Mar 5, 2010

बढ्यो यौन उन्माद

पश्चिमा खुला समाज र डिजिटल प्रविधिको सुविधाबाट प्रेरित नेपाली युवाहरू आफ्नै अश्लील भिडियो रेकर्ड गरी आनन्द लिँदैछन् । सहरिया तन्नेरीहरू मात्र होइन, ग्रामीण युवायुवतीहरूसमेत यौन स्वच्छन्दताको राजमार्गमा खुला विचरण गरिरहेका छन् । साइबर क्याफेको च्याटको कुनो, फेसबुकमार्फत फोन साटासाट गरेर घण्टौं फोनसेक्समा आनन्द लिनेहरू पनि छन् । रातभर वेबक्यामको सहायताले भिडियो सेक्सको आनन्द लिने, घण्टौं पोर्नोसाइट एवं आफ्नै अश्लील चलचित्रको स्वादमा लिप्त रहने युवायुवतीको संख्या बढ्दै गएको छ । यौनसम्बन्धलाई शारीरिक प्यास मेटाउने माध्यमका रूपमा मात्र लिनेहरूको जमात बढिरहेको छ ।
डान्सबार र रेस्टुराँहरूमा पुग्ने र स्टेजमा नर्तकीले लुगा फुकाल्दै जाँदा जिब्रो टोक्ने नेपाली युवाहरू नेपाली जोडीको रतिक्रीडा हेर्दै रमाउन थालेका छन् । उनीहरू पश्चिमा शैलीका अश्लील भिडियोहरूभन्दा लजालु नेपाली युवतीसँग रेकर्ड गरिएका अश्लील चलचित्रतिर आकषिर्त हुँदैछन् । यस्ता चलचित्र केही नितान्त व्यक्तिगत मनोरञ्जन र केही व्यवसायिक हिसाबले बनाइएका छन्, जसलाई डिजिटलमय प्रविधिले सबैको हातहातमा पुर्‍याएको छ । एक दशकअघि लुकीलुकी अश्लील चलचित्र हेर्ने नेपालीहरूका कम्प्युटरका हार्डडिक्स, मोबाइल र आइपोडको मेमोरीमा आफ्नै अनुहारका यस्ता चलचित्र प्रशस्त भेटिन थालेका छन् । लुकीलुकी यस्ता चलचित्र बनाउने र शयनकक्षमा त्यसकै सिको गर्नेहरू पनि बढ्दैछन् । यौन र विवाह भन्ने कुरा अहिलेको जोडीलाई धेरै महत्त्वको विषय रहेन । यौनसम्बन्ध लोग्ने वा स्वास्नीसँग मात्र राख्नुपर्ने नेपाली समाजको पुरातन मान्यतामा परिवर्तन आउन थालेको छ । नेपाली समाजमा पारपाचुके र पुनःविवाहले मान्यता पाउने क्रम पनि बढ्दैछ । कञ्चनपुरकी एक युवतीले तीन वर्षसम्म लगातार तीन जनासँग सम्बन्ध कायम गरिन् । पोखरा, काठमाडौं र धनगढीका तीन युवकसँगको सम्बन्धपछि उनले अन्ततः काठमाडौको एक युवकसँग लगनगाँठो कसिन् । उनले विवाह गरेपछि धनगढी र पोखराका युवकले आफ्नी गर्लफ्रेन्ड भएको भन्दै बेला-बेलामा भएका शारीरिक सम्बन्धहरूका बारेमा उनका पतिलाई भने, तर उनले सहज रूपमा आफूलाई हिजो जे गरेको भए पनि श्रीमतीका रूपमा स्वीकार्य रहेको बताए । यो श्रीमतीसँग हिँड्दैमा शंका गर्ने नेपाली समाजको परिवर्तित सन्दर्भको परिचायक घटना हो । 'उसले मसँग कैयौं रात बिताएकी छे । शारीरिक सम्बन्ध कति पटक भयो भन्ने गनेर साध्य छैन, तर उसको लोग्नेलाई यसको कुनै परवाह छैन,' उनका एक पूर्व ब्वाइफ्रेन्डले बताए । यस्ता घटना नेपाली समाजको बदलिएको यौनजीवनका लागि अब नौला कुरा रहेनन् । प्लस टु जीवनका दुई वर्षमा ५ जना गर्लफ्रेन्डसँग सयौँ पटक डेटिङ हिँडेका समीर पशुपतिदेखि नगरकोट हुँदै चोभारसम्म पुगेका छन् । समीर भन्छन्, 'आज एक जनासँग गइन्छ भोलि अर्कोसँग जानुपर्छ, के गर्ने एक जनासँगको सम्बन्ध 'लङ लास्टिङ' बनाउन सकिँदैन । उनको विचारमा पछिल्लो जेनेरेसन प्रेम र विवाहको मामिलामा फरक सोच राख्छ । उनको अनुभवमा टिनएजरहरूको सोचमा व्यापक परिवर्तन आएको छ । प्रेम र विवाहको परिभाषा बदलिएको छ । क्षणिक मनोरञ्जनका लागि प्रेम गर्नेहरू बढ्दै गएका छन् । राजधानीका प्लस टुदेखि स्नातक तहका क्याम्पसहरूसम्म यस्तै प्रेमको बोलवाला छ । गोदावरीमा सानो खुद्रा पसल चलाएर बसेका हरि बस्नेत प्रेम र यौनप्रति उदार बन्दै गएको नयाँ पुस्ताका बारेमा भन्छन्, 'अब एक अर्कालाई चुम्बन गर्नु, अँगालोमा कस्नु, स्पर्शमा रमाउनु नयाँ कुरा रहेन ।' उनले दैनिक ५० भन्दा बढी जोडी गोदावरी क्षेत्रका रूखहरूमा बसेर मायाप्रीति साट्ने बताउँदै भने, 'रूख र एकान्त परेका खाल्डाहरूमा चुम्बन र स्पर्शमा रमाइरहेका हुन्छन् । ६० वर्ष कटेका बस्नेतले नेपाली युवायुवतीहरूमा केही वर्षयता यस्तो खुलापन निकै बढेको बताए । पश्चिमा संस्कृतिप्रति आकषिर्त हुँदै गएको नयाँ पुस्ता यौन स्वच्छन्दताको खोजीमा छ । यौन उत्तेजक औषधीहरू सेवन गरी मसाज सेन्टर र राजधानीका कोठीहरूमा लामो समयसम्म यौनको स्वाद लिनेहरू पनि छन् । धरानका विजय सातामा दुई दिन राजधानीका यौनकेन्द्रहरूमा पुग्छन्, जसमा उनी लामो समयसम्म रतिक्रीडामा रहन औषधी सेवन गर्छन् । विजय भन्छन्, 'औषधी प्रयोग गर्दा लामो समयसम्म यौनसम्पर्क गर्न सकिन्छ ।' तर यस्ता कतिपय औषधीले यौनाङ्गलाई कमजोर एवं दुव्यर्सनी बनाउने कुरातिर भने उनी पूरै अनभिज्ञ छन् । पश्चिमी यौनजीवन र अङ्ग्रेजी चलचित्रको अन्धनक्कल गर्ने दुस्साहसी युवाजमातले दीर्घकालीन परिणामलाई भन्दा क्षणिक सन्तुष्टिलाई केन्द्रमा राख्ने हुनाले पनि धेरै युवा विजयकै बाटोमा छन् ।
यौन उदारताको परिणति
उदार यौनजीवनले नेपाली सामाजिक जीवनका हरेक पक्षमा समस्या पनि जन्माइरहेको छ । शारीरिक सम्बन्ध भैसकेपछि कैयौँ युवतीले आत्महत्याको बाटो रोजिरहेका छन् । केटाहरू पनि प्रेममा धोका खाएपछि यही बाटो पछ्याइरहेका छन् । असुरक्षित यौनसम्बन्धका कारण पछिल्लो समयमा गर्भ तुहाउनेहरू पनि बढ्न थालेका छन् । १४ वर्षका युवतीहरू पनि गर्भ तुहाउन आएको एक प्रसूति विशेषज्ञले बताए । उनले भने, 'यौन उदारताको परिणति हो यो ।' यसले पनि यौन उदारताले निम्त्याउने परिणामलाई देखाएको छ ।

No comments: