May 6, 2010

माओरी नरमुण्डको स्वदेश यात्रा

फ्रान्सको संसद्ले न्युजिल्यान्डका आदिवासी जाति माओरी योद्धाहरूका १५ वटा मम्मीकृत नरमुण्ड न्युजिल्यान्डलाई नै फिर्ता गर्न मतदान गरेको छ । १८औँ र १९औँ शताब्दीमा युरोपेली खोजकर्ताहरूले आफूसँगै लगेका ती नरमुण्ड फ्रान्सका विभिन्न संग्रहालयमा प्रदर्शनीमा राखिएका छन् । यस निर्णयले स्थानीय चलनविपरीत लिइएका कलाकृति सम्बन्धित मुलुकलाई नै फर्काउनेसम्बन्धी वर्षौं अघिदेखि अमेरिका र युरोपमा चलिरहेको विवाद र बहसको अन्त्य गरिदिएको छ । माओरी जाति आफ्ना शिर सुरक्षित राखेमा उनीहरूको आत्मा जीवितै रहन्छ भन्ने विश्वास गर्थे । तर, पछि १९औँ शताब्दीको युरोपमा ती नरमुण्ड संकलनका लागि आकर्षक वस्तुका रूपमा लिइए । संग्रहालयका अधिकारीहरूका अनुसार, केही मानिसले ट्याटुले सिँगारिएका ती नरमुण्ड पाउनका लागि माओरीलाई मार्नेसमेत गरेका थिए ।
फ्रान्सेली सांसदहरूले करिब सर्वसम्मतिले नै ती ट्याटु गरिएका नरमुण्ड फिर्ता गर्न मतदान गरेका थिए । कुनै-कुनै मुण्डमा त दाँत र केश पनि भेटिएका छन् । अब तिनले आफ्नो घर पुग्ने अवसर पाएका छन् ।
फ्रेन्च विधायिकाले आफ्नो इतिहासमै पहिलोपटक संग्रहालयको सिंगो विभागै खाली गराएर सम्बन्धित देशलाई फिर्ता गर्ने निर्णय गरेको छ । यस विधेयककी प्रस्तावक सांसद क्याथरिन मोरिन्-दिसाइलीले यस निर्णयबाट फ्रान्सको मानवअधिकारसम्बन्धी प्रतिबद्धता देखिएको बताएकी छिन् । उनले भनेकी छिन्, 'केही यस्ता वस्तु पनि छन्, जो कलाभन्दा माथि छन् र तिनलाई पवित्र रहन दिनुपर्छ ।'
न्युजिल्यान्डले पहिलोपटक १९८० को दशकमा फिर्ता गर्न आग्रह गरे पनि २००७ मा आएर त्यो मामला निकै महत्त्वपूर्ण भयो । त्यतिवेला एक नगरपरिषद्ले एउटा नरमुण्ड मात्र फिर्ता गराउने पक्षमा मतदान गरेको थियो । पछि, फ्रेन्च संस्कृति मन्त्रालयले यस्तो निर्णय स्थानीय स्तरमा गर्न नमिल्ने भनी सो निर्णय खारेज गरिदिएको थियो । यस निर्णयका आलोचकले भने यस निर्णयले संग्रहालयका अन्य संकलनलाई समेत जोखिममा पारेको टिप्पणी गरेका छन् ।
उता, न्युजिल्यान्ड सरकारका माओरी मामलासम्बन्धी मन्त्री पिता सार्पसले भने सो निर्णयलाई 'निकै महत्त्वपूर्ण विषयको' निर्णय रहेको बताएका छन् । उनले भनेका छन्, 'माओरीहरू आफ्ना पुर्खाको स्वदेश फिर्तीले गर्दा आफ्नो आत्मगौरवको पुनस्र्थापन भएको र ती नरमुण्डलाई शान्तिपूर्वक रहन दिनका लागि तिनका सन्तानले आफ्नै परिवारमा राख्न सक्नेछन् ।'ती नरमुण्ड न्युजिल्यान्डको राजधानी वेलिंग्टनस्थित ते पापा म्युजियममा पठाउन लागिएको छ । त्यसपछि तिनलाई जातीय संस्कारका लागि जातीय समूहलाई फर्काइनेछ ।

No comments: