Dec 9, 2007

हिमालयन टोन्स र दिनेश सुब्बा

देवराज राई
गत वर्षो मार्च महिनामा स्थापना भएको हिमालयन टोन्स म्यूजिक एकेडेमीले हङकङको नेपाली समूदायका गीत, संगीतका बिधार्थीहरुलाई स्वर, पियानो, किबोर्ड तबला, मादल, हार्मोनियम, स्टाफ नोटेशन, किबोर्ड प्रोगामिङको ज्ञान मात्र नभई, म्यूजिक एरेञ्जमेण्ट र गीत रेकर्डिङ सेवा समेत प्रदान गर्दै आएको छ । सामान्य नेपाली गीत रेकर्ड गर्नु परेमा नेपाल जानुपर्ने झंझटबाट पनि मुक्त गराएको छ । हङकङको चुङकिङ मेन्सनको डी-१३ तलामा संचालन भइरहेको उक्त एकेडेमीले हङकङको नेपाली समुदायमा नेपाली संगीतको जग बसाल्न ठूलो सहयोग पुग्ने आशा गरिएको छ । विगत ११ वर्षता हङकङमा स्थाई बसोवासो गरिरहेका हिमालयन टोन्स म्यूजिक एकेडेमीका संस्थापक एवं संगीत गुरु दिनेश सुब्बा भन्छन् -"नेपाली भाइ बहिनीहरुले गीत संगीतका बारेमा केही सिकाइदिनुस भन्न थाले, मलाई पनि नेपाली समाजमा सहयोग पुग्छ भन्ने आशाले स्थापन गरेको हो ।" नेपालीहरुका चाहनाहरुलाई परिपूर्ति गर्न समाजमा नेपाली संगीतलाई माथि उकास्ने चाहना बोकेका प्रशिक्षक दिनेश सुब्बा प्रशिक्षण केन्द्रको स्थापना गर्नुका बारेमा थप भन्छन् -"हाम्रा प्रकारका गीत संगीतहरु हङकङमा पाइन्दैन । यर्सथ पनि नेपाली प्रशिक्षण केन्द्रको स्थापना गर्नु जरुरी थियो । नेपालीहरु म्युजिक ओरेण्टेड छन् । अरु माइनोरिटीहरुभन्दा नेपालीहरुले बढी मात्रामा कार्यक्रमहरु आयोजना गर्ने गर्छन् । यर्सथ पनि यहीबाट नेपाली कलाकारहरु उत्पादन गर्न जरुरी छ । नेपालीहरुको संगीतप्रतिको अभिरुचीलाई नेपाली संगीतको मूलधारमा लैजानु छ ।" सुब्बा सो एकेडेमीका प्रमुख प्रशिक्षक हुन र उनलाई उनका १६ वषिर्या छोरा निशाद सुब्बाले पनि प्रशिक्षण प्रदान गर्नमा सहयोग पुर्‍याइरहेका छन् । 'द एशोसिएटेड बोर्ड अफ द रोयल स्कुलस अफ म्यूजिक' मा पियानो विषयमा चौथो वर्षा अध्ययनरत निशादका बारेमा दिनेश सुब्बा भन्छन् -"युवा पुस्ताको चाहनालाई पूरा गर्न छोराले पियानो र गिटारको प्रशिक्षण प्रदान गर्नमा सहयोग गर्ने गरेको छ । आफ्ना बुबालाई सहयोग गर्न पाएकोमा खुशी निशाद भन्छन् -"बुबाको सपोर्टमा गिटार र पियानो बिधार्थीहरुलाई सिकाउँछु । मलाई रमाइलो लागि रहेको छ ।" हिमालयन टोन्स म्युजिक एकेडेमीको स्थापनाकालागि सहयोगी भूमिका निर्वाह गरी रहेका लिटल वर्डस किन्डर गार्टेनका सुपरभाइजर धन थापा भन्छन् -"संगीत क्षेत्रमा प्रवेश गर्ने चाहना लिएकाहरुकालागि एकेडेमी अति उत्तम स्थाल हो । यसका कुनै शंका छैन् । राइट प्लेस राइट पर्सन ।" प्रशिक्षार्थी टोपराज तामाङ एकेडेमीको स्थापनाले आफू लाभान्वित भएकोमा खुशी ब्यक्त गर्दै अगाडि भन्छन्-"सानैबाट गीत गाउँन सौख थियो तर प्रयाप्त ज्ञान थिएन । पहिलेदेखि सिक्ने चाहना थियो, प्रशिक्षण केन्द्र र प्रशिक्षकको अभावका कारण सिक्न पाएको थिइन् । अहिले चाही नेपालको ठूलो कलाकारबाट ज्ञान लिन पाइयो र सम्पूर्ण चाहना पूरा भयो । गीत संगीतमा ठूलो सपना देखिएको छ ।" युनलङबाट हरेक शनिवार, आइतवार काम बाट बचेको समय संगीतको अध्ययानमा समय ब्यतित गरी रहेका तामाङले एक एल्बम बजारमामा आइसकेको छ । धेरै पहिले देखि गीत गाउँदै हिडेका ज्ञान सुब्बा प्रशिक्षण केन्द्रका बारेमा प्रतिक्रिया दिँदै अगाडि भन्छन् -"हिमालयन टोन्स म्यूजिक एकेडेमीमा संगीत सिक्न गएको हो । दिनेश दाइले राम्रो प्रशिक्षण दिनु हुँदो रहेछ । " उता एकेडेमीका बृधा प्रशिक्षार्थी वीरवहादुर थापा भन्छन् -"उमेरमा सिक्न पाइएन । दिनेश सुब्बाले राम्ररी सिकाउँनु हुँदो रहेछ । सबै उमेरकाहरुलाई सिकाउनु साह्रै सिपालु रहेछन् । मेरा पनि केही गीत रेकर्ड भइसकेका छन् । अहिले एल्बम निकाल्ने तयारी गर्दै छु । यसमा हिमालयन टोन्सले सहयोग गरेको छ ।"

No comments: