डा. कृष्ण भट्टचन
जातीय विभेद उन्मूलन गर्ने महासन्धि समितिको चेतावनी
जातीय विभेद उन्मूलन गर्ने महासन्धि समितिको चेतावनी
'सबै प्रकारका जातीय विभेद उन्मूलन गर्ने महासन्धि समिति'ले मार्च १३, २००९ मा अस्टे्रलिया, क्यानडा, अलसाल्भाडोर, भारत, इन्डोनेसिया, लाओस, नेपाल, पेरु र तान्जानिया गरी नौवटा मुलुकलाई अग्रीम चेतावनी दिएको छ । समितिका अध्यक्ष फातिमता-बिनता भिक्तोर दले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि महामहिम दिनेश भट्टराईलाई एउटा पत्रमार्फत अग्रीम चेतावनी दिएका छन् । उक्त पत्रमा समितिका अध्यक्षले लेखेका छन्, '१६ फेब्रुवरीदेखि ६ मार्च २००९ सम्म बसेको समितिको ७४ औँ बैठकको विषयमा म के अवगत गराउन चाहन्छु भने आदिवासी जनजातिलाई पर्न जाने अपूरणीय क्षतिबाट जोगिन र महासन्धिद्वारा प्रत्याभूत अधिकारको पूर्णरूपमा मान्यता र सम्मानका लागि नेपाललाई सहयोग गर्न समितिले अग्रीम चेतावनी (अर्ली वार्निङ्) प्रकियाअन्तर्गत यस विषयलाई छानबिन गरेको छ ।' स्मरण रहोस्, नेपालले संयुक्त राष्ट्रसंघका सबै प्रकारका जातीय विभेद उन्मूलन गर्ने महासन्धि (सर्ड) लाई जनवरी ३०, १९७१ मा सम्मिलन गरेको थियो । नेपालले यसको नियमित प्रतिवेदन उक्त समितिलाई सन् २००४ मा बुझाएको थियो । समितिको निष्कर्ष मन्तव्यको अनुच्छेद १३ मा नेपालका आदिवासी जनजातिले यस महासन्धिको कार्यान्वयनबाट मानवअधिकार उपभोग गर्न पाए/नपाएको सम्बन्धमा नेपालले प्रतिवेदनमा कुनै जानकारी नदिएकामा खेद व्यक्त गरिएको थियो । नेपालले वन्यजन्तु संरक्षणका नाममा आदिवासी जनजातिका भूमि र यसमा भएका प्राकृतिक स्रोतमाथिको स्वामित्व, विकास, नियन्त्रण र प्रयोगको अधिकार हनन गरी बाध्यात्मक विस्थापन र महासन्धिले सुनिश्चित गरेको मानवअधिकारको उल्लंघन गरेकामा चासो प्रकट गरिएको थियो । त्यसवेला समितिले नेपाललाई तीनवटा सुझाव दिएको थियो (क) आदिवासी जनजातिविरुद्ध हुने विभेद रोक्न कडा कदम चालियोस्, (ख) प्रतिवेदनमा वन्यजन्तु संरक्षण र आदिवासीको भूमिमाथिको अधिकारबीच समन्वय गर्न गरेका काम-कारबाहीको विवरण दिइयोस् र (३) महासन्धि नं. १६९ लाई अनुमोदन गर्ने कामलाई अघि बढाइयोस् । अहिलेसम्म नेपालले महासन्धि १६९ लाई अनुमोदन गर्ने कामबाहेक अन्य सुझावलाई उपेक्षा गर्दै आएको छ । मार्च १३ को पत्रअनुसार १२ फेबु्रवरी-१२ मार्च २००४ मा बसेको 'सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने महासन्धि अनुगमन समिति'द्वारा नेपालले चौंसठ्ठीऔँ बैठकमा बुझाएका पन्ध्रौँ र सोह्रौँ प्रतिवेदनबारे छलफल गरी निष्कर्ष मन्तव्य दियो । सो निष्कर्षअनुसार नेपालले बुझाउन बाँकी रहेका सत्रौँ, अठारौँ र उन्नाइसौँ प्रतिवेदनलाई एउटै दस्ताबेजमा समावेश गरी मार्च १, २००८ मा बुझाउनू भनिएको थियो । तर, नेपालले प्रतिवेदन बुझाएको छैन । त्यसैले फरवरी १६ देखि मार्च ९, २००९ सम्म बसेको समितिको ७४ औँ सत्रले नेपालले बुझाउन बाँकी एकमुष्ट प्रतिवेदन जुलाई ३१, २००९ भन्दा ढिला नहुनेगरी जतिसक्दो चाँडो बुझाउन ताकेता गरिसकेको छ । एउटा कमजोर विद्यार्थीको गृहकार्यजस्तो हुनेगरी प्रतिवेदन दिँदै आएको नेपालले यस्तो महत्त्वपूर्ण विषयको प्रतिवेदन समयमै नबुझाउनु गैरजिम्मेवार कार्य हो ।
के हो अग्रीम चेतावनी ?
महासन्धिमा सुनिश्चित मानवअधिकारलाई पक्ष राज्यले गर्ने उल्लंघनका घटनालाई रोक्न र प्रभावकारी ढंगले पालना गर्ने-गराउने कार्यलाई समितिले सन् १९९३ मा निर्देशित गरेको थियो । र, अति गम्भीर प्रकृतिका मानवअधिकारको उल्लंघनलाई रोक्न अग्रीम चेतावनी र अत्यन्त जरुरी कार्यविधि (अर्जेन्ट प्रोसिड्युर) लाई नियमित कार्यसूचीमा समाहित गरेको थियो । समितिले निम्न अवस्थामा अगि्रम चेतावनी दिने गर्छ भविष्यमा द्वन्द्वमा रूपान्तरण हुनसक्ने समस्यालाई रोक्न र जातीय सद्भाव कायम राख्न विश्वास जगाउने । जातीय विभेद रोक्ने कानुनको अभाव, भएका कानुनी प्रावधानलाई लागू गर्ने प्रभावकारी संयन्त्रको कमी, निर्वाचित जनप्रतिनिधिबाट बढ्दो जातीय घृणा र हिंसा अनि जातीय विभेदको निरन्तरतालाई यस्तो चेतावनी दिइनुपर्ने आधारका रूपमा पहिचान गरिएको छ । महासन्धिले सुनिश्चित गरेको मानवअधिकारको उल्लंघन गम्भीर रूपमा भएको अवस्थामा यसलाई रोक्न तत्काल ध्यान दिनुपरेको अवस्थामा अति जरुरी प्रक्रियाको प्रयोग हुन्छ । आवश्यक परे समितिले निर्णय, विज्ञप्ति वा संकल्पका साथै स्थलगत अध्ययन गर्न सक्छ, महासचिव वा सुरक्षापरिषद् वा सम्बद्ध पक्षको ध्यानाकर्षण गर्न सक्छ । समितिले नेपाललाई पहिलो चरणको कारबाही सुरु गरिसकेको छ । नेपालले समितिलाई गलत सूचना दिँदै गएमा, महासन्धिको उल्लंघनका घटनालाई अटेर गरी निरन्तरता दिँदै गएमा समितिका अन्य चरणका कारबाहीका प्रक्रिया पनि क्रमशः आकषिर्त हुने पक्का छ ।
संविधान निर्माण र आदिवासी जनजातिको सहभागिता
उक्त पत्रमा उल्लेख छ— यहाँको सरकारसँग निरन्तर रचनात्मक वार्ताका लागि हाल चलिरहेको संविधान निर्माण-प्रक्रियामा आदिवासी जनजातिको सहभागिताको विषयमा लिइएको उपायबारे सूचना प्रदान गर्नुहुन अनुरोध गरिन्छ । यो सूचना पन्ध्रौँ र सोह्रौँ प्रतिवेदनमा समावेश गर्नुका साथै यथाशीघ्र एउटै दस्ताबेजमा समावेश गरी कुनै पनि हालतमा ३१ जुलाई, २००९ अगावै समितिमा पेस गर्नुपर्नेछ । सरकारले यथार्थ सूचना दिन्छ कि कपोलकल्पित दिन्छ भन्ने जिज्ञासा आदिवासी जनजातिको मनमा उठेको छ । कपोलकल्पित सूचना दिए आदिवासी जनजाति आन्दोलनले समितिलाई सही जानकारी दिएर त्यस्ता गलत कार्यको भण्डाफोर गर्नुपर्छ ।
आदिवासी जनजातिले छानेको प्रतिनिधिमार्फत संविधान निर्माण
सोही पत्रमा उल्लेख छ— भर्खरै भएको नेपालको राजनीतिक परिवर्तनको सन्दर्भ, संविधान निर्माण गर्ने निर्णय र आदिवासी जनजातिले स्वतन्त्रतापूर्वक छानेको प्रतिनिधिमार्फत संविधान निर्माण-प्रक्रियामा भाग लिन पाउने सवालका सन्दर्भमा समितिको ध्यानाकृष्ट भएको छ । समितिमा पेस हुन आएको सूचनाअनुसार संविधानसभामार्फत संविधानको मस्यौदा तयार भइरहेको छ, जसमा राजनीतिक दलले औपचारिक रूपमा छाने मात्र आदिवासी जनजातिले भाग लिन पाउँछन् र उनीहरूले ती दलका घोषणापत्रलाई पनि कडाइका साथ पालना गरी कार्य गर्नुपर्छ ।' राज्यले मानवअधिकारको उल्लंघन गरे-नगरेको निगरानी गर्ने समितिले अहिले आदिवासी जनजाति मूलका सभासद् भए पनि उनीहरू दलको निर्देशनमा चल्ने भएकाले आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दैनन् भन्ने सही ठहर गरेको छ । दललाई केन्द्रविन्दुमा राखेर बनाइने संविधानले आदिवासी जनजातिको मानवअधिकार सुनिश्चित नगरी दुर्घटना भइहालेको खण्डमा आदिवासी जनजातिले बेहोर्ने क्षति अपूरणीय हुने ठहर समितिले गरेको छ । यस्तो दुर्घटना भएमा आदिवासी जनजातिले मानवअधिकार उपभोग गर्न नपाउने अवस्था आउने ठहर पनि गरेको छ । मानवअधिकारका लागि संघर्षरत आदिवासी जनजाति आन्दोलनकारीमाथि सरकारले गरेको बलप्रयोगबाट संघीय लोकतान्त्रिक मञ्चका एकजना लिम्बूको सहादतपछि हालसम्ममा पाँचजना आदिवासी जनजाति आन्दोलनकारीले सहादत प्राप्त गरिसकेका छन् । माओवादी जनयुद्धका वेला राज्यपक्षले एकजनालाई ढालिसकेपछि हजारौँको संख्यामा ढालेको थियो । अहिले चलेको गोलीले पनि आउने दिनमा आदिवासी जनजातिविरुद्ध दमन र हिंसा बढ्ने संकेत देखाएको छ । राज्य आदिवासी जनजातिमाथि दमनमा उत्रेकामा त्यस्ता मानवअधिकारका उल्लंघनकारीलाई अन्तर्राष्ट्रिय कठघरामा उभ्याउन सकिनेछ ।
स्वतन्त्र, पूर्वसुसूचित मन्जुरीको संयन्त्रको स्थापना
उक्त पत्रमा उल्लेख छ— संविधान निर्माण-प्रक्रियामा आदिवासी जनजातिको स्वतन्त्र, पूर्वसुसूचित मन्जुरी (फ्रीप्रायर इन्फ्रन्ड कन्सेन्ट) लाई सुनिश्चित गर्ने संयन्त्र स्थापना गर्न र आदिवासी जनजातिको राजनीतिक प्रतिनिधित्व तथा सहभागितालाई प्रत्याभूत गर्न संविधानसभामा विषयगत समिति (थिमाटिक कमिटी) स्थापना गर्न समिति सिफारिस गर्छ । यस सन्र्दभमा समितिको आदिवासीको अधिकार विषयक सिफारिस नं २३ -१८/०८ /९७ ) को ४-ग) पक्ष राष्ट्रलाई के दोहोर्याइन्छ भने सार्वजनिक जीवनमा आदिवासी जनजातिको प्रभावकारी सहभागिताका लागि समान अधिकार सुनिश्चित गर्नुपर्छ र उनीहरूका अधिकार तथा हितसँग प्रत्यक्ष सरोकार रहने कुनै पनि निर्णय अगि्रम सहमतिविना लिइनेछैन । उक्त पत्रमा भनिएको छ— महामहिम, समितिले तपाईंको सरकारसँग रचनात्मक वार्ता गर्ने तथा सबै प्रकारका जातीय विभेद उन्मूलन गर्ने महासन्धि, १९६९ को प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने हेतुले सूचना माग गरिएको छ भनी जोड दिन चाहन्छ । आशा राखौँ, संविधानसभाले, सरकारले राजनीतिक दलले यस हिउँदे अधिवेशनमा अन्तरिम संविधान, संविधानसभाको नियमावली र अन्य ऐन-कानुनमा संशोधन गरेर वा नयाँ कानुन ल्याएर सो समितिले दिएको सिफारिसलाई कार्यान्वयन गर्नेछ ।
आदिवासी जनजातिले अब के गर्ने ?
यस विषयमा नेपालका १९ वटा आदिवासी जनजातिका संघ-संस्थाले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिसकेको र सर्वोच्चले पनि कारणदेखाउ आदेश जारी गरिसकेको अवस्था छ । राज्यले मानवअधिकारको उल्लंघन भएको हो भनेर समितिले जस्तै सर्वोच्चले पनि ठहर गरी मानवअधिकारको संरक्षण गर्छ कि गर्दैन, त्यो हेर्न बाँकी छ । आदिवासी जनजातिका सबै संघ-संस्थाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, प्रधानन्यायाधीश र संविधानसभाका विषयगत र पक्रियागत समितिका सबै अध्यक्ष, आदिवासी जनजाति सभासद् सभाका सबै सदस्य, नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयका प्रमुख र राष्ट्रिय मानवअधिकार आयोगका प्रमुखलाई बेग्ला-बेग्लै भेट गरी उक्त समितिको पत्रबारे जानकारीसहित ज्ञापनपत्र दिएर सशक्त दबाब सृजना गर्न बाँकी छ । सरकारले जुलाई ३१, २००९ भित्र संविधान निर्माण-प्रक्रियामा आदिवासी जनजातिको संलग्नताबारे समितिलाई के-कस्तो प्रत्युत्तर पठाउँछ, त्यसको अध्ययन गर्ने र गलत जानकारी दिएका खण्डमा न्युयोर्क, जेनेभा र काठमाडौंस्थित राष्ट्रसंघीय कार्यालयअगाडि सरकारको गलत प्रतिवेदनको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शन गरी विश्व समुदायको ध्यानाकर्षण गर्नुपर्छर् । सुनुवाइविनै संविधानको अवधारणापत्र तयार भए ती अवधारणापत्रमा भएका आदिवासी जनजातिविरोधी प्रावधानलाई बहिष्कार गरी विरोध प्रदर्शन गर्नुपर्छ । अझ पनि सुनुवाइ नभई संविधानको मस्यौदा बनेका खण्डमा सो मस्यौदाका आदिवासी जनजातिविरोधी धारालाई बहिष्कार गर्ने र जनप्रदर्शन जारी राख्ने काम गर्नुपर्छ । फेरि पनि सुनुवाइ नभई संविधानलाई अन्तिम रूप दिइयो भने उक्त संविधानमा भएका विरोधी धारालाई बहिष्कार गर्नुपर्छ । के उक्त अगि्रम चेतवानीले नेपालले आदिवासी जनजातिविरुद्ध मानवअधिकारको उल्लंघन गर्ने काम रोक्ने चेत देला ?
नयाँपत्रिकाबाट
No comments:
Post a Comment