प्रदीप कन्दङवा (लिम्बू), हङकङ
ओ--- मुजिक्ना
तिमी जतिसुकै माङगेना राख
जति सुकै छुरी उम्रेको भाले भाक
तिमी जतिसुकै पन्च्यौली पुजा गर
जति सुकै छिप्पेको जाँड फेदाङमालाई ख्वाउ
र खाउ आफु जतिसुकै भालेको रातो सिउर
र पेउ आफु जतिसुकै राँगाको तातो रगत
ओ मेरी प्यारी मुजिक्ना
यति बुझ
तिम्रो सिर कदापी उठ्दैन
तिम्रो सातो फर्केर कहिले आउँदैन
यदि तिमिले बुझेनौभने
राज कुमार आङदेङवेको वलिदान
यदि तिमिले सम्झेनौभने
काङसोरेको विरगाथा
ओ--- मुजिक्ना
तिमी जतिसुकै शिरबन्दि सिउर
जतिसुकै शिरफुल ओढ
जतिसुकै फक्ताङलुङ चढ
र भन, म याक्थुङहाङमा हुँ भनेर
तर यति बुझ
तिम्रो कहिले हुँदैन तिम्रो माटो
तिम्रो कहिले हुँदैन तिम्रो बाटो
तिम्रो कहिले हुँदैन तिम्रो घर
यदि तिमिले बिर्सियौभने
फाल्गुनन्दले देखाएको बाटो
ओ मुजिक्ना
मेरो भुँईसोरी सेवारो तिमिलाई
मेरो लुङमेन्दिङ बिन्तिरो तिमिलाई
नुनपानिको सन्धि फेरी नगर्नु है
बुझ्नु है
उनीहरुको सुकिलो कुरा
सम्झिनु है उहिले उहिलेको धोका
गोर्खा राजाले थापेको सन्धिको एम्बुस
बुझ्नु है
उनिहरुको फुटाउ र शासन गर भन्ने निती
सम्झाउनु है लिङदेन र पालुङवा तेङवेहरुलाई
मिल्नु भन्नु
कुम्भु कुन्सा नबाझ्नु भन्नु
ओ लुङजिरि लुङबो:ङ्बा मुजिक्ना
तिमी जतिसुकै च्याब्रुङ बजाउ
तिमी जतिसुकै पालाम गाउ
तिमी जतिसुकै ख्याली भन
तिमि जतिसुकै हाक्पारे गुन्गुनाउ
तर बुझ
तिम्रो धान नाच्ने आँगन तिम्रो हुँदैन
तिम्रो फिलिङ्गेबारी तिम्रो हुँदैन
यतिसम्म पनि हुनसक्छ
तिम्रो आत्मा स्वयममा तिम्रो हुँदैन
यदि तिमिले स्रिजङगाहाङलाई चिनेनौ भने
यदि तिमीले लेप्मुहाङको उपदेश बिर्सियौ भने
ओ मेरि प्रिय मुजिक्ना
तिमी जतिसुकै भाक नाहेम्मा भाले
तिमी जतिसुकै थाप बारिमा लिसो पासो
तिमि जतिसुकै खिप घुङरिङमा तिम्रो सपना
तिमी जतिसुकै ठोक घरको सुरमा चार किल्ला
तर सम्झ
तिमी सुरक्षीत कहिले हुन सक्दैनौ
तिमि निर्भय कहिले हुना सक्दैनौ
यदि तिमीले खोजेनौभने ईमानसिङ चेम्जोङको सपना
यदि तिमिले बुझेनौभने येहाङ ब्यवस्था
ओ मुजिक्ना
होशियार हुनु है
माङहिमको दैलो राम्रो थुन्नु है
के थाहा
मायावि कृष्णहरु छिर्न सक्छन्
मुखबाट मान्छे जन्माउने ब्रहमाजिहरु पस्न सक्छन्
विष्णुजिहरु भेष बदलेर आउन सक्छन
चिन्नु है, विष्णुजीहरुलाई
उनीहरु अर्काकको स्वास्नी पनि पो भन्दैनन् है
लुकाउनु है
मुन्धुमका किताबहरु
भाषा र लिपिहरु
हाम्रा ग्रन्थ माहा-ग्रन्थहरु
फेरी जलाईदिन सक्छन्
फेरि लुटिदिन सक्छन्
के थाहा फेरी आउन सक्छन जासुसहरु
ओ मुजिक्ना
निग्रानि राखनु है
अरुणको किनार तिर
उभो हिँउघारि छ भनेर ढुक्क नहुनु है
उता मेचिपारि पनि नबिर्सनु
तल जङगे पिलरको झन भरै छैन
मुजिक्ना मलाई माफ गर्नु है
मेरो माटोलाई चहिएको बेला मेरो पसिना
म त एता ठुल् ठूला घरहरुको शहर
हङकङमा चौकिदार पो छु है
डलरसँग मेरो आत्मा पो साट्दै छु है
म त याक्थुङ लाजेलाई मेरो अनुहार देखाउन सक्दिन क्यारे
मुजिक्ना-- अफ्ठ्यारो नमान्नु है
बरु भन्नु
बन्दुक सस्तै पो छ है एता
त्यता कस्तो छ कोनि ।
No comments:
Post a Comment