Apr 6, 2010

तनाबमा सहरिया युवती

प्रस्तुतिः राजेश राई
यो उमेर समूहका धेरैजसो युवतीले ब्वाइफ्रेन्ड (प्रेमी) बनाइसकेका हुन्छन् । नभएका युवती पनि प्रेमी बनाउन लालायित हुन्छन् । ब्वाइफ्रेन्ड बनाइसकेका युवती उनीहरूबाट विभिन्न कुराको अपेक्षा राख्छन् । आफूले अपेक्षा गरेका कुरा पूरा नहुँदा युवतीमा तनाब उत्पन्न भइरहेको हुन्छ ।
सुरुमा आफ्नो ब्वाइफ्रेन्डबारे धेरै कुरामा अनभिज्ञ हुन्छन् युवती । बिस्तारै दुवैजनाको सामिप्य बढ्दै गएपछि विभिन्नखालका कमजोरी पत्ता लगाउँदै जान्छन् । ब्वाइफ्रेन्ड मा सोचेजस्तो क्षमता, दक्षता उनीहरूले पाउँदैनन् । कुनैवेला युवती यति तनाबमा हुन्छन् कि आफ्नो प्रेमीको कमजोरीका कारण 'अब उसलाई अँगालौँ वा छाडौँ' भन्ने अवस्थासम्म पुग्छ । युवतीलाई हुने तनाबका कारण आफ्नो ब्वाइफ्रेन्डमाथि अरूले गर्ने व्यवहार र टीका-टिप्पणी पनि हो । आफ्नो व्बाइफ्रेन्डमाथि अरू केटीले शंकास्पद व्यवहार वा निकै राम्रो प्रशंसा गरिन् भने पनि युवतीमा तनाब उत्पन्न हुन्छ । व्बाइफ्रेन्डलाई भनिने नराम्रो वचन वा टिप्पणीले पनि तनाबमा रहन्छन् युवती ।
व्बाइफ्रेन्डबाट धोका भयो भने तनाब त हुने नै भयो । तर, निरन्तर सम्बन्ध अघि बढिरहेका युवती पनि 'आफ्नो व्बाइफ्रेन्डबाट धोका होला कि, उसले मलाई छाडेर अरूसँगै सम्बन्ध अगाडि बढाउला कि' भन्ने शंकामा जलिरहेका हुन्छन् । यही कारण धेरै युवती आफ्नो प्रेमीलाई विश्वासभन्दा बढी शंका गरिरहेका हुन्छन् ।
ब्वाइफ्रेन्ड नभएका युवती मानसिक रूपमा प्रेमी बनाउन तयार हुन्छन् । 'यो केटा मेरो भइदिए हुन्थ्यो' भन्ने सोचिरहेका हुन्छन् युवती । आफूले सोचेजस्तो प्रेमी नभेट्दा एकखालको हीनताबोध र निराशापन युवतीमा हुन्छ र यही कारण पनि उनीहरू तनाबमा रहन्छन् ।
यस उमेरका युवती विद्यालयस्तरको पढाइ सकेर क्याम्पस तहमा प्रवेश गर्ने क्रममा हुन्छन् । के पढ्ने ? कहाँ पढ्ने ? कस्तो होला क्याम्पसे जीवन ? जस्ता एकखालको अन्योल र कुतूहलताले मनमा अशान्त भइरहेको हुन्छ । नयाँ सपना र रहरले सताइएका हुन्छन् । यसले पनि तनाब ल्याउँछ युवतीमा । रहर र सपनाको जन्मैसँगै केही न केही तनाबको पनि जन्म भएकै हुन्छ ।
परनिर्भरताबाट मुक्ति खोजिरहेका हुन्छन् । समाजमा आफूलाई स्थापित गराउन वा आफ्नो पहिचान खोज्ने प्रयत्नमा हुन्छन् । यसले उनीहरूमा धेरैखाले जटिलता पनि थपिरहेको हुन्छ । १८ वर्ष वरिपरिका युवती शैक्षिक योजना र सामाजिक पहिचानका कारण तनाब झेलिरहेका हुन्छन् ।
यो उमेरसम्म आइपुग्दा धेरैले युवावस्थाको शारीरिक समस्या र परिर्वतनबारे बुझिसकेका हुन्छन् । शरीरको नेचुरल साइकल किन हुन्छ ? संवेदनशील अंग परिवर्तनका कारण के हो ? किन परिर्वतन भएको ? आदि विषयमाथि जानकार भइसकेका हुन्छन् । यसकारण उनीहरूमा आफ्नो अंगप्रतिको उत्सुकता हराइसकेको हुन्छ । उत्सुकता कम भएपछि शारीरिक आवश्यकता महसुस हुन थाल्छ । त्यो आवश्यकता पूर्ति कहाँबाट, कसरी गर्न सकिएला ? वा यस्तो भए के हुन्छ होला ? भन्ने यौनसँग सम्बन्धित आवश्यकताले बढी कुतूहलता उत्पन्न भइरहेको हुन्छ । त्यो आवश्यकता र कुतूहलताको अपेक्षित परिणाम नआउँदा पनि तनाब हुन्छ । सहरिया युवतीको तनाबको अर्को कारण यो पनि हो ।
सहरिया युवती तनाबमा रहने अर्को कारण आफ्नै शारीरिक बनोट वा सौन्दर्य पनि हो । यो उमेर रुमानी सोच र खुला आँखाले देखिएका सपनाबाट प्रभावित भएको हुन्छ । त्यही सपनाबाट गाइड पनि हुन्छन् उनीहरू । यही अपरिपक्वताका कारण सौन्दर्यसँग जोडिएका अंगको बनोटका कारण पनि तनाब उत्पन्न हुने गर्छ । कसैको दाँत नमिलेको हुन सक्छ । कसैको आँखा नराम्रो हुन्छ त कसैको नाक, ओठ या अरू कुनै अंग । आफूलाई आफ्नै अंग चित्त नबुझेका कारण पनि उनीहरूमा चिडचिडाहट हुन्छ । फेरि साथीहरूले 'तिम्रो ओठ नराम्रो' या 'तिम्रो आँखा त नराम्रो' भन्नेखालका टिप्पणी गरिदिन्छन् । शारीरिक सुगठनप्रतिको नगेटिभ टिप्पणीले उनीहरूमा इन्फरेटिभ कम्लेक्स -हीनताबोध) उत्पन्न हुन्छ । हीनताबोध नै तनाबको उत्पनन हुनु हो ।
युवती आफ्नो शारीरिक सुगठन या सौन्दर्यसँग सम्बन्धित अंगको प्रशंसाको भोका हुन्छन् । सकेसम्म 'अरूले आफ्नो सौन्दर्यको प्रशंसा गरून्' भन्ने चाहन्छन् । प्रशंसाको आशा गरिएकोमा 'तिमी नराम्रो' भनेर टिप्पणी गरियो भने पनि युवती तनाबमा आउँछन् ।
सहरिया युवतीको तनाबको अर्को कारण 'फेसन' हो । सहरमा प्रत्येक दिन अनेकखालका फेसन भित्रिरहेका हुन्छन् । विभिन्न विज्ञापन, फिल्म र टेलिभिजन च्यानलमा युवती फेसन सो हेरिरहेका हुन्छन् । त्यो हेरेपछि युवती पनि विज्ञापन या टेलिभिजन च्यानलमा देखेजस्तै कपडा लगाउन चाहन्छन् । प्रायः यो उमेर समूहका युवतीलाई कुनै पनि कुराले चाँडो परिवर्तन गरिहाल्छ । अझ फेसनको मामलामा त सहरिया युवती धेरै 'फास्ट' छन् ।
फेसनका कारण पनि दुईखाले तनाब हुन्छ । युवतीलाई फेसनेबल कपडा लगाउँदा पनि तनाब, नलगाउँदा पनि तनाब भइरहेको हुन्छ । नेपाली समाजले उच्छृंखल खालका कपडा सजिलै स्विकारिसकेको अवस्था छैन । त्यस्ता कपडा लगाएपछि ती युवतीलाई समाजले तिरस्कारको दृष्टिले हेर्छ । यसैले तनाब उत्पन्न हुन्छ । बढी फेसेनेबल कपडा लगाएर हिँडेको देखेपछि युवतीलाई जिस्क्याउने, खिसिटयुरी गर्ने आदि हुन्छ । यस्तो वेला तिनी कपडा लगाउन पाउँदा जति खुसी हुन्छिन् त्यसको दोब्बर तनाब झेल्न बाध्य हुन्छिन् ।अर्को पाटो, जुन युवतीले फेसेनेबल कपडा लगाउन पाउँदिनन्, उनी लगाउन नपाउँदा झनै तनाबमा हुन्छिन् । 'अरूले त्यस्ता कपडा लगाएर के नै जिते र ? जस्तो गरी उनीहरूमा असन्तुष्टि पैदा हुन्छ । एक हिसाबले उनी भित्रभित्रै जल्न पुग्छिन् ।
सहरका उच्च घरानियाका केहीबाहेक धेरैजसो युवती सार्वजनिक यतायातमा चढ्छन् । सार्वजानिक यातायातमा हुने भीडभाडले केटाभन्दा केटीले बढी कष्ट भोग्नुपर्छ । बसको यात्रामा युवतीलाई दुईखाले चिन्ता हुन्छ, एउटा सौन्दर्यको सुरक्षा अर्को भौतिक सुरक्षाको ।
प्रायः सहरिया युवती मेकअप गरेर, चिटिक्क भएर हिँडेका हुन्छन् । सार्वजनिक गाडीमा भीड भएपछि निश्चित रूपमा मेकअपमा त असर पर्छ नै । केस बिगि्रने, साडी बिगि्रने आदि कुराले बस चढ्नुअघि नै मनोवैज्ञानिक रूपमा उनीहरू डाउन भइसकेका हुन्छन् । बस चढिसकेपछि त्यो कुराले झनै सताउँछ ।
अर्को कुरा, कतिपय अवस्थामा युवतीले बसमा आपत्तिजनक व्यवहार, अभद्रखालको इसारा पनि झेल्नुपर्ने हुन्छ । यही कारणले सार्वजनिक यतायातका साधनमा उनीहरू आफूलाई एकदमै असुरक्षित ठान्छन् । यसैले चढ्नुअघि र बसबाट उत्रिसकेपछि पनि युवतीमा केही न केही तनाब भइरहेकै हुन्छ ।
यो उमेर समूहका अधिकांश युवती कलेज लाइफ बिताइरहेका हुन्छन् । कलेज चौघेराभित्रको विभिन्न गतिविधि पनि तनाबको अर्को कारण हो । राजनीतिक, शैक्षिक रूपमा आफ्नो सौन्दर्य देखाएर कुनै न कुनै तवरले युवती हाइलाइटेट बन्न खोज्ने प्रवृत्तिका हुन्छन् । राजनीतिमा अघि बढ्न सकिएन भने शिक्षामा 'टप' हुने । त्यो दुवै नभए सौैन्दर्यमा 'टप' बन्ने प्रवृत्ति हुन्छ युवतीमा । जसरी पनि केटाको मन जित्ने र आफूप्रति आकषिर्त गर्ने चाहना हुन्छ युवतीमा । तर, कतिपय अवस्था र सन्दर्भमा यो चाहना पूरा हँुदैन । यो अवस्थामा अरूभन्दा आफूलाई कमजोर ठान्न पुग्छन् युवती । अरूको तुलनामा आफूलाई कमजोर ठान्नेबित्तिकै उसमा तनाब उत्पन्न हुन्छ ।
यो जागिरे जीवन सुरुवातको उमेर पनि हो । तनाबको अर्को कारण युवतीले काम गर्ने कार्यालय पनि हो । स्वाभाविक रूपमा नेपालका धेरैजसो कार्यालयमा महिलाभन्दा बढी पुरुष कर्मचारी हुन्छन् । युवती चाहन्छन्, 'आफूले काम गर्ने ठाउँमा पुरुषभन्दा महिला नै बढी छन् ।' तर, प्रायः सबै कार्यालयमा महिलाभन्दा बढी पुरुष नै हुन्छन् । कार्यालय प्रमुख र सहकर्मीबाट आफूप्रति हुने व्यवहारले पनि केही न केही तनाब भइरहेको हुन्छ । 'म एक्लै छु' भन्ने महसुस गरेपछि जति राम्रो व्यवहार आफूमाथि गरिए पनि केही असजिलो र अप्ठयारो अनुभूति उनीहरूलाई हुन्छ । यस्तो भएपछि युवती तनाबमा फस्छन् । कार्यालय समयमा त तनाब हुन्छ नै । त्यसले बिहान-बेलुका पनि असर पुर्‍याइरहेको हुन्छ ।
अर्को तनाबको थलो आफ्नै घरभित्रको वातावरण हो । परनिर्भरताबाट मुक्त भएर स्वतन्त्र हुन खोज्ने उमेर हो । घरमा आमाबुबाले चाहिँ 'छोरी सानै छे' भनेर केयर गरिरहेको हुन्छ । तर, यस उमेर समूहका युवती आफ्नो कुनै पनि काम या निर्णयमा परिवारबाट हस्तक्षेप नहोस् भन्ने चाहन्छन् । 'मैले गरेको सबै कामलाई परिवारले सही भनिदिए हुन्थ्यो' भन्ने सोच्छन् । तर, आफ्नो अपेक्षाअनुसारको नतिजा परिवारबाट नआउँदा तनाब सुरु हुन्छ ।
तनाबको एउटा कारण आर्थिक समस्या पनि हो । युवतीको सम्बन्ध फेसन र विलासितासँग पनि हुन्छ । बजारमा अनेकखालको कपडा, भौतिक सुविधा र विलासिताका सामग्री भित्रिरहेका हुन्छन् । आफूसँगैका साथीले त्यसको उपभोग गरिरहेका हुन्छन् । तर, आफूले त्यसको उपभोग गर्न नपाउँदा हीनताबोध उत्पन्न हुन्छ । एउटै कलेज पढ्ने एकजना साथी सार्वजनिक गाढी चढेर आइरहेकी हुन्छिन् । त्यही कलेजकी अर्को साथी स्कुटर चढेर आइरहेकी छिन् । यस्तो अवस्थामा सार्वजनिक यातायत चढेर आउने युवतीले आफूलाई स्कुटर चढेर आउनेको छेउमा कमजोर महसुस गर्छे । 'मसँग पनि पैसा भइदिएको भए वा मेरो परिवार पनि सम्पन्न भएको भए त्यसरी आउने थिएँ,' भन्ने सोच्छन् । यस्तो अवस्थामा आफू र आफ्नो परिवारप्रति नै गुनासो पोख्छन् । र, तनाब उत्पन्न हुन्छ ।
अधिकांश सहरिया युवती शिक्षित नै हुन्छन् । 'श्रीमान्ले पालिहाल्छ, केही गर्नु पर्दैन' भन्ने मानसिकताबाट माथि उठेर 'आफ्ना लागि आफैँले गर्नुपर्छ,' भन्ने सोच विकसित हुँदै गएको छ । भविष्यप्रतिको चिन्ता तनाबको अर्को कारण हो । युवतीलाई भविष्य कस्तो होला ? भन्ने चिन्ताले सताइरहेको हुन्छ । जब युवती २३/२४ को उत्तरार्द्धमा पुग्छन्, त्यसवेला कसरी भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने विषयले चिन्तित बनाउँछ । अब के हुन्छ ? कस्ता खालका अवसर आउँछ ? ती अवसरलाई कसरी प्रयोग गर्ने ? भन्ने चुनौती अगाडि आएर उभिन्छ । त्यसलाई कसरी सामना गर्ने ? यस्तैखालका अनेकन प्रश्नले उनीहरू घेरिन्छन् । यस्ता प्रश्नले सताइएपछि निश्चित रूपमा तनाब उत्पन्न हुने नै भयो ।
'विदेश' पनि सहरिया युवतीको तनाबको अर्को कारण हो । कसैको विदेशमा अध्ययन गर्ने चाहना हुन्छ, कसैको कमाउँदै अध्ययन गर्ने । कसैको विदेश गएर राम्रो कमाउने मात्रै चाहना । कसैको घुम्न जाने । हिजोआज यी विषय पनि तनाबका कारण बनेको छ । दस जोड दुई या स्नातक सकेपछि आर्थिक स्तर राम्रो भएका सहरिया युवती विदेश गएर
पढ्न चाहन्छन् या विदेसिन । 'विदेश गए सुनै सुन फल्छ' या 'फलाउन सकिन्छ' भन्ने एकखालको रुमानी सपना देख्छन् युवती । यही सपनाको पछि अधिकांश सहरिया युवती दौडिएका छन् । पछिल्लो समयमा अध्ययन गर्न विदेश जानु फेसन नै भएको छ । यसकारण उनीहरू त तनाबमा फस्छन् नै परिवारलाई समेत तनाबमा पारिरहेका हुन्छन् ।

No comments: