May 15, 2010

बग्रेल्ती टङकिस र बेडसिन

लाजसर्मको विषय मानिने टङकिस, बेडसिन तथा अंगप्रदर्शन नेपाली फिल्ममा भने सामान्य बन्दै गएका छन् । पछिल्लो समयमा बनेका कतिपय फिल्ममा हिरो-हिरोइनबीच टङकिस राख्ने क्रम बढ्दै गएको छ । टङकिस, बेडसिनजस्ता यौनजन्य दृश्यले दर्शकलाई मनोरञ्जन दिने ठहर निर्माता-निर्देशकको छ । 'किससिन प्लस टु जेनेरेसनका युवा वर्गले निकै मन पराउँदा रहेछन्,' आफ्नो निर्देशनमा बनेको सिलसिला फिल्म हिट हुनुको एउटा कारण नायक राज तिमिल्सिना र नवनायिका सोनिया केसीबीचको टङकिस पनि भएको दाबी गर्दै निर्देशक राजेन्द्र उप्रेती भन्छन्, 'नेपाली समाज अलि खुला हुँदै आइरहेको छ भन्ने उदाहरण पनि हो सिलसिलाको सफलता ।' निर्देशक उप्रेती कथाको मागअनुसार नै किससिन राखिएको जिकिर गर्छन् । 'हावा तालमा प्रोपोगान्डा गर्ने उद्देश्यले त्यस्ता सिन राखिएको छैन,' आफ्नो निर्देशनमा बनेको प्रदर्शान्मुख फिल्म निगरानीमा पनि नायक मुकेश ढकाल र नायिका अरुणिमा लम्सालले टङ किस गरेको दृश्य राखिएको बताउँदै उनी भन्छन्, 'फिल्मलाई ग्ल्यामरस बनाउनका लागि सिक्वेन्सअनुसार सिन खिचाइएको छ । निगरानीको टङकिस सिलसिलाको जत्तिको भने छैन ।' उप्रेतीनिर्देशित गिरफ्तार फिल्ममा पनि नवनायक सुवास मेचे र नायिका जेनिसा केसीको टङकिस सिन राखिएको छ । गिरफ्तारको सफलतामा उक्त दृश्यको पनि ठूलै योगदान रहेको ठहर उनको छ । हालै छायांकन सिद्धिएको मनमनै मन पराएँ फिल्ममा भने टङकिस सिन राखेका छैनन् रे उनले । भने, 'अहिले टङकिस सिन सामान्य भइसक्यो । अरूहरूले पनि राख्न थाले । कत्ति राख्नू ? फेरि, मनमनै मन पराएँको कथाले पनि मागेन ।'
नवनिर्देशक उकेश दाहालको निर्देशनमा बनेको प्रदर्शोन्मुख फिल्म पलपलमा त दुई जोडी नायक-नायिकाबीच बेडसिन खिचाइएको छ । आफ्नो फिल्मको कथाशैली नै 'त्यस्तै किसिमको' भएकाले बेडसिन राखिएको दाबी उनको छ । उनको फिल्ममा नायक दिलीप रायमाझी र पुरानी नायिका रूपा राना अनि रमित ढुंगाना र नवनायिका सुजाता सिटौलाबीच बेडसिन खिचाइएको छ । 'फोटो हेर्दा मात्र भयंकर छ जस्तो लागेको हो । फिल्म हेर्दा ती सिन सामान्य लाग्छन्,' निर्देशक उकेशको स्पष्टोक्ति छ, 'पलपलमा मैले १७ देखि ३५ वर्ष उमेरसम्मका युवायुवतीको 'पर्सनल प्रोब्लम देखाएको छु । श्रीमतीले श्रीमान्को साथ नपाउदा कस्तो हुन्छ भन्ने देखाउनका लागि स्त्रिmप्टअनुसार अपरिहार्य भएर बेडसिन राखिएको हो ।' सेन्सर बोर्डले 'एडल्ट फिल्म'को सर्टिफिकेट दिएको पलपलका निर्माता हरिहर आचार्य पनि आफ्नो फिल्मको कथा अत्याधुनिक शैलीको भएकाले आम रूपमा असहज लाग्ने भए पनि त्यस्ता दृश्य राखिएको बताउँछन् । 'निकै सभ्य शैलीका दृश्य छन् । कुनै एंगलबाट पनि ती दृश्य अश्लील लाग्दैनन्,' उनको दाबी छ, 'नेपाली समाजको अत्याधुनिक जीवनशैली देखाएका छौँ । लाजमर्दा भए त सेन्सर पास नै हुने थिएन नि !'
केहीअघि मोफसलमा प्रदर्शन भएको र व्यावसायिक रूपमा सफल कहलिएको ऋषि लामिछानेनिर्देशित फिल्म आफ्नो मान्छे आफ्नै हुन्छमा पनि मुकेश ढकाल र अरुणिमा लम्सालबीच टङकिस राखिएको छ । फिल्म हिट हुनुमा उक्त दृश्यले उल्लेखनीय भूमिका खेलेको दाबी निर्देशक ऋषिको छ । 'टिनएजर, अधबैसे दर्शकले निकै मन पराए,' प्रेमिकाले आफ्नो प्रेमीप्रतिको प्रेमभाव अभिव्यक्त गर्ने माध्यमको रूपमा सो दृश्य समावेश गरिएको बताउँदै उनको अनुभव बोल्यो, 'युवा वर्गका दर्शकको रोजाइमा पर्‍यो टङकिस । दर्शक तान्नका लागि यस्ता सिन पनि चाहिदो रहेछ ।'

No comments: