Jun 5, 2010

विश्वकपका १० स्टार

जुन ११ देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदा ३२ राष्ट्रका अनगिन्ति खेलाडी आफ्नो कुशल प्रतिभाले संसारका दर्शकलाई आफूतर्फ मोहित पार्न लालायित देखिनेछन्। क्लब फुटबलको प्रदर्शनका कारण यसपालिको विश्वकपमा धेरै खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा पनि गरिएको छ। तर, यति हुँदाहुँदै यसपालिको विश्वकपमा १० जना खेलाडीबाट विश्व फुटबलले विशेष आशा गरेको छ।
१. लिओनेल मेसी (अर्जेन्टिना)
लिओनेल मेसी विश्वकै सर्वाधिक सफल फुटबल खेलाडी मानिन्छन्। अर्जेन्टिनाका यी मिडफिल्डरले आफ्नो चिरपरिचित क्लब बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेपनि उनले हालसम्म राष्ट्रिय टिमबाट खासै प्रदर्शन गर्न सकेका छैनन्। दक्षिण अफ्रिकामा विश्वकप चलिरहेकै बेला उनी जुन २४ मा २३ वर्षमा प्रवेश गर्दैछन्। युवा जोशका यिनी परिपक्व खेल खेल्न माहिर मानिन्छन्। विश्व फुटबलकै यी हटकेक खुट्टामा बल पाउनासाथ निकै सहज र आक्रामक देखिने गर्छन्। उनलाई अहिले डिएगो म्याराडोनाको उत्तराधिकारीका रूपमा समेत हेरिएको छ। सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा समावेश भइसकेका मेसीको यो दोस्रो विश्वकप हो। उनलाई यो विश्वकपमा १० उत्कृष्ट खेलाडीको रेटिङ दिँदा नम्बर १ मा राखिएको छ।
२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
सन् २००८ मा फिफा वर्ष खेलाडी घोषित भइसकेका रोनाल्डो अहिलेको समय अग्रपंक्तिका आक्रामक खेलाडी मानिन्छन्। पोर्चुगल टोलीलाई यस विश्वकपमा त्यति बलियो मानिएको छैन। तर, उनको उपस्थितिले गर्दा यो टोलीलाई कमजोर आँक्ने दुस्साहस भने कसैले गरेका छैनन्। बल दौडाउन, बल खेलाउन र विपक्षी गोलपोस्टमा सशक्त प्रहार गर्न माहिर मानिने रोनाल्डो अग्रपंक्तिमा एक्लै बल लैजाने खुबी राख्छन्।रियल म्याड्रिडका यी २५ वर्षे स्ट्राइकरको पनि यो दोस्रो विश्वकप सहभागिता हो। उनी २१ वर्षको उमेरमा सन् २००६ जर्मनी विश्वकपमा समावेश भएका थिए। उनकै उत्कृष्ट प्रदर्शनका कारण त्यतिबेला पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो।
३. डिडियर ड्रोग्बा (आइभोरी कोस्ट)
डिडियर ड्रोग्बा अफ्रिकी महादेशको अहिलेको सबैभन्दा प्रभावशाली स्ट्राइकर मानिन्छन्। ठूलो कद, बलियो ज्यान र निकै दौडिनसक्ने ड्रोग्बाको पनि यो दोस्रो विश्वकप सहभागिता हो। चेल्सीका यी स्टार स्ट्राइकर सन् २००६ मा जर्मनीको विश्वकपमा पनि समावेश थिए। ३२ वर्षे ड्रोग्बा इङलिस कलब चेल्सीका लागि सर्वाधिक गोल गर्ने पहिलो विदेशी खेलाडी हुन्। उनले चेल्सीका लागि ८४ गोल गरिसकेका छन्। सन् २००२ देखि नै आइभोरी कोस्टका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्दै आइरहेका ६ फिट साढे २ इन्च अग्ला ड्रोग्बाले ६७ अन्तर्राष्ट्रिय खेलमा ४४ गोल गरिसकेका छन्।
४. जाभी (स्पेन)
यसपालिको विश्वकपमा सबैभन्दा सन्तुलित टोली स्पेनलाई ठहर्‍याइएको छ। यो टोलीमा एक से एक खेलाडी भएपनि थुप्रै कारणले जाभीको प्रदर्शनलाई प्रमुखतासाथ हेरिएको छ। स्पेनिस लिग विजेता क्लब बार्सिलोनाबाट 'सेन्ट्रल मिडफिल्ड' मा खेल्ने जाभीको सिर्जनशील खेलबाट पछिल्लो समय विश्व फुटबल नै मन्त्रमुग्ध बनेको छ। सन् २००९ मा म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगको फाइनल हराउँदा 'म्यान अफ द म्याच' घोषित जाभीलाई अहिले विश्व फुटबलकै सफल प्लेमेकर मानिन्छ। उनी खेलको गतिलाई नियन्त्रणमा राख्न सिपालु छन्। त्यतिमात्र होइन, गोलका लागि बल निकाल्न पनि उस्ताद मानिन्छन्। आवश्यक परे अगाडि बढेर गोल हान्न पनि पछि पर्दैनन्,३० वर्षे जाभी। २ वर्षअघि स्पेनले सन् २००८ को युरोकप जित्दा उनी टोलीका प्रमुख सदस्य थिए। उनको पनि यो दोस्रो विश्वकप सहभागिता हो। सन् २००६ मा उनले पहिलो पल्ट विश्वकप खेलेका थिए। उनी सन् २००० देखि स्पेनी टोलीबाट अनवरत खेल्दै आइरहेका छन्।
५. वायने रोनी (इङल्यान्ड)
म्यानचेस्टर युनाइटेडका यी स्टार खेलाडीबाट इङल्यान्डले मात्र होइन, यसपालि विश्व फुटबलले पनि थुप्रै आशा राखेको छ। उनी गोल हान्न मात्र होइन, गोलका लागि आफ्ना सहयात्री स्ट्राइकरलाई सटिक बल निकाल्न पनि उस्ताद मानिन्छन्। राष्ट्रिय टोलीका लागि २५ वर्षे रोनीले विगतमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। रोनीको पनि यो दोस्रो विश्वकप सहभागिता हो।
६. आर्जेन रोबेन (नेदरल्यान्ड)
नेदरल्यान्ड टोलीमा प्रतिभाको कमी छैन। यति हुँदाहुँदै यो टोली जहिले पनि असफल बन्दै आइरहेको छ। विगतमा झैं यसपालि डच टोलीमा आर्जेन रोबेनजस्ता प्रतिभा समावेश छन्। रोबेन यो दसककै उत्कृष्ट विङ्गर मानिन्छन्। 'टच लाइन' बाट बल दौडाउन खप्पिस रोबेन देब्रे खुट्टाले रकेटझैं शक्तिशाली प्रहार गर्न सक्छन्। बायर्न म्युनिखका यी २६ वर्षे विङ्गरको प्रेरणाले यसपालि जर्मन क्लब युरोपको शक्तिशाली च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको थियो। रोबेनले नेदरल्यान्डका लागि ४२ अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा ११ गोल गरिसकेका छन्। उनी युरो २००४ देखि राष्ट्रिय टोलीमा समावेश थिए। उनको पनि यो दोस्रो विश्वकप सहभागिता हो।
७. माइकोन (ब्राजिल)
विश्व वर्ष खेलाडीबाट सम्मानित काकालाई लामो समयदेखि थुप्रै मिडिया र फ्यानले पछ्याउँदै आइरहेका छन्। त्यसैले दक्षिण अफ्रिकामा विश्वकप सुरु हुनुअघि नै काकाको सहभागितालाई लिएर चर्चा-परिचर्चा सुरु भइसकेको छ। तर, पछिल्लो समय ब्राजिलको खेल टेलिभिजनमा राम्रोसँग हेर्ने हो भने 'राइट ब्याक' बाट खेल्ने माइकोनको खेलले सबैलाई प्रभावित पारेको छ।
उनी अहिले विश्वले नै सर्वाधिक रुचाइएको डिफेन्डर हुन्। उनी डिफेन्समा मात्र होइन, 'ओभरल्यापिङ' मा जाँदा विपक्षी टोलीका लागि पनि खतरनाक देखिने गर्छन्। उनको मार्किङ पनि बेजोड छ। २८ वर्षे ६ फिट अग्ला माइकोन सन् २००६ देखि इटालीको इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका छन्। सन् २००४ मा ब्राजिलले कोपा अमेरिका कप र २००५ मा फिफा कन्पि्कडरेसन कप जित्दा उनी टोलीका सदस्य थिए। तर, सन् २००६ को विश्वकपमा दुर्भाग्यपूर्ण निर्णयका कारण उनले टोलीमा स्थान बनाउन सकेनन्। उनको यो पहिलो विश्वकप सहभागिता हो।
८. ल्यान्डन डोनोभान (अमेरिका)
यसै वर्ष इङल्यान्डको प्रिमियर लिग क्लब इभर्टनमा ऋण-सम्झौतामा अनुबन्धित भएका ल्यान्डन डोनोभान अमेरिकाको मात्र नभई विश्व फुटबलकै प्रभावशाली मिडफिल्डर मानिन्छन्। खेललाई आफ्नो नियन्त्रणमा राख्न सक्ने क्षमता भएका डोनोभान बल सप्लाई गर्न पनि उस्तै खप्पिस मानिन्छन्। उनी आक्रमणमा पनि उत्तिकै माहिर छन्।
अमेरिकामा जन्मिए पनि उनले जर्मनीको बायर्न लेभरकुसेन र बायर्न म्युनिखजस्ता बलिया बुन्डेसलिगा क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। कम उमेरमै अमेरिकाका लागि १ सय २२ अन्तर्राष्ट्रिय खेल खेलिसकेका डोनोभानले ४२ गोल गरिसकेका छन्। उनको यो तेस्रो विश्वकप सहभागिता हो। सन् २००२ जापान/दक्षिण कोरियामा भएको विश्वकपमा डोनोभानकै उत्कृष्ट प्रदर्शनका कारण अमेरिका क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको थियो। यो विश्वकपमा उनी उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।
९. फिलिप लाहम (जर्मनी)
बायर्न म्युनिखको टोलीमा स्थायी रूपमा देखा पर्ने लाहम विश्वको एक उत्कृष्ट 'राइट ब्याक' मानिन्छन्। जर्मनीका कप्तान माइकल बालाक कुर्कुच्चाको चोटका कारण यो विश्वकपमा समावेश नहुने भएपछि जर्मन टोलीमा लाहमको उपस्थितिलाई झनै महŒवका साथ हेरिएको छ। बालाकको अनुपस्थितिमा लाहमले यो विश्वकपमा जर्मनीको नेतृत्व सम्हाल्दैछन्।
२६ वर्षे लाहमले सन् २००४ र २००८ दुवै युरोकपको अनुभव बटुलिसकेका छन्। उनको पनि यो दोस्रो विश्वकप सहभागिता हो। सन् २००६ आफ्नै देशमा भएको विश्वकपमा पहिलो पल्ट उनी जर्मन टोलीमा देखिएका थिए।
१०. फ्रान्क रिभेरी (फ्रान्स)
यसपालिको विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भयो। थिएरी हेनरीको ह्यान्डबलका कारण आयरल्यान्डसँगको प्ले अफ म्याचमा जोगिएको फ्रान्स यसपालि मैदानमा उत्रँदा गत विश्वकपको झझल्को दिन प्रयासरत रहनेछ। पूर्व कप्तान जिनेदिन जिदानले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिइसकेको अवस्थामा अहिले फ्रान्स सबभन्दा बढी कुनै खेलाडीबाट आशावादी छ भने त्यो हो, फ्रान्क रिभेरी।खेलकै बेला आफ्नो स्थान बदलिन सक्ने क्षमता राख्ने २७ वर्षे रिभेरीको पनि यो दोस्रो विश्वकप सहभागिता हो। बायर्न म्युनिखका यी विङ्गरले फ्रान्सका लागि ४४ अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा ७ गोल गरिसकेका छन्।

No comments: