Jun 22, 2010

विश्वकप बीचमै छाड्ने खेलाडी

जोहानेसवर्ग,फ्रान्सका प्रमुख स्ट्राइकर निकोलस एनेल्कालाई आइतबार फ्रान्सको फुटबल सङ्घले टिमबाट निष्काशित गरेको छ । यद्यपि विश्वकपको समयमा कुनै खेलाडीले बीचमै टिम छाडेको यो पहिलो घटना होइन ।
सिग्मन्ड हारिन्गर
(जर्मनी, सन् १९७४)
जर्मनीका डिफेन्डर सिग्मन्ड हारिन्गर अनुमतिबिना रेल्वे प्लेटर्फममा सुन्तला खाएको आरोपमा टिमबाट निकालिएका थिए । उनले तेस्रो स्थानका लागि प्लेअफ खेल खेल्न पाएनन् । यद्यपि जर्मन फुटबल सङ्घले भने सो आरोपको खण्डन गर्दै उनी बिरामी भएकाले टिममा नराखिएको वक्तव्य दिएको थियो ।
इर्नस्ट जिन जोसेफ
(हाइटी, सन् १९७४)
इटालीसँग ३-१ ले हारेपछि हाइटीका इर्नस्ट जिन जोसेफ डोपिङ परीक्षणमा असफल भएका थिए । त्यसपछि उनलाई टिमबाट निकालियो ।
विली जोन्सटन
(स्कटल्यान्ड, सन् १९७८)
समूह चरणमा पेरुविरुद्धको खेलमा स्कटल्यान्डका विन्गर विली जोन्सटन पनि प्रतिबन्धित औषधि सेवन गरेकोमा दोषी पाइयो । त्यसपछि उनले टिममा स्थान पाउन सकेनन् ।
युली स्टेन
(पश्चिम जर्मनी, सन् १९८६)
पश्चिम जर्मनीका प्रशिक्षक फ्रेन्च बेकेनबाउरमाथि छिँटाकसी गरेपछि गोलरक्षक युली स्टेनलाई तुरुन्तै घर फर्काइएको थियो । प्रशिक्षक बेकेनबाउरलाई टिमको ठट्टाको पात्र भन्नु नै उनको ठूलो गल्ती बन्यो ।
स्टेफन इफेनवर्ग
(जर्मनी, सन् १९९४)
दक्षिण कोरियाविरुद्ध जितेको खेलमा स्थानापन्न हुँदा दर्शकदीर्घामा रहेका समर्थकमाथि अश्लील सङ्केत गरेपछि स्टेफन इफेनवर्गले त्यसको ठूलो मूल्य चुकाउनुपर्‍यो । त्यसपछि जर्मनीको टिमले मिडफिल्डर इफेनवर्गलाई टिमबाट बर्खास्त गरेको थियो ।
डिएगो म्याराडोना
(अर्जेन्टिना, सन् १९९४)
सन् १९९४ मा कप्तान डिएगो म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाउने अपेक्षा गरिएको थियो तर महान् फुटबल खेलाडी म्याराडोनाले प्रतियोगिता बीचमै त्याग्न बाध्य बने । समूह चरणमा नाइजेरियाविरुद्धको खेलमा प्रतिबन्धित औषधि प्रयोग गरेकोमा दोषी बनेपछि म्याराडोना फुटबल खेल्नबाट प्रतिबन्धित भए ।
रोय किन
(आयरल्यान्ड, सन् २००२)
आयरल्यान्डका कप्तान रोय किनले प्रशिक्षक माइक म्याककार्थीसँगको विवादले टिम छाडेका थिए । किनले प्रशिक्षण सुविधाको विषयमा अन्तर्वार्ता दिएपछि खेलाडी किन र प्रशिक्षक म्याककार्थीको विवाद भएको थियो ।
निकोलस एनेल्का
(फ्रान्स, सन् २०१०)
फ्रान्सको फुटबल सङ्घले शनिबार निकोलस एनेल्कालाई प्रशिक्षक रेमन्ड डोमिनिचलाई अपमान गरेको र त्यसपछि माफी माग्न तयार नभएको भन्दै टिमबाट निष्काशित गरेको छ । मेक्सिकोसँग बिहीबार २-० ले हारेको खेलमा चेल्सीका स्ट्राइकर एनेल्काले प्रशिक्षक डोमिनिचलाई अपशब्द प्रयोग गरेका थिए ।

No comments: