Apr 10, 2010

स्मार्टफोनले छोडपत्र गराउन थाल्यो

मोबाइल र इन्टरनेटको हाइब्रिड उत्पादन स्मार्टफोनले घरायसी सम्बन्ध बिगार्न थालेको पाइएको छ । मोबाइलका कारण पति-पत्नीको अन्तरंग-सम्बन्धमा समेत असर पारेको गुनासा पुरानो भइसके र समाजले पचाउन थालिसक्यो । तर, पछिल्लो समयमा इन्टरनेट सुविधा भएका मोबाइलहरू (स्मार्टफोन) को प्रयोगले वैवाहिक सम्बन्ध नै बिग्रीएका समाचार प्रशस्त आइरहेका छन् । आफ्नो पति हरदम स्मार्टफोनमा झुम्मिरहेका कारण छोडपत्र दिनुपरेको न्युयोर्ककी एलिसा सान्ड्राले बताइन् । 'दिनभरि अफिसमा हुन्थ्यो, राति घर आएपछि स्मार्टफोनमा । घरायसी कुरा गर्ने समय नै छैन,' उनले भनिन्, 'यसरी कसरी घर चल्छ ?' स्मार्ट फोनमा उत्पादनहरूलाई घर बिगारेको मुद्दा हाल्नुपर्ने उनको सुझाब छ । बर्मिङघम बस्ने ओपेर मस्कटले छोडपत्र गरेको एक महिना भयो । स्मार्टफोनले नै उनको वैवाहिक सम्बन्ध टुक्रयायो । 'जतिखेर पनि स्मार्टफोनमा फोहरी कुरा हेरिराख्थ्यो,' उनी भन्छिन्, 'स्मार्टफोन लिएपछि हामीबीचको शारीरिक सम्बन्ध पनि पातलिन थाल्यो ।' अति नै भएपछि सम्बन्ध तोड्नुपरेको उनले बताइन् । महिलाहरूको दुस्मनका रूपमा देखिएको स्मार्टफोनले व्यापारिक रूपमा भने ठूलै सफलता पाइरहेको छ । रिसर्च कम्पनी गार्टनरका अनुसार सन् २००९ मा स्मार्टफोनको बिक्री ३० प्रतिशतको हाराहारीमा बढेको छ । सन् २०१० मा यो वृद्धि ३५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अधिकांश महिलाको गुनासो भनेको आफ्ना पतिहरू हरदम फेसबुक वा अन्य सामाजिक सञ्जालका वेबसाइट, अश्लील सामग्री हेर्न व्यस्त हुने गरेका छन् । यसले गर्दा उनीहरू घरायसी समस्याप्रति उदासीन हुँदै गएका छन् । बिहान मेल चेकबाट सुरु हुने इन्टरनेट दुनियाँको सफर राति पनि नसकिने दिनचर्याबाट आफूहरू पीडित भएको महिलाको गुनासो छ । स्मार्टफोनका कारण मानसिक समस्या भोगिरहेको महिला दिनहुँजसो आफ्नो क्लिनिकमा आउने मनोचिकित्सक इसाबेल ब्रुकलिनले बताइन् । 'उनीहरूमा खाली घर बिग्रेको चिन्ता छ । पतिले बच्चाको पनि वास्ता नगर्ने तथा अन्य क्रियाकलापमा पनि सहभागी नहुने गरेको गुनासो ल्याउँछन्,' उनले भनिन् । पश्चिमा मुलकमा देखिएको यो समस्या अहिले भारतमा पनि देखिएको छ । भारतीय वरिष्ठ अधिवक्ता गीता लुथराले एक वर्षअघिसम्म नआउने प्रकृतिका मानिस आउने गरेको बताइन् । 'मेरा पति हरदम फोनमै व्यस्त हुन्छन्, मसँग कुरा गर्ने समय नै हुन्न उनलाई' भन्दै महिला आउने थालेका छन्,' उनी भन्छिन् । उनीहरूलाई फोनकै कारण सम्बन्ध टुट्दैन भन्नेमा विश्वास लागेपछि फोनकै कारण सम्बन्ध पातलिएको भन्नेमा उनीहरू विश्वस्त भएको उनले बताइन् । भारतको प्रतिष्ठित बैंकका प्रमुख कार्यकारी अधिकृतकी श्रीमती (नाम गोप्य राखिएको) हालसालै अदालतमा छोडपत्रका लागि निवेदन दिएकी छन् । उनले आफ्नो पति स्मार्टफोनमा व्यस्त भएका कारण नै छोडपत्र लिनुपरेको उल्लेख गरेको अदालतका कर्मचारी बताउँछन् । 'स्मार्टफोन नै श्रीमतीसरह भएको उनको दाबी छ,' उनलाई उद्धृत गर्दै ती कर्मचारीले भने ।भारतीय बजारमा पाँच वर्षअघि स्मार्टफोन भित्रिएको हो । क्यानेडेली कम्पनी रिचर्स फर मोसन (आरआइएम) को ब्ल्याकबेरी भारतमा भित्रिएको पहिलो स्मार्टफोन हो । तत्पश्चात् भारतीय बजारमा एप्पलको आइफोनदेखि लिएर गुगलको नेक्सन वानसमेत भित्रिइसकेका छन् । रिसर्च कम्पनी एसेडियाका अनुसार भारतमा २००८ मा ५० लाख स्मार्टफोन बिक्री भएको थियो । गार्टनरका अनुसार सन् २००९ मा कुन मोबाइल बिक्रीमा स्मार्टफोनको हिस्सा ५ प्रतिशतको हाराहारीमा थियो । सन् २०१० मा यो प्रतिशत ७ देखि ८० पुग्ने अनुमान छ ।
आइफोनमा एक सय सुविधा थपिने
आइफोनको उत्पादक एप्पल कम्प्युटर्सले इन्टरनेट प्रयोगकर्ता लक्षित उच्चकोटिको मोबाइल आइफोनको नयाँ संस्करणमा एक सय सुविधा थप गर्ने भएको छ । यसै वर्ष आउने नयाँ मोडलको आइफोनमा एक सय नयाँ फिचर थपिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले दिएका हुन् । यसका लागि अपरेटिङ सिस्टम नै परिमार्जन गरिएको उनको भनाइ छ ।
नयाँ आउने आइफोनमा मोबाइल
एड्भरटाइजिङ प्लेजटर्फम आइएड थपिनेछ । जसमा एप्पलबाहेक अन्य कम्पनीले उत्पादन गरेको एप्लिकेसनको विज्ञापन हुनेछ । गत जनवरीमा वायरलेस मोबाइल एड्भरटाइजिङ नेटवर्क क्वाट्ट्रो वायरलेस खरिद गरेपश्चात नै एप्पल मोबाइल एड्भरटाइजिङमा आउने अपेक्षा गरिएको थयो । कम्पनीले क्वाट्रो वायरलेस ३० करोड अमेरिकी डलरमा खरिद गरेको थियो । कम्पनीले मोबाइल विज्ञापनबाट उल्लेख्य मात्रामा आम्दानी गर्ने विश्लेषकहरूको अनुमान छ । आधा दशकअघि बजारमा आएको आइफोनका पाँच करोड सेट बिक्री भइसकेको कम्पनीले जनाएको छ । आइफोन उच्च वर्गका मानिसको प्रिय मोबाइल सेटका रूपमा रहेको छ ।
यसैगरी, अबको आइफोनमा
मल्टी-टास्किङ सुविधा उपलब्ध हुनेछ । आइफोनमा प्रतिस्पर्धीका रूपमा बजारमा आएका अन्य स्मार्टफोनमा एकैपटकमा धेरै एप्लिकेसन चलाउन सकिने (मल्टी टास्किङ) फिचर उपलब्ध भइरहेका छन् । 'यस्तो सुविधा बजारमा ल्याउने हामी नै पहिलो नै होइन, तर पनि यो सविधा थपिएपछि आइफोन झनै बलियो हुनेछ,' जब्सले भने ।आइएड मोबाइल एड्भरटाइजिङको दुनियाँमा एप्पलको पहिलो पाइला हो । यस्तो विज्ञापनबाट प्राप्त आयमध्ये ६० प्रतिशत रकम डेभलपरहरूलाई नै जाने कम्पनीले जनाएको छ । कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टम (ओएस ४.०) विस्तारै आइपड टच तथा आइप्याडमा विस्तारै प्रयोगमा ल्याउने जब्सले बताए । कम्पनीको मुख्यालय क्यालिफोर्नियामा भएको प्रदर्शनी गरिएको आइफोनका अन्य फिचरमा एप्लिकेसनहरू छुट्टै फोल्डरमा राख्न सकिने, धेरैखाले सुविधा प्रदायकबाट प्राप्त भएको इमेल एकै ठाउँमा संग्रह हुनेखालको परिमार्जित मेल, आइबुक्सजस्ता सुविधा रहेका छन् ।
सातामा साढे ४ लाख आइप्याड बिक्री
एप्पल कम्प्युटर्सले उत्पादन गरेको पोर्टेवल साइजको ल्यापटप आइप्याड-४ नै ४ लाख ५० हजार थान बिकेका छन् । कम्पनीले अघिल्लो साता मात्रै आइप्याड बिक्री सुरु गरेको हो । मोबाइल तथा ल्यापटप दुवैको फिचर समावेश भएको आइप्याड अहिले अमेरिकामा मात्रै बिक्री भइरहेको छ । यही महिनाको अन्त्यसम्ममा आइप्याड बेलायत, क्यानाडा, अस्ट्रेलिया तथा युरोपका केही मुलुकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार आइप्याडमा मात्रै पछिल्लो पाँच दिनमा ६ लाखवटा इलेक्ट्रोनिक किताब तथा ३५ लाख एप्लिकेसन डाउनलोड गरिएका छन् । कम्पनीको प्रमुख कार्यकारी स्टिभ जब्सले आफूहरू सकेसम्म छिटो विश्वभरि नै आइप्याड ल्याउन लागिपरेको बताएका छन् ।

No comments: