प्रदीप मेयाङ्बो
नबिजुवा, न साम्बा अथवा फेदाङ्वा नै । तर लिम्बू मुन्धुम वाचनका लागि उनलाई कुनै पुस्तकको जरुरी छैन । मुन्धुमलाई हाक्पारे शैलीमा धाराप्रवाह फलाक्दै उनी सृष्टि कथा सुनाउँछन् । ताप्लेजुङ, सिंगैचाका ४७ वषर्ीय लक्ष्मण मेयाङ्बोले यही क्षमताका कारण 'तुम्याहाङ' अर्थात् भलाद्मीका पनि भलाद्मी पगरी पाएका छन् । पूर्वी लिम्बुवान् क्षेत्रका तीन सयभन्दा बढी साम्बा, फेदाङ्वा र बिजुवासँग मुन्धुमबारे अनुसन्धान गरेर 'याक्थुङ मुन्धुम' पुस्तक प्रकाशित गरेका छन् । तर विमोचन र प्रचारबिना पनि धरानमा हातहातै बिक्री हुँदा उनी दंग छन् ।मुन्धुमलाई अरू बिजुवा फेदाङ्वाले आ-आफ्नै ढंगले व्याख्या, विश्लेषण र वर्णन गर्दै आएको उनको खोजले भन्छ । मौखिक हाक्पारे शैलीमा वाचन गर्दै आएको मुन्धुमलाई इतिहासकार इमानसिं चेम्जोङ, महागुरु फाल्गुनन्द, आत्मानन्द लिङदेनदेखि पछिल्ला मुन्धुमविद्ले सार एउटै भए पनि बेग्लाबेग्लै अर्थमा वर्णन गर्दै आएको व्याख्याकारले बताए ।मुन्धुम उसबेलाको लिम्बू जातिको समाजलाई डोर्याउने मूल नियम भएकाले वैज्ञानिक रहेको उनको दाबी छ । मेयाङ्बो भन्छन्- 'लिम्बू जीवन दर्शनमात्र होइन, मुन्धुममा समग्र ब्रह्माण्डको व्याख्या छ जुन हाक्पारेमा फलाक्दै गएमा सात दिन सात रात पनि लाग्न सक्छ ।'वामपन्थी विचारधाराबाट प्रभावित मेयाङ्बोले मुन्धुमी ज्ञानको खोजी ०३७ सालदेखि थालेका हुन् । मुन्धुम ज्ञातामध्ये अधिकांशले आफूले जानेका ज्ञानलाई आफूमै सीमित राख्ने र अरूलाई बताउँदा पछाडि परिन्छ भन्ने मानसिकताका कारण लिम्बू मुन्धुमका राम्रा पक्ष हराइसकेको उनले बताए । उनले प्रकाशित गरेको मुन्धुममा तिङदिङ नाहेन मुन्धुम, ताङसिङ तिक्मा, येगेसिङ फोङसिङमा, फुङ्वा मुन्धुमदेखि सत्कर्म गर्ने उपाय, विधि तस्बिरसहित छन् । पुस्तकलाई सरल बनाउन नेपाली भाषामा पनि लेखिएको छ ।
मेयाङ्बोका लिम्बु संस्कारसम्बन्धी आधा दर्जन पुस्तक प्रकाशोन्मुख छन् ।
No comments:
Post a Comment