दीपक सापकोटा
तीन बीस उमेर पुग्नै आँटेका छन् कवि मनप्रसाद सुब्बा । बुढ्यौलीको उकालोमा पक्कै पनि मनमा अनेक कुरा खेल्दा हुन् । आखिर मनै त हो, कहाँ स्थिर रहन्छ र ? किशोरकालका जोसिला दिनहरू मनमा एक-एक गर्दै तरेली खेल्छन् होला । बालखा छँदाका ती दिन, खोलाछेउ साथीसँग गट्टा खेलेका क्षण, आमाले माया गरेर पिटेका दिनहरू ! यी सबैसबै मनमा ताजा भएर आउने र अनायासै भावनामा डुबाउने गर्दैनन् होला र ? दार्जिलिङका कवि सुब्बालाई आफ्नो जन्म तिथिमितिको उत्ति हेक्का राख्दैनन् । साँच्चि, जीवनमा कहाँ आइपुगियो होला ? यसबारे केही सोचेका होलान् त ? 'जीवन पाएको छु, आफ्नै पाराले बाँचिदिन्छु,' ५७ वर्षेले कविले सुनाए, 'अहिलेसम्मै पनि त्यसै भयो, कहिलेकाँही अरूका लागि बाँचे हुँला । तर, अब लाग्छ, जीवन र समय उमेरसापेक्ष हुन थालेछ । अब अरूका लागि बाँच्ने हो कि भन्ने सोच्दै छु ।'बिजनबारी दार्जिलिङमा उदाउने सूर्य र एउटै सुसाहटमा बगिरहेको खोला हेरेर बितेछन् उनका यतिका वर्षहरू । सुब्बा दुई हप्ताअघि साता काठमाडौं सहरमा आएको हल्ला सुनियो । दार्जिलिङे चिसो कटाउने निहुँले पारिवारिक भेटघाटको मेसोमा नेपाल पसेका उनले गुरुकुलको एकल कविता वाचन कार्यक्रममा कविता भन्न पनि भ्याए । यता जनमत वाटिकाले मासिक रूपमा गर्ने 'साहित्यिक सत्संग'को निम्तोमा उनी बनेपा आएका रहेछन् । अघिल्लो आइतबार साँझ उनी यताका कविका कविता सुनिरहेका र आफ्ना कविता पढिरहेका भेटिए । उनलाई देखेपछि झट्ट आयामेली स्रष्टा इन्द्रबहादुर राईको सम्झना भयो । नेपाल आउँदा राईसँग भेटेर कुरा गर्न मन लाग्दा-लाग्दै पनि कता के मिल्दैन के । तर, आज राईकै ठाउँबाट आएका कवि भेटिएका छन् । मनभरि उतैको माया र संस्कृति बोकेर आएका कवि सुब्बा । मनभित्र दार्जिलिङका स्रष्टाको शक्ति बलियो हुन्छ भन्ने भाव जमेर बसेको छ । ती बलियो सिर्जना-शक्ति भएकासँग भेटेर गफ गर्न मन लाग्ने नै भयो ।
सुब्बासँग भेटेर एउटा सिंगो युगको कुरा गर्न मन लाग्यो- समय, समाज, जीवन र साहित्यको कुरा । उसवेला नाटककार बालकृष्ण समले भनेका थिए- 'आजको दार्जिलिङले जे सोच्छ, भोलिको नेपालले मात्रै त्यो सोच्नेछ ।' त्यो युग र समय भोगेर यता आएका सुब्बाले के सोचे हुन् ? अनि साँच्चै, समले त्यसो किन भने ?पञ्चायतदेखि गणतन्त्रसम्मको नेपालसम्मको चरित्र-चित्र प्रत्यक्ष/परोक्ष बोध गरिरहेका मनप्रसाद सुब्बाले नेपालको राजनीतिबारे यस्तो दृष्टिकोण बनाएका रहेछन्, 'यताको राजनीति अलि चाँडो हिँड्दोरहेछ ।' उनले भने, 'राजनीतिक गतिअनुसार देशको गति भने उँभो लागेन ।'दार्जिलिङमै एमए पास गरेपछि सुब्बा लगातार मास्टर बने । अहिले पनि त्यतै छन् । क्याम्पसमा अंग्रेजीका प्रोफेसर । 'सुरुमा क्याम्पस पढ्दादेखि नै बाहिरी पुस्तक र लेखक भनेपछि खुबै रुचि थियो,' उनले सुनाए । धेरैअघिदेखि मनप्रसाद जहिल्यै पनि एकान्तमा बसेर धेरै बेर केके-केके सोचिरहन्थे । ती बहकिएर कहिले कविता लेख्थे भने कहिले उपन्यास । जीवनभर लगाएर लेखिएका तिनै टिपोटमध्ये एक दर्जन सम्झनाहरू अहिले पुस्तकाकारमा आएका छन् । उनका कविताहरूले जहिले पनि नित्य, जीवन्त र अघि बढिरहेको समयलाई समातेको हुन्छ । कवितामा पीडा हुन्छन् मान्छेका । हामीले भोगेको समाज प्रत्यक्ष भएर आउँछ कवितामा । लालटिनको मधुरो उज्यालोमा लेखिएका शब्दहरूमा गाउँघर, जंगल, पहाड र केराघारीका कथा छन् । साहित्यमा सौन्र्दय पक्ष भए मात्र सिर्जना बलियो हुने सुब्बाको ठहर छ । 'प्रमुख भनेकै सौन्र्दय पक्ष हो,' उनी भन्छन्, 'जीवनका गीत र लय नभए त्यो के कविता, के साहित्य ।' दार्जिलिङको एउटा गाउँबाट फुत्त उब्जेको लेखाइमा सुब्बा 'ग्लोबल' बन्न खोजेका छन् । र, भन्छन्, 'संसारका सबै मान्छेको दुःख एउटै त हो नि ।' यसो भनेर उनले दुःख 'ग्लोबल' हुन्छ भन्ने तर्कलाई पुष्टि गरे । र, अझ बढी संवेदनशील बन्न खोजेका देखिए । उनी उपन्यास, कथा, कविता र दर्शनका उदाहरण एकसाथ पस्किरहेका छन् । 'बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू', बुख्याँचाहरूको देशमा', 'उष्मा', आदिम बस्ती' 'ऋतु क्यानभासमा रेखाहरू', नामका कविता-संग्रह प्रकाशित गरिसकेका सुब्बाले अनुवाद कृतिहरू पनि लेखेका छन् । र 'त्यो मोडसम्म पुगेको मान्छे' उपन्यास पनि । उनी लेखाइमा स्थानीय सन्दर्भ र ठेट कुरालाई मीठो भाकामा समेट्छन् । पछिल्लो समयमा उनले सीमान्तीकृत र किनारीकृतका आवाज कविताबाट उठाएका छन् । आफ्नो पहिचानका खातिर उता भारतमा लडिरहेको उनी सम्झन्छन् । 'हामीलाई भारतको 'मेनस्टि्रम'बाट किनारा लगाइएको छ, हामी सीमान्तीकृत वा किनारीकृतका कुरा लेखिरहेछौँ', उनी भन्छन्, 'त्यसलाई सैद्धान्तिक रूप दिने काममा छौँ ।' यही मेसोमा उनी र एकजना नयाँपुस्ताका कविले संयुक्त रूपमा एउटा कविता-संग्रह प्रकाशित गरेका छन्- 'किनाराका स्वरहरू ।'
कविता लेखेर के भयो ? 'उही त हो, गजबको आत्मसन्तुष्टि हुन्छ । अरू त केही छैन्,' उनी भन्छन् । यताको नेपाली साहित्य दार्जिलिङतिर सिर्जना गरिएको साहित्यको दाँजोमा किन कमजोर छ ? यस्तो प्रश्न सुनेर उनी केहीबेर गम्भीर देखिए । र भने, 'भारतीय नेपाली कवितामा कला र रूपको सन्तुलन अलि राम्रो छजस्तो लाग्छ । यताकामा त्यो अलि नभएको मैले पाएँ ।'अनि, नेपालको र दार्जिलिङको कविता 'टे्रन्ड' पनि फरक छ नि ! 'सामाजिक, राजीतिक विषय-वस्तुप्रतिको हेराइ र बुझाइ फरक छ,' सुब्बा भन्छन्, 'नेपालको रचनामा अनुभूतिपक्ष पनि अलि कम पाएँ ।' साहित्यमा घटनाको कुरा गर्न वा लेख्न अलि कठिन छ रे । विचारबारे त झनै कठिन भन्छन् उनी, 'खै त्यस्तै लाग्छ, विचार लेख्न कठिन छ ।' नेपाल आएदेखि नै आफू कवितामय बनेको मीठो सन्दर्भ सुनाए सुब्बाले । दार्जिलिङका प्रोफेसर कवि मनप्रसाद सुब्बा यता नेपाल पसेका वेला उता उनको गाउँतिरका चुल्ठा जोडेर बसेका बाँसझ्याङहरू, उत्तिसको बूढो रुख, गुराँसका पोथ्रा र पाखा-भित्ताले संगालेको माया मनभरि लिएर बसेका छन् । कसरी बिर्सन्छन् होला र ती ? 'सम्झना मात्र कालजयी नहुने रहेछ,' ती कविले सम्झिए, 'भावना र भावावेग सधैं बाँचिरहने रहेछन् ।' कवि सुब्बासँग छोटो बसाइमा यिनै कुरा भए । नेपाली कविता, तिनले उठान गरेका विषय, दार्जिलिङका तेर्सै ठडिएका पहाडहरू, आफूहरूले दार्जिलिङमा कविता लेख्न थाल्दाका दिन र अहिलेका बीच धेरथोर तुलना पनि भए । उनको बुझाइ र साहित्यप्रतिको भोगाइ एकनास र उस्तै छ । 'भाइ, हामीसँग हाम्रो राजनीतिक, आर्थिक तत्त्वहरू पनि सँगै हुँदारहेछन्,' उनी बोल्दै थिए, 'त्यसैले हाम्रा साहित्य पनि तिनैबाट प्रभावित हुन्छन्, तिनै अनुभूतिमा जाग्छन् ।''भाषिक र सांस्कृतिक धरातल यौटे भए पनि भौगोलिक साँध सिमानाले छुट्याएको दार्जिलिङको आफ्नै सामाजिक-राजनीतिक संरचना छ,' समाजको विश्लेषण गर्लान् किझैं उनले भने, 'तिनै संरचनाका प्रभावले दुई देशको साहित्यलाई आफ्नो पहिचान पनि दिएको छ ।'साँच्चै, यी अनुभव, भोगाइ र सिर्जनाबीच यति धेरै भिजेका सुब्बालाई आउँदा दिनमा नेपालीले कत्तिको सम्झने होलान् ? सोध्न मन लागेको यो प्रश्न मनमै रह्यो । यो सानो देश नेपाल र दार्जिलिङको सीमारेखाबीच के कुराले यति ठूलो काम गरेको छ होला ? उनीसित छुटेको घन्टौंपछिसम्म पनि यस्ता प्रश्न घुमिरहे यो मनमा ? तर, सम्झनाको कुनामा अझ बढी ताजा भएर आयो उनैको एउटा कविता-
वर्षौं वर्षमा एकपल्ट
सलहको बथान आउँछ,
हाम्रो फसल खाइदिन्छ र फर्किन्छ
तर, यसपालि भने
खेतै खाइदिने मेसिनहरू आए
अनि, खेत खानुअघि तिनीहरूले
खेतालाहरू खाए ।
No comments:
Post a Comment