Apr 30, 2008

नयाँ नेपालका नयाँ चुनौतिहरु

गोपाल दाहाल
नयाँ नेपाल निर्माणका लागि,नयाँ संविधान बनाउन गरिएको संविधानसभाको निर्वाचनमा नयाँ राजनीतिक दल नेकपा माओवादी, विज्ञ विश्लेषकहरुका विश्लेषणहरुलाई असफल गराउदै र आफ्नै आँककलनमा समेत फेल हुदै संसारलाई नै चकित पारेर नेपाली राजनीतिकै ठुलो दलका रुपमा स्थापित हुने क्रममा छ । नयाँ बर्षको बेलामा नयाँ इतिहास रचेको माओवादीले नयाँ बर्षको खुसीयाली सँगै विजय उत्सव मनाईरहेको छ । यसअघिका मितिमा तोकिएका निर्वाचनमा समेत जाउँ कि नजाउँ भनेर डराईरहेको माओवादीले अहिलेको चुनावको संघार सम्मपनि आफ्नो पार्टीले यतिविधि मत र सिट ल्याउँछ भन्ने विश्लेषण गरेको भए सायद एमालेसँग तालमेलको हात पसार्ने थिएन । र आफुले हारेमा पुन बबाल गछौर्ं भन्ने आवाज निकाल्ने थिएन । एमालेले साचेको थियो, गाउँगाउँमो दिएका दुःखका कारण जनताहरु माओवादीसँग विच्किएका छन् । शहरी क्षेत्रका आफ्ना कार्यकर्ताप्रतिवद्ध छन् चलमलाएका छैनन् । जीत एमालेकै पक्का छ । माओवादी त तेस्रो स्थानमा मात्र आउँछ । यहि अनुमान लगाउदै जनताको चाहना र माग विर्सेर एमाले कोठामा बसेर आफ्ना पकेटका भोट गन्दै ' लालकिल्ला' कायम रहनेमा ढुक्क मात्र होइन 'ओभर कन्पिmडेन्ट' भयो । काँग्रेसको दाउ दुई ठुला वाम पार्टी माओवादी र एमाले लडेपछि भोट काटाकाट हुन्छ,जीत्ने चै काँग्रेस नै हो र सायद काँग्रेसले बहुमत ल्याउन सक्छ भन्ने थियो । विभिन्न क्षेत्रका र स्वतन्त्र अधिकांश विश्लेषकहरुलेपनि माओवादीले अहिलेको जस्तो चुनावी परिणाम ल्याउला भन्ने विश्लेषण गर्न सकेका थिएनन् । त्यसकारणपनि यो चुनावी सुनामीदेखि अरु त अरु स्वयम माओवादीसमेत आश्चर्य चकित भएको हुनुपर्छ । माओवादी अध्यक्ष प्रचण्ड यतिबेला सोचिरहेका होलान् -हाम्रो निती, नारा र नयाँ विचार नेपाली जनताले छर्लङ्ग बुझेछन् र त भोट दिए । केहि हद सम्म यो सोचपनि सही नै हो तर त्यो भन्दा बढि सहिकुरा चै के हो भने, नेपाली जनताले धेरै बर्षदेखि परिवर्तन खोजिरहेका छन् । परिवर्तनकालागि जनताहरु अधर्य बनिसकेका छन् । यसअघि काँग्रेस र एमालेलाईपनि जनताले यसरी नै केहि गरिहाल्ला कि भनेर अमुल्य मतदानगरी माथि पुर्‍याएका थिए । जनताहरु उनिहरुका पक्षमा उभिएका थिए तर प्रजातन्त्र र बहुदलिय व्यवस्थाको यत्रो बर्ष सम्मपनि यि दलबाट जनताले सोचे अनुरुपको व्यवहार नभएपनि, तीनिहरुको विकल्पका रुपमा अर्थात् यसले पो केहि राम्रो गरिहाल्ला कि भनेर माओवादीमा आफ्नो मत दिएर विजयी बनाएका छन् ।माओवादीले यति धेरै मत पाउनुका पछाडि अन्य कारणहरुपनि छन् । यि कारण मध्येको अर्को ठुलो कारण नेपाली जनता एक दशक भन्दालामो द्वन्द्वदेखि सारै विचलित भएका छन् । माओवादीले चुनाव अघिदेखि नै आफुले नजिते विद्रोह गर्ने बताउदै आएपछि, जनतालाई माओवादीले हारेभने फेरि बबाल गर्छन् र पहिला जस्तै दुख व्यहोर्नुपर्छ भन्ने लागेको थियो । त्यसकारणपनि कति जनताले त फेरि हात्या,हिंसा र दुख खप्नु भन्दा माओवादीले नै जितोस् न त शान्ति हुन्छ भने भनेरपनि माओवादीलाई मत दिएका छन् । बहुसंख्यक जनताले निर्वाध रुपमा शान्तिपुर्वक 'गरिखाने वातावरण होस्' भन्नाका खातिर माओवादीलाई जिताएका छन् । अनि कतिले चैं माओवादीले उठाएका जातिय,आर्थिक,सांस्कृतिक आदि नीति मनपराएर पनि मत दिएकै हुन् । यत्रो गरेर पनि हार व्यहोर्नु परेको भए माओवादीले जंगल पस्नु मात्र होइन, जंगलै जंगल वनवास जानुको विकल्प बाँकि रहँदैनथ्यो ।यहाँ सम्म आई पुग्न, माओवादीले पार्टीको प्रचारप्रसारमा पनि कम्ति लगानी गरेको छैन । आफ्ना पार्टीका गणतन्त्र एफएम र जनदिशा, जनविद्रोह, कोशी जस्ता अनेकौं मुखपत्रले मात्र प्रचार गर्दा नपुगेर सञ्चार मन्त्रालय नै माओवादीको हातमा थियो । क्रान्तिकारी पत्रकार संघ गठन गर्नु, सरकारी मिडियाहरु नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस र गोरखापत्रमा आफ्नै पार्टीका मान्छे नियुक्ति गर्नु र यि मिडियाले बारम्बार पार्टीकै बखान गरिरहनु पार्टीको विजयकालागि गरेको पुर्व तयारी नै थिए । जनतालाई एकोहोरो बनाउन पार्टीका र पार्टीको पकडका मिडियाले सकेसम्म र हुने सम्म गरेकै हुन् । यसो गर्दागर्दा एकोहोरोभई एकपक्षिय समेत भएका कारण सरकारी मिडियाप्रति प्रेस काउन्सीलको ध्यान आकर्षणपनि भएको र रेडियो नेपालको घट्ना र विचार जस्ता कार्यक्रम चुनाव बेला बन्द भएका उदाहरणपनि छन् । त्यतिमात्र नभएर अन्य नीजि मिडियाले माओवादीको 'सपोर्ट' नगरेको आरोप लगाउँदै माओवादी अध्यक्ष प्रचण्डले अन्य मिडिया विरुद्ध आमसभामै बक्तव्य दिनुलाई पनि आफ्ना मिडियाले बनाउन खोजेको माहौल भत्केला भनेर हो भन्ने ठाउँ मान्न सकिन्छ । त्यसबाहेक माओवादीले प्रचारमा ल्याएका नाराहरुपनि निक्कै आकर्षक थिए । 'सवैलाई हेर्‍यौं पटक पटक, माओवादीलाई हेरौं यसपटक ' जस्ता चुनावी नाराले जनतालाई ए साँच्चै हो त , हेरौं न त यिनीहरुलाई पनि एक पटक, के के गर्दा रहेछन् भन्ने बनाएको हो । तर, सत्ता प्राप्तिकालागि हिजो माओवादीले जसरी गुलिया कुरा गरेको थियो, अस्ति अस्ति एमाले र काँग्रेसले पनि यसैगरेका थिए । अब भोलि माओवादीलेपनि आफ्नो कुरा अनुसारको काम गरेन भने काँग्रेस र एमाले भन्दा फरक ब्यवहार गर्ने छैनन् नेपाली जनताले माओवादीलाई । यदि अहिले मत देखेर दङ्ग परेर बस्ने अनि भोलिका दिनमा भुमिगतकालमा भात खुवाएका जनताको घर आँगन विर्सने, उकाली ओराली गरेका अफ्यारा बाटाहरु छाडिदिने अनि अरुपार्टी झैं कोठामै बसेर नक्शा हेर्दै यो हाम्रो लाल किल्ला हो भनेर मख्ख पर्न थाले माओवादीपनि दोस्रो एमाले हुनेमा कुनै दुईमत छैन । अबको नेपाली राजनीति माओवादीको व्यवहारमा भरपर्ने प्रष्ट छ । ठुलो दल भएपछि माओवादी र नेपाली सेना समायोजनको प्रमुख जिम्मा माओवादीलाई नै जान्छ । त्यसबाहेक विदेशी शक्तिहरुसँगको व्यवहार कस्तो हुने हो त्यो माओवादीकालागि चुनौतिको विषय हुनेछ । पार्टीको छविलाई केहि हद सम्म नकारात्मक बनाउने वाईसियललाई सुधार्ने वा विघटन गरेर अर्कै केहि राम्रो काम गर्ने समुहको छवि बनाउने त्योपनि माओवादीले तत्काल ध्यान दिनुपर्ने कुराहुन् । यि बाहेक माओवादीकालागि अवका दिनमा नयाँ चुनौतिहरु प्रसस्त देखा पर्ने सम्भावना छन् । पहिलेदेखि असन्तुष्ट जातिय संगठन र गुटहरुलाई मिलाएर लैजानु जस्ता कनेकन चुनौतिपार गर्नु पर्ने छ नै । माओवादीसँग जनताले धेरै आशा र आकांक्षा गरेको यस पटकको चुनावको परिणामले प्रष्ट पारिसकेको छ । यदि माओवादीले आफ्ना आकर्षक नाराहरुलाई जनताको मर्म बुझ्दै व्यवहारमा लागु गरे एमाले जस्ता पार्टी अफै बडारिने निश्चित छ भने माओवादीलेपनि उहि पहिलेकै पार्टीहरुका झैं कुरा जसरी काम गर्न सकेन भने उल्टै माओवादी 'साफ' हुने सम्भावना हुन्छ । हुन त नारा दिए जसरी काम गर्न, आकाश पातालकै फरक हुन्छ । तर कम्तिमा जनताले पनि बुझ्न सक्नेगरी सकेसम्मको कोशीस माओवादीले गर्नैपर्ने छ, आफ्नो अस्तित्व र देश र जनताको भविष्यकालागिपनि ।

No comments: