Aug 15, 2008

खोई समाबेशी ? आदिबासीको देशमा मधेसीको राज ?

लिच्‍छबी मगर
नयाँ नेपालको शुरुवात गजबले भएको छ। हिन्दू राजतन्त्रको स्थापना गर्नेहरुले नै मधेसी नेताहरुलाई शाह राजाहरुको स्थानमा बिराजमान गराए।नेपाल देशका धरतीपुत्र मानिने आदिबासी जनजातिहरुले यसपालीको दुई मुख्य नेपाली पदहरुको चयनमा पनि ल्वाप्पा खाए। ३३ प्रतिशत कानुनमा र हिसाबमा आधा आकाश ओगट्‍ने नेपाली महिला र उत्पीडित दलितहरुले पनि पाए हात लाग्यो सुन्य! २४० बर्षसम्म शाह राजाहरुलाई बोक्दा बोक्दा हैरान भएकाहरुले अब नयाँ नेपालमा फेरी पनि आफ्नो प्रतिनिधित्व राज्यको उपल्लो अङ्गमा गराउन नसक्नु अर्को युद्ध र बाजी हार्नु हो। यसमा मधेसिहरुको चलाखीले उनिहरुलाई ठुलो उपलब्धी मिलेको छ। सिको यसै घटनाबाट लिन सक्नु पर्दछ। आफ्नो टाउको फुटे पछि मितको टाउको बेलै बराबर भनेको यही हो। अथवा तँलाई न मलाई गिद्धलाई भनेको पनि यै हो-
माओवादी, काङ्ग्रेश र एमालेका नेताहरुले आफु राष्ट्रपति बन्न नपाउने भए पछि रातारात नयाँ नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको उमेद्वारहरुको चयन गरे। नेपाली जनताले यि उमेद्वारहरु को हुन्‌ भन्ने जान्न र चिन्न नपाउदै यि त नयाँ नेपालको राष्ट्रपति र उपराष्ट्रपति भएर पो आए।
समाबेशीकरण, सहमतीको नयाँ राजनीति गर्ने बाचा गरेका नेताहरु रातारात ३०१ र १९८ सङ्ख्याको खेलमा उत्रिए। एकले अर्कोलाई "सिध्याउने" नयाँ नेपालको खेलमा अझ के कति भित्री, गोप्य सम्झौताहरु भएका छन्‌ भन्ने थाहा पाउन अझ केही दिन पर्खिनै पर्छ। संबिधान सभाका 601 मध्ये 456 सभासदहरु आदिबासी-जनजाति, महिला, उत्पीडित दलितछन्‌ तर राष्ट्रपति र उपराष्ट्रपतिमा चाँही दुईटै मधेसी पुरुषहरुको निर्वाचन हुनु एक बिडम्बना नै मान्नु पर्दछ। संबिधान सभामा बिभिन्न दलबाट निर्बाचित, मनोनित भएर सभासद बनेका 212 जनजाति, 195 महिला, 49 उत्पीडित दलित सभासदहरु खाली भोट खसाल्ने र 156 मधेसि सभासदहरु रहेको मधेसिको प्रतिनिधित्व गर्ने दुई नेताहरुलाई "राष्ट्रपति र उपराष्ट्रपति" बनाउने गोटी भएको देख्दा संसदमा पुग्नु मात्र ठुलो कुरा होइन रहेछ भन्ने बुझ्नु पर्ने भएको छ। यस हिसाबबाट हेर्दा अर्को के कुरातिर पनि लक्षित गर्दछ भने यि 456 आदिबासी-जनजाति, महिला, उत्पीडित दलित सभासदहरुले आगामी बन्ने नयाँ संबिधानमा आ-आफ्ना समुदाय र बर्गका हक, हितका कुरा सुनिश्चित गराउन पनि असमर्थ हुने ‌सम्भाबना बलियो छ।हुने बिरुवाको चिल्लो पात भन्छन्- के यी सभासदहरु अब "चिल्लो पात" बन्लान्‌?

No comments: