Dec 23, 2007

विश्वासदीप तिगेला

कोशी अञ्चल धनकुटा जिल्लाको हात्तीखर्क गा.वि.स.मा जन्मनु भएका कवि तथा निवन्धकार विश्वास दीप तिगेला सन् १९९६ मा ब्रिटिस गोर्खा सैनिकको रुपमा आफ्नो सैनिक जीवन आरम्भ गर्नु भएको हो । अद्यावधि उहा सैनिक सेवामा कार्यरत रहे पनि अन्य व्यक्तिहरु भन्दा विल्कुलै पृथक हुनु हुन्छ । यसकारण कि एक हातमा वन्दुक र अर्को हातमा कलम लिएर युद्धका जीवन्त कथाहरु, कविताहरु लेख्नु हुन्छ । हातमा वन्दुक लिनु उहांको पेशा हो भने कलम लिनु जीवनको सार उतार्नु हो । हालसालै तिगेलाको देश बोक्नुको पीडा नामक सस्मरणात्मक निवन्ध संग्रह बजारमा आएको छ । यस संग्रहमा भिन्न भिन्नै ५ देशमा प्रत्यक्ष देख्नु र भोग्नु भएका कुराहरु प्रस्तुत गर्नु भएको छ । यस भन्दा अघि गृह युद्धको पीडा,सङ्क्षिप्त बोर्नियो परिचय,परदेशीको कोसेली कविताहरु २०५५, जनमुक्ती अभियान (राजनैतिक शब्दावली) २०५६ नेपाली पाठकहरुको सामु पस्कि सक्नु भएको छ । त्यति मात्र नभएर एक दर्जन भन्दा वढी वेभर्साईटको डिजाइन साथै वेलायत तथा व्रुनाईवाट प्रकाशित हुने प्रवासी वेदनाका आवाजहरु पत्रिकासंग आवद्ध हुनु हुन्छ । सैनिक सेवामा रहेर पनि थुप्रै कृतिहरु प्रकाशन गर्ने स्रष्टा तिगेला, गोर्खा सैनिकहरुमा सम्भवत उहां नै पहिलो हुनु हुन्छ । प्रतिभावान व्यत्तित्व तिगेलासंग लिम्वूवान व्लगस्पोट डट कम्का व्लगर टंक सम्वाहाम्फेले गर्नु भएको वार्ता पाठकहरुको समक्ष पेश गरेका छौं ।

१ हालसालै तपाईले देश बोक्नुको पीडा निबन्धसंग्रह ल्याउनु भयो यस बारे पाठकहरुलाई केहि बताई दिनुहोस् ?
युद्धग्रस्त विभिन्न देशहरुमा खट्नु पुगेको बेला मैले १२ बटा देशहरु संग सम्बन्धित मेरा रचनाहरु समेटेर अघिल्लो निबन्ध संग्रह आज भन्दा चार बर्षअगाडी प्रकाशन गरेको थिए । त्यो पुस्तक प्रकाशनले मलाई धैरै प्रोत्साहित गर्यो र पछिल्लो समयमा म जुनजुन देश र ठाँउहरु पुगे त्यहि ठाँउहरुको आर्थिक, भौतिक, शैक्षिक स्थिती, संस्कारसंस्कृति, सामाजिक रहनसहन र भौगोलिक विविधतालाई समेट्दै हाम्रो देशको विविध पक्ष संग तुलना गर्दै यो देश बोक्नुको पीडा पुस्तकमा सरल ढङले प्रस्तुत गर्ने कोसिश गरेको छु । यो नयाँ कृति पनि मेरो आफ्नै डायरी भएको कारण राम्रा साहित्य छन् भन्न म सक्दिन तर यथार्थ विवरणहरु छन् र अन्य कृतिहरु भन्दा केहीकेही भिन्न चाहि अवश्य छ की भन्ने मलाई लाग्दछ । यो कृतिमा हाम्रो देश बाहेक मैले कामको शिलशिलामा घुमेको विभिन्न ५ वटा देशहरु (कोसभो, केन्या, वेलायत, ब्रुनाई र मलेशिया) संग सम्बिन्धित संस्मरणात्मक अनुभव र अनुभूतिका निबन्धहरु समावेश छन् । देशको तरल परिस्थितीमा एक सच्चा नागरिकको निष्पक्ष, निर्भिक विचार, फाल्टो दृष्टिकोण सहित पाउन सकिन्छ भनि आदणिर्य समिक्षक ज्यूहरुले भन्नु भएको छ । यो कुराको लेखाजोखा गर्ने त यहाँ पाठकहरुकै जिम्मा हो ।

२. भर्खरै नेपाल पुगेर आउनु भएकाले लिम्वूवान सम्वन्धि केहि कुरा बुझ्नु भयो कि ?
हजुर, लिम्बूवान राज्यको निम्ति लिम्बू दाजुभाईहरु साच्चै नै लाग्नु भएको छ । लिम्बूवान राज्यको निम्ति आन्दोलन भइरहेको बखत म स्वयं पनि विराटनगरबाट इटहरी सम्म रिक्सामा जानु पर्यो । वहाहरुले साच्चै लिम्बूवान क्षेत्रलाई तताई राख्नु भएको रहेछ ।

३. अहिले लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि आन्दोलन जारी छ यस बारे तपाईको दृष्टिकोण कस्तो रहेको छ ?
यो सकारात्मक कदम हो । एउटा विशाल रुख हुनको निम्ति धेरै हाङ्गाविङ्गा र त्यो हाङ्गाहरुमा थुप्रै पातहरु हुनु पर्दछ । स्वायत्त राज्य भनेको हो त्यहि एउटा हाँङ्गा हो । तिनै हाँङ्गा र हाँङ्गामा हुने पातहरु चाहि स्वायत्त राज्य र जनताहरु हुन । धेरै हाँङ्गा र पातहरु भएको रुख स्वत सुन्दर, आकर्षण र बहूउपयोगी हुन्छ । जतिसुकै स्वायत्त राज्यको चर्चा भए पनि त्यो एउटा रुखको सवाल हो । भौगोलिक रुपमा, भाषागत रुपमा, जातिगत रुपमा र धार्मिक रुपमा असमानता रहेको हाम्रो मुलुकमा संघीय राज्य प्रणाली भन्दा राम्रो अरु कुनै प्रणाली हुनै सक्दैन । हिजोको एक देश एक भाषाको शोषणयुक्त दुश्प्रयास नै आजको यो आक्रोस हो, शिक्षा हो । हामीले एकात्मक शासन असफल भएको प्रत्येक्ष अनुभव गरि सक्यौ त्यसैले फेरी पनि त्यहि खाडलमा हाम फाल्ने दुश्साहस कसैले गर्नु हुदैन । यसको अवस्था तातिएको फलाम जस्तो छ । यतिबेला ज्यादै सजग र संचेत रहनु पर्ने बेला हो । फलाम फेरी कहिल्य नतातिने गरि सेलाउन सक्छ । एक टुक्रा फलामको हसियाँ बनाउने की खुकुरी बनाउने अहिल्य नै निक्र्यौल गर्नु पर्ने समय आएको छ । हिजो १०४ बर्ष अनि ३० बर्ष १२ बर्षसम्म सुते पनि आज सबै उठ्नु पर्ने बेला आएको छ । आखिर यो असारमा रोपेको धान मंसिरमा पाक्छ त्यसवेला आनन्दले खाउला बसौला । तर यो धान रोप्ने असारको समयमा हामी कोहि नसुतौ, वेवास्त नरहौ ।

४. लिम्वूवान क्षेत्र भित्रै धनकुटा प्रतिभा पुरस्कार स्थापनाको लागि संयोजन गरी रहनु भएको छ त्यसैले यो पुरस्कार कुन क्षेत्रकोलाई र कहिले देखि कति राशिको दिईने भएको छ ?
म धनकुटा प्रतिभा पुरस्कारको निम्ति केही धेरथोर खटि रहेको मात्र छु । संयोजन नै भन्न मिल्दैन की ? संयोजक सोसरह खट्ने हामी धेरै छौ । अझ हाम्रो कार्यनीति अनुसार धनकुटेली हामी सबैनै संयोजक हो । यो कामले कसैलाई ब्यक्तिगत रुपमा क्रेडिट जादैन । यो संस्थाको संस्थापक आदीइत्यादी केही हुदैन । देशमा भएका, विदेशमा भएका, जन्मको आधारमा, कर्मको आधारमा धनकुटेली कहलिएका हामी सबैको साझा भावना नै यो संस्था हो । संस्थाको काम सबैसबैले गर्नु भन्नुको अर्थ कसैले नगर्नु भन्ने पनि हुन जान्छ तर त्यो सम्बन्धमा हामी संचेत छौ । लिम्बूवान क्षेत्र हो भन्ने सवाल संग यो पुरस्कारको कुनै सम्बन्ध हूदैन । भोलि धनकुटा जिल्लाको नाम तम्मोर जिल्ला रहे पनि, लिम्बूवान राज्य वा किरात राज्य वा अरुकुनै राज्य नाम रहन गए पनि यसको नाम धनकुटा प्रतिभा पुरस्कार नै रहनेछ । साहित्य र संगीत समाजको दर्पण हो । त्यसैले सभ्य समाज, सहिष्णु समाज र समय सापेक्ष विज्ञान समाज बनाउनको निम्ति मुख्य गरि साहित्य र संगीतको क्षेत्रमा रहेका हाम्रा प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत एवं सम्मान गर्ने साथै धनकुटाको प्रतिष्ठा आउने प्रकारको कुनै पनि काम (खेलकुद, परिक्षामा उत्कृष्ट विद्यार्थी, समाजसेवी) गर्ने ब्यक्तित्वलाई सम्मान गर्ने उद्देश्य रहेको छ । साहित्य र गीत संगीत अन्तर्गत विभिन्न जातजातिको भाषाहरु पनि पर्नेछ । जस्तैः संस्कृतमा श्लोक लेख्नेहोस वा तामाङ भाषामा कविता लेख्नेहोस । संस्थाको लागि पैसा उठाउने काम धमाधम चलि रहेको छ । कोसभो, जर्मन, कतार, साउदी, हङकङ, मलेशियाबाट रकम जम्मा हुनेक्रम जारी छ । अन्य देशहरुबाट पनि सक्रियता र सहयोग आउने आसा गरेका छौ । सहयोग यतिनै हुनुपर्छ भन्ने छैन । एक रुपैया नै सहयोग दिए पनि लिन्छौ । हामीलाई लाग्दछ सबैमा संस्थाप्रति आफनत्वको भावनाहोस, मेरो हो भन्ने दायित्व बोधहोस । कति रकमको पुरस्कार दिने सवालमा हामी संग अहिले झण्डै २ लाख जति अक्षयकोष जम्मा भएको छ । यो सांकेतिक कोष स्वरुप मात्र भएको छ । शुरुवात भर्खर मात्र हुदैछ । त्यहि अक्षयकोषको ब्याजबाट पुरस्कार दिने योजना हो तर अप्ठ्यारो चाहि के छ भने धनकुटाका सरकारी बैकले एकदमै थोरै ब्याज दिने र निजी फाइनान्सहरुलाई सधै विश्वास गर्न गाह्रो पर्ने । अक्षयकोष धनकुटा कै बैकमा राख्ने र्सवसम्मत निर्णय अनुसार पहिलो चरणको रकम बैकमा जम्मा भइसकेको छ । पैसा आफैमा एउटा ठूलो समस्या हो । ठूलो रासी उठेको खण्डमा सहि र पारदर्शि रुपले संचालन गर्ने सम्बन्धमा छलफल पनि चलिरहेको छ । त्यसैले यति नै रकमको पुरस्कार भन्न अहिल्य नै अलि अप्ठ्यारो भएको छ यद्यपी प्रत्येक बर्ष प्रदान गर्ने योजना हो तर त्यसरी प्रत्येक बर्ष प्रदान गर्दा पुरस्कारको खासै ठूलो महत्व नहून सक्छ भन्ने कुरा भर्खरै आएको छ । त्यसको टुङ्गो आगामी बैठकले गर्नेछ । यदि प्रत्येक बर्षको सट्टा दुइ वा तीन बर्षमा एक पटक प्रदान गर्ने निर्णय भएको खण्डमा सामान्य राम्रै पुरस्कार रासी रहने छ । संस्था वैधानिक रुपले दर्ता भई सकेको छ । संस्था संचालनको लागि कनिष्ठ देखि बरिष्ठ ब्यक्तिहरुको पनि संलग्नता रहेको कारण संस्था मजवुत बन्दै गएको छ । संस्थाको वेभपेज तयार भइसकेको छ । विश्वभर छरिएर विभिन्न ठाँउमा रहेका हाम्रा जिल्लावासीहरुलाई यहि www.dhankuta.org.np वेभपेजले जोड्ने काम गरिरहेको छ ।

५. लिम्वूवान स्वायत राज्य प्राप्तिको लागि हामी विदेशमा बस्ने लिम्वू लेखकहरुको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ? लेखकको मात्र नभएर सम्पूर्ण लिम्वूहरुको भूमिका कस्तो हुनु पर्छ होला तपाईको बिचारमा ?
हाम्रो देश नेपालमै रहेर साथिभाईहरुले ज्यानकै बाजि थापेर स्वायत्त राज्यको लागि लडिरहेका छन् । उनीहरुले तन, मन, धन दिएर महत्वपूर्ण समय खर्चेर लडि रहेका छन । यो माग यो आन्दोलन, खोसिएको घर फर्काउने आन्दोलन हो । त्यो घर अवश्य फर्किनुपर्छ । त्यो घर हामी सबैको हो । असारको रोपाइमा नजानेले मंसिरको जाउलो खान लजाउनु पर्छ । जो हामी विदेशमा छौ, भौतिक रुपले सम्भव नहोला तर नैतिक, आर्थिक र बौद्धिक अर्थात आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्नुपर्दछ । त्यसको लागि आजैबाट सहभागि हुनुपर्छ र धेरै साथीहरु लागि रहेका पनि छन् । रोप्ने र गोड्ने समय यहिबेला हो तब समयले एकदिन मूल्याङ्न अवश्य गर्नेछ । लेखकहरु समाजका द्धिग्गज बर्गहरु अवश्य हुन । उनीहरुले सहि र सत्य कुराहरु विभिन्न कोणबाट लेखेर संचेत र जागरुग गराउन सक्नुपर्छ । आखिर रुसी क्रान्तिको निम्ति मेक्सिम गोर्किको आमा उपन्यासको ठूलो भूमिका भएको स्वीकार्ने हो भने हाम्रो कलमले पनि क्रान्तिका कुराहरु किन नलेख्ने ?

६. आजको युगमा लिम्वूवान स्वायत राज्य लिम्वूहरुले माग्नु कतिको सान्दर्भिक ठहर्याउनु हुन्छ ?
मैल यो प्रश्नको उत्तर माथि नै दिइ सकेको छु । स्वायत्त राज्य सान्दर्भिकताको सवाल होइन अब अनिवार्यता हो भन्ने मलाई लाग्दछ । सघीय शासन प्रणालीमा सबै समस्या हल हुने जादु पक्कै छैन तर बर्तमानको एकात्मक शासन प्रणाली भन्दा धेरै राम्रो अवश्य छ । सबै राष्ट्रहरु आत्मा गौरवका साथ अटाउनेछन् । सामान्यतया ठूलो परिवार एउटै घरमा सधै अटाउन सक्दैन तर थप घरहरु बनाएर एउटै कम्पाउण्डमा चाहि बस्न सक्दछन् सधैका लागि । सबैसबैको भारी सधै बोक्नु सम्भव हुदैन त्यसैले केन्द्रले आ-आफ्नो भारी उनीहरुलाई नै सुम्पनु बुद्धिमता ठहर्छ । बरु जटिल सवालमा, साह्रोगाह्रोमा केन्द्र सरकारले संरक्षण तथा नियन्त्रणको हैसियत अवश्य राख्नु पर्दछ । संघीय प्रणालीका वेफाइदाहरु पनि धेरै छन् । जस्तै भारत सिक्किमका मान्छेहरु वेष्ट बङ्गाल आउदा सतर्क रहनु पर्छ, पिरोलिनु पर्छ तर तपाई पूर्वको मान्छे पश्चिम महाकालीमा पुगे पनि तपाइलाई कुनै पीर, डर हुदैन आदी । जातिय सवाल परालको कुन्यू जस्तो हो ।कथाकदाचित आगो लागेमा ध्वस्त हुने सम्भावना अधिक हुन्छ । त्यसैले हामी सबै आगैआगो भए पानी को बन्ने ? अन्याय सहनु पनि पाप हो भनिन्छ भने अब यो पाप कति सम्म गरि रहने ? लिम्बूहरुको संख्यात्मक आधारमा नेपालको राजनैतिक वृत्तमा भएको उपस्थिती निरासाजनक खासै छैन । तर त्यो उपस्थिती स्थायी भने होइन । यद्यपी अब नयाँ ढङ्गले पनि सोच्न सक्ने अवस्था चाहि छ । हामीले बिर्षनै नहूने कुरा के पनि हो भने - विभिन्न अवसरहरु जस्तै निजामति, सेना, प्रहरीमा समानुपातिक अवसर अनिवार्य हुनु पर्दछ ।

७. लिम्वूवान स्वायत राज्य पुनस्थापना हुन्छ भन्ने कुरामा तपाई कतिको आशवादी हुनुहुन्छ ?
गर्भ बसि सकेपछि सवल बच्चाको जन्म हुनु राम्रो मानिन्छ । भविश्यको कुरा गर्दा ठ्याक्कै नहून सक्छ तर मलाई लाग्दछ स्वायत्त राज्यको कुरा ९ महिनाको गर्भ हो । अहिले सरकारको असक्षमताको बारे पनि बहस चल्न शुरु भएको छ । धेरै नेताहरु गुण्डागर्दि पृष्ठभूमिबाट आएका छन । उनीहरु बौद्धिक रुपमा अत्यन्तै दर्रि्र छन् । यिनै नेताहरुको सरकारबाट ठूलो आस गर्न सकिन्दैन । यो वेला देशको कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका बीचको हुनु पर्ने सन्तुलन राम्रो संग भईरहेको छैन । यद्यपी सरकार ढलेन भने स्वायत्त राज्यको माग सकारात्मक जान सक्छ । सरकारले पनि संघीय राज्यको लागि प्रतिबद्धता स्वरुप संसदबाट घोषणा गरि सकेको छ ।

८. इतिहासले र विभिन्न प्रमाणहरुले लिम्वूवानको अस्तित्व अझै पनि खारेजी नभएको देखिन्छ तर नेपाल सरकारले भने लिम्वूवानको मागले देश विखण्डनमा धकेलिएको भनेर हाम्रो मागलाई टार्ने गर्छ यस बारे तपाईको धारणा ?
आफू कमजोर भएपछि आफ्नै छाँया संग तर्सने अवस्था आउछ । सरकार आज त्यस्तै कमजोर छ त्यसैले उ तर्सेको मात्र हो । साच्चै भन्ने हो भने देशलाई विखण्डनबाट जोगाउन स्वायत्त राज्य माग गर्नेहरु लागि परेका छन् । राज्य हिजो र आज पनि देश विखण्डन गर्न लागि परेको छ । विरामको पीडा त रोगीलाई थाह हुन्छ नी । नेपाल एकिकरणको कुरा गर्ने हो भने त्यसबेला कतिपय राज्य संन्धि र सम्झौतामा गाभिएका छन् । त्यसबखत कतिपय विशेष अधिकारहरु तिनै राज्यमा निहित रहने संम्झौता थियो । शक्तिको आडमा सम्झौता बिषिर्एर धोका दिनु महागल्ति थियो भने अहिले आएर अधिकारको कुरा उठाउनु स्वभाविक हो । सरकारले के बुझ्नु पर्दछ भने नेपाली समाज परिवर्तन भएको छ र देश विखण्डनबाट जोगाउने एउटै मात्र उत्तम उपाय स्वायत्त राज्य प्रदान गर्नु हो । स्वायत्त राज्यको मागलाई फेरीपनि टार्ने कोसिस गर्नु भनेको पराजित मानसिकता हो ।

९. लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि लिम्वूवान पार्टी सक्रिय भएको पाईएको छ अव यी पार्टी र लिम्वूहरुले लिम्वूवानको लागि कस्तो भूमिका निभाउनु पर्छ होला जस्तो लाग्छ ?
सैद्धान्तिक रुपमा हेर्नेहो भने पनि धेरै पानी अटाउन धेरै भाडा चाहिन्छ । ख्याल गर्नुपर्ने कुरा के हो भने प्रत्येक भाडा भित्र पानी नै हुनु पर्यो र कुनै भाडाको पानी दुगर्न्धित हुनु भएन । धेरै पार्टी बन्नु स्वभाविक हो । चुरो कुरो के हो भने बिहान दिउसो मेलापर्म जतासुकै गए पनि बेलुकी त घरै आउनु पर्छ । त्यसैले सबै पार्टी आ-आफ्नो कार्यक्रम लगे पनि स्वायत्त राज्यको माग चाहि निर्विवाद हुनु पर्दछ । धेरै हाम्रा पार्टी बीच खिचातानि पनि देखिएको छ । जसले गर्दा देशबाहिर रहेकाहरु सहयोग गर्न तयार छन तर कुन पक्षलाई गर्ने भन्ने बिषयले गर्दा अलमलमा परेका छन् । यसवेला हाम्रा पार्टीले निश्चित समयको लागि मात्र भए पनि सामुहिक मोर्चा बनाउन अति आवश्यक छ । अन्यथा लङ्गडो नै लङ्गडोको जमात जस्तो मात्र हुनेछ ।

१०. लिम्वूवानको विषयलाई हामी जस्ता लिम्वू लेखकहरुले साहित्यमा उतार्नु पर्छ जस्तो लाग्दैन ?
यो महत्वपूर्ण कुरा हो । अहिले जे जे सम्म सकिन्छ त्यो सबै गर्नु पर्ने समय हो । साहित्य र संगीत आन्दोलनको निम्ति अन्यन्तै ठूलो उर्जा हो । यसलाई हामीले आफ्नो स्वायत्त राज्य स्थापनाको लागि प्रयोग गर्नु पर्दछ । आजको यो स्वायत्त राज्यको रोपाइमा ककस्ले कति योगदान दिए त्यसको लागत कलमको माध्यायमले पनि राख्दै जानु पर्छ ।

११. तपाईको नया योजना केहि छ कि ?
सधै केही न केही नयाँनया काम गरुं लाग्छ । ब्यक्तिगत र सामुहिक धेरै योजनाहरु छन् । पहिलो प्राथमिकता भन्नु पर्यो, पढ्नको लागि अहिले अलि बढि समय छुट्टाएको छु । दोस्रो कुरो अनलाईन नेपाली साहित्य मंच मार्फ कविता र गजलको प्रतियोगिता तुरुन्तै गर्ने योजना छ । साथिहरु संग विचार विमर्श चलि रहेको छ । पुरस्कार चाहि नगद र प्रमाण-पत्र रहने छ । तेस्रो कुरा नेपालमा अहिले नयाँ संविधान बनाउनको लागि छलफल र बहस चलि रहेको छ संविधान सभाकै लागि चुनाव गर्ने तयारी भइरहेको छ । अझ संमग्रमा भन्ने हो भने देशको राजनीति नै नयाँ संविधान, राम्रो सविधान बनाउन उन्मुख छ । यहि प्रसंगलाई ख्याल राख्दै नेपालको नयाँ संविधानको प्रतियोगिता नै पो गराउने हो की भनेर गृहकार्य हुदैछ । त्यसमा कानुनका विद्यार्थीहरु तथा इच्छुकहरुको सहभागिता रहने छ । जसले गर्दा भोलि संविधान निर्माताहरुलाई सानो एउटै मात्र कुरामा सहयोग पुग्न सकेमा मात्र पनि ठूलो उपलब्धि मान्नु पर्दछ । यो योजना निक्कै ठूलो बजेटको रहने छ र प्रतियोगिताबाट घोषित हुने प्रथम संविधान निर्माताले ठूलो रकमको पुरस्कार साथै सहभागी प्रत्येकको मेहनत अर्थात सविधान बनाउनु भनेको एउटा अत्यन्तै जटिल विषयको पुस्तक बनाउनु हो । त्यसैले प्रत्येक सहभागीले खर्च बापत केही रकम प्राप्त गर्नेछन् । चौथो परदेशिएका नेपालीहरुको डायस्पोरिक साहित्यको बारेमा अध्यायन गरि रहेको छु । हेरौ मन र विचार त धेरैधेरै छ गर्न चाहि कति सम्म सकिन्छ ।

१२. लिम्वूवान व्लगस्पोट मार्फत सम्पूर्ण लिम्वूहरुलाई केहि शन्देस दिन चाहानु हुन्छ कि ?
र्सवप्रथम मेरा केही कुराहरु राख्न पाएकोमा लिम्वूवान व्लगस्पोट परिवारलाइ धन्यवाद । एक नागरिकको हैसियतले बोल्दा ठाडै हुन गई अशोभनिय पो भयो की ? गल्तिहरुमा माफ पाँउ । आफ्नो घर, परिवार र समुदाय जस्तो अरु केही हुनै सक्दैन । समय आउछ पर्खन्दैन । हामीहामी सबै ब्यूझिउ र अरुलाई पनि ब्यूझाऔ । आपसी हितका विषयमा विचारहरु आदान प्रदान गरौ । प्रतिक्रिया, सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछु । त्यसको लागि मेरो ठेगाना हो biswas@post.com

जय प्रवास

1 comment:

Unknown said...

Biswas g,
It is nice and balanced.
Kpeep it up.

Ramesh
USA