Mar 14, 2010

गाउन मात्रै जानेँ, धाउन जानिनँ

प्रस्तुतिः राजेश राई
मायाले मूलबाटो भुलेछ, टाढा भए के भो मायालु, सागर रहेछ माया, बिरानो आकाशमा जस्ता चर्चित गीतका गायक कुवेर राईलाई एक समय दोस्रो पुस्ताका नारायणगोपाल भन्ने धेरै थिए । पाँच दर्जनभन्दा बढी गीत गाइसकेका राईलाई 'स्वर कुवेर' को उपाधि दिने पनि कम्ती थिएनन् । तर, उनलाई विभिन्न 'उपाधि' ले विभूषित गरिदिने उदारमना महानुभावलाई थाहा नहुन सक्छ- अहिले उनी इलामका बारी, खेत, भीरपाखामा गाइरहेका छन् । पूर्वमा सम्भवतः सबैभन्दा लोकपि्रय गायक हुन् उनी । गायक बन्न काठमाडौं आएका उनी काठमाडौंमा टिक्न सकेनन्, जन्मथलो श्रीअन्तुडाँडामै फर्किन बाध्य भए । अहिले उनी खेती-किसानी गरिरहेका छन् । उनै गायक-किसान (या किसान-गायक) का विगत/वर्तमान उनकै बोलीमाः
बाबित्नु भएपछि म जेठो छोरो भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी मेरो कलिलो काँधमा आयो । अल्लारे थिएँ म- दुनियाँका चालचलनबाट बेखबर । आफ्ना रहर र सपनालाई एउटा कुनामा थन्क्याएर घर चलाउनुपर्‍यो मैले । पढाइमा पूर्णविराम लाग्यो । दस कक्षासम्म पढेको छु ।
गाउन असाध्यै रहर लाग्थ्यो । मीठो गाउँछस् भन्थे साथीभाइ । मेरा लागि संगीतको गुरु भने पनि, पाठशाला भने पनि लाहुरेको काँधमा झुन्डिएर आउने रेडियो थियो । गाउँमा लाहुरे घर आउँदा बुट बजार्दै, रेडियो घन्काउँदै आउँथे । उनीहरूले ल्याएका रेडियोबाट घन्किने गीत एकसरो सुन्नासाथ मलाई कण्ठ हुन्थ्यो । गीत सुन्नेबित्तिकै म गाउन थालिहाल्थेँ । रेडियो सुनेकै भरमा म राम्रो गाउन सक्ने भएँ ।
एक दिन संगीतकार दाइ मानसिंह थुलुङले भन्नुभयो, 'कुवेर, तिम्रो स्वर राम्रो छ । काठमाडौं गएर रेडियो नेपालमा स्वर परीक्षा देऊ ।'
०३८ सालमा मलाई मानसिंह दाइले स्वर परीक्षाका लागि काठमाडौं ल्याउनुभयो । पहिलो प्रयासमै मैले स्वर परीक्षा पास गरेँ । त्यसपछि 'गाउन सक्ने रहेछु' भन्ने आत्मविश्वास बढयो । स्वर परीक्षा पास गरेको दिन मेरा लागि किन पनि महत्त्वपूर्ण छ भने यसै दिन मैले संगीतमा केही गर्ने संकल्प गरेको थिएँ । घरमा चाँजोपाँजो मिलाई काठमाडौं आएर संगीत क्षेत्रमा संघर्ष गर्ने योजनाका साथ इलाम फर्केँ ।
त्यसको एक वर्षपछि घरमा सबै व्यवस्था मिलाएर काठमाडौं आएँ- गायक बन्ने धुनमा । मसँग केही थिएन । थिए त सपना र उज्यालो भविष्यको आशा । बिरानो देशजस्तो काठमाडौंमा मेरा आफ्ना भन्नु कोही थिएनन्, मानसिंह दाइ सिवाय । उहाँले नै काठमाडौंमा बस्ने व्यवस्था मिलाइ दिनुभयो ।
तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा मैले नेपाली संगीतका हस्ती अम्बर गुरुङसँग केही समय संगीत सिक्न पाएँ । दीपक जंगमजस्ता गुरुहरूले मलाई धेरै कुरा सिकाउनुभयो ।
०४२ मा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा 'मायाले मूलबाटो भुलेछ' बोलको गीत गाएर प्रथम भएँ । त्यो प्रतियोगितामा रामकृष्ण ढकाल दोस्रो र ईश्वर अमात्य तेस्रो हुनुभएको थियो । मानसिंह दाइले प्रज्ञामा संगीत अध्ययनको चाँजोपाँजो मिलाइदिनुभएको थियो ।
प्रज्ञामा संगीत अध्ययन सकिएपछि अब गाएर बाँच्न सकिन्छ होला भन्ने सोचेको थिएँ । दालभातका लागि केही न केही त गर्नु नै थियो । पाटनको गजल रेस्टुरेन्टमा केही समय गाएँ । तर, गीत गाएर काठमाडौंमा बाँच्न सकिँदैन भन्ने मैले चाँडै थाहा पाएँ ।
मसँग गायकको एउटा मात्रै योग्यता थियो । त्यो के भने म गीत गाउन जान्दथेँ । तर, गाउन जान्नु मात्रै पर्याप्त नहुँदोरहेछ । म सोझो गाउँले, त्यसमाथि एसएलसी पनि पास नगरेको ! त्यसैले मलाई गाउनुबाहेक गायकका अरू योग्यता पनि हुनु जरुरी छ भन्ने थाहा भएन । मलाई धाउन जान्नु गायकको ठूलो योग्यता हो भन्ने ज्ञान भएन । 'चाकरी' नगरी संगीत क्षेत्रमा टिक्न सकिन्न भन्ने मैले बुझिनँ । गाउनमात्रै जान्ने, धाउन र चाकरी गर्न नजान्ने भएकाले म भोको पेट बोकेर काठमाडौंका सडकमा हल्लिरहेँ ।
मलाई राम्रै याद छ- पैसा नहुँदा एकजना साथीसँग अलिकति पैसा सापट मागेर एक पाउन्ड पाउरोटी किनेको । त्यसले चार छाक धानेँ मैले । पानी र पाउरोटीका भरमा मात्रै म धेरै दिन बाँचेको छु । मैले भोगेको अभाव र पाएका दुःखका यस्ता किस्सा कति छन् कति ।
हद भएपछि एक दिन मैले निष्कर्ष निकालेँ- काठमाडौं मजस्ता सोझा बस्ने सहर होइन । मैले आफूलाई भनेँ, 'कुवेर, काठमाडौं तँजस्ताका लागि होइन । तँ भोकले मरे पनि काठमाडौंले पर्वाह गर्दैन ।' काठमाडांैमा भोकै मर्नुभन्दा श्रीअन्तु गएर खनिखस्री खानु बेस ठानेर म ०४२ को अन्त्यतिर इलाम फर्केँ ।
काठमाडौंबाट इलाम फर्केपछि 'व्यवहार' तिर लागेँ । बिहे गरेँ । घरायसी काम, कर्तव्यमा अल्भिmएँ । तर, गीत गाउने धोको भने मरेको थिएन । केही गर्ने उत्साह जीवितै
थियो । किनभने त्यसवेला मैले गाएका केही गीत चर्चित भइसकेका थिए ।
खेत खन्दा, गोरु जोत्दा, मेलापात जाँदा मन भने संगीतमै हुन्थ्यो । खेतीपातीबाट गुजारा चलिरहेकै थियो, घरपरिवार खुसी नै थिए । तर, मभित्र भने एकखालको असन्तुष्टिले डेरा जमाएको थियो । धित मर्नेगरी गाउन पाएकै थिइनँ मैले । संगीतको तिर्खा झन्झन् चर्का हुँदै गइरहेको थियो ।
अघि काठमाडौंमा जति दुःख पाए पनि फेरि एकपटक काठमाडौं फर्किने निर्णयमा पुगेँ । काठमाडौंमै बसेर गायन क्षेत्रमा केही गर्ने सपना बोकेर ०४८ मा श्रीमती, छोराछोरी लिएर म काठमाडौं आएँ, तेस्रोपटक ।
काठमाडौं आएपछि दिउँसो स्कुलमा संगीत सिकाउने राति होटलमा गीत गाउने काम सुरु गरेँ । यति गर्दा जेनतेन भात खानचाहिँ पुग्ने भयो । दिन-रात संगीतकै काम गरेर परिवार पालेँ, आफू पालिएँ ।
त्यतिवेला अवसर नआएका होइनन् । मौकामा चौका हान्न जानेको भए म पनि 'माथि' पुग्थेँ होला । तर, चाकरी गर्न र धाउन नजानेपछि अवसर एक-एक गरेर फुत्किन थाले ।
तेस्रोपटकको काठमाडौं बसाइ पनि मेरो खासै उपलब्धिपूर्ण हुन सकेन । दिन-रात काम गर्दा पनि छाक टार्न धौ-धौ थियो । अनि, 'किन यस्तो दुःख सहेर बस्ने काठमाडौंमा ? इलाममा घरखेत छँदै छ । पाखुरा बजार्‍यो भने दुई छाक सुबिस्तैसित खान पाइन्छ,' भन्ने सोचेर इलाम फर्किनै जाती सम्झेँ । र, ०५४ मा इलाम र्फकेँ । इलाम फर्किने रात मलाई धेरै पीडा भयो तसर्थ धेरै रोएँ । झोलाभरि बोकर ल्याएका रंगीन रहर र सपना बागमतीमा बगाएर इलाम र्फकेँ । थानकोटको ओरालो झर्दा 'अब काठमाडौं आउँदिनँ' भनेर कसम खाएँ ।
इलाम र्फकेपछि संगीत छाडेर खेती किसानतिर लागेँ । एक हिसाबले संगीतबाटै पलायन भएँ ।
पछि, मेरो र गायक धीरज राईको तुलना गरेर प्रणय लिम्बूले वृत्तचित्र 'इतिहास जित्नेहरूको' बनाएपछि मलाई धेरैले सोधीखोजी गर्न थाले । मानिसहरू मलाई खोज्दै आउन थाले । त्यसपछि मेरो एल्बम निकालिदिने पनि धेरै पाएँ ।
तेस्रोपटक काठमाडौं छाडेर जाँदा अब कहिल्यै नफर्किने कसम खाए पनि फेरि काठमाडौं आउन बाध्य भएँ । गीत रेकर्ड गर्न आएको वेला मेरा पुराना साथीहरू सोध्छन्, 'कुवेर, इलाममा तिमी के गर्दै छौ हिजोआज ?' मेरा श्रोता र शुभचिन्तक पनि सोध्छन् यसैगरी ।
इलामको श्रीअन्तुमा खेतीपाती गरिरहेको छु । आलु रोप्यो, मकै रोप्यो, चिया टिप्यो... यसरी नै चलिरहेको छ जीवन । कहिलेकाहीँ सांगीतिक कार्यक्रममा निम्ता आउँदा गाउन जान्छु । गाउँमा स्कुल र क्लबका कार्यक्रममा पनि गाउन बोलाउँछन् । यस्ता ठाउँमा गाउनुको आनन्द नै बेग्लै छ ।
मेलापात, अर्मपर्ममा जिन्दगी रमाइलै गरी बितिरहेको छ । मेरा गीत सुन्नेले मलाई फोन गरेर अहिले पनि भन्ने गर्छन्, 'कुवेर दाइ, तपाइर्ंको स्वर गज्जब राम्रो छ, काठमाडौं आएर गायन पेसामै लागे भइहाल्छ नि ।' तर, उनीहरूलाई के थाहा- गीत गाउन जानेर मात्रै हुन्न । गाउन जानेर मात्रै के गर्ने ? अनेकखालका तिकडम हुँदा रहेछन् संगीतमा पनि । अरू जस्तै काठमाडौंमा बसेर गीत मात्रै गाएर बस्ने रहर त मेरो पनि नभएको कहाँ हो र ? तर, मजस्तो सोझोमान्छे काठमाडौंमा बस्नु भनेको दुःख र पीडाको भागीदार बन्नु मात्रै हो ।
मसँगै गाउन सुरु गरेका साथीहरूको बंगला छ, गाडी छ, दाम छ, नाम छ । मचाहिँ इलाममा मेलापात गरिरहेको छु । तैपनि म दुःखी छैन । न मैले गाउन छाडेको छु । काठमाडौंमा बसेर गाउनेहरूसँग धेरैथोक हुन सक्ला । उनीहरूका तुलनामा मजस्तो गाउँमा बसेर गाउनेसित केही पनि छैन होला । तर, मेलापातमा गाउनुको आनन्द छ मसित ।

No comments: