टंक वनेम
पाब्लो नेरुदा जङ्गलको गीत सुन्थे
माचुपिचुमा घाम तापेर
अध्यारो बिरुद्ध
अज्यालोको अक्षर घोट्थे
माचुपिचुका टाकुरा झैं
अग्लि रहने अक्षरहरुले
इतिहास भत्काउनेहरुको
छाती घोचिन्थ्यो ।
जङ्गलको गीतमा
कस्तो मूर्च्छना हुन्थ्यो कोनि ?
जङ्गलको सङ्गतिमा
कस्तो थियो संबेदनाको प्रवाह
जङगलको एकान्त
के अजय शक्तिको श्रोत हो ?
माचुपिचु र घनघोर जङ्गलले
नेरुदाको आस्था
अग्लि रहन्थ्यो
उकालै उकालो ।
शायद
खोलाको कलरवमा
क्रान्ति हुन्छ क्यारे
जङगलको लहरामा
आस्था झुण्डिएको हुनु पर्छ
रत
झुण्डिन्थ्यो नेरुदाको मन
लहरा संग
र त बग्थ्यो
नेरुदाको आँसु
खोला संग ।
वर्षाको झरीमा
निथ्रुक्क भिज्थ्यो
नेरुदाको हृदय
नथाकेर उक्लिन्थ्यो
माचुपिचुको उकाली
माचुपिचु र
लिम्बूहरुले गर्ने
फक्ताङ्लुङ् यात्रामा
भिन्नता छैन भने
मुन्धुम् फलाक्दै
फक्ताङ्लुङ् यात्रा गर्न
ढिलो भएन र ?
आदाङ्बासे !
No comments:
Post a Comment