Jan 22, 2008

देश सुब्बा

वि.सं. २०२२ धरानमा जन्मनु भएका उपन्यासकार देश सुब्बाले पब्लिक युथ क्याम्पसबाट ब्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्यायन पुरा गर्नु भएको छ । हाल सम्म दोषी कर्म - २०५०,अपमान - २०५२ दुइ संस्करण,शहीद - २०५६ र भयवादमा आधारीत आदिवासी - २०६४ मा उपन्यास कृतिहरु प्रकाशित भएकाछन् । विभिन्न पत्रपत्रिकामा कथा,कविता र वैचारीक लेखहरु थुप्रै प्रकाशित भै सकेकाछन् ।नेपाली साहित्य प्रतिष्ठान हङकङसंग स्थापनाकाल देखि नै सम्वद्ध हुनुहुन्छ । आदिवासी उपन्यास पछि उनको नया योजना महाकाव्य कविता कृति प्रकाशन गर्ने तर्फ आफु मोडिएको कुरा वताउनु हुन्छ । हङकङलाइ नै लेखनको कर्मथलो मानेर लेख्न थाले पछि मगर संघ हङकङ र किरात याक्थुङ चुम्लुङ हङकङद्वारा २००३ मै सम्मानित हुनुभएको छ । वहा द्वारा प्रवर्तन गरीएको साहित्यमा भयवादले हालसालै नेपाल तथा हङकङको साहित्य लेखन तथा वैचारीक वहसमा खैलावैला मच्चाएको छ । जिवन र जगतलाइ हेर्ने नया चश्माको रुपमा आएको कुरा नेपाली साहित्यका मुर्धन्यहरुले स्विकार गरेकाछन् । हङकङ जस्तो व्यस्त ठाउमा रहेर पनि आफ्नो कृतिहरु लगातार प्रकाशन गर्न पछि पर्नु भएको छैन । वहा नै डायस्पोरीक नेपाली साहित्य लेखनमा वाद अथवा भयवादका पहिला प्रवर्तक पनि हुन् । उनै अत्यान्तै शसक्त,सक्रिय साथै भयवादका प्रवर्तकसंग लिम्वूवान डट व्लगस्पोट डटकमका व्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी पाठकहरुको लागि प्रस्तुत गरीएको छ ।

१.हालसालै तपाईद्वारा प्रतिपादित भयवादमा आधारित उपन्यास आदिवासीको प्रकाशन गराएर हङकङका पाठकहरूको हातमा पुर्‍याइसक्नु भयो तर कतिपय अन्य देशमा रहने पाठकहरूको हातमा उक्त कृति हात नपरेको हुनसक्छ त्यसैले भयवाद र पुस्तकको वारेमा बताइदिनुहुन्छ कि ?
आफ्नो कृति बढी भन्दा बढी पाठकले पढुन् भन्ने प्रत्येक लेखकको आशा हुन्छ । म पनि यसबाट अलग छैन । विद्युतीय सञ्जालमा कृतिको सञ्चार गराउन सजिलो छ । तर भौतिक रूपमा अन्य देशमा पुर्‍याउन विभिन्न समस्याहरू छन् । विदेशमा बस्ने नेपालीको ठूलो समस्या व्यस्तता पनि हो । व्यस्तताले गर्दा सोचिएका काम गर्न सकिन्दैन । सर्म्पर्क गर्न खोज्दा पनि सर्म्पर्क गर्न नसकिने अवस्था छ । विभिन्न देशहरूमा पुस्तक पठाउने सोच छ, तर सकिरहेको छुइनँ ।
भय पूर्वीय र पश्चिमी विचारमा, दर्शनमा बोधको रूपमा आइरहेको नै छ । भय विभिन्न रूपमा व्याख्या हुँदै आएको हामी पाउँछौ । ती विचारहरूमा भयलाई बोध सम्म गरेर प्रधान विषयलाई गौण पारेको देखिरहेको छु । मैले यसलाई वादको रूपमा वा प्रधान विषयको रूपमा उठाउन खोजिरहेको छु किनभने जीवनका प्रत्येक गतिविधि साँझदेखि बिहानसम्म भयबाट निर्देशित हुन्छन् । भयको कारणले चेतनशील प्राणीहरू चलयमान हुन्छन् । यसको मूल स्रोत चेतना हो । चेतनाको मात्राहरूले ग्रहण गर्ने भय फरक फरक हुन्छ । एउटै प्रकृतिको भय फरकफरक ग्रहण हुने गर्दछ । उदाहरणको लागि भूतको कुरा गरौ । कसैलाई भूत ज्यादै डर लाग्छ कसैलाई कम । जीवन र जगत पनि त्यस्तै हो । यो श्रृखलाबद्ध हुन्छ । एउटा समाप्त भएपछि अर्को तुरून्तै उपस्थित हुन्छ । यसको माध्यम प्रकट हो । भयका रूप, प्रकार, असर, स्रोत देखाउनु मात्र भयवाद हुँदैन, सहजता तर्फउन्मुख हुने गतिविधिहरू नै भयवाद हुन् अथवा सैद्धान्तिक कुरालाई व्यवहारिकमा जानु भयवाद हो । कुनै मान्छेलाई संक्रमक रोग लागेको छ वा कुनै ढल्दै गरेको टावरभित्र मान्छेले अगाडि आइरहेको मृत्यु देखेर कहालिने, उफ्रने, कुदने जस्ता क्रियाकलाप गर्दछन् । यस्ता घट्ना जीवनभरि नै भैरहन्छ । त्यसले जीवनको आनन्दमा विष घोलिरहेको हुन्छ । एक दिन मान्छे मर्नु त छँदैछ । त्यसलाई सहज ढंगबाट लिँदा जीवन आनन्दमय हुन्छ । ढल्दै गरेको टावरभित्रको मान्छेलाई पनि जीवन एकदिन मर्ने नै हो ढंगको अनुभूति हुन गए उसका धेरै कुरामा फरक पर्दछ । यो अवस्था भयवादको अवस्था हो । जीवनमा भय निरपेक्ष हुन्छ र जगतमा जीवन । जीवनका सबै रसहरू भयमा सापेक्षित छन् र जगतका सबै जीवनमा । जीवनले देखेको सम्म नै संसार हो र संसारमा जीवनलाई सहज बनाउन हिँडिने प्रकटका खुड्किलाहरू भयवाद । भयको कारणले जीवन असहज र भयभीत भइरहेको वर्तमान विश्वमा यसले सहज मार्गमा उन्मुख गराउँछ । भयवाद र भय यसैमा फरक छ ।
यसै सिद्धान्तलाई व्यवहारिकीकरण गर्न "आदिवासी" उपन्यास बनाइएको छ । उपन्यासमा निसाम् प्रतिनिधि पात्र छन् । ऊ बिरामी भएपछि बढी मात्रामा भयभीत हुन थाल्छन् । यो कुनै घटना, रोगको प्रनिनिधि हो । यस बिरामीले धेरै बिरामीको प्रतिनिधित्व गर्छ । उनमा मानसिक तनाव उत्पन्न भएको छ र भित्रभित्रै खियाउँदै लगेको छ । के कारणले यस्तो भएको हो ऊ जान्न चाहान्छ । धेरै मान्छे जान्न चाहान्छन् । कारण जान्नको लागि ऊ मान्छेहरूसित बुझदछ, सोध्दछ र पढ्दछ । तर पनि ज्ञान पाउन नसकेपछि आफूभित्रको छटपटावटलाई शमन गर्न ऊ घर छोडेर हिँड्दछ । यस्तै किसिमको छटपटावट, तनावले गर्दा मान्छेहरू घर, परिवार छोडेर हिँडिदिन्छन् । देश, विदेश, बनजंगल जानेमान्छे, साधुसन्तको पनि केही न केही यस्तै किसिमको छटपटावट रहेको हुन्छ । यी सबैको पछाडि भय सक्रिय भएको हुन्छ । भयबाट कोही पनि पछुतो रहेका हुँदैनन् । यसैबाट मान्छे निर्देशित हुन्छन् । यसबाट सहज पाउन विभिन्न बाहनामा मान्छे भौतारिन थाल्छ । यसैलाई उपन्यासमा देखाउन खोजिएको छ ।
अर्को तर्फआदिवासीहरूले विभिन्न कारणले आफ्नो जग्गाजमिन गुमाउनु परेको तीतो यथार्थ छ । धुम्रपान, मद्यपानको कुलतले अनेकौ समस्या भोग्नु परिरहेको छ । भाषा, लिपि, धर्मसँस्कार लोप हुने क्रम बढ्दो छ । "मान्छेले आफूलाई चिन्नुपर्छ आफ्नो समस्या चिन्नुपर्छ" भन्ने सन्देश पुस्तकले दिन खोजेको छ । आफ्नो अधिकारको निमित्त ठूलाठूला भाषण र सडक आन्दोलन गरेर मात्र हुँदैन । आदिवासी हुनलाई भाषा, लिपि धर्मसँस्कार, इतिहास, पुरातत्वले प्रमाण दिइएको हुनुपर्छ । ती वस्तुहरूको संकलन, सम्बर्न्धन, गर्ने तर्फध्यान दिनुपर्छ । आदिवासीहरूले नयाँ नयाँ भाषालिपि, धर्म सँस्कृति चार्डपर्व बनाउँदैछन्, यसले आदिवासीलाई कमजोर बनाउँछ भन्ने सन्देश सम्म छ यहाँ ।

२. तपाई लिम्वू स्रष्टा भएकोले हाल चलिरहेको लिम्वूवान स्वायत्त राज्य पुनस्थापनाको मागलाई कसरी हेरिरहनु भएको छ ?
लिम्बूवान स्वायत्त राज्य विकेन्द्रिकरणको नजिक देखिरहेको छु । वर्षौ देखि हाबी भएको केन्द्रकृत व्यवस्थाको विरोधमा उभेको देखिरहेको छु । यो हुनुपर्दछ । लिम्बूवानका मान्छेलाई प्रत्येक वस्तुहरू, प्राणीहरू, वनस्पति, प्रकृति जतिको प्यारो हुन्छ, घनिष्ट हुन्छ, आत्मीय लाग्छ ती प्रकृतिको विकासको निमित्त त्यहाँका स्थानीय मानिस लागिपर्छन्, अन्य क्षेत्रका मान्छे लाग्दैनन् । स्थानीय भाषा, लिपि, धर्मसँस्कृति, चाडपर्व, त्यहीँको हावापानी, माटोसँग गाढा सम्बन्ध राख्दै विकास भएको हुन्छ । त्यहाँको क्षेत्रलाई त्यहाँको मान्छेले धेरै बुझदछन् । त्यसैले पनि स्वायत्त दिनुपर्छ । जहाँ सम्म पुनस्थापनाको कुरा छ, यसभित्र धेरै अन्यौल छन् । कुन बेलाको पुनस्थापना - नेपाल एकिकरण अगाडिको कुरा सुन्दैछु, लिम्बूवान नेपाल एकिकरण पछि बनाइएको बुझदैछु । नेपाल एकिकरण अगाडि सत्रथुम, दश लिम्बूवान थियो । त्यो भन्दापनि सानासाना थुमहरू थिए लाग्दैछ । दश लिम्बूवान कुन कुन थिए लाग्दैछ । दश लिम्बूवानभित्र पनि दाबेदार थुप्रै देख्दैछु । यस अर्थमा यो जटिल छ । नारा र भाषणजतिको सजिलो छैन । थुमहरूको पुनस्थापना भयो रे मानौँ ती थुमका मान्छेहरू पनि कताकता पुगिसके अब । कुन थुममा कुन लिम्बूहरू थिए भनेर किटानी गर्न सकिन्छ जस्तो लाग्दैन । फेरि अर्को कुरा लिम्बूवानमा बसोबास गर्ने गैर लिम्बूहरूको मत उतिकै महत्वपूर्ण छ । यी जातीय सन्तुलनमा अलिकति मात्र गडबडी भयो भने संकट लाग्न सक्छ । राज्यको कुरा त्यति सजिलो हुँदैन । गएको समय फर्केर पनि आउँदैन । हामीसित जहिले पनि वर्तमान हुन्छ । वर्तमानलाई सुन्दर बनाउनु ठूलो बुद्धिमानी हुन्छ । एक जाति, एक भाषा, एक लिपि, एक धर्म, एक चार्डपर्वको विरोध हुनुपर्दछ । यो देश विकासको ठूलो वाधक हो । हाम्रो ध्यान त्यतातिर जाँदा राम्रो हुन्छ जस्तो लाग्छ ।

३. अवका दिनहरूमा लिम्वू स्रष्टाहरूले लिम्वूवान आन्दोलनलाई सघाउ पुग्ने गरी आफ्नो सिर्जनाकर्म गर्नु पर्छ जस्तो लाग्दैन ?
लिम्बूवान आन्दोलन के को लागि - राज्य पुनस्थापनाको लागि वा लिम्बूजातिको लागि ! हामीले कुन उद्देश्यको लागि लेख्ने हो त्यहाँ । जहाँ सम्म लिम्बूजातिको सवाल छ, लेख्नुपर्छ । हाम्रा संस्कृति, मिथक, मुन्धुम, अधिकार । किनभने लिम्बू जातिको संस्कृति राष्ट्रको सम्पत्ति हो । यसलाई कसैले अन्यथा लिनु हुँदैन । जबसम्म साहित्यमा हाम्रा मुन्धुम, मिथक, संस्कृति लेखिन्दैन, तबसम्म त्यो दीर्घायु हुँदैन । हाम्रा भाषा, लिपि, धर्मसंस्कृतिको जगेर्ना भएन भने हाम्रो अस्तित्व संकटमा पर्छ । मैले यही कुरा लेख्न खोजेको छु आदिवासी उपन्यासमा ।

४. अन्तरिम नेपाल सरकारले नेपाललाई संघीय गणतन्त्रको रूपमा घोषण गरिसकेको छ त्यसकै आधारले पनि लिम्वूवान स्वायत्त राज्य पाउने आधार निर्माण भएको जस्तो लाग्दैन - तर सरकारले भने स्वायत्त राज्य दिने वारेमा कुनै निर्णय गरेको छैन तपाईको विचारमा सरकारले यसो गर्नुको प्रमुख कारण के होला ?
प्रथम कुरा त वर्तमान अन्तरिम सरकार भन्नु पनि एक जातिको सरकार हो । अहिलेसम्म एक जातिको सरकारले गर्ने निर्णय एकपक्षीय हुँदै आएको छ । यस्तो निर्णयहरूले आम जनताको समस्यालाई समाधान गर्न नसकेर नै जनआन्दोलन, जनयुद्ध भएका छन् । ती युद्धहरूको लक्ष्य बहुजातिहरूको कुराहरू भएपनि त्यहाँभित्र पनि एक जातिको निर्णय हाबी हुने भएकोले लिम्बूवान स्वायत्तका कुरा मात्र होइन अधिकार प्रत्योजनका कुराहरू गौण भएका छन् । विकेन्द्रित वा संघीय राज्य व्यवस्थामा जाने बित्तिकै एक जातिको हालीमुहाली कम हुन जान्छ । त्यसैले यसलाई प्राथमिकतामा नराखिएको हो । सरकार जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा जाँदैन तबसम्म निर्णयहरू आत्मघाती हुँदैन जान्छन् । यसले राष्ट्रलाई घात गर्दछ । वर्षौदेखि उनीहरूले राष्ट्रलाई घात गरेको हुनाले राष्ट्र लुते कुकुर भएको छ । सधैँसधैँ एक जातिलाई राज्य व्यवस्था सञ्चालन गर्ने अधिकार छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा जानैपर्छ । त्यस अन्तर्गत लिम्बूवान स्वायत्त राज्य पनि आउन सक्दछ ।

५. नेपालमा नेपाल सरकारले लिम्वूभाषालाई सरकारी विद्यालयमा पढ्न र पढाउन पाउने व्यवस्था समेत गरिसकेको हुनाले तपाईले आफ्नो कृतिहरूलाई लिम्वूभाषामा प्रकाशन गराउनु पर्छ भन्ने सोच लिनु भएको छैन ?
विभिन्न भाषामा आफ्नो कृति छपाउन कुन लेखकलाई मन लाग्दैन । म आफै लिम्बू । लिम्बू भाषामा प्रकाशन गर्न पाउनु सौभाग्यको कुरा । फेरि स्थानीय वस्तुहरू, स्थानीय भाषामा हुने भएकोले हामी जति गहिराइबाट मातृभाषाबाट लेख्न र बुझन सक्छौ, त्यतिको अन्य भाषामा गर्न सक्दैनौ । यो मेरो मात्र अनुभव होइन, अमेरिका, बेलायत गएर बस्ने धेरै भारतीय मूलका लेखकले पनि अनुभव गरेको कुरा हो । तर त्यहाँ प्राविधिक कुराहरू धेरै छन् । त्यसले पनि समस्या भैरहेको छ ।

६. लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको आन्दोलनलाई सफल पार्न लिम्वूवान पार्टी र लिम्वूवानवासी लिम्वूहरूले कस्तो पाइला चाल्न आवश्यक छ होला जस्तो लाग्छ ?
राजनैतिक प्रश्न मलाई अप्ठयारा लाग्छन् । जति सजिलो आन्दोलन र जुलुसहरूको आवाज, कदम हुन्छ त्यति सजिलो स्वायत्त राज्य हुँदैन । आन्दोलन जुलुस, भनेको माध्यमहरू हुन् । यसले क्षणिक लक्ष्य प्राप्त गर्न सक्छ । लिम्बू र लिम्बूवान कै कुरा गरेर लाने हो भने लिम्बूहरूको भाषा, लिपि, धर्म संस्कृति, पुरातत्व नै हो । लिम्बूवान स्वायत्त राज्य प्राप्त गरेपनि भाषा, लिपि, धर्मसंस्कृति, पूरातत्वको अभावमा केही समयपछि लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । लिम्बूहरूको भाषा, लिपि, धर्मसंस्कृति पूरातात्विक महत्वका वस्तुहरू प्रयाप्त भएमा गैर लिम्बूवानभित्र पनि लिम्बूहरू नै भनेर बाँच्न सक्छन् । लिम्बूहरूमा थर, उपथर लेख्ने परम्पराले भविष्यमा लिम्बूवान नै प्राप्त गरेपनि लिम्बू नलेख्ने लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । यो खतरा देखिन थालेको छ । जातिलाई राजनीतिले भन्दा भाषा, लिपि, धर्मसंस्कृतिले बचाउँछ । विश्वको धेरै जातिहरूमा देखिएको यथार्थ हो यो । त्यसैले लिम्बूवान पार्टी र लिम्बूवानवासी लिम्बूहरूले राजनीतिलाई माध्यम मानेर भाषा, लिपि, धर्म संस्कृतिमा लाग्नुपर्छ र हाम्रा पुरातात्विक वस्तुहरूको खोज, अनुसन्धान र जगेर्ना गर्नुपर्दछ । एकिकरण ताका ती वस्तुहरूको नास गरिएको छ । कताकता छिटपुट अझै फेला पर्दैछ । त्यसलाई खोजेर भेला गर्नुपर्दछ र त्यसको अध्ययन गर्नुपर्दछ । त्यसले लिम्बूहरूको बारेमा नयाँ कुराको आविष्कार गर्दछ । कुनै ठाउँमा दरबार भेट्टाएको सुनिन्छ, कुनै ठाउँमा हातहतियार, शिलालेख । जातिको लागि त्यसको ज्यादै ठूलो महत्व छ । यसले लिम्बूहरूको वास्तविक इतिहास खोतल्न मद्दत गर्छ । यसले नै लिम्बूवान र लिम्बूहरूलाई बलियो बनाउँछ ।
-
७. लिम्वूवान स्वायत्त राज्य पुनप्राप्ति हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ?
पुन प्राप्ति भन्ने कुरा संभव हुँदैन । भन्नुको तात्पर्य समय नै अढाइ सय वर्ष फरक भैसक्यो । हिजो हजारको संख्यामा भएको जनसंख्या लाखौ पुगिसके । लिम्बू जाति मात्र भएको क्षेत्रमा गैर लिम्बूहरूको बाहुल्य भैसक्यो । यी परिस्थितिलाई मध्य नजर गर्दा धेरै कुराको फरक भैसक्यो र वि.सं. १८३१ भन्दा अगाडि त्यहाँ लिम्बूवान भएको कुरा कतै देखिन्दैन भने पुन प्राप्ति केलाई भन्ने । हामी अहिले अधिकारको युद्धमा छौँ, स्वायत्तताको युद्धमा छौँ । यो कुरा हुन सक्छ । यसलाई पुन प्राप्ति भन्न मिल्छ जस्तो मलाई लाग्दैन ।

८. लेखन क्षेत्रमा कसैको प्रेरणा वा प्रभाववाट लाग्नु भएको हो कि - साहित्य लेख्दा तपाईले कस्तो महसुस गर्नु हुन्छ - कुन उदेश्यले बढी प्रेरित भएर लेख्नु हुन्छ - कुनै नयाँ कृतिको लागि योजनाहरू छन् कि ?
म लेखनमा व्यक्ति विशेषको प्रभावले लागेको होइन, बढी रहरको कारणले लागेको हुन सक्छु । लेखक भन्ने महान् हुन्छन् र उनीहरूले किताब लेखेपछि सबैतिर प्रशंसा हुन्छ भन्ने लागेको थियो । उनीहरूको जीवनस्तर उच्च हुन्छ भन्ने मनोविज्ञान थियो ममा । म कसैको प्रेरणाले भन्दापनि महान् हुने सपना बोकेर लागेको हुँ । तर आज बुझदैछु, वास्तवमा त्यस्तो होइन रहेछ । यो काम बडो कठिन हुँदोरहेछ । त्यसमा पनि हाम्रो जस्तो सानो बजार, प्रकाशक र वितरक नभएको बजार, भएका प्रकाशक र वितरक पनि संकुचित । यस्तो वातावरणमा धेरै समस्या हुँदोरहेछ । लेख्ने, छपाउने, वितरण गर्ने सबै काम गर्दा गाह्रो हुँदोरहेछ । हामी आदिवासी, लिम्बूवानको लागि लेखिरहेपनि औलामा गन्न सकिने मान्छेले पनि "आदिवासी, लिम्बूवानको लागि लेखिरहनु भएको छ" भन्न गाह्रो मान्दारहेछन् । यस्तो अवस्थामा समाजको लागि लेख्दैछु भन्नु पनि कताकता असजिलो लागिरहेछ मलाई ।
अरूलाई कस्तो लाग्छ कुन्नी साहित्य लेख्दा आनन्द लाग्न थालेको छ । जति लेख्दापनि लेखुँलेखुँ लाग्छ, सच्याउसच्याउ लाग्छ । आदिवासी उपन्यास मैले बीस पटकभन्दा बढी सच्याएको छु । किन हो मलाई यो जति हेर्‍यो उति मजा लाग्छ । अझै पनि घरीघरी पढ्न अल्सी लाग्दैन । कताकता भन्न खोजेको कुरा भन्न सकिनँ कि लाग्छ । समयलाई यसले सबैभन्दा राम्रो समातेको ठानेको छु । त्यसैले प्रकाशन गरिहालेँ । अन्यथा अझै हेर्ने विचार थियो ।
मेरो लेखनको उद्देश्य चेतना हो । खासगरी आदिवासी जनजातिहरूको चेतना । हामी कुन अवस्थामा छौँ । हिजो कुन अवस्थामा थियौ । किन हामी अधिकारबाट बञ्चित छौ - अब के गर्नुपर्दछ भन्ने खालको आदिवासी चेतना लिएर साहित्यमा आएको छु । नेपालमा आदिवासी साहित्य आदिवासी समालोचना कहिले गरिएन, त्यसैले यस्तो साहित्य पनि लेखिनुपर्छ भन्ने साहित्य लेख्न खोजिरहेको छु । केही वर्षदेखि जीवनलाई भयवादिय दृष्टिकोणबाट हेर्दा कस्तो देखिन्छ भनेर उतातिर पनि अगाडि बढ्दैछु ।
नयाँ कृतिमा उपन्यासको एउटा पाण्डुलिपि छ । त्यसले मेरो मन तान्न सकेको छैन । एउटा भयवादको काव्य छ । पुरानो भाषामा महाकाव्य हुन्छ म यसलाई भयवाद काव्य भन्न रूचाइरहेको छु । यो अन्तिम तयारीमा छ । यसमा धेरै प्रयोग बनाएको छु । पाठकलाई भद्दा लाग्न सक्छ । मलाई किन हो मजा लागिरहेको छ । दिन जुरेछ भने आउँदो वर्षप्रकाशन गर्ने इच्छामा छु । त्यही काव्यलाई अनुप्रास नयाँ ढंगले राखेर र कथा, मिथक नयाँ हालेर अर्को काव्य बनाउने पनि सोचिरहेको छु । काव्यको लागि हाम्रा मिथक, कथा हाल्ने विचारमा छु । यसले हाम्रा मिथकहरूलाई स्थापित गराउँछ । मुन्धुमलाई साहित्यमा कसरी लेख्ने हो त्यो पनि सोचिरहेको छु ।

९. डायस्पोरिक नेपाली साहित्य लेखनमा तपाई नै प्रथम भयवादको प्रवर्तक हुनुहुन्छ यो वादलाई नेपाली साहित्यको मुलधारको लेखन चिन्तन र प्रयोगमा कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ होला ?
डायस्पोरिक नेपाली साहित्य लेखनमा भयवाद निकै मजबूत बन्दै गइरहेको छ । यसका अवधारणाहरू आइसकेका छन् । अवधारणामा नेपालका र हङकङका विद्धान्हरू बीच वृहत छलफल भइसकेको छ । यसको साहित्यिक प्रयोग आदिवासी उपन्यासमा बनेको छ । अवधारणा र साहित्यिक प्रयोगमाथि नेपालमा भरखरै वृहत छलफल भएको छ । भयवाद र भयवादिय साहित्यबारेमा धमाधम समाचार, लेख, साहित्य लेखिन थालेको छ । यसले डायस्पोरिक नेपाली साहित्यको उचाइ बढाउन मद्दत पुर्‍याएको छ र हिजोको पुराना विस्वासहरूमा नयाँ विस्वासहरू बन्न थालेका छन् । जीवन र जगतलाई हेर्ने नयाँ नयाँ मान्यताहरू बन्न थालेका छन् । यो नै सकारात्मक पक्ष हो । आफूलाई मूलधारको साहित्यकार भन्ने एक किसिमको घमण्ड बोक्ने साहित्यकारको झुण्डलाई यसले घचघचाउन थालेको छ । घमण्डले सृजना गर्दैन भन्ने कुरा बताउन थालेको छ । मूलधारको साहित्यिक कुनाबाट भन्दा बेग्लै धारको साहित्यको आवाज ठूलठूलो सुनिन थालेको छ । जसको आवाज चारैतिर सुनिन्छ ऊ नै मूलधार बन्न सक्छ । जहाँ सम्म अहिले केही साहित्यकारहरूले मानिरहेको मूलधारको कुरा छ त्यहाँ प्रवेश गर्ने दुइटा बाटाहरू छन् एक बेगल धारको साहित्यलाई मूलधार बनाउँदै लैजाने र अर्को अहिलेका मूलधारको साहित्यकारको बीचमा छलफल, अन्तरक्रिया, समाचार, समिक्षा लिएर हस्तक्षेप गर्ने । जसको जति धेरै प्रसारप्रसार हुन्छ ऊ नै मूलधार बन्ने हो । त्यसैले मूलधारमा प्रवेश गर्न उम्दा साहित्य, विचार लिएर हल्लाखल्ला गर्ने हो । अन्यथा जति नै राम्रो साहित्य गरेपनि किनारामा फालिन्छ । मूलधारको भनिने अहिलेको चर्चित उपन्यासहरू पल्पसा क्याफे, राधा, घनचक्करभन्दा आदिवासी कम छ जस्तो लाग्दैन । अझै यसमा नवीन विचार छ । तर पनि किनारामा फाल्न खोजिएको छ । नेपाली मूलधारको साहित्यले अन्तराष्ट्रिय जञ्जलजस्तै चरित्र देखाउँदै आएको छ । यो साहित्य विकासको लागि घातक हुन्छ ।

१०. लिम्वूवान डट व्लगस्पोट डटकम मार्फत समस्त तपाईका पाठक तथा शुभचिन्तकहरूलाई केही सन्देश दिन चाहानु हुन्छ कि ?
यस लिम्वूवान डट व्लगस्पोट डटकम मार्फत म के भन्न चाहान्छु भने साहित्य जीवनको अभिन्न अंग हो । यसलाई आत्मसात गर्नुपर्छ । आन्दोलन, जुलुस, भाषण गरेर मात्र दीर्घकालिन लक्ष्य प्राप्त गर्न सकिन्न । दीर्घकालिन लक्ष्य त साहित्य, भाषा, लिपि, धर्मसंस्कारले बोकेको हुन्छ । त्यसैले आन्दोलन, जुलुस र भाषणमा लागेका सबै मान्छेहरूलाई म साहित्य पनि पढ्ने आग्रह गर्दछु ।

2 comments:

Unknown said...

Limbuwan sochma dherai padhera hundaina pare pachhi matra huncha bujine sir.

Unknown said...

Hijo samma Limbuwan bhanda ghrina, tiraskar, Topa bhani, sangkirna dharana rakhnu hunthiyo badhai chha tapainko abasarbadi dharana lai.