प्रेमबहादुर फ्याक
मंसिरमा संविधानसभा निर्वाचन नहुने भएपछि दसैंमै घर जाने निर्णय गरे । बसको टिकट पाउन गार्हो थियो । बल्लतल्ल दिवा बसको चमेरे सिटको टिकट पाइयो । त्यो दिन दमक पुगेर भोलिपल्ट लारुम्बा हुदै रवि जाने ट्याक्सी चढ्ने सोच थियो । बसबाट दमक ओर्लदै गर्दा मुसलधारे पानी पर्यो । लारुम्बाको बाटो गाडी चल्छ कि चल्दैन भन्ने चिन्ताले पिरोल्न थाल्यो । किनकि बर्षा हुनासाथ रतुवा खोलामा बाढी आएर गाडी चल्न सक्दैनथ्यो । गाडी नचले खोलाको बाटो हिंड्न कठिन थियो । इलाम सदरमुकाम भएर जादा पनि एक दिनमा घर पुग्न मुस्किल । नभन्दै भोलिपल्ट बिहान गाडीका स्टाफहरूले गाडी जान नसक्ने जानकारी गराए । त्यो दिन घर पुग्ने उमंग भंग भयो । बिर्तामोड-इलाम हुदै मंगलबारेसम्म गाडी र त्यसपछि ६ घन्टा पैदल हिंड्नुबाहेक अरू उपाय थिएन । दमक-लारुम्बा-रवि बाटोले स्थायित्व पाएको भए हजारौं यात्रुले कति सुविधा पाउथे होलान् । दुइ दिन लगाएर घर पुग्नुसट्टा ४ घन्टामा पुग्थे होलान् । इभाङ, बाँझो, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक, कुरुम्बा, रवि, आरुबोटे, सारङ आदि जस्ता इलाम र पाँचथरका पिछडिएका गाउँले कति छिट्टै मुहार फेर्थे होलान् । ती गाउँका बारीमा कुहिएर जाने सागपात, अम्बक, नासपाती, भोगटे, आल्चा, बखडा, आरु, स्कुस, फर्सदिले बजार पाउँथे होलान् । खरबारीका पाखामा लटरम्म फल्ने हर्र्रो, बर्र्रो र अमला कति बिक्थे होलान् । त्यहाँका पिछडिएका लिम्बूहरूको स्थिति पनि सुध्रिन्थ्यो होला ।
के गर्नु त्यो बाटोमा कुन सरकारको आँखा पुग्ने - यस्ता अनेक कुरा मनमा खेलाउँदाखेलाउँदै गाडीले बर्नेको रमाइलो चियाबारी पार गर्दै कुटीडाँडा र पाथीभराको बादलभित्र हराइसकेको पत्तै भएन । बादलुको घुम्टो चिर्दै गाडी कन्यामको सुन्दर चिया बगान, फिक्कल, गुजिल्टो परेको गोदकको ओरालो बाटो हुँदै माइखोला पुगेको पत्तै भएन । बिहानको ११ बजेतिर पुग्दा बादलुको घुम्टोले छोपिएको थियो इलाम बजार । १.३० बजेतिर खचाखच गाडी चुरेघाँटी, बिब्ल्याँटे, पुवाखोला, नेपालटार हुँदै मंगलबारेका लागि प्रस्थान गर्यो । नेपालटारदेखि मंगलबारेसम्मको बाटो पूरै हिलाम्मै थियो । लाग्थ्यो त्यहँ“ रोपाइ“ हुन लागेको छ । कहिले दायँ कहिले बायाँ गाडीमा बल्ड्याङ खेल्दै मंगलबारे पुग्दा साँझ पर्न लागेको थियो । त्यहाँबाट ओरालो, उकालो, जंगल अनि खोलाको बाटो ५/६ घन्टा हिँडेर पारिपट्ट घर पुग्ने आँट मलाई आएन ।
आखिर एक घन्टा हिंडेपछि धुसेनीमै बास बसियो । भोलिपल्ट फूलपातीको दिन बिहानै देउमाई खोलासम्म ओरालो झर्दा मन एक प्रकारले प्रफुल्लित थियो । खेतमा झुलेका धानका बाला समात्दै आली-आली हिंड्दा थकाइ हराएको थियो । पहिले त बाँसको फड्के पुल थियो तर देउमाई र फाकफोकको दोभानमा फलामको राम्रो झोलुङ्गे पूल बनेछ । पुल तरेर फाकफोकको किनारैकिनार धानका बालासँग खेल्दै, खोलाको चिसो पानी खाँदै अनि खोलाको एकनासे सुसाहटसँगै हिँडेको क्षण बिर्सिनसक्नु थियो । फिञ्जराबंसीको नाकै ठोक्किने उकालो काट्न मुस्किल पर्यो । दिउँसोको घामले निकै पसिना फुटायो । बाटा खनिएका थिए, झाडी फाँडिएका थिए खोलादेखिनै । तल पुच्छार गाउँदेखि बाजे, काका, दाइ, भाइ भेटिन थाले । फूलपातीका दिन भएकाले कोही खुकुरी भिरेर, डालो, थुन्चे बोकेर राँगा काट्न जम्मा भएका थिए । मन एक प्रकारले प्रफुल्लित थियो । घर पुग्दा थकाइ निक्कै लागेको थियो तर पनि मलाई पल्लो र तल्लो घरे काकाहरूकोमा नगई चित्त बुझेन । पहिलेभन्दा गाउँको वातावरण सुनसान थियो । मस“गै पढेका युवा कोही भारत, कोही खाडी मुलुक गएछन्, कोही लाहुरे भएछन् त कोही बिहे गरेर
छुट्टीएर बसेछन् । गाउघरमा बूढापाका र केटाकेटीमात्र भेटिए । द्वन्द्वको कारण युवाले घर छोडेछन् । उनीहरूको घरमा दशैको खुसियाली थिएन । माथिल्लो घरकी बजूलाई काका जनसेनामा लागेर नफर्केकाले दशै रमाइलो भएन । धेरैले मलाई केन्द्रमा राजनीति कस्तो छ भनेर चासो राखे । संविधानसभाबारे चासो राखे । मैले बुझेजति सम्झाए । खुसीको कुरा सधै चुलोमा बस्नुपर्ने आमाहरूको समूहले यसपटक दसैंको मौका पारेर ठूलै कार्यक्रम सञ्चालन गर्नुभयो । चेतना आएछ जस्तो लाग्यो । केही युवाले त भाले पुरस्कार राखेर भलिबल पनि खेलाए । यसपालि विगतका वर्षा जत्रो मकैको थाङ्ग्रो देखिएन गाउमा । मकै, अलैची र अदुवामा रोग लागेकाले किसान चिन्तित थिए । उनीहरूको समस्या कसले हल गरिदिने - धानबालीको स्थिति चाहि राम्रै थियो । वारिपारिका गाउ“ धानका बालाले झपक्कै ढाकिएका थिए । नौरथादेखि नगरा बजाउने साइला बाजे यो वर्षपनि उही पारामा उही नगरा बजाउदै थिए । कयौं परिवर्तनले पनि उहालाई छुन सकेनछ । फूलपातीको दिनदेखि प्रत्येक लिम्बूको घरको अगेनाको भारमा मासुको सुकुटी झुन्डिए । नवमीको दिन सुब्बाहरूका साथ मौलो पूजा गरिए पनि पहिलेको जस्तो हर्षबढाइ थिएन । दशमीको दिन सबैको निधारमा सेतो टीका -लिम्बूहरूले सेतो टीका लगाउछन् र जमरा देखिन्थे । दसैंलाई धार्मिक रूपले मात्र नभएर जमघटको अवसरका रूपमा लिएको पाइयो । टीकाको दिन ढाकर र थुन्चेमा सुगुर र कोसेली बोकेर भरियाका साथ ससुराली जाने चलन कम भएछ । ढाकर र थुन्चेलाई ब्यागले पालो दिएछ । घर-घरमा चेलीबेटी आउने क्रम सुरु भयो । बासको चोयाले बुनेका पेरुङ्गामा हरियो चिउरीको पातले कोसेली पोको पारिनुको सट्टा पुरानो कागज र प्लास्टिकले बेरिएको पाइयो । बूढापाका लिम्बू गाउमा भुवानी डुल्थे । रमाइलो भाकामा लिम्बुवान र सृष्टिको मिथक सुनाउथे । तर योपटक बूढाले भुवानी डुलेको पाइएन । त्यसो त धाननाच देखिएन, हाक्पारे र पालम पनि सुनिएन । कति रमाइलो हुन्थ्यो पहिले सोल्टी-सोल्टिनी हात समातेर रातभरि पालम गाएको सुन्दा । अहिले त केटाकेटी एकान्तमा बसेर गोप्य वार्तालाप गरेको मात्र देखियो ।
धाननाच, हाक्पारे र पालम नसुन्दा त लिम्बुवानको परिचय हराएझैं लाग्थ्यो । पालमको सट्टा घरघरमा ठूलै माइक राखेर तीन डाडा थर्किने गरी 'म तिमीलाई माया गर्छु...' 'दिलका रिस्ता....' जस्ता गीत गुञ्जिएका थिए । ज्वाइहरूले ससुराली आउदाजादा लगाउने ढाका टोपी र दौरासुरुवाल कतै देखिएन । सत्कार स्वरूप दिइने तोङ्वा -काठको ढुङ्ग्रोमा जाड हाल्ने) दिने चलन पनि हराएछ । बाहुन-क्षेत्रीका घरमा ढिंकीमा कुटेको बासनादार चिउरा खान पाइन्थ्यो पहिले तर यसपटक त बजारमा किनिएको तीतो चिउरा पो खाइयो । बरडाडामा युवा कुर्लिन्थे लिङ्गे पिङ मच्चाउदै पहिले तर यसपटक युवा तास खेल्न बढी व्यस्त देखिए । त्यो डाडाको बर पनि बूढो भएर ढलेछ । पिङको नाम कतै पनि सुन्न पाइएन ।
कान्तिपुरबाट साभार
No comments:
Post a Comment