Apr 17, 2010

वीर्य उत्पादन घटाउँछ सफ्ट ड्रिङसले

दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य कमी भएको अनुसन्धानले पत्ता लगाएको छ । गर्मी बढ्न थालेपछि चिसो पेय सबैका प्रीय बन्न थाल्छन् । महिला, पुरुष र बालबालिका सबैको रोजाइमा पर्छ कोल्ड ड्रिङस ।
तर, खाँदा मीठो भए पनि सफ्ट ड्रिङस अस्वस्थ्यकर हुने विभिन्न अध्ययनले देखाउँदै आएका छन् । एक अध्ययनअनुसार दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य उत्पादनमा नकारात्मक असर गर्छ ।
डेनमार्कमा गरिएको सो अध्ययन अनुसन्धानकर्ताका अनुसार दैनिक एक लिटर कोला पिउने पुरुषको वीर्य उत्पादनमा ३० प्रतिशतले कमी आउँछ । थोरै वीर्य उत्पादन हुँदा पुरुषको सन्तानोत्पादन क्षमतामा असर पर्छ ।
अनुसन्धानकर्ताले कोलाले पुरुषको प्रजनन स्वास्थ्यमा गर्ने असरबारेमा अध्ययन गरेका थिए । अध्ययनमा दुई हजार पाँच सय पुरुषलाई सहभागी गराइएको थियो । अनुसन्धानमा सफ्ट ड्रिङस नपिउने पुरुषको वीर्यको स्तर उच्च भएको पाइयो । कोला नपिउने पुरुषको प्रत्येक मिलिलिटर सिमनमा पाँच करोड वीर्य भेटियो । कोला नपिउने पुरुषको जीवनशैली पनि स्वस्थकर भएको अनुसन्धानले पत्ता लगाएको छ ।
तर, यता दैनिक एक लिटरजति कोला पिउने पुरुषको वीर्य कमी भएको अनुसन्धानले पत्ता लगाएको छ । दैनिक कोला पिउने पुरुषको प्रत्येक मिलिमिटर सिमनमा जम्मा तीन करोड ५० लाख वीर्यमात्र पाइएको अनुसन्धाताले बताएका छन् । यसैगरी, अत्यधिक कोला पिउने पुरुषको जीवनशैली पनि अस्वस्थकर रहेको पाइएको छ । उनीहरूले धेरै फास्टफुड खाने, थोरै फलफूल र हरियो तरकारी खाने गरेको पाइएको छ ।
कोला लगायत सफ्ट ड्रिङसमा पाइने क्याफिनले पुरुषको वीर्यको गुणस्तर न्यून बनाउने सम्बन्धमा अहिले ठोकुवा गर्न नमिल्ने अनुसन्धानकर्ता डा. टिना कोल्ड जेनसन बताउँछिन् । क्याफिनले पुरुषको प्रजनन स्वास्थ्यबारेमा गर्ने असरबारेमा ज्यादै थोरै अध्ययन भएकाले क्याफिनलाई यसको सम्पूर्ण दोष दिन नमिल्ने उनको तर्क छ ।
त्यसैले यससम्बन्धमा थप अध्ययन गरिनुपर्ने उनको भनाइ छ । 'तर, अत्यधिक कोला पिउने पुरुष अन्य पुरुषको तुलनामा धेरै फरक रहेको हामीले अनुसन्धानमा पायौँ,' कोपेनहेगन स्थित रिग्स हस्पिटलकी चिकित्सक टिना भन्छिन् । यस अनुसन्धानको प्रतिवेदन अमेरिकन जर्नल अफ इपिडिमियोलोजीमा छापिएको छ ।
कोलासहित अन्य सफ्ट ड्रिङसले पुरुषको वीर्यको उत्पादन र गुणस्तरमा मात्र कमी ल्याउँदैन । यसले मोटोपना, चिनी रोगजस्ता थुप्रै रोग निम्त्याउने अनुसन्धानले पत्ता लगाएका छन् ।
१९९८ मा अमेरिकाको सेन्टर फर साइन्स इन पब्लिक इन्टे्रस्टले गरेको अध्ययन प्रतिवेदन 'लिक्विड क्यान्डी : हाउ सफ्ट ड्रिङस आर हार्मिङ अमेरिकन्स हेल्थ' मा बच्चाद्वारा सफ्ट ड्रिङसको उच्च सेवन र यसले स्वास्थ्यमा पार्ने अवसरबारेमा उल्लेख गरिएको छ । सफ्ट डि्रंक्स धेरै सेवन गर्ने बच्चाको दाँत सड्ने, पोषणको कमीबाट हुने रोग लाग्ने, मोटोपना र मुटु रोग लाग्ने जोखिम बढी हुने प्रतिवेदनमा भनिएको छ । सफ्ट ड्रिङसको बढ्दो प्रयोग घटाउन पनि प्रतिवेदनले आग्रह गरेको छ ।
अमेरिकामा पाँच सय ४८ स्कुले विद्यार्थीलाई १९ महिना लगाएर गरिएको अध्ययनअनुसार कोला लगायतका सफ्ट ड्रिङसले शरीरको मोटाइ बढाउँछ । अध्ययनअनुसार बच्चाले दैनिक लिने हरेक सफ्ट ड्रिङसले ० दशमलव २४ केजी तौल बढाउँछ । अमेरिकी बालबालिकामा रहेको उच्च मोटोपनाको कारण सफ्ट ड्रिङसलगायत फास्टफुड र जंकफुडको अत्यधिक सेवन मानिएको छ ।
यसैगरी, सफ्ट ड्रिङस र मोटोपना सम्बन्धमा आठ वर्ष लगाएर ५० हजार महिला नर्समा अध्ययन गरिएको छ । अध्ययनअनुसार दैनिक सफ्ट ड्रिङस पिउने महिलाको तौल अध्ययन अवधिमा आठ केजी बढयो । तर, कहिलेकाहीं मात्र पिउने वा सफ्ट ड्रिङस पिउन कम गर्दै लगेका महिलाको तौल आठ वर्षमा केवल २ दशमलव आठ केजी मात्र बढेको पाइयो ।

No comments: