Mar 27, 2010

निद्रा र घुर्ने समस्या

घुर्ने आम समस्या हो । घुर्ने समस्या कुनै न कुनै समय वा उमेरमा जो-कसैलाई पनि हुने गर्छ । कहिलेकाहीँ घुर्नु गम्भीर समस्या होइन । तर, मोटा मान्छेमा यो समस्या बढी हुने गर्छ । ४५ प्रतिशत वयस्क कहिलेकाहीँ घुर्ने गर्छन् । तर, २५ प्रतिशतमा नियमित घुर्ने समस्या रहेको अध्ययनले देखाएको छ । घुर्ने समस्या ठूलो वा गम्भीर प्रकृतिको समस्या नभए पनि सँगै सुतेकालाई त्यसले ठूलै समस्या हुन्छ । तर, नियमित घुर्नेले आफ्नो सँगै सुत्नेलाई मात्र डिस्टर्ब गर्दैन, ऊ आफैँले पनि राम्ररी निद्रा पाएको हुँदैन । सुतेर उठ्दा ऊ लखतरान देखिन्छ । आराम गरेर उठेको मानिस स्फूर्त हुनुपर्नेमा लखतरान हुनु स्वास्थ्यको दृष्टिले पनि राम्रो होइन । त्यस्ता समस्या भए चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ ।
किन घुर्छ मानिस ?
श्वास-प्रश्वासमा अवरोध हुँदा मान्छे घुर्ने गर्छ । मुख तथा नाकबाट श्वास लिँदा तथा बाहिर फाल्दा अवरोध भए मानिस घुर्छ । श्वास फेर्दा सहज तरिकाबाट श्वास लिन र छाड्न नसक्दा घाँटीका भित्तामा कम्पन हुन्छ । श्वास-प्रश्वासमा अवरोध गराउने केही तत्त्व हुन्छन् ।
नाकको प्वालमा अवरोध : यदि, नाकको प्वाल वा त्यसको नलीमा केही वस्तु अड्किएर अवरोध पुर्‍यायो भने सुतिरहेको वेला श्वास फेर्न अतिरिक्त कोसिस गर्नुपर्ने हुन्छ । यसले कण्ठको अति कमला र अडिग रूपमा नबस्ने तन्तुलाई एकै ठाउँमा खिच्छ वा तिनलाई ध्वस्त पार्छ अनि मानिस घुर्छ । पिनासको संक्रमण भएका मानिस एलर्जी हुने याममा मात्रै घुर्छन् । एक नासिकाबाट अर्को नासिकालाई छुटयाउने भित्ताको संरचना बिग्रन गएमा वा नासिकाको पोलिप्स (उयथिउक) ले पनि अवरोध उत्पन्न गर्न सक्छ र निद्रामा समस्या आउन सक्छ ।
जिब्रो तथा घाँटीका मांशपेसीको खराब ध्वनि : कण्ठ तथा जिब्रोका मांशपेसी धेरै लचिला भए भने या ती नासिने या वायुनलीतिर र्फकने सम्भावना हुन्छ । गहिरो निद्रा, रक्सीको नसा वा निद्रा लाग्ने औषधि खाएका कारण यस्तो हुन्छ । सामान्य बुढयौलीमा पनि यस्ता मांशपेसी खुकुला बन्छन् र घुराइको कारण बन्न सक्छन् ।
घाँटीका तन्तु मोटा भएमा : बढी वजन हुने व्यक्तिको घाँटीका तन्तु मोटा हुन्छन् । ठूला टन्सिल भएका वा नाकका पोरा ठूला भएका बालबालिका प्रायःजसो घुर्छन् ।
नरम तालु वा किलकिले लामो भएमा : लामा नरम तालु वा किलकिले लामो भएमा त्यसले नाकदेखि मुखसम्म जाने नलीलाई साँघुरो बनाइदिन्छ । निदाएको वेला यी संरचनामा कम्पन उत्पन्न हुँदा वा एक-अर्कोमा टकराउँदा वायुनलीमा अवरोध उत्पन्न भई मानिस घुर्न थाल्छ ।
के-के खतरा हुन्छ ?
घुर्ने बानी परेका व्यक्तिको स्वास्थ्य गम्भीर खतरामा हुन सक्छ । सुताइमा अवरोध खडा हुनु एकप्रकारको बिरामी हुनु हो र यो प्रायःजसो विकृत घुराइसँग सम्बन्धित हुन्छ । यस्तो अवस्थाले कैयौँ समस्या खडा गर्छ । जस्तैः निदाएको वेला दस सेकेन्डभन्दा बढी समयसमम श्वास फेराइमा लामो अवरोध भएमा श्वासनलीमा आंशिक वा पूर्ण अवरोध आउन सक्छ । यस्तो गम्भीर अवरोध रातभरिमा सयौँचोटि पनि हुन सक्छ ।
आफूलाई थाहा नभए पनि निद्राबाट बारबार ब्युँतने समस्या हुन सक्छ । अवरोध उत्पन्न भई निद्रामा घुर्नेहरू हलुका मात्र सुत्न सक्छन् किनभने तिनलाई निरन्तर वायुप्रवाहका लागि आफ्नो घाँटीका मांशपेसी तन्काइराख्नु आवश्यक हुन्छ । धेरैजसो, रगतमा अक्सिजनको मात्रा कम हुन्छ । यसले गर्दा मुटु बेस्सरी चल्नुपर्ने हुन्छ र रक्तचाप बढ्न जान्छ । यसले छटपटी हुनुका साथै निद्रा लाग्दैन । दिनभरि आलश्य हुन्छ र व्यक्तिको जीवनको गुणस्तरमा नकारात्मक असर पार्छ । लिामो समयम्म यस्तो अवरोध रहिरहयो भने रक्तचाप बढ्दै जान्छ अनि मुटुको आकार ठूलो हुन सक्छ र हृदयाघात हुने एकदमै खतरा हुन्छ ।

No comments: