Jun 26, 2010

प्ले–ब्वाई रोनाल्डो

'ऊ कामुक छ र लाखौं महिला ऊप्रति पागल छन्। मलाई पनि कुनै बेला उसलाई आँखा झिम्क्याऊँ जस्तो लाग्छ,' बुल्गेरियाको 'प्ले–ब्वाई' पत्रिकाको प्रथम पृष्ठमा छाएकी मोडल डानियला आर्नटले विश्वका महँगा खेलाडी क्रिस्टियानो रोनाल्डोबारे एकपल्ट भनेकी थिइन्। बुल्गेरियाका नामुद खेलाडी डिमिटेर बेर्बाटोभकी प्रेमिका डानियलाले कुनै बेला आफूलाई धोका दिने प्रेमीलाई तह लगाउन क्रिस्टियानो रोनाल्डोसँग प्रेमको नाटक मञ्चन गरेकी थिइन्। उनको प्रेमसम्बन्ध बेर्बाटोभसँग त्यति लामो टिक्न त सकेन। तर, रोनाल्डोसँगको प्रेम सम्बन्धका कारण उनी चर्चित बन्न पुगिन्। क्रिस्टियानो रोनाल्डो फुटबलमा आफ्नो गजबको शैलीका कारण मात्र परिचित छैनन्। उनको छवि अहिले विश्वकै नम्बर १ 'प्ले–ब्वाई' का रूपमा स्थापित भइसकेको छ। सन् २००८ का यी फिफा वर्ष खेलाडी दक्षिण अफ्रिकामा आयोजना भइरहेको विश्वकप फुटबलको सबैभन्दा ठूलो हट–केक हुन्। उनलाई हेर्न मात्र रंगशालामा गजबको घुइँचो लाग्ने गर्छ। हलिउडकी चर्चित नायिका पेरिस हिल्टन र किम कार्डासिनसँगको सम्बन्धले उनलाई यो विश्वकपमा थप चर्चामा ल्याएको छ। यही वर्षमात्र १० वटा 'गर्लफ्रेन्ड' बदलिसकेका रोनाल्डोका पछाडि अहिले संसारका सबै मिडिया लागेका छन्। लुगा बदलेझैं 'गर्लफ्रेन्ड' फेर्न सक्ने खुबी भएका रोनाल्डोको हर्कत क्यामरामा कैद गर्न चौबीसै घन्टा खुफिया फोटोग्राफर उनलाई पछ्याइरहेका हुन्छन्।
अन्तर्राष्ट्रिय फुटबलमा ख्याति कमाएपनि उनको कामुक व्यवहारलाई लिएर केही मिडिया अनुसन्धानमा भिडेका छन्। पोर्चुगलको फुन्चाल सहरदेखि उत्तरमा पर्ने सान्तो आन्तोनियो गाउँमा जन्मेका रोनाल्डोको नाम क्रिस्टियानो रोनाल्डो रहनुमा फिल्मी प्रभाव मिसिएको छ। उनका बाबु जोजे डिनिस आभेइरो स्थानीय नगरपालिकामा मालीको काम गर्थे। उनी अमेरिकाका पूर्व राष्ट्रपति तथा हलिउड स्टार रोनाल्ड रेगनका 'फ्यान' थिए। त्यसैले उनले रेगनको प्रभावका कारण छोराको नाम रोनाल्डो राखे। रोनाल्डोकी आमा भात पकाउने काम गर्थिन्। र, सानोमा यी दुवै जोडी काममा निस्कने कारण रोनाल्डो आफ्ना २ दिदी इल्मा र लिलियाना कातिया तथा दाजु हुगोसँग खेल्दै हुर्केका थिए।
राम्रो र मायालाग्दो अनुहार भएका कारण सानैदेखि उनी आफ्नो बस्तीमा सबैका प्रिय थिए। आठ वर्षको उमेरमा उनी स्थानीय एमेच्योर क्लब आन्डोरिन्हामा आबद्ध भइसकेका थिए, जुन क्लबमा उनका बाबु पिउनको काम गर्थे। सन् २००३ मा विश्वको महँगो क्लबमध्येको एक म्यानचेस्टर युनाइटेडले १ करोड २३ लाख पाउन्ड खर्चेर १८ वर्षे रोनाल्डोलाई क्लबमा आबद्ध गर्दा धेरैले क्लबका व्यवस्थापक सर एलेक्स फेर्गुसनको खुलेर आलोचना गरेका थिए। उनले त्यतिबेला बेलायतकै चर्चित अनुहार डेभिड बेक्ह्यामलाई बेच्दै विश्व फुटबलमै नाम नसुनेका रोनाल्डोलाई अनुबन्धित गर्ने निर्णय गरेका थिए। म्यानचेस्टरमा आबद्ध हुनु अघिसम्म देशको राष्ट्रिय टोलीमा समावेश भइसकेका थिएनन् रोनाल्डो। तर, फेर्गुसनले त्यतिबेला रोनाल्डोलाई महँगो रकम तिरेर म्यानचेस्टर क्लब भत्र्याउने जोखिम मात्र मोलेनन्, म्यानचेस्टरमा विशेष मानिने चर्चित ७ नम्बर जर्सीसमेत प्रदान गरे। यसअघि यो जर्सी विश्वचर्चित खेलाडी जर्ज वेस्ट, ब्रायन रोब्सन, एरिक क्यान्टोना र डेभिड बेक्ह्यामले लगाउँदै आएका थिए। रोनाल्डोले १ वर्षभित्रै फेर्गुसनको त्यो निर्णयलाई सही सावित पनि गरे। ५ वर्ष म्यानचेस्टरबाट व्यावसायिक फुटबल खेल्ने क्रममा रोनाल्डोले अन्तर्राष्ट्रियस्तरमै आफ्नो प्रतिष्ठा स्थापित गरे। तर यति नै बेला विभिन्न महिलासँगको उनको सम्बन्धले विश्वकै मिडिया तात्यो। म्यानचेस्टरमै आबद्ध रहँदा सन् २००७ मा ब्राजिलकी २४ वर्षे वेश्या जुलियाना बालट्रयुस्चसँगको यौन सम्बन्धका कारण पहिलो पल्ट रोनाल्डो नराम्रोसँग उदांगिए। इङलिस प्रिमियर लिगअन्तर्गत टोटेनह्यामसँगको खेल १–० ले जितेपछि आफ्नो ३० लाख पाउन्ड पर्ने घरमा अर्का खेलाडी नानी र एन्डर्सनसँगै यौन क्रियामा संलग्न रोनाल्डोका विषयमा स्थानीय पत्रिकामै खबर छापियो।
म्यानचेस्टमा आबद्ध रहँदा रोनाल्डो सबभन्दा बढी कसैसँग डराउँथे भने ती क्लबका व्यवस्थापक, गुरु फेर्गुसनसँग। त्यसैले उनले आफ्नो यौन क्रियाकलाप सार्वजनिक हुने डरले यो विषय गोप्य राख्न जुलियानालाई अनुरोधसमेत गरेका थिए। तर, जुलियानाले अनियन्त्रित यौन सम्पर्क गर्न खप्पिस रोनाल्डोको पोल स्थानीय एक पत्रिकामा अन्तर्वार्ता नै दिएर खोलिदिइन्। त्यसपछि रोनाल्डोको पोल एकएक गर्दै खुल्यो। ब्राजिली फुटबल खेलाडी मारियो जार्डेलकी मोडल दिदी जोर्डाना जार्डेल, स्पेनको चर्चित टेलिभिजन प्रस्तोता मार्चे रोमेरो र मोडल लुरा फ्राइन र क्रिस्टिना कार्लोस हुँदै बेलायती नायिका जेमा आट्किन्सनसँगको सम्बन्ध उजागर भएपछि उनी मैदानभित्र मात्र होइन, बाहिरसमेत चर्चित हुन पुगे।
सन् २००३ मा अपरिचित खेलाडीका रूपमा इङल्यान्ड प्रवेश गर्दा उनलाई क्लबका व्यवस्थापक फेर्गुसनले पहिलो प्रश्न सोधेका थिए, ...कुन जर्सी लगाउन चाहन्छौ?' त्यतिबेला रोनाल्डोको उत्तर थियो, २३ नम्बर। तर, फेर्गुसनले उनको प्रतिभा पहिचान गर्दै ७ नम्बर जर्सी दिएका थिए। म्यानचेस्टरले बेक्ह्यामलाई बेच्दा त्यतिबेला बेलायती मिडियाले फेर्गुसनको निर्णयलाई ...महँगो भुल' भनेका थिए। र, बेक्ह्यामको पदस्थापन हुन नसक्ने बताएका थिए। तर, रोनाल्डोले केही वर्षभित्रै यी सबै भनाइलाई गलत सावित त गरे, तर सन् २००८ सम्म आइपुग्दा उनी मैदानभित्र भन्दा बाहिरी कुराले मिडियामा बढी छाउन थालेपछि फेर्गुसन असन्तुष्ट देखिन्थे। आट्किन्सनसँग सम्बन्ध प्रगाढ रहेकै बेला उनी नेरेइदा गालार्डोलाई समेत पछ्याइरहेका थिए। फेर्गुसनले उत्कृष्ट फर्ममा रहेका रोनाल्डोलाई सन् २००८ मा बेच्ने निर्णय गर्नुका पछाडि पनि महिलासँगको उनको अनावश्यक हिमचिम थियो। तर, फेर्गुसनले ५ वर्षअघि पोर्चुगलको स्पोर्टिङ क्लबबाट उठाएर ल्याएका रोनाल्डोलाई ५ करोड ४० लाख पाउन्डमा स्पेनको रियल म्याड्रिड क्लबलाई बेच्दै राम्रो दाम असुले। हल्यान्डका चर्चित स्ट्राइकर जोहान क्रुफले एकपल्ट रोनाल्डोका विषयमा भनेका थिए, 'उनी म्यानचेस्टर युनाइटेडमा आबद्ध जर्ज वेस्ट र डेनिस लभन्दा उत्कृष्ट खेलाडी हुन्।' रोनाल्डो हाल रियल म्याड्रिडबाट साताको १२ लाख पाउन्ड पारिश्रमिक लिएर खेल्छन्।
१५ वर्षको उमेरमा मुटुमा समस्या देखिएपछि रोनाल्डोको खेल जीवन त्यतिबेलै समाप्त हुने ठानिएको थियो। त्यतिबेला उनी पोर्चुगलको स्पोर्टिङ क्लबमा आबद्ध थिए। लेजरबाट उनको शल्यक्रिया गर्ने मुटुमा रहेको खराबी हटाएपछि बिहान अस्पताल भर्ना भएका रोनाल्डो दिउँसै डिस्चार्ज भएका थिए। त्यसको केही दिनपछि नै उनी अभ्यासमा फर्किसकेका थिए। १६ वर्षको उमेरमा सबभन्दा पहिले लिभरपुलका तत्कालीन प्रशिक्षक गेरार्ड होउलियरले उनीमाथि आँखा गाडे पनि उनले त्यतिबेला रोनाल्डो अझै फुच्चे रहेको भन्दै केही वर्ष पर्खिने सोच बनाएका थिए। पछि फेर्गुसनले अप्रत्याशित रूपमा उनलाई अनुबन्ध गरेपछि होउलियर जिल्लिए।रियल म्याड्रिडसँगको अनुबन्धका कारण २ वर्षदेखि म्याड्रिडमा समय बिताइरहेका रोनाल्डो अहिले खेलभन्दा बढी ग्ल्यामरका कारण स्पेनमा चर्चित छन्। हरेक दिन कुनै केटीसँगको सम्बन्धलाई लिएर उनी समाचारको विषय बन्छन्। गत वर्षमात्र उनी ४ जना हाइप्रोफाइल केटीसँगको सम्बन्धका कारण स्पेनमा चर्चित बने। पोर्चुगाली टेलिभिजन प्रस्तोता क्यारोलिना प्याट्रोसिनियो, त्यसपछि स्पेनी मोडल नेरेइदा गालार्डो, युक्रेनकी एलेना खेइनिस र पोर्चुगलकै मेर्चे रोमिरोसँगको सम्बन्धका कारण उनलाई स्पेनको मात्र होइन, संसारको ठूलो मिडियाले पछ्याउन थालेका छन्। म्याड्रिडमा अनुबन्धित भएपछि पहिलो पल्ट उनलाई परिचय गराउने कार्यक्रममा उपस्थित ८० हजार दर्शकले स्वागत गर्दा नै उनी स्पेनमा कति लोकप्रिय छन् भन्ने प्रष्ट भइसकेको छ। उनका लागि घरेलु बेर्नाबाउ रंगशालामा जम्मा भएको त्यो भीड २५ वर्षअगाडि अर्जेन्टिनाका डिएगो म्याराडोना इटालीको नेपोली क्लबमा आबद्ध हुँदा उनलाई पहिलो पल्ट हेर्न क्लबमा उपस्थित ७५ हजार इटालियन दर्शकभन्दा बढी थियो।
सन् २००६ को विश्वकपमा रोनाल्डो उत्कृष्ट युवा खेलाडीको पहिलो दाबेदार खेलाडी थिए। तर, इङल्यान्डका वायनी रुनीलाई अनावश्यक रातो कार्ड दिलाउन रेफ्रीलाई बात लगाएको भन्दै इङल्यान्डका थुप्रै समर्थकले अनलाइन भोटिङमा विरोध जनाएपछि रोनाल्डो यो अवसरबाट चुके। यो पुरस्कारबाट जर्मनीका लुकास पोडोलस्की सम्मानित भए। यसपालिको विश्वकपमा रोनाल्डोको खेललाई सबैले सराहना गरेका छन्। तर, उनको प्ले–ब्वाई छविले अन्तिम समय कुनै धोका पाउने त होइन? उनका समर्थकमा शंका छँदैछ।

No comments: