Dec 16, 2007

प्रभावशाली पूर्व मिस नेपाल माल्भिका सुब्बा

माल्भिका सुब्बा, पूर्व मिस नेपाल एवं टेली एंकर। जन्म - २०३८ साल, शिक्षा - मास कम्युनिकेसन्स एन्ड जर्नलिजममा स्नातकोत्तर अध्ययनरत। मिस नेपालका
११ श्रृंखलाका सुन्दरीमध्ये माल्भिका सबैभन्दा प्रभावशाली रहेको स्वयं पूर्व मिस नेपालहरूले सार्वजनिक कार्यक्रममा स्वीकार गरेपछि उनको उचाइ अझ बढेको छ। माल्भिका मीस नेपाल भएयता धेरै युवतीहरुले उनलाई रोल मोडेल मान्ने गरेका छन्। कान्तिपुर टेलिभिजन तथा नेपाल वानमा टेलिभिजन एंकरको भूमिका निभाइसकेकी माल्भिकाले मिस नेपालकी संयोजकका रूपमा पनि काम गर्दै आएकी छिन्।

मिस नेपाल हुनुका फाइदा त धेरै होलान् तर तपाईंलाई कुन फाइदा बढी प्रभावकारी लाग्यो ?
युवापुस्ताले मलाई रोल मोडल मान्नु र थप ज्ञान एवं आत्मविश्वास प्राप्त गर्नुलाई मैले प्रभावकारी फाइदा मानेकी छु । तर त्यसबाहेक यही बेलादेखि म आफ्नो खुट्टामा पूर्ण रूपमा उभिएँ ।
तपाईंको कुन खुबीले ताज दिलाएजस्तो लाग्छ ?
सुन्दर भएर मात्र हुँदैन, भित्री ज्ञानको सौन्दर्य पनि हुनुपर्छ । मैले आफ्ना कुरा राम्ररी भन्न सकें । विशेषगरी मनको कुरा भन्न सक्ने खुबीले मुख्य भूमिका निभाएको थियो ।
के सानैदेखि मिस नेपाल हुन चाहनुहुन्थ्यो ?
होइन, डाक्टर हुन चाहन्थें ।
डाक्टर बन्ने सपनाबाट कहिले ब्युँझिनुभयो ?
जब नौ क्लासदेखि साइन्स मन परेन ।
अब विवाह गर्ने बेला भएन र ?
के विवाह पनि यही समयमा गर्नुपर्छ भन्ने हुन्छ र ?
त्यसो भए विवाह गर्ने सोच अहिलेसम्म आएको छैन ?
छ, सम्भवतः अर्को वर्षसम्म गर्छु ।

प्रेमविवाह रुचाउनुहुन्छ कि मागीविवाह ?
प्रेमविवाह, किनभने मेरो पूरै परिवारले प्रेमविवाह गर्नुभएको छ ।
त्यसो भए प्रेमी पनि फेला पारिसक्नुभयो ?
त्यसै भन्नुपर्‍यो ।
कति वर्ष भयो ?
मिस नेपाल भएदेखि ।
कस्तो पुरुष रुचाउनुहुन्छ ?
बुझकी, टाइम दिन सक्ने र सहयोगी ।
त्यसो भए यी सबै कुरा तपाईंको प्रेमीमा छ ?
अहिलेसम्म यी सबै कुरा पाएकी छु तर विवाहपछि के होला भन्न सकिन्न ।
कस्ता पुरुष मन पर्दैनन् ?
मनमा पाप भएका, अरूको कुरा काट्ने एवं अहं भावना भएका ।
तपाईंको कमजोरी के हो ?
म छिट्टै चित्त दुखाउँछु । यो मेरो कमजोरी हो ।
आफ्नो राम्रो कुराचाँहि के लाग्छ ?
ममा धैर्यता छ । म अरूका कुरा बुझ्ने प्रयास गर्छु । साथीभाइलाई केयर गर्छु । ममा अहं भावना छैन ।
तपाईंलाई सबैभन्दा नरमाइलो लागेको कुरा के हो ?
बुबाको मृत्यु । बुबाको रहरले नै म जन्मिएकी हुँ । दुईवटा छोरा भएर लामो समय बितेपछि उहाँले छोरीको रहर गर्नुभएको थियो रे । म उहाँकी पुल्पुलिएकी छोरी थिएँ ।
कोबाट बढी प्रभावित हुनुहुन्छ ?
मेरी आमाबाट ।
किन ?
उहाँ नै हाम्रो घरको सर्वेसर्वा हो । बुबा हुँदादेखि नै उहाँले नै घर ह्यान्डल गर्नुभएको थियो । हाम्रो परिवार मातृसत्तात्मक परिवार हो । आफ्नो खुट्टामा आफै उभिनुपर्छ, अरूको भर पर्नुहुन्न भन्ने ज्ञान उहाँले नै मलाई दिनुभएको हो । २० वर्षको उमेरदेखि म आफ्नै खुट्टामा उभिनुमा उहाँको ठूलो हात छ ।
तपाईंले चढ्ने बाइक आफैले किन्नुभएको हो ?
हो । बाइकमात्र किन, मैले नुहाउने स्याम्पुदेखि परिहनसम्म सबै म आफैले कमाएकी हुँ । टुथपेस्टदेखि टबेलसम्म सबै आफैले कमाएको पैसाबाट जोड्छु । तपाईंको सपना के हो ? आफैले कमाएको एउटा राम्रो घरमा बस्ने । आफैले एउटा गाडी किन्ने ।
नेपालमा कमाएको पैसाले यी सबै कुरा नपुग्न पनि सक्छ नि ?
नपुगे पनि मलाई यही चाहिन्छ भन्ने जिद्दी गर्न छाडेकी छु । जे छ, त्यसैमा रमाउन चाहन्छु । नेपालमा जन्मेर ठूलो कुरा खोज्नु राम्रो पनि होइन ।
तपाईं प्रतिभाशाली हुनुहुन्छ, विदेश जाने हो भने राम्रो कमाइ गर्न सक्नुहुन्थ्यो नि, होइन र ?
तपाईंले भनेको कुरा सही हो तर मलाई नेपाल नै मन पर्छ । मास कम्युनिकेसन पढ्न दुई वर्षका लागि थाइल्यान्ड गएकी थिएँ तर दुई महिनामै र्फकन बाध्य भएँ । हिमाल देखे पनि नेपालको सम्झना आउने, पहाड देखे पनि नेपालको सम्झना आउने । त्यहाँ बस्नै सकिन । फेमिलीबिना म बाहिर बस्न नसक्ने रहेंछु ।

No comments: