Mar 29, 2008

सिमानाको नेपाली


विक्रम सुब्बा

उसले आफ्नै पार्टी चिन्तनजस्तो
खिया लागेको भोटे ताल्चा खोल्यो
आफ्नै गुटको मगजजस्तो
मक्किएको पुरानो सन्दुस उघार्‍यो
आफ्नै अव्यवस्थित सोचहरूजस्ता
घरेलु सामानहरू उल्टायो, पल्टायो
छाम्यो, हेर्‍यो, खोज्यो
तर, कतै भेटेन ।
सिरानी हालेको रामायणको चेपचापमा
नागरिकता र झै-झगडाका कागजातहरू
गुट्मुट्याएर राखेको पोकोमा
घरीघरी ऐनाझै हेर्ने गीता-ग्रन्थको खोलभित्र
दातृसंस्थाले गोष्ठीमा दिएको व्यागभित्र
ससुरालीबाट पाएको दराजको लकरभित्र
भ्रमणभत्ताले किनेको कोटको भित्री गोजीमा
कही पनि नभेटेपछि
ऊ लामो सुस्तायो
र भन्यो, कहिले हराउछ ..., कहिले भेटिन्छ...
यसपल्ट फेरि कसले कता घुसार्‍यो
बाजे-बराजुको पालादेखि
आफ्नो भन्दै आएको
जमिनको नक्सा र त्यसका सिमाना
यसपल्ट फेरि हराए
जुन चारकिल्लाभित्र
उसका घर, गोठहरू उभिएका छन्
त्यो जमिन अचेल कुन मुलुकभित्र पर्छ

No comments: