संकलकः विश्वास दीप तिगेला, वेलायत
यो चाड नवर्षोल्लासको रुपमा मनाइने चाड हो,त्यसैले यो चाडलाई 'सङ्तङ्बे लाम्दाःक् तङ्नाम्' (नववर्षालाई स्वागतार्थ मनाइने चाड) पनि भनिन्छ । यो चाड कःक् (चाप) फुलेको समय कःक्फेक्वा -माघ) महिनामा मनाइने हुदा यसलाई 'कःक्फेक्वा तङनाम' भनिएको हो । यसमा 'नवागमन भएको वर्षसुखशान्ति र आनन्द साथ व्यतीत होस भनी बिहानै उठी घर सफासँग लिपपोत गरी नुहाइधुवाइ गरी सफा भई तागेरा निङ्वाफुमाङ्को पूजा प्रार्थना गरी सकेपछि मानिसले र्सवप्रथम खान सिकेको/चिनेको खाद्य पदार्थ तरूल हो' भन्ने मान्यताअनुसार सो को सम्झनास्वरुप तरूल र फलफूल सदा बलिष्ट रहु भनी अन्य ताकतबर्द्धक स्वादिष्ट भोजन बनाई माङलाई चढाइ आफूले पनि खाने चलन छ । यसमा सेलरोटी सिस्नुको दाल आदि बनाई खाने र छरछिमेकमा बाड्ने पनि चलन छ । किरात ज्योतिष उत्थान सङ्घका चन्द्रकुमार सेर्माका अनुसार माघ १ गते, माघे सङक्रान्ति (कःक्फेक्वा तङ्नाम) आदिकालमा आगोको उत्पत्तिपश्चात् पोलिखाने, पकाइखाने प्राचीन परम्पराको स्मरण गर्दै माघे सङ्क्रान्तिलाई किरातीहरुले ठूलो चाडको रुपमा मनाउने गरेका छन् । कःक्फेक्वा तङ्नाममा हाङ्गाङ्से (घोराखोरी) र खरानेको तेलमा पारामा (खोरियामा छरिने/रोपिने एक कोदोका प्रजाति) को रोटी वा सेल पकाइ खाने चलन पनि रहेको छ । वन तरुल थोरै काँचै खाने र घर तरुल पकाएर यो अवसरमा खाने गरिएबाट किरात जातिको जङ्गली युगदेखि कृषि युगसम्मको जीवन पद्दति यो चाडमा झल्किएको पाइन्छ । यो समयको अगमनको सङ्केतको रुपमा पहाडी टाकुरा वा हिमालको फेदीमा फुल्ने चाँपलाई मानिन्छ । सूर्य उत्तरायण भएपछि गर्मी फिर्न थाल्छ र यही प्राकृतिक न्यानोपनका कारण चाप फुल्ने हो । त्यस बेला किरात जातिका पूर्वजहरूले आजको जस्तो वैज्ञानिक हिसाबले डिसेम्बर २२ मा सूर्य उत्तरायण हुने कुरा थाहा पाउन नसके पनि त्यस लगतै पहाडी क्षेत्रमा बसोबास गर्ने किरात जातिले आफ्नो आसपासको जङ्गलक्षेत्रमा फुल्ने चापको आधारमा नयाँ बर्षको आगमनको रुपमा मनाउने गरेको र सो अवसरमा आफ्ना पूर्वजले खाइल्याएको खानेकुराहरु खाने गर्दछन् ।
No comments:
Post a Comment