Jun 8, 2010

भावुकता र दार्शनिकताको संगम

कृष्ण धारावासी
जहिले पनि मनको वसमा छ मानिस। मनले उडाइरहन्छ, घुमाइरहन्छ। सँधै सबै समय आफूसँग भइरहने भनेको मन मात्र हो । देखिने गतिविधि शरीरको हुन्छ तर त्यसलाई संचालन गर्छ मनले । कुनै बेला मन र कुनै बेला बुद्धिको हानाथापमा शरीरले आफ्नो यात्र गरिरहेको हुन्छ। तर जीवन बुद्धिले भन्दा मनले धेरै निर्देशित हुन्छ। मानिसले जीवनमा अनुभव गर्ने अधिकांश विषयहरू मनका माध्यमले उत्पादन भएका हुन्छ । भावुकता मनसँग सम्बन्धित हुन्छ। भावुकता नहुंदो हो त मानिसले न माया गर्न जान्दथ्यो न प्रेम गर्न पाउँथ्यो, न उ गृहस्थि नै हुन सक्थ्यो । रुनु, हाँस्न, रमाउनु, नाच्नु, रिसाउनु गम्भीर हुनु सबै कुरा नमसँग सम्बन्धित छन्। र मन नै त्यो अनुभूतिको भण्डार हो जसले जीवनका हरेक क्षण प्रकम्पित गराइरहन्छ ।मनको अभिव्यक्ति हुन्छ गीत, संगीत कला र हावभावहरू बाट ।संसारको जुनसुकै समाजका पनि भाव अभिव्यक्तिका माध्यमहरू यिनै हुन् मानव मनको स्थितिको अध्ययनका प्रविधि पनि यिनै हुन् सबै भन्दा लोकप्रिय प्रविधि गीत हो। गुनगुनाएर मनलाई झंकृत गराइरहन्छ मानिस ।संगीतबद्ध नगरुन्जेल गीत पनि कविता जस्तै हुन्छ भावको सघन उपस्थितिले त्यो कवितात्मक देखिन्छ । जब यो संगितबद्ध गरि गाइन्छ अनि गीत हुन्छ । विमल गिरीले कवितात्मक गीतको एउटा पोको मेरा झोलामा पर्ने गरि पठाइदिनु भएछ। निकै दिनसम्म झोलामै बोकी बोकी हिंडे समयको अभाव वा व्यस्तता ।गीतका कैयौं प्राविधिक पक्ष हुन्छन् ती त म जान्दिन ती मैले यिनलाई पढें कवितात्मक ढाँचाले । पढ्दा लयबद्ध कविता जस्ता भए,भाव पक्षको प्रधानताले ।अधिकांश गीतहरू मायाँ, प्रेम र भावुक अनुभूतिले भरिएका छन् । धेरै जसोमा विछोडको पीडा समेटिएको छ। यहाँ देश छोडेपछि मनमा उत्पन्न हुने आत्मिएताको गन्ध पनि छ। प्रेमिकासँगको तीतामीठा क्षणका अनुभुतिहरू पनि । मिलन र विछोडका आरोपप्रत्यारोपहरू पनि छन, एक अर्काप्रतिका तीव्र वेगमा आकर्षणहरू पनि छन् । धेरै जसो गीतहरूमा भावुकताले प्रधानता पाएको। प्रेमले दह्रो गरि समातेको मनलाई संझाउन, दार्शनिकताको उदार र निस्सार संसारतिर पनि प्रविष्ट छन् कति गीतहरू। धन, सम्पत्ति, मायाँ प्रेम,आदि कुराहरूमा रुखो अनुभुति पनि भेटिन्छ कतिमा । जे होस यी गीतहरूको पुस्तकले कवितात्मक शैलीमा पढ्दा पनि आनन्द दिन सक्छन् । अझ गाउन र संगीतबद्ध गर्न सके केही गीतहरू निकै राम्रो र लोकप्रिय हुन सक्ने देखिन्छ। पठनीय, विमलको यो गीत संग्रहलाई काव्यात्मक स्वागत गर्दछु ।

No comments: