टंक सम्वाहाम्फे
जुलाई १३,२००५ तदनुसार भानु जयन्तिको अवसरमा श्रृजनशील अराजक कवि हाङयुग अज्ञातद्धारा लिखित नया कृति ककफिक कविता संग्रह नेपाली साहित्य परिषद हङ्गकङ्गले प्रकाशन तथा विमोचन गरे पश्चात पुनः गएको अगष्ट २ मा लेखक संघ हङ्गकङ्गको आयोजना र मिसाल प्रतिष्ठान हङ्गकङ्गको प्रायोजनमा ककफिक मन्थन कार्यक्रम वुद्धिजीवी, साहित्यकार र पत्रकारहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । साविकै ढंगले गरिएको मन्थन गोष्ठिमा मैले पनि सहभागी हुने अवसर पाएको थिए । यस्तो प्रकारको साहित्यिक मन्थन बेला बेलामा भइरहन्छन् हङ्गकङ्गमा तर मेरो लागि भने पहिलो उपस्थिति थियो उक्त मन्थन कार्यक्रममा । यहांको व्यस्त र महङ्गो समयसंग बांडिदा चुडिदै कतिपय महत्वपूर्ण कार्यक्रमहरु त्यसै छाड्नु पर्छ कहिले कहि । मनले चाहेर मात्र नहुने समय र परिस्थितिको अनुकुलता पनि मिल्नै पर्यो । तब मात्र भन्या ठाममा पाइला पुग्छन् । ककफिक मन्थनमा पुगियो संयोगवश । त्यहा“ पाल्ने निम्तालुहरु प्राय ह्याङ्गओभर भएका थियौ रातभरिको काम र अनिंदोले । के गर्ने परिस्थितिको अनुहार नै यस्तै छ । सम्झनु पर्यो जिउनुको विवशता । हो, त्यस्तै क्षणहरु स“गको बावजूद पनि ककफिक मन्थन गरिएको गन्थन खोल्दैछु यहां । चाख लाग्दा छन् मन्थनमा मथिएका कुराहरु र सान्दर्भिक पनि, सायद त्यसैले कलम चलाउन हौसिएको हुनुपर्छ म । किन हौसिए भनेर सोध्नुभयो भने म एकै सासमा उत्तर दिनेछु कि ककफिक भनेर । कहिल्यै नसुनिएको अनौठो शब्द के होला अन्दाज गर्नुहोस् त - अरु केही नभएर लिम्बू भाषाबाट ल्याइएको नाम हो चराको ककफिक । जस्लाई नेपालीमा काकाकुल पनि भनिन्छ । मन्थन स्थलमा लिम्बू भाषीहरु पनि अनभिज्ञ भएको कुरा प्रष्टै थाहा हुन्थ्यो किनभने ककफिकको शाब्दिकर्थ कवि स्वयम्लाई सोधिंदै थियो । कविले एक्कासी कविता संग्रहकै नाम राखी दिनु भएको हुनाले यस्तो भ्रम हुन गएको मात्र हो । जे होस् ककफिकको शाब्दिक अर्थ बुझे पछि चाहि“ सबैको अनुहारमा आश्चर्य भाव मेटिएको पाए । नबुझ्नुबाट बुझ्नु पनि खुसी कै कुरा रहेछ । हङ्गकङ्गमा बचेखुचेको समय पनि दिनचर्याले सप्पै निलिदिन्छ तर साहित्य जोड्ने हातहरु भने झनझन बलिया हुदैछन् । यसलाई मुल्याङ्कन गर्ने हो भने यो टापु उर्वर झैं लाग्छ साहित्य सिर्जनाको लागि । किनभने हङ्गकङ्गको बलवान समयलाई पछारेर कलमकर्मीहरु शब्दमा भावना जोड्न र बिचार रोप्न सफल भएको देख्दा यो पंक्तिकारलाई बडो गजब लाग्छ । र मेरो मनले पनि यस्तै बन्नुपर्छ भन्छ साहित्यकारहरु । अरु ठाउमा हेरेर हङ्गकङ्गमा साहित्यको फसल निक्कै सप्रिएको छ । यसरी उर्वर हुनु हामी हङ्गकङ्गगे नेपाली भाषीको लागि मात्र उपलव्धि होइन देश कै गौरव हो । यही गौरव र उपलव्धिको ज्वलन्त उदाहरण ककफिक कविता संग्रहलाई लिन सकिन्छ । त्यस पछिका अर्का जीवन्त उदाहरणहरु हुन् मीठू र पाहुर । प्रतिवद्धता भयो भने बिचारहरु सुस्ताउदैनन् यो यही माथिका कृतिहरुले प्रमाणित गर्दछ । यस्तै प्रतिवद्धताको उचाइमा हुनुहुन्छ कवि अज्ञात । यहि विचारको उचाइ वोकेर नै होला उहाहरुले हांक्नु भएको साहित्यिक आन्दोलन, साहित्यक आग्रह एउटा अध्यय वनि सक्यो नेपाली साहित्यिकासको । अव श्रृजनसील अराजकता लेखिएन भने त्यो इतिहास अधुरो वन्छ । यसरी निर्माण भएको इतिहासलाई हामीले नजिकवाट वुझ्नु पर्छ,जान्नु पर्छ किनकि उक्त विषय वस्तु हाम्रो आवश्यकता वनि सक्यो । हाङयुगसंग मेरो चिनजानी धेरै पुरानो होइन हङकङ आगमन पछि नै हो तर पत्रपत्रिकामा पढिसकेको नाम हुनाले पहिलो भेट नै पुरानो जस्तो भयो । हङकङको आई.डी. नै सा“घु वन्यो घनिष्टताको र अरु धेरै साथीहरुसंग पनि त्यसरी नै जाडिदैछ घनिष्टताको सांघु । यस्तै भेटमा मैले भनेको थिएं हाङयुग जीलाई यो हङ्गकङ्ग टापुमा आएर कलम विसाउने काम गर्दै नगर्नु होला र विरलै भेटघाट हुदा पनि यस्तै शव्दहरु दोहोर्याई रहे । अन्तमा वर्षदिन नबित्दै ककपिक कविता कृति हात लाग्यो । सम्झे मेरो वोली पुरा भएको हो कि- तर त्यो एउटा संयोग मात्र हो । खासमा कवि परिश्रमी र प्रतिवद्ध भएर नै कृतिले जीवन पाएको हो । हाङयुगको काम देखे पछि मलाई के लाग्यो भने वहां एउटा गतिशील समय हुनुहुदोरहेछ र जनजातिहरुको आवाज पनि । हामीले यहां समय कहांवाट आउछ र कता जान्छ भन्ने कुराको अन्दाज गर्न नसकि रहेको वेला हाङयुगले भने मजैले समय नापिरहेकाछन् । त्यसैले होला हङकङ अग्लो विल्डिङ आई.एफ.सी. झै अग्लिएर उभेको पाउछु तपाई हाम्रो सामु । यो त मेरो सानो मूल्यांकन मात्र हो अव मन्थन कै विषयमा अलिकति ढल्किउं । कुनै पनि कृतिकारले आफ्नो कृति पस्कि सकेपछि त्यसको मन्थन गरेन भने कृतिले जीवन पाए पनि कर्तव्य नपाए जस्तो आभाष हुदोरहेछ । हिजो अस्तिको ककपिक कृति मन्थन कार्यक्रमले त्यस्तै महसूस गरायो मलाई । मन्थनको सवै भन्दा राम्रो पक्ष के रहेछ भने पाठक र लेखक वीच सुझाव र प्रतिकृयाको भावना जोड्ने वलियो पुलको निर्माण हुदो रहेछ । फलदायी नै हुन्छ दुवै पक्षको लागि किनभने पाठकले विषय वस्तुसंग घोलिन पाउछ भने लेखकले पाठकको प्रतिकृया । विज्ञानले पनि यही कुरा प्रमाणित गर्दछ कि क्रिया र प्रनिकृया विना नया वस्तुको निर्माण हुन्न भनेर । यहां त्यही नया कुराको आभाष भएर नै मन्थनको गरिएको हुनु पर्छ । वास्तवमा कृतिले वोकेका र भन्न खोजेका कुराहरु वुझ्नु र वुझाउनु पाउनु नै मन्थनको केन्द्रिय तत्व रहेछ । सो मन्थन कार्यक्रममा हाङयुग अज्ञातले भन्नु भएको थियो -मान्छे जस्तै कविता हुनु पर्यो मेरा कविताहरु म जस्तै छन् अनि मेरो कविताको आवाज च्याव्रुङ -ढोल) वजाउदा निस्कने आवाज जस्तै हुन्छ । वास्तवमा हाङयुगका कविताहरुमा प्रवेश गर्ने हो भने लेखकको अनुहार मात्र होइन हाम्रा विम्वका तमाम अनुहारहरु देखिन्छन् । कविताको आवाजमा च्याव्रुङ मात्र होइन मुन्धुम फलाकेको पनि सुनिन्छ । यस्तै अनुहार र आवाजहरु प्रतिविम्ति गर्नु नै शायद सृजनशील अराजकता हुनु पर्दछ । वहाहरुले हाक्नु भएको साहित्यिक आन्दोलनको पांच मन्त्र हंगकंगका पाठकहरु समक्ष निक्कै अगाडि प्रस्तुत गरी सक्नु भएको छ एभरेष्ट साप्ताहिक मार्फत । त्यसैले कतिपय पाठकहरुले अध्ययन गरेर गहिरो चिन्तन पनि गर्दै हुनु हुन्छ होला । मेरो मस्तिस्कमा भने मन्थन कार्यक्रमले नया कुराको प्रत्यारोपन गरेर दीर्घकालीन छाप वसालेको छ जस्ले मलाई घच्घच्याइ रहेछ त्यही कुरा लेख्न । नेपाली साहित्य लेखनको मूलधारवाट अर्को मूलधार निर्माण गर्न जुटेको यो सृजनशील अराजक समूहले निक्कै लामो फड्को मारी सक्यो । जे होस त्यही कुराको वैचारिक दृष्टि वोकेर कंक्रीटहरुको जंगल हंगकंग प्रवेश गर्नु भएको छ हाङयुगले । पक्कै पनि वहांले आफ्नो प्रभाव समस्त लेखक तथा पाठक वर्गमा पार्नु हुने नै छ । ककपिक मन्थनले हाङयुग र वहांका कृतिहरुलाई वुझ्ने अवसर पाएकाछौ समष्टिमा भन्ने हो भने थेप्चो विम्वसंग सम्वन्धित छ परिलक्षित छ सृजनशील अराजकता । त्यसैले सारा कुरा वुझ्नुमा र वुझाइमा छ । अन्तमा हाङयुग अज्ञातद्धारा लिखित अन्य आउदा नविन कृतिहरुमा पुन मन्थन गर्न पाउ भनी कामना गर्दै कार्यक्रम स्थलवाट वाहिरिदा कामको वोझ र अनिदोले गह्रुगो भएको टाउको चंगा भइसकेको थियो ।
No comments:
Post a Comment