डम्बर चेम्जोङ
मानिसले भौतिक प्राण धान्नका लागि भौतिक पदार्थ संकलन वा उत्पादन गर्ने थलो, गिठ्ठा-भ्याकुरदेखि धान, मकै हुँदै कारखाना अनि सपिङ मलसम्म 'रोपिने' जग्गा भूमि हो । तर, भूमिको परिभाषा यत्तिमै सीमित छैन । भिन्नाभिनै समाजमा भूमिलाई आत्मसात् गर्ने भिन्नै पद्घति हुन्छ । पितापुर्खाको आत्मा डुलीघुमी बस्ने जंगल, खोलानाला, आकाश-पाताल, पहाड, बेंसी सबै भूमि हुन् । भूमि मनुवाहरूको आस्थाको केन्द्र र जीवनको आधार हो, जसमा खास सांस्कृतिक-सामाजिक समुदायको भौतिक तथा अभौतिक जीवनका दुवै पक्ष सम्भव बनेको हुन्छ । यस अर्थमा राउटेहरूले घुमन्ते जीवन निर्वाह गर्ने र उनीहरूले सिकार गर्ने जंगल मानवशास्त्रीय परिभाषामा भूमि हो । यस्तै, चेपाङहरूका लागि चिउरीको जंगल, लोहोसे, चमेरे ओढार पनि भूमि हुन् । उनीहरूको भौतिक प्राण धानिएको आधारमा मात्र वन, जंगल, खोला-नालालाई भूमि भनिएको होइन । उनीहरूको जीवन सार्थक तुल्याउन उनीहरूका द्यौ-द्यौताले, पितापुर्खाले बास गरेको परिवेश हुनुको वास्तविकतामा मात्र राउटे र चेपाङ भूमिको सारभूत परिभाषा आउँछ । आर्थिक एवं सांस्कृतिक दुवै पक्ष र विशेषताबाट मात्र भूमिको परिभाषाले पूर्णता पाउँछ । भूमिलाई सांस्कृतिक परिप्रेक्षमा परिभाषित गरेपछि मात्र भूमि र आश्रति समुदायबीचको अन्योन्याश्रति सम्बन्ध पहिल्याउन सकिन्छ र कुनै समुदायको मौलिक पहिचान भूमिसँगको अविच्छिन्न नातामा गाँसिएको हुन्छ ।
भू-स्वामित्व कसरी आर्जन हुन्छ ?
भू-स्वामित्व भनेको के हो ? स्वामित्व कसरी आर्जन हुन्छ र यसको आधिकारिकता र बैधताको आधार के हो ? दोतुक शब्दमा भन्दा भू-स्वामित्वको आर्जन दुई तरिकाबाट हुन्छ । १) अर्थशास्त्रीय स्वामित्व : मुद्राका माध्यमबाट स्वामित्वको सिर्जना, बैधता र आधिकारिकताको निर्माण र २) मानवशास्त्रीय स्वामित्व : संस्कृति र समाजको उत्पादन/पुनरुत्पादन वा निर्माण/पुनर्निर्माणका खातिर समुदायहरूले सम्पन्न गर्ने सांस्कृतिक र सामाजिक विधि विधान र रीतिथितिका माध्यमबाट । के हो अर्थशास्त्रीय स्वामित्व भनेको ? हामीले आज-भोलि आमनागरिक जीवनमा बुझ्ने र देख्नेखाले भू-स्वामित्वको आर्जन आर्थिक पुँजीका माध्यमबाट हुन्छ । मुद्राको माध्यमले वस्तुका रूपमा जग्गालाई आपmनो स्वामित्वमा हस्तान्तरण गरेर भू-स्वामी बनिन्छ । यसलाई आर्थिक पक्षबाट हेर्दा भूमिपतिजस्तो देखिए पनि वास्तविकतामा भू-स्वामी राज्य हो । राज्यले सालिन्दा भाडा/कर उठाउँछ, यस्ता भूमिको । रूप पक्षबाट हेर्दा भूमि देख्न-बुझ्न सकिन्छ, तर सारमा होइन । वास्तवमा यस्तोखाले स्वामित्वको त सांस्कृतिक सार पनि हँुदैन । मुद्राको माध्यमबाट भूमिको कथित स्वामित्व ग्रहण गर्ने चलन त्यति पुरानो होइन । गरिब-धनी जो-कोहीले दुःख-सुख गरेर जोहो गरेको पैसाले काठमाडौं वा कुनै पनि सहर-बजार, गाउँ-बस्तीमा भूमि किनेर राज्यबाट पाएको कागजको प्रमाणसहितको स्वामित्व अर्थशास्त्रीय स्वामित्व हो । यो 'स्वामित्व'को रक्षा तिरो, तार, बार, पर्खाल, पहरेदार र कुकुरका माध्यमले गरिन्छ । भू-स्वामित्वको कुरा गर्दा राज्यबाट विगतमा गरिएका भूमि वितरणसम्बन्धी नीति-निर्णयका पक्षहरू : जस्तै, विर्ता वितरण, जागिर, किपट भूमि, यसको उन्मूलन, भूमिसुधारजस्ता कुरालाई भुल्न सकिँदैन । किनभने वर्तमान नेपाली समाजका आर्थिक र सामाजिक हैसियत, सांस्कृतिक/सामाजिक पहिचानको संकट र शोषणको जरो विगतका तिनै कुरामा भेटिन्छ । शासकका नजिककाले मूलतः गोर्खा अधीनस्थ बनाइएका आदिवासी भूमिमा विर्ता पाएर भू-स्वामित्व सिर्जना भएको हो, विगतमा । स्वामित्वको सिर्जना, आधिकारिकता र बैधता राज्यसंगको समीपता र नातागोताका माध्यमबाट हुन्थ्यो, त्यतिवेला । बिर्तावालको जीवनपद्घतिसँग, मौलिक र सारभूत सांस्कृतिक पहिचानसँग, उनीहरूको धार्मिक जीवनको पक्ष र पितापुर्खाको आत्मिक वास्तविकतासँग बिर्ता भूमिको केही साइनो थिएन । उनीहरूलाई रक्षा गर्ने द्यौ-द्यौताका वासस्थान थिएनन्, बिर्ताहरू । त्यसो भएकाले पनि बिर्तावाललाई आपmनो बिर्ताको स्वामित्वको महत्त्व र महसुस आर्थिक र राजनीतिक हदसम्म मात्र भयो । भूमिसँगको सांस्कृतिक पहिचान असान्दर्भिक हुन पुग्यो बिर्तावालहरूका लागि ।
मानवशास्त्रीय तहको भू-स्वामित्व ?
मानव समाजको अस्तित्व दुईछाक अघाउँजी खाएर, अरू मान्छेसँग सम्बन्ध राखेर, बिहावारी गरेर, लडाइँ वा सुलह गरेर मात्र पूर्ण हुने होइन । भौतिक-अभौतिक जगत्सँग दोहोरो अन्तक्रिर्या गर्दै, चराचर जगत्लाई खुसी राखेर भूमिमा वास गर्छन्, मानव । आपmना पुर्खाका आत्माले वास गरेको आकाश-पाताल, जंगल, खोला-नाला, पहाड, मैदान र समग्रमा यो जगत्का मूल धनीे प्रकृति हो । मानवजीवनलाई सार्थक र सम्भव बनाइरहने प्रकृतिलाई खुसी राख्नु हाम्रो कर्म हो भन्नेमा विश्वास राख्नेहरू पूजा-आजा गर्छन्, याम परिवर्तनसँगै । राउटेले आफू डुलिघुमी गर्ने, जिउने जोहो गर्ने जंगल, खोला-नाला, पहाड-पर्वतको स्याहार-सुसार र आपmनो हो भन्ने आस्था, भावना र विश्वासको सिर्जना उनीहरूका द्यौ-द्यौतालाई पुकारेर, कोसेली-पात इष्टदेवी द्यौतालाई चढाएर गर्लान् । चेपाङले त्यसै गर्ने हुन् । लिम्बू, राई, याखा, धिमाल, सुनुवारले उँधौली-उँभौली रीति र पूजाआजा सम्पन्न गर्ने भनेको भूमि र प्रकृतिसँगकै तादात्म्यता, अविच्छिन्नता, मौलिकताको सिर्जनाका लागि, 'स्वामित्व' सिर्जना, आधिकारिकता, र बैधताका लागि हो । थारूको भूइयार यही स्वामित्वको निर्माण र निरन्तरताका लागि हो । गुरुङ, मगर, थकाली र तामाङले यसरी नै स्वामित्व सिर्जना गर्ने हुन् । योखाले स्वामित्वको रक्षा प्रकृतिलाई, देवी-द्यौतालाई कोसेली-पात गरेर खुसी तुल्याएर हुन्छ । अर्थशास्त्रीय स्वामित्वजस्तो पर्खालको चौघेरोमा घेरिने स्वामित्व होइन, यो । यसखाले भू-स्वामित्वको रक्षा प्रकृतिप्रति सद्भाव राख्ने, आर्थिक लोभ-पापविहीन जीवन जिउने, सामूहिक श्रमबाट सांस्कृतिक मूल्य निर्माण गर्ने र त्यहीअनुसार समाजको उत्पादन, पुनरुत्पादन र निरन्तरता दिने राउटे, चेपाङ आदिको जीवनपद्घतिले गर्छ, जुन समुदायलाई आजका आधुनिक, सभ्य, विकसित, शिक्षित, विवेकशील मानिसले असभ्य, अविकसित 'मूर्ख मनुष्ये' भन्ने बुझ्छन् । मुद्रा होइन, कोसेली-पात एन्थ्रोपलजिस्टले मूलतः अध्ययन गर्ने भूमिको सारभूत स्वामित्वको सिर्जनामा आपmना इष्ट द्यौ-द्यौतालाई यी मनुष्येले चढाउने कोसेली-पातको ठूलो भूमिका हुन्छ । नातागोता निर्माण र निरन्तरता दिने कोसेली-पात, खेतीपाती गरिखान पाऊँ, सिकार गरिखान पाऊँ भनी प्रकृतिसँग पुकार गर्न चढाउने कोसेली-पात, आपmनो भूमिमा नवआगन्तुकका रूपमा आउने नयाँ समाजसँग सौहार्दपूर्ण सम्बन्ध विस्तार गर्न साटासाट गरिने कोसेली-पात । धेरैलाई हेक्का होला, लिम्बुवानमा नवआगन्तुक मनुवा हिजो-अस्तिसम्म लिम्बूलाई कोसेली-पात गरेर नै भूमि खनजोत गर्ने अस्थायी अधिकारले सम्पन्न हुन्थे । त्यसरी नै लिम्बूहरू पनि आपmना इष्ट देवी-द्यौतालाई मान्यता राखेर कोसेली-पात गरेर लिम्बू हुनुको सार्थक पहिचान भूमिसँगको अविच्छिन्न सम्बन्धमा कायम गर्थे । लिम्बूहरूले भूमिको सामूहिक स्वामित्वका रूपमा आधिकारिकता र बैधता सिर्जना गर्ने भनेको सांस्कृतिक माध्यमबाटै हो । भूमिसुधारले नै लिम्बू र भूमिबीचको यो अन्योन्याश्रति सम्बन्धलाई अर्थशास्त्रीय ढाँचामा ढालेको हो । लिम्बूहरूले हेर्दाहेर्दै-देख्दादैख्दै विरोध गर्दागर्दै भूमिसुधार -राज्य)ले उनीहरूको भूमिबाट बेदखल गरेको हो । यसरी कोसेली-पातको साटासाटबाट भू-स्वामित्वको सिर्जना हुने मात्र होइन, आदिवासीमा समाज र संस्कृतिको उत्पादन र पुनरुत्पादन नै मूलतः कोसेली-पातको वितरण र साटासाटबाट हुने हो, इतिहासमा । धेरै समाजमा यो अद्यापि कायम छ । राउटेको उत्पादन-प्रणाली कोसेली-पातमुखी हो । उनीहरूको उत्पादन-प्रणालीमाथि आज राज्य, 'विकास', 'आधुनिकता' सबैले एकसाथ धावा बोलिरहेछन् । यसरी आर्थिक किसिमको भू-स्वामित्व रूपपक्षीय छ भने संस्कृतिले सारमा सामाजिक सम्पूर्णताको अर्थपूर्णता प्रदान गर्छ । कोसेली-पातका माध्यमबाट चल्ने सामाजिक संरचनाबाट राज्यका मातहत मुद्रामुखी संरचनामा समाजलाई रूपान्तरण गरिने प्रक्रिया नेपालमा अद्यापि जारी छ । आजका उदाहरण राउटे हुन्, हिजोका चेपाङ, अस्तिका लिम्बू एकैखाले उदाहरण हुन् ।
भूमिसुधार समाधान कि समस्या ?
नितान्त अर्थशास्त्रीय परिभाषा र स्वामित्वको पुष्टि गर्छ, भूमिसुधारले । औपनिवेशिक चरित्रका राज्यहरूले भूमि बुझ्ने तरिका र सुधारको उद्देश्य पनि यही हो । अहिले समुदायको आपmनो भूमिसँगको अविच्छिन्न सम्बन्ध र पहिचान, जातीयता, भाषा र संस्कृतिका आधारमा संघीय राज्य स्थापित गरेर राज्यको पुनर्संरचना गर्नुपर्ने आवाज घनीभूत भइरहेको वेला यस्तो अर्थशास्त्रीय क्रान्तिकारी वैज्ञानिक भूमिसुधार कार्यक्रम कार्यान्वयनले समस्या समाधान गर्दैन, झन् थप्छ । हिजो नापीद्वारा जंगल ठहर गरी भूमिको स्वामित्व नदिइएका चेपाङहरूको भूमिसँगको अविच्छिन्न साइनोको सुनिश्चितता यो भूमिसुधारबाट हुन सक्दैन । हिजो भूमि गुमाएका थारुवान आज सल्किरहेको बखत, हिजो भूमिसुधारले भू-स्वामित्व सर्वनास भएका लिम्बुवान आज बलिरहेको बखत, आमआदिवासी समुदायले प्राकृतिक स्रोत-साधन र भूमिमाथि आपmना अविच्छिन्न सम्बन्धको सुनिश्चिताको माग गरिरहेको वेला पहिले संघीय संरचनाको निक्र्योल गर्नुपर्छ । अझ नेपाल सरकारले आइएलओ महासन्धि १६९ पारित गरेर कार्यान्वयन गर्छु भन्ने कसम खाइसकेको सन्दर्भमा पनि यसखाले भूमिसुधारको अर्थ छैन । सरकारले कथित क्रान्तिकारी वैज्ञानिक भूमिसुधार लागू गर्न आयोगसमेत बनाइसकेको यस घडीमा मलाई भने नेपाल आदिवासी जनजाति महासंघका मुखिया साहेबहरूको प्रतिक्रिया बुझ्न मन छ । याकथुङ चुमलुङका सुब्बा साहेबहरूको विचार सुन्न मन छ । नेपालमा गैरवामपन्थी, नरम वामपन्थी र कट्टर वामपन्थी सरकारमा भएको वेला क्रमशः भूमिसुधार, प्रगतिशील भूमिसुधार, र क्रान्तिकारी वैज्ञानिक भूमिसुधार कार्यान्वयन गर्न राज्य उद्यत छ । तीनैखाले राजनीतिक शक्तिले तीन तहका शब्द प्रयोग गरे पनि यी सबैले भूमिलाई एउटै अर्थशास्त्रीय आँखाले हेर्छन् र त्यही दिमागले बुझ्छन् । उनीहरूका लागि भूमि भनेको आर्थिक पुँजी र अवसर मात्र हो, जसमा नसक्नेले तरकारी रोप्छ, सक्नेले कारखाना । आदिवासीहरूको भूमिसँगको सांस्कृतिक स्वामित्वको सवाललाई अहिलेको क्रान्तिकारी वैज्ञानिक भूमिसुधारले पनि उही 'नेपाल अधिराज्यको निर्माण'ताकाको भूमिसुधार कार्यक्रमभन्दा फरक बुझेको देखिँदैन । सम्पूर्ण समाजलाई पैसैपैसाका बिटाले नाप्न सकिने भए नेपाललाई किन भन्नुपर्यो सांस्कृतिक बहुलताको मुलुक ?
(न्युयोर्क, अमेरिका) नयाँ पत्रिकाबाट
No comments:
Post a Comment