फूलमान वल
तीन वर्षअघि आदिवासी चलचित्र आर्काइभले काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव गर्न लाग्दा धेरैले भनेका थिए, 'फिल्मले के पाउँछ ?' आयोजकमध्येका मगरभाषी सिनेकर्मी संजोग लाफालाई त एक हितैषीले प्याच्चै भने, 'बेकारको नौटंकी किन गरिरहनुपर्यो ?'जब महोत्सव सकियो, परिणाम अब्बल देखापर्यो । महोत्सव समापनको चटारो भइरहेकै बेला धरान र बुटवलबाट एकैपटक 'मोफसल संस्करण' को माग भयो । काठमाडौंको महोत्सवमा देखाइएका उत्कृष्ट आदिवासी चलचित्रहरूले मोफसलको दर्शकको पनि उत्तिकै मन जित्यो । त्यसयताका दुई वर्ष काठमाडौंमा दुइटै अन्तर्राष्ट्रिय स्तरका आदिवासी चलचित्र महोत्सव भए । कुनै बेलाका 'नौटंकी पात्र' संजोग लाफाको व्यस्तता अब नपत्याउँदो गरी बढ्न थाल्यो । दोस्रो महोत्सवलगत्तै मोफसलका थप दुई ठाउँबाट 'एक्स्टेन्सन शो' माग भयो, यसपटक विभिन्न ६ स्थानमा त्यस्तो शो हुँदैछन्, जसको संयोजन गरिरहेका छन् तिनै लाफा । 'बितेका तीन वर्षमा आदिवासी चलचित्रले निकै ठूलो छलाङ मारेको छ,' बुधबार अनामनगरस्थित आदिवासी चलचित्र आर्काइभमा भेटिएका संजोगले भने, 'विषयवस्तु छनोट, निर्माणदेखि क्वालिटी उत्पादन-सम्म ।' महोत्सवले आदिवासी चलचित्रप्रतिको चेतना र मोहमात्र नभई बजार प्रवर्द्धनमा समेत सघाएको उनले बताए । संजोग आफंै उदाहरण हुन् । आठ वर्षअघि पहिलोपटक मगर फिल्म 'लिसरा' बनाउँदा उनी घाटामा गए । डिजिटल प्रविधिको फिल्ममा लगानी परेको थियो सात लाख रुपैयाँ । जब दोस्रो फिल्म 'आसे' ले पहिलो अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा स्थान पायो, गाउँगाउँबाट चलचित्रको माग हुन थाल्यो । लाफा काँधमा प्रोजेक्टर र झोलामा ल्यापटप बोकेर गुल्मी, स्याङ्जा र पाल्पातिरका मगर गाउँ पसे । 'लगानी उठाएर पनि मस्तै कमाइ दियो नि' संजोगले दोस्रो फिल्मको अनुभव सुनाए, 'अहिले पनि प्रदर्शनको माग भइरहेको छ ।' पछिल्ला दिनमा आदिवासी चलचित्रले सामाजिक, सांस्कृतिक सौन्दर्यलाई सार्वजनिकमात्र गरेको छैन, चलचित्रकर्मी स्वयंलाई पनि बदलेको छ । 'नेपालीले हिन्दी फिल्मको नक्कल र आदिवासीले नेपाली मसला फिल्मको नक्कल गर्ने अवस्था थियो,' संजोगले भने, 'अब आदिवासी चलचित्रको आफ्नै पहिचान र धार बनिसकेको छ ।' जस्तो कि नेवारी चलचित्रकर्मी आरएम नकर्मी । एक दर्जन नेवारी फिल्म बनाइसक्दा पनि नकर्मी 'गुमनाम' जस्तै थिए । जब आर्काइभले काठमाडौंमा आयोजना गरेको सातदिने फिल्म कार्याशालामा उनी सामेल भए, त्यसपछि उनले बनाएको 'भिन्तुना' ले दोस्रो आदिवासी चलचित्र महोत्सवमा अवार्ड चुम्यो, उनी वाहवाही र चर्चाका पात्र भए । नकर्मीको उदाहरणसँगै संजोगको अनुहार चम्कियो । गत जेठमा काठमाडौंमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवको 'एक्स्टेन्सन शो' लाई शुक्रबारदेखि नारायणगढबाट सुरु गर्न लागिरहेका उनले गुल्मीका जीवन राना, अर्घाखाँचीका टोपलाल मगर, पाल्पाका हरि सारू, नवलपरासीका रुद्र गुरुङ र कपिलवस्तुका तुलसी चौधरी सम्झे, जसले आदिवासी चलचित्रलाई आआफ्ना जिल्लाका गाउँस्तरमै ल्याइपुर्याउन संजोगलाई घचघच्याइरहेका छन् । केही समयअघि आर्काइभका अध्यक्ष नवीन सुब्बा र संजोगलाई ती साथीले बुटवलमा धर्ना नै दिएछन्, गाउँसम्म महोत्सव फैलाउन । 'सबै थलोमा महोत्सव गर्न खर्च र व्यवस्थापनको समस्या छ,' एक्स्टेन्सन शोका संयोजक संजोगले भने, 'नारायणगढपछि धरान, बिर्तामोड, पोखरा, बुटवल र दाङ पुग्छौं ।' धरान र बुटवलमा स्थानीय आयोजकले खर्च बेहोरेका छन्, बाँकीको आर्काइभले । यी त भए महोत्सवका कुरा । आर्काइभले यसबाहेक देशैभर 'सिनर्जी नेटवर्क' बनाएर आदिवासी चलचित्रलाई गाउँगाउँ पुर्याइरहेको छ । तामाङ, मगर, लिम्बू र थारू समुदाय सम्बद्ध चलचित्रकर्मीका संघमार्फत डेढ सय वटा नेटवर्क बनाइसकेको संजोगले बताए । 'देश/विदेशका आदिवासी चलचित्र देखाउँछौं र समान विषयवस्तुबारे अन्तरक्रिया गर्छौं,' उनले भने, 'अनि आर्काइभ बनाउँछौं ।' कुराकानी भइरहँदा संजोगलाई बुटवलका तिनै साथीहरूले फोन गरे, जसले गाउँसम्म चलचित्र फैलाउन आग्रह गरेका थिए । 'खुसीको कुरा त के भने,' फोन गफ टुंगिएपछि संजोग फेरि बोले, 'बुटवलमा शंकर गाहा लगायतका टोलीले आदिवासी चलचित्रमात्रै प्रदर्शन हुने हल नै निर्माण थालिसकेका छन् ।'
No comments:
Post a Comment