सुरेश सुब्बा
समयले मानिसलाई काहाँ काहाँ पुर्याउछ, कहिले हसाउछ, कहिले रुवाउछ । भने झै निरकुश पँञ्चायती ब्यावस्थाको अनेकौ षडयन्त्र र बाहानामा किपट प्रथाको अन्त्यपछि किपटीया मालका मुख्य सचिव, जसको समयहरु दुःखै दुःख पिडाहरुमा बित्यो । उनि मुख्य सचिव मात्र हैनन् लिम्बु भाषा लिपीका ज्ञाता साहित्यकार अनि मुन्धुमबिद् समेत हुन् । उहाँले आफ्नो जाती, भाषा, लिपी र साहित्यमा जति खोज अनुसन्धान गर्ने कार्य गर्नु भयो र बिभिन्न मुन्धुम सम्बन्धी किताबहरु प्रकाशन गर्नु भयो । तर यसलाई आफ्नो जाती, समाज र समुदायबाट पढ्ने चिन्ने बुझ्ने तथा सहयोग गर्ने प्रयास भएन । सायद गरीबीको कारणले होला बरु उहाँलाई झगडीया, मुद्धावाल यसले अलि ठूलो बोल्यो वा खोक्यो भने पनि मुद्धा हाल्छ भन्ने जस्ता कुराहरु गरेर उहाँको आत्माबल घटाउने कार्यहरु मात्र भए । अर्थात उहाँलाई एउटा दोस्रो दर्जाको मानिसको रुपमा मात्र हेरी रहे । तथापी उहाँका बिचारहरु बिचलित भएनन् । जतिबेला आफ्नो भाषा, लिपी र धर्मको कुरा गर्ने ब्याक्तीहरुमाथि निरँकुश पँञ्चायती राज्य सत्ताको क्रूर दमन त छँदै थियो । त्यसमाथि आफ्नो समुदाय समेतको सहयोग नपाउदा उहाँलाई कस्तो अनुभव भयो होला - त्यो हामीले कल्पना गरेभन्दा फरक हुन सक्छ । यसलाई आफ्नै ठाउँमा राखेर, त्यो समयमा लिम्बुवान राज्यभित्र रहेको किपट प्रथा त्यसको प्रसाशनिक ढाँचा, लिम्बुजातीहरुको रिती थिती लगायत मुन्धुम सम्बन्धी धेरै धेरै जिज्ञासाहरु लिएर उहाँलाई भेट्ने मेरो ति ब्र चाहाना हुदाँहुदै मैले जसलाई भेट्न सकिन मैले भरखरै मात्र थाहा पाएँ । केही महीना अघि नै उहाँले यस सँसारलाई छाडेर धेरै टाढा गइसक्नु भएछ । मेरो सपना सपनामा नै सिमित रह्यो । न त उहालाई भेटेर केही लिन सकेँ, न त मैले नै केहि दिन सकेँ । अब उहाँलाई दिने सम्मानमा मात्र श्रद्धा सुमन भन्न सकिन्छ । अब उहाँलाई सम्झनामा मात्र भेट्न सकिन्छ । उहाँ मेरो गाउँले अर्थात-लिम्बुवानको तेह्रथुम जील्ला खाम्लालुङ्ग गा बि स-५ डाँडाखर्क स्थाई बसोबास भएका लिम्बु भाषा लिपिका ज्ञाता तथा मुन्धुमसाबा दुर्गा प्रसाद प्रसाद फोम्बो । उहाँलाई नजिकबाट चिन्नेजान्नेहरुका अनुसार किपटीया मालका मुख्य सचिव तथा मुन्धुमसाबा दुर्गा प्रसाद फोम्बोको श्रीमती तथा एक छोरा सहीतको सानो र सुखी परिवार भएतापनि त्यो लामो समय सम्म रहन सकेन, अर्थात उहाँको श्रीमती र छोरामाथि पापी दैवको आँखा परेछ । अनि अचानक तिनै पापी दैवले चुडेर लगेछन् । त्यसपछि उहाँले फेरी दोस्रो बिबाह गर्नु परेको थियो । दोस्रो श्रीमती बाट भने कुनै सन्तानको जन्म हुन सकेन । उहाँहरुको दाम्पत्य जीवन खुशी भएतापनि आर्थिक हिसाबले निकै दुःखी थियो । यिनै दुःखहरुमा साथ दिने दोस्रो श्रीमतीको समेत केहि महिना अघि मृत्यु भएपछि दुर्गा प्रसाद फोम्बो आफ्नो घरमा एक्लै बस्दै आउनु भएको थियो । बि स १९८२ सालमा जन्मनु भएका दुर्गा प्रसाद फोम्बो किपटीया मालका मुख्य सचिव हुनुहुन्थ्यो । किपट प्रथाको अन्त्यपछि उहाँले न त कुनै जागीर खाने चाहाना राख्नु भयो न त कुनै राजनैतिक दलहरुमा समाबेस हुन चाहानु भयो । फोम्बो आफ्नो लिम्बु जातीहरुको मुन्धुम, भाषा, लिपी र साहीत्यको बिकाशको लागी खोज अनुसन्धान कार्यमा लाग्नु भयो । र जीवनको अन्तिम घडीसम्म यसैमा सघर्ष गरी रहनु भयो । याहाँ सम्म आईपुग्दा उहाँले बिभिन्न छिटफुट लेखहरु सहित आधा दर्जन भन्दा बढी मुन्धुम सम्बन्धी कृतिहरु प्रकाशित गरि सक्नु भएको छ । उहाँका प्रकाशित कृतिहरुमा- फोम्बो आःवाजङ्ग बँशावली, र्इस्बो बँशावली मस्यौदा, नावा चईत मुन्धुम, अभिमत मत, याक्थुङ्ग साहित्य पालाम ख्याली, सावादेन हाङ्ग मुन्धुम त्यस्तै छितफुट लेखहरुमा- चेलिले माईतीलाई फूलमाला लगाईदिनु हुदैन भन्ने मुन्धुम, युमा सामको प्रथम उत्पती, च्याब्रुङ्गको उत्पती, सम्पूर्ण मानव जातीको मुलथलो, याक्थुङ्ग मुन्धुमको उत्पती, काजकृया गर्ने याक्थुङ्ग मुन्धुम, चेली माईती फूलले हानाहान गर्नु हुँदैन, मेरी आमाका माईतीहरु किन काग भएर उडिगए, तान्छोप्पा सुकको मुन्धुम, साम्याङ्गफूङ्गको उत्पती मुन्धुम र चौतारा बनाई किताब राख्ने मुन्धुम लगायत हुन् । सामाजीक कार्यहरु- किपटीया मालका मुख्य सचिव, किरात याक्थुङ्ग चुम्लुङ्गको आजीवन सदस्य, किरात धर्म तथा साहित्य सँघको आजीवन सदस्य, र अड्डा अदालतमा बादी प्रतिबादी लिखतहरु समेत लेख्नु हुन्थ्यो । माथि उल्लेखित लिम्बुजातीहरुको लागी गर्नु भएको अमुल्य योगदानहरु, सामाजीक कार्यहरु, लेख रचनाहरु र प्रकाशित कृतिहरुबाट उहाँले न त सम्पती कमाउनु भयो न त चर्चा नै । बिडम्बना अझपनि हामी कतिपय दुर्गा प्रसाद फोम्बो प्रति अनबिज्ञ छौँ । तथापी लिम्बुजातीहरुको सामाजीक सँस्था किरात याक्थुङ्ग चुम्लुङ्गले बि स २०५२ र फोम्बो आःवाजङ्ग केन्द्रीय कार्य समितीले२०६२ मा उहाँको यागदानको उच्च मुल्याङ्कन गर्दै अभिनन्दन गरेको थियो । यि दुर्इ जातीय तथा थरीय सँस्थाहरुलाई हाम्रा कर्मठसाधक मुन्धुमसाबा दुर्गा प्रसाद फोम्बोको पक्षबाट हाम्रो धन्यबाद । यसरी नै फोम्बो आःवाजङ्ग प्रथम ऐतिहासिक सम्मेलन २०६२मा भेटघाटको क्रममा फोम्बोको बृद्धावस्था, असक्तता र नाजुक आर्थिक स्थितिलाई देखेर यसैलाई मध्य नजर राख्दै, सँक्रान्ती-५ लिसिबुङ्ग बस्ने राज कुमार फोम्बोले अक्षयकोष सहयोग स्वरुप निजलाई रू १००,०००/एक लाख रूपैया प्रदान गर्नु भएको थियो । उक्त रकम सो भेलाको आयोजक समितीको निर्णयले दुर्गा प्रसाद फोम्बो सहयोग कोषको नाममा- सिरीजङ्गा बाहुउद्धेशीय सहकारी सँस्था लिमीटेड काठमाण्डौको खातामा राखीएको र सो को ब्याज स्वरुप आएको रकमबाट फाम्बोको जीवन छउन्जेल घरखर्च चलाउदै आउनु भएको कुरा फोम्बो आःवाजङ्ग स्मारीका २०६४मा उल्लेख छ। उहाँको मृत्युपछि अर्थात अब उक्त रकम दुर्गा प्रसाद फोम्बो प्रतिष्ठानको रहने निर्णय अनुसार प्रतिष्ठान दर्ताको अन्तिम तयारीमा रहेको र उक्त प्रष्ठिानले उहाँका अप्रकाशित कृतिहरु प्रकाशित गर्ने तथा अन्यकार्यहरु समेत गर्ने तयारीमा रहेको कुरा बाट ढिलैभएपनि दुर्गा प्रसाद फोम्बोले थोरै न्याय पाउनु हुने कुराको आशा गरौँ । अन्त्यमा उहाँको मृत्युले सम्पूर्ण लिम्बुवानबादी तथा शुभचिन्तकहरुमा हुन पुगेको क्षतिप्रति गहिरो दुःख ब्याक्त गर्दै, दिवाँगत आत्माको चिरशान्तीको कामना भन्दै हार्दिक श्रद्धाञ्जली सहित अलबिदा ।
1 comment:
yasto lekhharu aairahanu parchha.
Post a Comment