सिर्जना सुब्बा
आज पहिलो पटक नेपालको इतिहासमा किरात चाँड उधौलीको उपलक्षमा राष्ट्रिय विदा सबै नेपालीले पाए । यो उधौली चाँड किराती समुदायले मनाउने गर्छन् र जाती समुदाय अनुसार यसलाई विभिन्न नामले चिनिन्छ । यस उधौली पर्वलाई लिम्बूहरुले चासोक भन्ने गर्दछन् भने, खम्बु (र्राई) हरुले यसलाई साकेला, याक्खाहरुले यसलाई चासुवा र सुनुवारहरुले फोलष्यादर भन्ने गर्दछन् । नेपालीमा यस पर्वलाई न्वाँगी पूजा वा मंसिर पूर्णे भनेर प्रचलित छ ।उधौली वा मंसिर पूर्णे वा न्वाँगी पूजा वा अन्य नाम जे सुकै भनिएता पनि किरातीहरुले परापूर्व काल देखि मानिआएको यस पर्वमा मुख्य गरी भूमी र प्रकृतिलाई पूजा र्ने काम गरिन्छ । खास गरी भूमीमा फलेको अन्नबालीलाई आफूले खनुभन्दा पहिले भूमी, प्रकृति र देवदेवतालाई अन्नपात दिएकोमा धन्यवाद दिई उनीहरुलाई खुशी तुल्याइ सधै त्यस किसिमको कृपा गरुन् भनी चढाइन्छ अनि मात्र आफूले खाइन्छ ।लिम्बूहरुमा चासोक पूजा विभिन्न किसिमले गर्ने गरिन्छ । तर विभिन्न किसिमले पूजा गरे पनि यसको प्रमुख जुन माथि उल्लेख गरिएको छ त्यो गरिनै पर्दछ । यस बाहेक, चासोक पूजामा बीऊ रोप्दा, गोड्दा र फल लाग्दा सम्म जमीनमा भएका विभिन्न किसिमका जीव, किरा-फट्याङ्ग्रा मारिन्छ र ती ज्यानका बदलामा आएको अन्नपातको लागि ती जमीनमा बस्ने जीवजन्तु र किरा-फट्याङ्ग्रालाइ पनि धन्यवाद दिइन्छ । प्रकृतिमा भएका अन्य जीवनको र उसको जीवनले मानिसको लागि दिएको अन्नपातको लागि पनि चासोक पूजा गरिन्छ । अन्नपात फलाउँदा विभिन्न किसिमका औजारहरुको प्रयोग गरिन्छ र चासोक पूजामा ती औजारहरुको पनि पूजा गरिन्छ । यसरी मानिस र उसले गरेको सृजनाको लागि पनि चासोक पूजा गरिन्छ । पूजा गर्ने क्रममा वनजंगल, भूमी र पानीका देवदेवतालाई पहिला पूजेर खुशी बनाइन्छ अनि त्यसपछि घर भित्र बस्ने युमा-थेबा (बाजे-बोजु देवता) लाई पूजा गरिन्छ ।चासोक पूजा गर्दा मानव विकासको चरणहरु पनि देख्न सकिन्छ । पूजा गर्दा सबभन्दा पहिलो काँचो, त्यसपछि आगोमा पोलेको र अन्तमा पानी हालेर भाँडोमा पकाएको अन्न देवतालाई चढाउने चलनले मानव विकासको इतिहासलाई पनि बताउँदछ । चासोक पूजामा विशेषगरी धान, चामल, अदुवा, जाँड, मर्चा आदि चिजहरु चढाइन्छ । यी वस्तुहरु नचढाइ खाएको खण्डमा देवा लाग्छ वा देवताले मुख बाङ्गो परिदिन्छ, हातखुट्टा नचल्ने बनाइदिन्छ भन्ने मान्यता रहेको छ । गाउँघरमा यस्तो हुने गरेको पनि देखिन्छ र फेदाङ्माले क्षमा मागी पूजा गरेपछि मात्र ठिक हुने गरेको देखिन्छ ।कृषिमा आधारित जीवन पद्धती छाडेर विभिन्न खाले पेशा अपनाएर राजधानीमा बसेका लिम्बू लागयत अन्य किरातीहरुका लागि नयाँ बालि चढाएर मात्र नयाँ अन्न खानु अप्ट्यारो कुरा हो । तर समयसंगको परिवर्त्तनलाई अंगाल्दै नयाँ परिवेशमा नयाँ किसिमले चासोक मनाउनु पनि एउटा राम्रो परम्पराको थालनी गर्नु हो । गाँउघरमा मनाएको चासोकलाई सामूहिक रुपमा मनाउदै, विभिन्न अनुष्ठान गर्नु र मेला लगाई एकै ठाउँमा नाँचगान गर्नुले अर्को किसिमको रौनकता ल्याएको छ । यस खाले आदिवासीका चाढले राष्ट्रिय मान्यता पाउँदा यसको महत्वमा फरक परेको छ र आफ्नो मौलिक सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने होड पनि चलेको छ । मानव जातिको निम्ति प्रकृतिलाई सम्मान गर्ने यस खाले चाढको संरक्षण संम्बद्धन गर्न हामी सबैको कर्तव्य हुन आउछ ।
No comments:
Post a Comment