स्वप्नील स्मृति
सयुक्त कविता सङ्ग्रह आस्थाको विम्ब झण्डै एक महिनादेखि मेरो कोठामा थन्किएको छ । समीक्षार्थ यसलाई पढेर टिपोट गरेको पनि झण्डै दुई हप्ता भएको छ । तर म यसलाई पहिले लेख्ने कि अन्यलाई भनेर दोधारमा छु । किनकि मलाई राम्रा लागेका अन्य कृतिहरु 'क्यू'मा लागेका उहिले नै हुन् । प्रगति मुकारुङको वादी विज्ञप्ती पूर्ण इन्फादाको अभिलेख अवशेष मिजास तेम्बेको अर्थ अवतरण केशव सिलवालको धारिला मानिसहरुलगायत थुप्रै थाक कृतिहरु थान्को लागेर बसेको धेरै भएको छ । भूपिन ब्याकुलको हजार वर्षको निद्रा प्रकाश छाङ्छा राईको पुल तरेपछि हराएको मान्छे गीतसङ्ग्रह ईश्वर चाम्लिङको स्पन्दित प्रवाश नरेश नातिको बाटो खोज्दाखोज्दै कुल रुनाहाङको रिसिया अर्को नाहाङको र प्रकाश आङ्देम्बेको नाटक सङ्ग्रह सृष्टिप्रलयको सङ्घारमा…।अरु पनि उल्लेखनीय कृतिहरु सप्रेम प्राप्त भएका छन् यिनीहरुमाथि कुनै न कुनै कारणले मैले लेख्नु छ । अघिल्लो महिना मैले ४२ केजी किताब कवाडीमा बेचेको थिएँ त्यसमा भरसक 'राम्रा र हाम्रा'जति किताब जोगाएँ । त्यो किताबमाथिको न्याय पक्कै थिएन तर मेरो ठहर खराब किताब पढ्नु खराब लेखनतिर अग्रसर हुनु हो । कमजोर किताब पढ्नु कमजोर लेखनतिर अग्रसर हुनु हो । त्यसैले ती किताब बिक्री गरेँ र आएको दामले मनपर्ने अर्को किताब किनेँ । त्यस किताबमाथि पनि बोल्ने मन छ लेख्ने सुर छ तर सुर गर्दागर्दै त्यो कृति कतै 'पुरानो' भइसकेको हो कि जस्तो पनि लाग्छ । त्यसैले लेख्नु भनेको छिटो लेख्नु पनि रहेछ । म लेख्न सिक्दै गर्दा बीचमा लेख्नै छोडिदिएको लेखक हुँ । लेखनमा 'जबर्जस्ती' गर्न मन पर्दैन । लेख्न छोडेको चार वर्ष बितिसकेको छ । २०६२ सालमा प्रकाशन भएको कविता सङ्ग्रह रङ्गैरङ्गको भीर पढेर धेरैले प्रशंसा गरे ती प्रशंसा धेरै त सहानुभूति थिए र थिए प्रशंसाका भोकाहरुले ऋण लगाएका । ती प्रशंसामा कुटनीतिको गन्ध पनि पाउँथे म । तर त्यैकारणले लेख्न छोडेको चाहिँ होइन मैले । केही दिनअघि बरिश्ठ समालोचक डा। गोविन्दराज भट्टराईज्यूको निवाशमा कामवश म पुगेको थिएँ उहाँले भन्नुभो 'लेख्नुपर्छ लेखनमा पाँच वर्षको अन्तर आए लेखक मर्छ ।' उहाँका कथन कृति प्रकाशनको अन्तरा पाँच वर्ष भयो भने कसको पाण्डुलिपि चोरेर ल्यायो भन्ने आरोप लाग्छ भन्ने थियो । केही दिनअघि चर्चित कवि मन्जुल दाइसँग भेट भो उहाँले भन्नु भो 'आउँदा मात्र लेख्ने होइन कवितालाई बोलाउनु पनि पर्छ ।' लेखक कसरी लेख्छ सायद यस प्रश्नको जवाफ छ त्यहाँ । तर मलाई अझै ढिपी गर्न मन लाग्छ लेखक किन लेख्छ ? मेरा अनन्य मित्र धर्मेन्द्रविक्रम नेम्बाङका कृतिहरु पढ्छु, लाग्छ लेखन बेकार छ । कमसेकम मैले चाहिँ लेख्नु हुन्न । भाइ चन्द्रवीरको साहित्यिक रिपोर्टिङको धपेडी देख्छु, लेखक चुप लागेर बस्नुहुन्न । दाजु समदर्शी काइँला दुवइमा छन् फेसबुकमा साहित्य-क्रान्ति गरिरहेका छन् । विमिल जी उदयपुर पुगेका छन्, चेवन श्री रङ्गवादको व्यानरमा तर्कवादको दार्शनिक उल्कापात गरिरहेका छन् । प्रकाश आङ्देम्बे फेसबुकमा लेख्छन् 'कवि जी कता हराएको क्याविनतिर हो मलाई पनि लैजानु है ।' यस्तै भए पनि प्रकाश लेखिरहेका छन् । के लेख्नु जीवन हो ? सायद म यो सिद्धान्तसँग अब धेरै सहमत छु । केही साथीहरुले हल्ला फैलाएका छन् 'स्वप्नील बिगि्रसक्यो उसले लेख्दैन ।' हल्लाको पनि निकै असर पर्दोरहेछ । किनभने जो भेट्यो उसैले मलाई सोध्छ, आजकल कतातिर हो भेट नै हुँदैन । धेरैले त नामै स्वर्गीय त्यस्तै हो नि भनेर पनि उडाउँछन् । मलाई लाग्छ उनीहरु लेख्नुलाई चानचुने कुरा ठान्छन् । तर मलाई त्यस्तो लाग्दैन, लेख्नु कहिलेकाहीँ इतिहासमा अनिवार्य भएर आउँछ त्यतिखेर खुट्टा कमाउनेहरु अन्यबेला सामान्यत प्रशस्त नै लेख्छन् । म त भन्छु, राज्यले जब तिम्रो लेखको छाँटकाँट गर्नथाल्छ त्यतिखेर लेख, अरुबेला त जसले पनि लेख्छ । म आजकल निकै व्यस्त छु किनभने फुस्रद नै फुस्रद छ । साथीहरु भन्छन् फुस्रदमा लेखेको उपन्यास कविता कथा…मलाई लाग्छ फुस्रदको अर्को नाम लेख्नु होइन । तर जोजो लेखिरहेका छन् किताब निकालिरहेका छन् बजार धाइरहेका छन् अखबारका हाउसमा ट्वाइलेट गएका सम्पादकलाई ढोकानेरै जुत्ता बोकेर कुरिरहेका छन् उनीहरुप्रति मेरो सम्मान छ । किनभने उनीहरुले के लेखिरहेका छन् नलेखे पनि म पढिरहेको छु । नबुझे पनि टाउको हल्लाइरहेको छु । उनीहरुले नलेखे साहित्य कसरी अघि बढ्छ ? म्याक्सीम गोर्कीले कहिँकतै भनेका छन् संसारमा एउटै मात्र कथा लेखिएको छ अन्य लेखकले त्यसैलाई दोहोर्याइरहेका छन् । धेरै कृतिहरु पढ्दा मलाई यस्तै लाग्छ पहिले नै कतै लेखिसकिएका हुन् कि ! गोर्कीसँग सहमत हुने-नहुने कुरा एक ठाउँमा छ अर्को अति पनि छ कसैले नलेखेको लेख्ने दुश्साहस त्यो कतिको सम्भव छ त्यो त लेख्नेलाई सोध्नुपर्छ । मैले कवि कुमार लिङ्देनको एउटा कविता पढेको थिएँ इतिहासको पन्नामा चेप्टिएर मरेरे झींगाको अमर हुने इच्छा । यो प्रसङ्ग जोड्नुको अर्थ हो कतिपय लेखक इतिहासमा अमर हुने चाहनामा लेखिरहेका छन् । मलाई लाग्छ त्यसरी लेख्न खोज्नु सबैभन्दा खत्तरनाक कुरा हो । मरेपछिसमेत अमर हुने चाहना राख्ने वर्तमानमा पक्कै पनि बढ्ता स्वार्थी नै हुन्छ । लेखेपछि अमर भइन्छ भन्ने सामान्यतया केटाकेटी लेखकलाई दिइने भ्रम हो । यो जबर्जस्ती लेखक हुने कुरा हो । लेख्दैमा कोही लेखक हुने पनि होइन नलेख्दैमा कोही अमर नहुने पनि होइन 'अमर' भन्ने आगामी समयको खाँचो र 'मेमोरी पावर'मा भर पर्ने कुरा हो । मलाई लाग्छ लेखन एउटा बाध्यता हो । जब नलेखी नसक्ने भइन्छ मान्छे तब लेखिन्छ । अनूभूतिको उत्कर्ष लेखन हो । कुनै पनि निष्कर्षको अभिलेखीकरण व्याख्या पुष्ट्याइँ नै लेखन हो । तर लेखन अहिले मानवीय इच्छा चाहना रणनीति व्यापार राजनीतिलगायत धेरै पक्षसँग जोडिएर आएको छ । नियोजित लेखनको बोलवाला बढ्दै आएको छ । लेखनमा इमान्दारिता देखिएको छैन । वर्तमानलाई इमान्दार लेख्नु नै आगामी पुस्तालाई सही अभिलेख दिनु हो । रणनीतिकतवरले लेख्नु अथवा झुटो कुरा लेख्नु जाली तमसुक लेख्नुजस्तै हो । त्यो कुनै दिन पाठकले अवश्य च्यात्छ ।
No comments:
Post a Comment