Jul 3, 2010

फ्रान्समा जन्म, अर्जेन्टिनामा हिट

सन् २००४ मा गोन्जालो गेरार्डो हिगुइन १६ वर्षका थिए। उनी त्यतिबेला अर्जेन्टिनाको चर्चित रिभर प्लेट क्लबबाट पहिलोपल्ट खेल्न अनुबन्धित हुँदै थिए। क्लबका प्रशिक्षक थिए, सन् १९७८ को विश्वकप विजेता अर्जेन्टिनी टोलीका सदस्य तथा १९९८ विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक, डानियल पासारेला।
उनले त्यतिबेलै हिगुइनबारे भविष्यवाणी गरेका थिए- 'यो केटाको राम्रो भविष्य छ। र, यसमा स्टार बन्ने खुबी छ।'
पासारेलाले भविष्यवाणी गरेको ३ वर्षभित्रै युरोपको महंगो क्लब रियल म्याड्रिडले ६ फिट १ इन्च अग्ला यी स्ट्राइकरप्रति आसक्तिमात्र देखाएन, १९ वर्षे हिगुइनलाई किन्न रिभर प्लेटलाई १ करोड ३० लाख युरो तिर्न राजी भयो। उनका लागि सुरुमा रियल म्याड्रिडले १ करोडको प्रस्ताव राखेको थियो। तर, रिभर प्लेटले त्यो रकम ठाडै अस्वीकार गरेपछि रियल म्याड्रिड हिगुइनका लागि ३० लाख युरो थप्न बाध्य भयो। वास्तवमा रियल म्याड्रिड हिगुइनलाई अनुबन्धित गर्ने निर्णयमा त्यतिबेला पुगेको थियो, जब उनले सन् २००६ को एउटा घरेलु लिगमा रिभर प्लेटका चिरप्रतिद्वन्द्वी बोका जुनियर्सलाई ३-१ गोलले हराउन २ उत्कृष्ट गोल गरेका थिए।
रिभर प्लेटकै पूर्व सेन्टर डिफेन्डर आफ्ना बुवा जर्जे निकोलासका कारण फ्रान्सको नागरिकता बोक्न बाध्य हिगुइन अहिले दक्षिण अफ्रिकामा आयोजना भइरहेको २०१० विश्वकप फुटबलका सबभन्दा आकर्षक अर्जेन्टिनी स्ट्राइकर हुन्। उनले यो विश्वकपका ४ खेलमा ४ गोल गरिसकेका छन्। र, अहिले स्पेनका डेभिड भिल्ला र प्रतियोगिताबाट बाहिर भइसकेको स्लोभाकियाका रोबर्ट भिटेकसँगै सर्वाधिक गोल गर्ने खेलाडीको पंक्तिमा छन्।
हिगुइनका बुवा जर्जे व्यावसायिक फुटबल खेल्न सन् १९८७ मा फ्रान्सको स्टेड ब्रेस्टोइस २९ क्लबमा आबद्ध हुँदा उनको जन्म ब्रेस्टमा भएको थियो। हिगुइनकी आमा नान्सी जाकारिस कलाकार थिइन्।
जर्जेले १ वर्ष फ्रान्सबाट व्यावसायिक फुटबल खेल्ने क्रममा आफ्नो परिवारको सुन्दर भविष्यको कल्पना गर्दै फ्रान्सको दोहोरो नागरिकता स्वीकार गरेका थिए। तर, अर्को वर्ष रिभर प्लेट फर्किने क्रममा १० महिनाका गोन्जालो हिगुइन पनि परिवारसँगै अर्जेन्टिना फर्किएका थिए। उनी १० वर्ष फ्रान्स आएनन्। सन् १९९८ को विश्वकपपछि उनी पहिलोपल्ट फ्रान्स फर्किएका थिए। त्यतिबेला फ्रान्सको नागरिक भए पनि उनलाई फ्रेन्च भाषामा कुरा गर्न आउँदैनथ्यो।
रियल म्याड्रिडको अनुबन्धनसँगै एकाएक चर्चामा छाएका हिगुइनलाई फ्रान्सका हालका प्रशिक्षक रेमोन्ड डोमेनेचले सन् २००६ पछि नै आफ्नो टोलीमा समावेश गर्न ठूलो प्रयास गरेका थिए। तर, उनले डोमेनेचको प्रस्ताव ठाडै अस्वीकार गरे। डोमेनेचले त्यतिबेला हिगुइनलाई फ्रान्सको राष्ट्रिय टोलीमा समावेश गराए उनको स्थान अर्जेन्टिनामा जन्मिएका पूर्व स्टार खेलाडी डेभिड ट्रेजेगुएटजस्तै हुने आश्वासन दिएका थिए। उनले फ्रेन्च टोलीमा २६ नम्बर जर्सी लगाएर खेल्ने ट्रेजेगुएटको जर्सी हिगुइनलाई सर्म्पण गर्ने बताएका थिए। हुन त उनलाई यति नै बेला अर्जेन्टिनाबाट खेल्न डिएगो म्याराडोनाअघि राष्ट्रिय टोली सम्हालेका अल्फो बासेलले पनि प्रस्ताव राखेका थिए। त्यतिबेला हिगुइनले यी दुवै प्रशिक्षकको प्रस्ताव अस्वीकार गरेका थिए। तर, फ्रान्सले पछ्याइरहेकै बेला उनले सन् २००७ जनवरीमा अर्जेन्टिनाको नागरिकता पाउन निवेदन हालेपछि फ्रान्सका सबै प्रयास असफल भएका थिए।
हिगुइनलाई अर्जेन्टिनाले अन्तर्राष्ट्रिय खेल खेल्न सन् २००८ मा देश बोलाएको थियो। उनलाई पहिलो अन्तर्राष्ट्रिय खेलका रूपमा त्यही वर्ष ओलम्पिकको तयारी स्वरुप ग्वाटेमालाविरुद्ध मैत्रीपूर्ण खेलमा बोलाइएको थियो। ५-० ले अर्जेन्टिना विजयी भएको त्यो खेलमा हिगुइनले २ गोल गरेका थिए। तर, फिफाले त्यो मैत्रीपूर्ण खेललाई मान्यता नदिएपछि उनको पहिलो अन्तर्राष्ट्रिय गोलको कीर्तिमान ओझल पर्‍यो।
डिएगो म्याराडोनाले सन् २०१० को विश्वकप छनोट खेलमा पहिले हिगुइनलाई राष्ट्रिय टोलीमा समावेश गर्न मानेका थिएनन्। उनले हिगुइनको खेलमा दक्षिण अमेरिकी स्टाइल नभएको भन्दै टोलीमा राख्न अस्वीकार गर्दै आइरहेका थिए। हिगुइनलाई अहिले पनि त्यही आरोप लाग्ने गर्छ।
तर, विश्वकप छनोटमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि म्याराडोनामाथि हिगुइनलाई टोलीमा समावेश गर्ने दबाब बढ्न थालेको थियो। म्याराडोनाले पेरु र उरुग्वेविरुद्ध २ वटा छनोट खेलमा हिगुइनलाई स्थान दिएका थिए। हिगुइनले पेरुविरुद्ध २-१ ले विजयी खेलमा अर्जेन्टिनाबाट डेब्यु गर्ने क्रममा ४९ औं मिनेटमा गोल गरेका थिए। अन्तिम समय अर्जेन्टिना विश्वकपमा छनोट भएपछि म्याराडोनाले आफ्नो टोलीमा हिगुइनलाई पनि मौका दिए। हिगुइन दक्षिण कोरियाविरुद्ध लिग चरणको खेलमा ह्याटि्रक गर्ने क्रममा सन् २००२ पछि विश्वकपमा यो उपलब्धि चुम्ने पहिलो खेलाडी बन्न पुगेका छन्। उनी अर्जेन्टिनाका गुइलेर्मो इस्टाबेल (सन् १९३०) र गाब्रियल बाटिस्टुटा (सन् १९९४, १९९८) पछि विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो अर्जेन्टिनी खेलाडीसमेत बन्न पुगे।
स्पेनी नागरिक पेड्रो आरिको सुआरेज (१९३० विश्वकप) र पाराग्वेका नागरिक कोस्टान्टिनो उरिबेटा सोसा (सन् १९३४ विश्वकप) पछि तेस्रो विदेशी नागरिकता भएको खेलाडीका रूपमा अर्जेन्टिनाबाट विश्वकप खेलिरहेका हिगुइनका लागि अहिले विश्वका थुप्रै महंगा क्लब उच्च रकम तिर्न तयार देखिन्छन्। तर, रियल म्याड्रिड आफ्नो २२ वर्षे स्टार स्ट्राइकरलाई बेच्न तत्काल तयार देखिँदैन। उनलाई इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड क्लबले अनुबन्धनका लागि २ करोड ५० लाख रुपैयाँ खर्चिने बताइसकेको छ। म्याड्रिड भने यति पैसामा उनलाई बेच्न तयार छैन।

No comments: