Mar 26, 2008

' सार ' गीति एल्बमको बारेमा


अशोक राई

तिमीलाई संझी रात बित्यो आसै आसमा अल्झीएर
झनै दुख्यो छाती मेरो चोट त्यसै बल्झीएर

सगैं हास्ने मन थियो बिवसताले टाढी गयो
हात मेरो समाएर फेरी कीन छाडी गयौ
तिमीलाई पर्खी दिन बित्यो यादै यादमा कल्पीएर
झनै दुख्यो छाती मेरो आसै आसमा अल्झीएर

कबि तथा गीतकार टंक संम्बाहाम्फेको रचना र सुमधुर स्वरका धनी गायक कृष्ण भक्त राईको स्वरमा दशवटा गीतहरुको संगालो 'सार' लाई सुन्ने मौका पाएँ । एउटा गीतमा बरिष्ठ संगीतकार दिनेस सुब्बाले संगीत दिनु भएको छ भने बाँकी गीतहरुमा गायक स्वयमको संगीत रहेको छ । शब्दहरुले प्रेमको मीठास बोकेका छन् भने छातीभित्रका दर्दहरु पनि पोखेका छन् । गीतमा दुख र बियोगका शब्दहरुले नै मीठास दिने गर्दछ । सम्बाहाम्फेका गीतहरु पनि प्राय प्रेम बियोगमा आधारित छन् । मेलोडीका हिसाबले सबै गीतहरु सुमधुर छन् । टंक सम्बाहाम्फेको यो दोश्रो गीति सौगात हो । वहाँले यस अघि नै 'मनोभाव' गिती एलबम रेकर्ड गराइसक्नु भएको छ ।

ब्यर्थै किन चढाएछु देउरालीमा फूल
माया गरि तिमीसँग गरेँ एउटा भूल

खासगरि साहित्यकारहरुका बीचमा कवि भनेर चिनिनु हुने संम्बाहाम्फे राम्रा गीतकार पनि हुन् भन्ने कुराको प्रमाण यो पछिल्लो गिती सौगातले दिएको छ । "गीत लेख्नु आफैमा गीतकार हुनु हैन जब त्यसलाई स्वर र संगीत जस्ता अन्य दुइ महत्वपूर्ण सृजनाले सजाईन्छ तब मात्र त्यो खास गीत बन्छ र एउटा गीतकार पूर्ण गीतकार हुन्छ अन्यथा गीतहरु केवल डायरीका पानामा चेप्टीएका चेप्टीएकै हुन्छ ।" भन्नुहुने मीठा गीतका गीतकार संम्बाहाम्फे सृजनामा लाग्ने कुरालाई एउटा बेग्लै नशा भन्न रुचाउनु हुन्छ ।
गीतहरु स्थापित गायक र स्थापित गीतकारकै सुन्नु पर्छ भन्ने मान्यताले गर्दा धेरै र्सजकहरुको मन दुख्ने गर्छ । त्यसकालागि सर्जक लाई पर्ने आर्थिक भारले पनि निकै पीडित बनाउँछ । एउटा र्सजकले आफ्नो सृजना बेचेर सायदै ब्यबसाय गर्ने सोच बनाउँला । उस्को लागि त आफ्ना सृजनाहरु ज्यादा भन्दा ज्यादा श्रोता या पाठककहाँ पुगुन भन्ने कुरा नै ठूलो हो ।
आफ्ना मीठा शब्दहरुलाई सुगम संगीतका माध्यमबाट श्रोताहरुमा पुर्याउने जमर्को एउटा महत्वपूर्ण कार्य हुदै हो भने वहाँले नेत्रहीन तर बहु प्रतिभाशाली र सुमधुर स्वरका धनी गायक कृष्णभक्त राईलाई श्रोताहरुबीच ल्याउनेकाम अझ महान कार्य हो । वहाँको गीत सृजना शक्ती अझ बढेर जावोस् । म अन्तमा 'सार' गिती एलबमको सफलताको हार्दिक सुभेच्छा प्रकट गर्दछु ।

डाडामाथि बादलुले घामै छेक्यो की
सताइरहन्छ संझनाले माया बस्यो की

No comments: