May 27, 2010

नौ मूर्ख चोरका नौ किस्सा

चोरेको जुत्ता लगाएर अदालतमा
अमेरिकाको कन्सास राज्यका चार्ली टेलर जुत्ता चोरेको आरोपमा पक्राउ परे । तीन महिनापछि अदालतमा प्रस्तुत गरिँदा उनले त्यही जुत्ता लगाइरहेका थिए जुन जुत्ता चोरिएको दाबी उजुरीमा गरिएको थियो । त्यस मुद्दाको अनुसन्धान गरिरहेका न्यायाधीश चार्लीले चोरिएको जुत्ता नै लगाएको देखेर जिल्ल परे । के मानिस यतिसम्म पनि मूर्ख हुन सक्छ जसले आफूले गरेको अपराधको प्रमाण आफूसँगै बोकेर हिँड्छ ? त्यही प्रमाणले गर्दा उनको अभियोग प्रमाणित भयो र उनले जेलमा कोचिनुपर्‍यो ।
गलत ठाउँ, गलत समय
सन् १९७८, नोभेम्बर २९मा डेभिड गुडकल र अन्य दुई महिला चोरी गर्ने उद्देश्यले घरेलु सामानको कारोबार गर्ने पसलमा छिरे । उनीहरूले चोरे जम्माजम्मी दुईवटा कपासको पोका । चोरीको सामान झोलामा राखी छुट्टाछुट्टै ढोकाबाट बाहिरिँदै थिए । दुर्भाग्यवश उनीहरू गुप्तचरबाट समातिए । गुडहल र उनका साथी चोर्न छिरेकै समयमा पसलमा गुप्तचरहरूको सम्मेलन भइरहेको उनीहरूले मेसो पाएनन् ।
दशा लागेपछि
बाल्टिमोरका १८ वर्षीय चार्ली ए मेरिवेदर एउटा घरभित्र छिर्‍यो र घरमा एक्लै बसेकी ३४ वर्षीया महिलालाई बलात्कार गर्‍यो । चोरीका लागि घरतलासी गर्दा ११ डलर पचास सेन्ट रकम भेट्टायो । उसले ती पीडित महिलालाई उल्टै सोध्यो, 'तिमी बिल कसरी तिर्छ्यौ ?
तिनले जवाफ दिइन् 'चेकबाट ।'
उसले ती महिलालाई ३० डलरको चेक काट्न लगायो । त्यसलाई रोकेर तुरुन्तै पचास डलरको चेक काट्ने आदेश दियो । ती महिला सरकारी जागिरे थिइन् । उनले चलाखीपूर्ण प्रश्न गरिन्, 'कसको नाममा चेक काटौं ?'
'चार्ली ए मेरिवेदर !' उसले आफ्नो असली नाम बतायो, 'यो चेक फिर्ता भयो भने म फेरि आउँछु नि ! त्यसैले सोचेर काट्नू ।' त्यसको केही घन्टामै चार्ली पक्राउ पर्‍यो ।
काग बाठो हुँदा
१९७७ मा एउटा चोर चलाखीपूर्ण ठगी गर्ने उद्देश्यले एउटा सुपरमार्केटमा छिर्‍यो । सामानले झोला भरिएपछि ऊ पैसा तिर्ने क्यास काउन्टरमा पुग्यो । त्यहाँ उसले दस पाउन्ड राख्यो र सामान बोकेर टाप कस्यो । उसले झोलाभरि राखेका सामानको जम्मा रकम चार पाउन्ड रहेछ । बढी बाठो हुँदा उसले उल्टै ६ पाउन्ड गुमाउनुपर्‍यो ।
हेल्मेटमा लेखिएको हुनाले
क्लिभ वुनयान इंग्ल्यान्डको एक स्टोरमा प्रवेश गर्‍यो । पसलेबाट उसले त्यतिवेलासम्म जम्मा भएको १५७ पाउन्ड लुटेर मोटरसाइकलमा भाग्यो । उसले आफ्नो अनुहार ढाक्न हेल्मेट लगाएको थियो । हेल्मेटले गर्दा आफ्नो पहिचान खुल्दैन भन्नेमा ऊ ढुक्क थियो । तर, उसले बिर्सेछ- त्यो हेल्टममा एक इन्च लामो अक्षरमा लेखिएको थियो- 'क्लिभ वुनयान ड्राइभर' अर्थात् उसको आफ्नै नाम । पछि ऊ पक्राउ पर्‍यो । उसलाई दुई सय घन्टा सामुदायिक सेवा गर्ने दण्ड दिइयो ।
निकृष्ट वकिल
ओक्लोहामामा बस्ने २५ वर्षे मार्सल जर्ज कुमिङ्सलाई डकैती गर्ने मनसायले एक सपिङ सेन्टरको भित्ता कोरेको र लुछेको अभियोग लाग्यो । जनवरीमा हुने पुर्पक्षका बेला उसले आफ्नो बहस पैरवी आफै गर्ने निधो गर्‍यो । पीडित व्यक्तिसँग कुमिङ्ले सोध्यो- 'मैले तिम्रो पर्स लिने बेला तिमीले मलाई देखेका थियौ त ?' यसरी, आफ्नो पोल आफै खोल्यो । त्यसपछि आफ्नो प्रतिरक्षार्थ उसले अर्कै वकिलको खोजी गर्‍यो, तर त्यतिवेलासम्म ढिलो भइसकेको थियो । उसको अभियोग प्रमाणित भएर उसलाई १० वर्षका लागि जेलसजाय सुनाइसकिएको थियो ।
तित्राको मुखै बैरी
डेनिस न्युटन १९८५ मा ओक्लोहामा सहरमा एक सशस्त्र डकैती गरेको मुद्दामा पुर्पक्षका लागि थुनिएको थियो । सहायक जिल्ला न्यायाधिवक्ता लारी जोन्सले एकजना साक्षी, डकैती गरिएको पसलकी सुपरभाइजरलाई डाँकालाई चिन्न भने । जब उनले प्रतिवादीतिर औंलो ठड्याइन्, न्युटन उफ्रियो र साक्षीले झुटो बोलेको भन्दै प्रतिवाद गर्‍यो- 'त्यतिवेला डकैती गर्नेमध्ये म भएको भए मैले त्यतिबेलै तिम्रो गर्धन छिनाइसक्या हुन्थेँ ।' अदालतले उसलाई ३० वर्षको जेल सजाय तोकेको फैसला गर्‍यो ।
किन रोइस् मंगले
१९८९ मा क्यालिफोर्नियामा स्टेफेन ली र दुई युवक मिलेर पार्किङमा राखिएको ट्रक लुटपाट गर्ने कोसिस गरे । तर, त्यस ट्रकधनीले उनीहरूलाई बीचैमा देख्यो र समात्नका लागि लखेट्यो । ली र उसको साथी एउटा रूख चढेर भागे । तर, अभागी ठिटाहरू ! त्यो ठाउँ सान क्युनटिन जेल परिसरभित्र पर्थ्यो । उनीहरूमाथि मुद्दा हालियो । तर, त्यो कहिल्यै अनुसन्धानको विषय बनेन । चोरहरू आफै जेल क्षेत्रभित्र पसेको सो घटनालाई बिरलै घटनाको रूपमा लिइन्छ ।
आफ्नै खुट्टामा गोली
फेबु्रअरी २००४मा न्युयोर्कका चार्लास टेलिभिजन चोर्ने नियतले एक बारमा पस्यो, तर तुरुन्तै बाहिरियो । रात केही बितेपछि ऊ फेरि सोही बारमा चोर्ने उद्देश्यले छानाबाट भित्र छिर्‍यो । यसपटक उसँग हातमा पेस्तोल पनि थियो । ऊ छानाबाट चिप्लियो । त्यस क्रममा उसले बोकिराखेको पेस्तोल पड्किँदा दाहिने खुट्टामा गोली लाग्न पुग्यो । ऊ सरासर घर गयो, तर आफूले रगतको टाटा छोड्दै आएको भने याद गरेन । ऊ पक्राउ पर्‍यो । त्यहाँ उनीहरूले चोरिएको टेलिभिजन पनि बरामद गरे ।

No comments: