Jun 14, 2010

गोर्खा लिम्बुवान युद्ध र सन्धीका प्रभावहरु

छवि सङबाङफे "लिलिमहाङ"
बि.स.१८२६ मा गोर्खाली राजा पृथ्वी नारायण शाहले काठमाडौं उपत्याकाका मल्ल राजाहरु माथि विजय प्राप्त गरिसकेपछि १८२७ मा चौविसी राज्यहरुतर्फ आक्रमणको अभियान अगाडि बढाए । काजी बंशराज पाण्डे र केहरिसंह बस्न्यातको प्रमुख नेतृत्वमा गएको गोर्खाली फौजले लम्जुङ कास्की तनहुं लगायत स-साना राज्यहरुमाथि नियन्त्रण गर्दै अगाडि बढ्यो । सबै चौविसि राज्यहरु एकभएर संयुक्त रुपमा गोर्खाली फौजसँग सशक्त मुकाविला गरे । अन्त्यमा चौविसीहरुको संयुक्त शक्तिसँग गोर्खाली फौजको जोड चलेन । वि.स. १८२७ पुष ५ गतेको दिन सतहुंमा भएको भिषण युद्धमा गोर्खाली पक्षको ठूलो नोक्सान भै भागाभाग हुनु पर् यो । त्यसपछि पृथ्वी नारायण शाहले पश्चिमी अभियान स्थगित गरी पूर्वतर्फका विजयपुर र चौडण्डीका सेन राज्यहरुमाथि आक्रमण बढाए । यसैक्रममा बि.स.१८३० मा अमरिसंह थापा र रामकृष्ण कुंवरको नेतृत्वमा माझकिरात बिजयगरि कोशी पूर्वको बिजयपुर राज्यतर्फ आक्रमण गरे । १८३१ को वर्षादमा गोर्खाली सेनापति अभिमानिसंह बस्नेत र पारथ भण्डारीको प्रमुख नेतृत्वमा श्रावण महिनाको पहिलो हप्तामा हात्तीद्वारा कोशीनदी तरी बिजयपुर राज्यमाथि आक्रमण गरे । त्यसबेला सेन राजाहरुको मातहतमा बिजयपुर वरिपरिका स-साना राज्यहरु मात्र थिए र अन्य पल्लो किरात लिम्बुवान क्षेत्र १० वटा बेग्लाबेग्लै राज्यको रुपमा लिम्बू राजाहरुको अधिनमा थियो । बि.स.१८३१ श्रावण २ गते गोर्खाली फौजले अचानक बिजयपुरमाथि आक्रमण गरेपछि बिजयपरका राजा कर्ण सेन र चौतारा बुद्धिकर्ण राय भागि भारततर्फ छिरे । त्यसपछि दश लिम्बू राजाहरु एकजुट भै गोर्खाली सेनासँग संयुक्त रुपमा लडे । यसरी लड्ने क्रममा चैनपुरका जसमुखी राय छथरका सुनुहाङ राय चारखोलाका आशदेव रायले युद्धको घोषणा गरे । सभा र अरुण नदीको किनारमा लिम्बू फौजका सेनापति साङबोटे टेक्सापारे काङकोरे र काङसो रायले गोर्खाली फौजको कडा मुकाविला गरे । लिम्बुहरुको समर्थनमा सिक्किमका राजा फुचो नाम्ग्याल द्वितिय र चीनका प्रतिनिधि होसी तुम्याङले पनि हातहतियार तथा फौजी सहयोग गरे । फौजी आक्रमणमा गोर्खाली फौजको भारी नोक्सान भएपछि गोर्खाली सेनापति रघु रानाले लिम्बू सेनापति काङसो रायलाई मल्लयुद्ध गर्न लल्कार् यो । त्यसपछि बिना हातहतियार युद्धभूमीमा दुवैपक्षको सेना उपस्थित भै दुई सेनापतिको मल्लयुद्ध हेर्ने सहमति भएपछि युद्ध भयो । यसैक्रममा लिम्बू सेनापति काङसो रायले गोर्खाली सेनापति रघु रानालाई मारीदिए । उक्त सहमतिमा दुई सेनापतिका मल्लयुद्ध नै निर्णायक हुने भनिएता पनि गोर्खाली सेनाले षड्यन्त्रपूर्वक वालुवामा लुकाएर राखेको हतियार निकाली काङसो रायको हत्या गरिदिएपछि लिम्बू फौज पनि क्रुद्ध भै हतियार निकालि धोखेबाज गोर्खाली फौजलाई समाप्त गरिदिए । यसबाट पुनः गोर्खालीबाट आक्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गरी लिम्बू फौजले गोर्खाली सेना हिड्ने सबै बाटोहरुमा धराप थापे र नभन्दै गोर्खाली सेना आक्रमण गर्न आउंदा सयौंको संख्या धरापमापरि सखाप भए ।
यसरी एकातिर लिम्बुवान फौजले गोर्खाली सेनासँग कडा मुकाविला गरिरहेको अवस्था थियो भने अर्कातिर सिक्किम र चीनबाट पनि लिम्बू सेनालाई सैनिक र हातहतियार सहयोग पाईरहेको अवस्था थियो । यसो हुनाले गोर्खाली सेनाका लागि लिम्बुवान विजयको अभियान फलामको च्यूरा चपाउनु सरह नै भएको थियो । सिक्किमको दृष्टिकोण गोर्खाली फौजलाई धपाएर आफ्नो सीमा बिस्तार लिम्बुवानसम्म कायम गर्ने जस्ता पक्षहरु समेत विद्यमान रहेकाले गोर्खालीहरुले प्राप्त गरेको चौडण्डि र विजयपुर लगायतका सिमानाबाट आफू विस्थापित हुनसक्ने खतरापूर्ण स्थितिहरु मध्यनजर गरेर शान्तिपूर्ण कुटनीतिक प्रयासबाट लिम्बुवानलाई एकीकरण गर्नु नै उचित सम्झि गोर्खालीहरु त्यस प्रयत्नमा केन्द्रित भए । त्यसैक्रममा अभिमानिसंह बस्नेत पारथ भण्डारी कीर्ति सिंह खवास र बलि बानीयां आदिलाई दुत बनाई लिम्बू राजाहरुसँग वार्ता गर्न लिम्बुवानमा पठाईएको थियो । लिम्बुवानका दश राजाहरुमध्ये तीन राजाहरु चौविसका सुन राय पानथरका कुम राय र आठराईका जङ रायले सन्धी प्रस्ताव स्वीकारगरि बि। स। १८३१ श्रावण २२ गतेका दिन सन्धी गरे जसलाई १८३१ को लालमोहर भनिन्छ । त्यस लालमोहरमा लिम्बू र शाहबीचमा भैयादको नाता उल्लेख गरिएको छ । युद्धको बिषयमा हारजितको कुरा उल्लेख गरिएको छैन । लिम्बुवान राज्य हिजो तिमी लिम्बूहरुको भएता पनि हाम्रो प्रतापले त्यो हाम्रो भयो तिमीहरु पनि हाम्रै हौ र तिमीहरुको जहानको पिछा हामीहरुले गरि बक्सियौ भनिएको छ । यसको साथै हिजो तिमी लिम्बूहरुको जे जस्तो खायन पायन थियो ति सबै यथावत् र यो नीति पछिबाट मेरा शाखा सन्तानले खोसे नासेमा मानी पुजी ल्याएका देवी देवताले मेरो राजकाज भष्मभफ् गरोस् भनी बाचा बन्धन समेत गरिएको छ ।
यो ईतिहासलाई समिक्षा गर्दा के बुझ्न सकिन्छ भने गोर्खाली फौज लिम्बुवानको सीमा नाघेर पूर्वतर्फ बढ्न सैन्य कार्वाहीबाट पूर्ण त असम्भव नै थियो । यसकारण सन्धी प्रस्ताव अगाडि ल्याएको तथ्य प्रष्ट हुन आउंछ । गोर्खालीहरुको तर्फबाट खटिएको वार्ता टोलीले दश थुमका सवै राजाहरुलाई सन्धी प्रस्तावबाट आकर्षण गर्न सकेन र तीनजना राजाहरुसँग मात्र प्रथमपटक सन्धी गर्न पुग्यो । यसले के देखाउंछ भने अन्य सात राजाहरु वार्ताप्रति विश्वस्त थिएनन् किनभने रघु राना र काङसो रायको मल्ल युद्धबाट भएको धोकाले उनीहरु त्रसीत थिए । यसबाट वार्ताप्रति आकर्षण नभएका सात लिम्बु राजाहरुलाई लालमोहर सन्धीले आकर्षण गर्नुपर्ने आवश्यकता भएको कारणले पनि बि.स.१८३१ श्रावण २२ गतेको ताम्रपत्र समानान्तर सहअस्तित्व स्वीकारोक्तिका शब्दहरुले सम्बोधित द्विपक्षीय सन्धी देखिन्छ । त्यसपश्चात फेदाप मैवाखोला मेवाखोला र तम्मोरखोलाका लिम्बू राजाहरु क्रमशः आतहाङ राय श्रीदेव राय रैनिसंह राय र शुभवन्त रायहरुले लालमोहर सन्धीलाई समर्थन गरे । त्यसपछि सन्धी गर्ने अघिल्ला तीन राजाहरुलाई सरह अधिकार दिईयो । अन्य बाँकी तीनजना चैनपुरका जसमुखी राय छथरका सुनुहाङ राय चारखोलाका आशदेव रायहरुले सन्धी स्वीकार गरेनन् र उनीहरु सिक्किम पलायन भए । गोर्खा लिम्बुवान सन्धीमा सवै लिम्बू राजाहरुको समर्थन जुट्न नसकेको कारणले गर्दा गोर्खालीहरुमा मनोवैज्ञानिक भय समाप्त हुन सकेन । यसले गर्दा आफ्नो समर्थनमा आउने लिम्बु राजाहरुलाई नजिक र खुशी पारि राख्न गोर्खालीहरुले स्वशासकीय अधिकारका साथै आफ्नो सीमा सुरक्षाका लागि हातहतियार र सैनिक नेतृत्व समेत प्रदान गरेको देखिन्छ । पछिल्ला शासकहरुमा हिन्दुबाहुनहरुको तिब्रोत्तर प्रभावपरि लिम्बुवानको सन्धीलाई नविकरण गर्नेक्रममा क्रमशः स्वशासकीय अधिकार मात्र कटौटी गरेनन् लिम्बुवानको आर्थिक सामाजिक र सांस्कृतिक पक्षहरुलाई समेत बिस्थापित र निरुत्साहित गर्दै लगे । १९० वर्ष पछाडी बि.स.२०२१ सालमा आएर पृथ्वी नारायण शाहका दशौं पुस्ताका उत्तराधिकारी राजा महेन्द्रले लालमोहरको वलात अवहेलनागरि भूमिसुधार कार्यक्रम ल्याएर लिम्बूहरुको किपट नापीगरि कानूनी रुपमा गैरलिम्बुहरुलाई हस्तान्तरण गर्ने बाटो खुला गरिदिए । २०२८ सालमा उनको मृत्यू भएपछि ११ औं पुस्ताका राजा बीरेन्द्रले पनि आफ्नो पुख्र्यौली ईतिहासलाई अवलोकन नगरी बाबुकै कार्यक्रमलाई निरन्तरता दिए । लिम्बू र पृथ्वीनारायण शाहवीच सम्झौता भएको २२७ वर्ष पछाडी २०५८ साल जेठ १९ गते उनको राजकाज उत्तराधिकारी सहित वंशनास भयो र त्यसकै ५ वर्ष पछाडी २०६३ सालमा शाही राजकाज नै भष्मभफ् भयो । ईतिहासको यो घट्ना र बिकासक्रमले लिम्बुवानको सार्वभौम र स्वतन्त्र सहअस्तित्व पुनरावृत्ति र स्थापित हुने सवाल र सत्यलाई के अव वनारसी पाण्डाबाहुनहरुले रोक्न सक्लान ?
लेखक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रवक्ता हुन्

No comments: