लिम्बूहरू कोशी अञ्चलका सङ्खुवासभा, तेह्रथुम धनकुटा, सुनसरी र मोरङ तथा मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा बसोबास गर्छन् । हाल यस जातिको बसोबास केही मात्रामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पनि छ । २०५८ सालको जनगणनाअनुसार यस जातिको सङ्ख्या तीन लाख ३३ हजार ६३३ छ । नेपालबाहिर पश्चिम बङ्गाल, सिक्किम आसाम र म्यानमार आदि ठाउँमा समेत उल्लेख्य मात्रामा यस जातिको बसोबास छ । नेपालभित्र बोलिने लिम्बूभाषाहरू मुख्यरूपमा तमरखोले, पानथरे, फेदाप्पे र छत्थरे नै हुन् । छत्थरे इतरका स्वदेश र विदेशमा बोलिने लिम्बूभाषाहरू पान्थरे लिम्बूभाषासँग धेरै मात्रामा मिल्छन् र तिनीहरूका वक्ताहरूले एकअर्काको बोलीलाई सजिलैसँग बुझनसक्छन् । गैर छत्थरे लिम्बूभाषाहरू लिम्बू मानक भाषाको ज्यादै निकट भएकाले तिनीहरूलाई एउटै लिम्बूभाषाको भाषिकाहरूको रूपमा वर्गीकरण गर्दा कुनै आपत्ति पर्दैन तर धनकुटा जिल्लाको अरुणदेखि पूर्व, तमोरदेखि उत्तर, सङ्खुवासभा जिल्लादेखि दक्षिण र तेह्रथुम जिल्लाको नुवाखोलादेखि पश्चिमका गाविसहरूमा बोलिने 'छत्थरे लिम्बू' भाषा भने माथि उल्लेखित सबै भाषिकाभन्दा या 'मानक लिम्बूभाषा' भन्दा ज्यादै भिन्न भएकाले यसलाई लिम्बूभाषाको एउटा भाषिकाको रूपमा वर्गीकरण गर्दा केही अप्ठ्यारो पनि पर्नजान्छ । पारस्परिक नाताकुटुम्बको सम्बन्ध नभएका वा एकअर्काबीच कुनै सामाजिक र सांस्कृतिक सम्बन्ध नभएका छत्थरे र गैर छत्थरे लिम्बूबीच भाषिक सञ्चार हुन असम्भव छ तर उनीहरूबीच बिहेवारी हुनसक्ने, धाननाच, पूजाआजा, विवाह, मृत्युजस्ता पर्व तथा अवसरमा भेटघाट हुने, औपचारिक कार्यक्रममा र माध्यमभाषाका रूपमा 'मानक लिम्बूभाषा' या गैर छत्थरे लिम्बू नै प्रयोग हुने भएकाले वयस्क छत्थरे लिम्बूहरूले त्यसलाई बुझने भएकाले आफ्नो भाषामा भएको भिन्नतालाई गम्भीरतापूर्वक लिएका छैनन् । गैर छत्थरे लिम्बूहरूले त आफ्नै भाषिका नै माध्यमभाषाका रूपमा प्रयोग हुनेभएकाले छत्थरे भाषा सिक्ने वा यसमा भएको भिन्नतालाई विश्लेषण गर्ने कष्ट नै नगर्ने भए । फलतः दुवैथरी लिम्बूहरू या समग्र लिम्बूहरू नै छत्थरे लिम्बूलाई यस भाषाको एउटा भाषिका मान्छन् ।लिम्बूहरूको यही भावनालाई बुझेर नै वार्इर्डट र सुब्बा, भान डि्रम, वैरागी काइँला र बार्बरा ग्राइम्सले छत्थरे लिम्बूलाई लिम्बूभाषाकै एउटा भाषिकाका रूपमा वर्गीकरण गरेका छन् । डि्रमले आफ्नो पुस्तक 'अ ग्रामर अफ लिम्बू' मा फेदाप्पे लिम्बूका वक्ताले छत्थरे लिम्बू बुझन नसकेको कुरा आफूलाई भनेको उल्लेख गरेका छन् । त्यसैगरी काइँलाले पनि आफूले सम्पादन गरेको लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोष' मा छत्थरे लिम्बू अरू भाषिकाहरूभन्दा भिन्न भएको स्वीकारेका छन् । बेब्स्टरले 'सोसियो लिङ्ग्विस्टिक स्टडी अफ लिम्बू' भन्ने लेख मार्फ छत्थरे लिम्बूलाई लिम्बूको एउटा भाषिकाका रूपमा वर्गीकरण गरेका छन् । उनले छत्थरे लिम्बूमा तीन मिनेट लाग्ने कथा रेकर्ड गरी अन्य भाषिकाहरूका वक्तालाई सुनाउँदा ८० प्रतिशतले ठीकसँग बुझेको दाबी गरेका छन् तर त्यही लेखमा कुनै कुनै गैर छत्थरे लिम्बूले आफूले छत्थरे लिम्बू ठ्याम्मै नबुझेको कुरा बताएको उल्लेख गर्न भुलेका छैनन् । वास्तवमा पारस्परिक बोधगम्यतालाई मात्र लिम्बू भाषिका निर्धारण गर्ने मापदण्डका रूपमा लिनुहुँदैन । एउटै लिम्बू परिवारमा आमा तमरखोले, जेठी बुहारी पान्थरे, माहिली बुहारी फेदाप्पे र कान्छी बुहारी छत्थरे भाषी हुनसक्छन् । त्यस्तो परिवारमा हुर्किएको गैर छत्थरेले छत्थरे लिम्बूभाषा परिवेश र सर्म्पर्कका कारणले बुझेको हो, शाब्दिक र व्याकरणिक रूपका समानताले होइन । छत्थरे लिम्बू र आठपहरे र्राई बेग्लै भाषाहरू हुन् तर सीमाक्षेत्रमा बसोबास गर्ने छत्थरे लिम्बू र आठपहरे र्राईहरूले एक अर्काको भाषा सजिलै बुझन सक्छन् । त्यसो भए वेब्स्टरले भने जस्तै बोधगम्यताका आधारमा यी दुवै भिन्न भाषालाई एउटै भाषाका भाषिकाहरू हुन् भन्न सकिएला त - निश्चय नै सकिन्न । अतः उनले आफ्नो अनुसन्धानलाई पुनर्विचार गर्न जरुरी छ ।म आफू छत्थरे लिम्बूभाषाको वक्ता भएको र मेरी आमाले बोल्ने भाषा चौबिसे लिम्बू -पानथरे लिम्बूसँग नजिकको) भाषा भएकाले मलाई छत्थरे लिम्बू र गैर छत्थरे लिम्बूभाषाहरूबीचको फरक धेरथोर थाह छ । तैपनि आफ्नो ज्ञानलाई परीक्षण गर्न गत साल नेपाल राष्ट्रियभाषा संरक्षण र विकास संस्था, ललितपुरका डाइरेक्टर एस. के. खालिङको आर्थिक सहयोग र केन्द्रीय भाषाविज्ञान विभाग कीर्तिपुरका प्रा.डा. माधवप्रसाद पोखरेलको निर्देशनमा तमरखोले, पानथरे, फेदाप्पे र छत्थरे लिम्बू वक्तालाई उपस्थित गराई 'लिम्बू भाषिकहरूमा शब्द र क्रिया रूपावलीको तुलनात्मक अध्ययन' विषयमा तीनदिने कार्यशाला गोष्ठीको आयोजना श्री महेन्द्र बहुमुखी क्याम्पस धरानमा गरियो । त्यस गोष्ठीबाट प्राप्त निष्कर्ष हेर्दा स्वदेशका एक सय आधारभूत शब्दहरूको सूचीमध्ये छत्थरे लिम्बूका ४८ शब्द भिन्न भएको, ४४ वटा र्सकर्मक क्रियाको रूपावलीमध्ये ४२ वटा रूपहरूमा छत्थरे भिन्न भएको, व्यक्ति, सङ्ख्या, अकरण आदि जनाउने प्रत्यय र उपर्सगहरूमा छत्थरे लिम्बू धेरै भिन्न भएको पाइयो । शाब्दिक र व्याकरणिक रूपमा आधारमा छत्थरे लिम्बूलाई लिम्बूभाषाको भाषिकाका रूपमा मान्नसकिंदैन भन्ने विचार प्रसिद्ध भाषाशास्त्री प्रा. डा. माधवप्रसाद पोखरेल र प्रा.डा. डेभिड इ.वार्टस बताउँछन् तर शाब्दिक र व्याकरणिक रूपका समानतालाई मात्र भाषिका खुट्याउने आधार भने मानिएको छैन । हाक्का र म्याडि्रन भाषाहरू चिनियाँ भाषाभन्दा पूरै फरक छन् तर पनि तिनीहरूलाई चिनियाँभाषाकै भाषिकाहरू भनिन्छन् किनभने यिनका वक्ताहरू आफूलाई चिनियाँ र आफ्नो भाषालाई चिनियाँ भाषा भन्न नै रुचाउँछन् । त्यसैगरी छत्थरे लिम्बूहरू पनि आफूलाई लिम्बू र आफ्नो भाषालाई लिम्बूभाषा नै भन्न रुचाउने हुनाले आफ्नो भाषालाई लिम्बू भाषाको एउटा भाषिका मान्न रुचाउँछन् । वास्तवमा यसो गर्नु नै लिम्बू एकताका निम्ति वाञ्छनीय छ ।छत्थरे लिम्बूलाई यस जातिको भाषाको एउटा भाषिकाको रूपमा मान्दा मातृभाषामा शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकारबाट भने छत्थरे लिम्बूहरूले वञ्चित हुनुपर्छ किनभने यसोगर्दा मातृभाषामा प्राथमिक शिक्षाका लागि भनेर लिम्बूभाषाका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक मानक भाषामा निर्माण हुन्छ र त्यसको अध्यापन पनि मानक भाषामा नै हुन्छ । छत्थरे लिम्बू मानक भाषाभन्दा ज्यादै फरक भएकाले छत्थरे बालबालिकाहरूलाई त्यसमा गरिएको अध्यापन बोधगम्य हुँदैन । वर्तमान नेपाली भाषाको परिवेशमा छत्थरे बालबालिकाहरूलाई मानक लिम्बूभाषा सिक्न र नेपाली भाषा सिक्नमा कठिनाइमा दृष्टिले कुनै अन्तर पर्नेछैन । वार्इर्डट र सुब्बा, भानडि्रम र वैरागी काइँलाले छत्थरे लिम्बूलाई लिम्बूभाषाको भाषिकाका रूपमा वर्गीकरण गरे पनि आफ्नो शब्दकोषमा भने छत्थरे लिम्बूमा पाइने शाब्दिक र व्याकरणिक रूपको अन्तरलाई समावेश गरेका छैनन् । यो अभ्यासलाई दलितहरूलाई 'तिमीहरू हिन्दु हौ' भन्ने तर हिन्दुहरूको पवित्रस्थल मन्दिरमा भने छिर्न नदिने अभ्याससँग तुलना गर्न सकिन्छ तर समावेशी लोकतन्त्रका निमित्त भने यो घातक नै हुन्छ । अतः छत्थरे लिम्बूभाषामा प्राथमिक शिक्षा प्रदान गरी छत्थरे लिम्बूहरूको मातृभाषामा शिक्षा आर्जन गर्न पाउने अधिकार सुरक्षित राख्नुपर्छ । यही मार्ग अवलम्बन गर्दा नै समावेशी लोकतन्त्रले मूर्तरूप लिनसक्छ ।
No comments:
Post a Comment