहार, रङ
भाषा, धर्म
जग्गा, किपट
र भूमिपुत्र नै
भूमिहीन बाँचिरह्यौं,

ढोका अझै बन्द छ
अझै पनि ढोका बन्द छ
काङसोरे तिम्रो बलिदानको कसम
हामी चेतनाको रातो घोडा चढी
मस्तिष्कमा विचारको सिरूपाते अर्जाप्दै
बन्द ढोका फोर्न अग्रसर छौं
बन्द ढोका फोर्न कटिबद्घ छौं ।

No comments: