Mar 24, 2010

हिटलरका दस रोचक तथ्य


'मानवतावाद मूर्खता र कायरताको अभिव्यक्ति हो,' संसारलाई दोस्रो विश्वयुद्धको कोसेली दिने नेसनल सोसलिस्ट पार्टीका नेता नाजी तानाशाह हिटलरको भनाइ हो यो । उनी १९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर थिए । यी खलनायकबारे अहिलेसम्म सर्वसाधारणको जानकारीमा नआएका दस रोचक तथ्य यहाँ प्रस्तुत छन्:
करोडौं मानिसको ज्यान लिने हिटलर स्वयं भने शाकाहारी थिए । कुनै पनि नसाको लत नभएका हिटलरलाई स्पीड अर्थात् तीव्र गतिमा भने निकै गहिरो मोह थियो ।
हिटलरले १६ वर्षकै उमेरमा विद्यालय जान छाडे । उनका बाबुले उनलाई भन्सारको जागिरमा लगाउन खोजेका थिए, तर उनी भने पेन्टर बन्न चाहन्थे । बाबु मरेपछि हिटलर भियना गए । पेन्टिङको औपचारिक शिक्षा लिन उनले प्रवेश परीक्षा दिएका थिए, तर फेल भए । निराशाको वेला उनी कफी हाउस र सडकतिर जान्थे, जहाँ उनको भेट राजनीति गर्नेहरूसँग हुन्थ्यो । यसले उनमा राजनीतिप्रति रुचि उत्पन्न गरायो ।

बाबुको सम्पत्ति सकिएपछि हिटलरलाई पैसाको अभाव हुन थाल्यो । नपढेकाले गतिलो काम पनि पाउने कुरा भएन । पत्रपत्रिकामा लेखेर गुजारा चलाउन थाले । विस्तारै उनको राजनीतिमा दख्खल बढ्दै गयो । सम्पर्क र लेखनकै माध्यमबाट उनले घर र गाडीको जोगाड गर्न सके ।
हिटलरमा आफ्नो भाषणले श्रोतालाई मन्त्रमुग्ध पार्नसक्ने क्षमता थियो । उनको भाषण सुनेर मानिस भावुक बन्थे, उत्तेजित हुन्थे । उनी भाषणको पूर्वाभ्यास (रिहर्सल) गर्थे । रिचर्ड वाग्नरको ओपेरा वा संगीतका बारेमा उनी बोल्न थाले भने कसैले पनि उनलाई रोक्न सक्दैनथ्यो ।
हिटलरको हस्तलिपि बडो सफा र सुन्दर थिए । तर, उनी सुझबुझका साथ विचारबद्ध भएर लेख्न भने जान्दैनथे । उनको आत्मकथा 'मेन क्याम्फ' पढ्नेहरू यस्तै भन्छन् ।
हिटलर चलचित्र र पेस्ट्रीका निकै सोखिन थिए । उनी निजी थिएटरमा नियमित रूपमा फिल्म हेर्ने गर्थे । उनलाई कमेडी फिल्म मन पथ्र्यो । बढी मात्रामा उनी जर्मनका लागि प्रतिबन्ध लगाइएका विदेशी फिल्म हेर्थे । सर्कसका करामत उनलाई निकै रमाइलो लाग्थ्यो । उनी वेला-वेला सर्कसका कलाकारलाई चकलेट, पेस्ट्री र फूल उपहार दिने गर्थे । उनलाई जिप्सी संगीत मन पथ्र्यो, उनी वाग्नरका पुजारी थिए ।
उनलाई खेलकुद र व्यायाममा कुनै रुचि थिएन । कहिलेकाहीँ हिँडडुल भने गर्थे ।
आफैँ भएको न्युजरिल हेर्न उनलाई निकै मन पथ्र्यो । राजनीतिक प्रचारका लागि उनले सुरु- सुरुमा रेडियो प्रसारण, र्‍याली, लाउडस्पिकरको प्रयोग गरेका थिए । हिटलर विश्वकै पहिलो यस्ता राष्ट्रप्रमुख हुन्, जसको निजी हवाईजहाज थियो र पाइलट पनि ।
अहिले पनि विश्वप्रख्यात मानिने अमेरिकी म्यागेजिन 'टाइम' ले उनलाई १९३८ को 'वर्षपुरुष' घोषणा गरेको थियो ।
घरपरिवार तथा बिहेजस्ता कुरामा हिटलरको कुनै रुचि थिएन । तीबाट उनी टाढै बस्थे । हिटलरको मृत्यु ३० अपि्रल १९४५ मा बर्लिनमा संदिग्ध अवस्थामा भएको थियो र ठीक अघिल्लो दिन इवा ब्राउनसँग उनले बिहे गरेका थिए । उनले आफ्नो पाल्तु कुकुरसँगै साइनाइड नामक विष खाएर आत्महत्या गरेका थिए ।

No comments: