अमर तुम्याहाङ
पृष्ठभूमि:
वर्तमान किरात जाति नेपालको प्राचीन सभ्यताको स्वर्णिम युगको थालनी गर्ने जाति हो । यो बारेमा विभिन्न वंशावलीहरूमा फरकफरक मतहरू रहे तापनि तात्कालिक अवस्थामा हामीले तिनै वंशावलीहरूलाई प्रमाणको रूपमा लिनु पर्ने हुनाले ती वंशावलीहरूमा किरातकालमा विकसित विभिन्न कुराको स्ष्टरूपमा उल्लेख गर्दै यी कुराको पुष्टि गरेको पाइन्छ । ती इतिहासका पानाहरूलाई केलाउने हो भने हालसम्मको सबैभन्दा लामो समय अवधिसम्म शासन गर्ने र कुशल शासकको रूपमा किरातकालीन युगलाई सम्झने गरिन्छ । तिनै महान्तथा गौरवमयी शासकको दरसन्तान हामी आज अदृश्य समयको सीमाभित्र अनेकौँ दर्दनाक पीडा, कुण्ठाहरू लिएर बाँच्न बाध्य भएका छौँ । हामीलाई थाहा छ, समयले धेरै वसन्तहरू पारगरिसकेको छ । तथापि, हामी समयलाई पछ्यौउँने क्रममा यी वसन्तको बहारलाई बुझन सकेनौँ र बुझने कोशिस पनि गरेनौँ । तर, अब त्यो परिस्थितिभन्दा यो समय निक्कै अगाडि लम्किसकेको छ । भनिन्छ- जमाना भूमण्डलीकरणको हो, त्यसैले होला एउटा सानो कोठामा बसेर पनि संसारभरिको सूचना-तस्वीरहरू लिन सक्छौँ । यी त भए समयले दिएको सुविधाहरू तर यसमा मात्र रमेर कोही पनि गर्व गर्न सक्दैन किनभने मान्छेको पहिलो परिचय आफ्नो संस्कार-संस्कृति, सभ्यता, भाषा, लिपि आदि हो । यदि यो कुरालाई हामीले बचाउन सकेको खण्डमा मात्र गर्वको साथ हामी पनि बाँच्न सक्छौँ ।यो देशका शासकहरूलाई यो कुरा स्पष्ट थाहा छ । मै आऊँ, मै लाऊँ सिद्धान्तपे्रमी शासकहरू अझै पनि हामीलाई पीडित बनाउँन चाहन्छन् । बचेखुचेका हाम्रो साँस्कृतिक धरोहरहरूलाई खोजीखोजी निमिट्यान्न पार्ने होडमा लागेका शासकहरूलाई चुनौती दिन र आत्मारक्षाको लागि हामी सबैजना एक हुनु आजको पहिलो काम रहेको छ । समयको गतिलाई हामीले बुझन सकेनौँ भने फेरि हामी र हाम्रो सन्ततिको लागि थप कालो इतिहास कोरिनेछ र आउने हाम्रा सन्तानहरूले हामीलाई धिकार्ने छन् र हामी तिनीहरूका लागि सम्झन योग्य हुने छैनौँ । त्यसैकारण, यो महान् यात्रामा तपार्इंहरूले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध पनि गर्दछौँ ।
एक विषयसँगै अनेकौँ यात्राको पूर्वतयारी
हामीसँग 'किरात येले संवत्' प्रमुख विषय रहे तापनि सयौँ क्षितिजहरू पार गर्नको लागि यात्रा तयार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यसको लागि आवश्यक पूर्वाधारहरू तयार गर्नु पर्ने हुन्छ र यो आवश्यक पनि छ । यो पूर्वाधार तयारीको लागि कुनै एक व्यक्ति वा कुनै एक संस्थामात्र लागि परेको खण्डमा सम्भावनाको बाटो निश्चित रूपमा बन्द हुनेछ । यसको लागि सबैबाट सद्भाव र सहयोगको आवश्यकता हुनु अपरिहार्य छ ।किरात येले संवत् अर्थात् यलम्बर हाङको शासनकालको किटानी गर्ने विषय आजसम्म धेरै इतिहासकारहरुले दुरुह माने र अध्ययन अनुसन्धानको क्षेत्र बनाउन शाहस गरेनन् । सौभाग्यवश समयले यस्तो मोड ल्याइदियो कि प्राचीन नेपालको इतिहासका ज्ञाता एवम् संवत्विद् प्रोफेसर डक्टर जगदीशचन्द्र रेग्मी र लिच्छवि संवत् र लिच्छवि इतिहासका ज्ञाता प्राध्यापक दिनेशराज पन्तले यो दुरुह र असाध्य मानिएको विषय अर्थात् नेपालको किरातकालीन इतिहासको विषयमा जोदाहा भएर उधिन्ने अभियान छेड्नु भएको छ । श्रद्धेय इतिहासकारद्वयको साहस र किरातकालीन इतिहासलाई हामी किरातीहरुले आफ्नो अस्तित्वको मुटुको रुपमा लिने हाम्रो अन्तरहृदयको चाहनाको कारणले नेपालको इतिहासको मुहार नै फेरिने सङ्केत देखिएको छ । अहिले किरात येले संवत् अर्थात् यलम्बर हाङ विषयमा खोज अनुसन्धान गर्ने सानो प्रयासले पहाड खनेर मुसा मात्र भेट्ने उखानलाई लात मार्दै चपरी खनेर मोती भेट्ने नयाँ इतिहास बन्ने तथ्य हाम्रो सामु देखिइसको छ भन्नु अत्युक्ति नहोला । अब किरात येले संवत् र यलम्बर हाङसँग जोडिएको इतिहास किराती समुदायको चासोको विषयभन्दा माथि उठेको छ र राष्ट्रिय वहसका विषय बन्नुका साथै हाम्रो प्राचीन इतिहासको विसद् उत्खनन, अध्ययन-अनुसन्धान र बहसको विषय बनेको छ, बौद्धिक सिँगौरी खेल्नेहरूलाई यस बहसको मैदानमा उत्रिएर विजयी हुन पनि वातावरण तयार गरेको छ ।
सफलताको मेरुदण्ड आर्थिक स्रोत नै हो:
हरेक कुरालाई सफलताको उचाइसम्म पुर्याउँनको लागि त्यसको प्रमुख साधन आर्थिक व्यवस्थापन नै हो । यही मान्यतालाई मनन गर्दै हामीले यो यात्रालाई टुङ्गोमा पुर्याउँनको लागि केही सिर्जनात्मक कार्यक्रमहरू लिएर तपार्इंहरूसँग अनुभव आदाप्रदान गर्न आजको यो भेला उपयुक्त र ऐतिहासिक हुने छ भन्ने अपेक्षा लिएका छौँ ।औपचारिक रूपको यो एक वर्षे यात्राको दौडमा हरेक पक्षबाट हामीलाई एउटा अध्ययन गर्नको लागि विद्यार्थी खोज्नको लागि सल्लाह सुझाव प्रसस्तमात्रामा आयो तर यसको लागि कोही पनि तयारी हुने अवस्था रहेन । यसो हुनको कारणहरू धेरै भए तापनि प्रमुख कारकचाहिँ आर्थिक नै थियो । जुन विषयमा अध्ययन गराउँन खोजिरहेका थियौँ त्यो विषय कुनै मोफपसलमा रहेर गर्ने परिस्थिति छैन् । उसले काठमाडौँमा नै रहेर यो विषयमा व्यापक अध्ययन गर्नुपर्ने हुन्छ । यही कुरालाई लिएर बारम्बार वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाले चार किरात संस्थाहरूलाई बिउँताउने प्रयास गर्नुभयो तर कतैबाट पनि यस विषयमा सक्रिय प्रतिक्रिया आएन । यो किरात सभ्यताको उत्खनन् गर्ने कामको लागि ठूलो सपना थियो । यो सपनालाई विपनामा बदल्ने पात्र हाम्रा संस्थाहरू बन्न तत्पर नबनेको अवस्थामा आज यो यात्रासँगै त्यो सपनाको मूल पात्रको रूपमा खडा हुँदै एउटा अक्षयकोषको निर्माणार्थ तपार्इंहरू समक्ष यो समिति भित्रैदेखि सहयोग गरी दिनहुनको लागि हार्दिक अनुरोध गर्दछ । यदि तपाईहरूले यस कार्यमा सहयोग गर्नुभयो भने हाम्रो त्यो स्वर्णिम युगको इतिहास अरूको जस्तै पुनर्लेखन गर्नको लागि दुरुह विषय रहने छैन ।
प्रतिबद्धता:
'कसैले पनि काटिमार्ने छोरा वा छोरी जन्माएको हुँदैन रे अनि कसैसँग अरूलाई सित्तैमा दिने सम्पत्ति पनि हुँदैन रे' यो उक्ति सही जस्तो लाग्छ । तपार्इंहरूले पनि हामीलाई गर्नुहुने सहयोगको दुरूपयोग भएजस्तो लागेमा एकएक हिसावकितावको लेखाजोखा माग्न सक्नुहुनेछ र हामी त्यसलाई पारदर्शी तरिकाले तपार्इंहरूसमक्ष पेशगर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छौँ ।
किरात येले संवत् अध्ययन समन्वय समितिको स्थान:
किरात येले संवत्को लोकप्रियातासँग-सँगै यसलाई किरात समुदायहरूले अनेकौँ रूपमा प्रयोग र प्रचलनमा ल्याएर चिनाउने प्रयास गरे । त्यो गौरवमयी कुराको थालनी मान्नुपर्दछ । तर त्यसरी जाँदाखेरी हामी बीचमा कति हदसम्म यो संवत्ले स्थान पाउँछ या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउँछ भन्ने कुराको स्वरूप हामी बीचमा समयले प्रश्न तेर्साइदियो र त्यसमा रहेका विभिन्न रूपहरूको खोजी गर्नुपर्ने आवश्यकता अगाडि आएको अवस्थामा किरात समन्वय समिति -२०६६/०५/२५) को एक अभूतपूर्व निर्णयले नाममा एकरूपताको सहमति लियो र सबै किरात सङ्घ-संस्थाहरूले 'किरात येले संवत्' को नाममा चलिरहेको संवत्लाई प्रयोग गर्नुपर्ने निर्णयपछि नामको बारेमा खड्किरहेको अन्योलता हटेको छ । तर यसलाई ऐतिहासिक तथा वैज्ञानिक रूपमा प्रामाणिक बनाउँदै तार्किक निष्कर्षमा पुर्याउँनका लागि अनगिन्ति अप्ठ्याराहरूको सामाना गर्दै अगाडि बढ्नु पर्नेछ । सायद, त्यही कुरालाई मध्यनजर गरेर हुनसक्छ त्यो महान् यात्राको सुभाराम्भको जिम्मा हालसालै किरात समन्वय समितिको एक निर्णयले मुन्धुम पब्लिकेसन तथा नवसमन्वय पब्लिकेसन प्रा.लि.लाई सुम्पेको थियो । त्यही जिम्मेवारीलाई अङ्गीकार गर्दै यी संस्थाहरूले बृहतताका लागि वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा 'किरात येले संवत् अध्ययन समन्वय समिति' गठन गर्दै जिम्मेवारीको शुभाराम्भ गरिसकेको छ ।
किरात येले संवतका ती दिनहरू:
नामको विविधता हुँदाहुँदै पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम विविध क्षेत्रबाट बेलाबेलामा भइरहेको थियो । यो संवत्लाई उल्लेख गरेर विभिन्न सङ्घ-संस्थाहरूले क्यालेन्डर निकाले । यसलाई अझ परिमार्जित गर्नको लागि यस क्षेत्रसँग चासो राख्नुहुने व्यक्ति, सङ्घ-संस्थाले परिकल्पना नगरेका होइनन् । बेलाबेलामा चार किरात संस्थामध्ये केही संस्थाले यस विषयमा खोजअनुसन्धान गर्ने भनेर निर्णयहरू त गरे तर ती निर्णय, निर्णयको गर्भभित्रै रहृयो । यद्यपि २०५८ सालमा किरात याक्थुङ कलाकार सङ्घ धरानले 'येले संवत् र किरात' विषयक विचार गोष्ठी आयोजना गरी समुदाय तथा किरात सङ्घ-संस्थाहरूलाई तताउँने प्रयास गर्यो तर दुर्भाग्य यसले समय अनुकूलता प्राप्त गरेन अर्थात् यस विषयको जानकारी आम समुदायमा सम्प्रेषण हुन सकेन । निराशामय राप सेलाउँदै गइरहेको बेला वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाद्वारा लिखित 'किराती संवत्देखि येले संवत्सम्म' दस्तावेज तान्छोप्पा मासिकमा प्रकाशित भएको ठीक एक वर्षपछि अर्थात् २०६५ माघ १८ गते नवसमन्वयको विशेष पहलमा त्यही दस्तावेजलाई आधार बनाएर वरिष्ठ विद्वान्हरू वरिष्ठ इतिहासविद् प्रा.डा.जगदीशचन्द्र रेग्मी, प्रा.माणिकलाल श्रेष्ठ, समाजशास्त्री जितपाल किराती तथा वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाबीच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो र त्यसमा उठेका अर्थात् विद्वान्हरूको विचारलाई प्रकाशन गरिसकेपछि मुन्धुम पब्लिकेसनको विशेष सक्रियातामा नवसमन्वय पब्लिकेसनसँग नामको एकरूपता खोज्ने कार्यको बारेमा सहमति हुँदै २०६६ साउन २६ गते चार किरात संस्थाका प्रतिनिधि तथा वरिष्ठ इतिहासविद् डक्टर जगदीशचन्द्र रेग्मीको प्रमुख आतिथ्यमा बृहत् कार्यक्रम सम्पन्न भयो जुन कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार प्राज्ञ वैरागी काइँलाले गर्नु भएको थियो । यसले किरात समुदायमा मात्र हैन गैरकिरात समुदायमा समेत निक्कै ठूलो हलचल ल्यायो र यो विषयले निक्कै नै प्राथमिकताका साथ अगाडि बढ्ने मौका हाल पाइरहेको छ ।
हाम्रो केही आग्रह:
क. साझा प्रतिबद्धता: वर्तमान परिस्थितिमा सबैको सहअस्तित्वलाई स्वीकार्दै सहकार्य र सद्भावका साथ अगाडि बढ्नु अत्यन्तै जरुरी छ । हामी -किरातीहरू) बीचमा विविध कारणले मनमुटाव र तिरस्कारको बिजारोपण भइरहेको अवस्था छ । यस्तो अवस्थाबाट माथि उठ्दै यो 'किरात येले संवत्' को मुद्दालाई हामी सबैले साझा मुद्दाको रूपमा लिन सक्नु यो यात्राको अर्को आवश्यकता हो । यदि हामीले यो विषयलाई यसरी साझा रूपमा लान सकेनौँ भने यो फेरि इतिहासको गर्भभित्र नै विलुप्त हुनेछ र हामी सधैँ मिथकीय सीमामामात्र बाँच्न बाध्य हुने छौँ । त्यसैले एक अर्काप्रति अपनत्व भाव सिर्जना गर्दै सामुहिक रूपमा अगाडि बढ्नको लागि साझा प्रतिवद्धता जनाउन हार्दिक आग्रह गर्दछौँ ।
ख. नयाँ संविधानमा किरात येले संवत्लाई सूचीकृत गराउने उपाय: किरात येले संवत्ले किरात समुदायको मन मष्तिष्कमा ठूलो राज जमाइसकेको छ । यो १५ लाखको हाराहारीमा रहेको किरात समुदायसँग प्रत्यक्ष गाँसिएको विषय भएको कारणले पनि राज्यले यसलाई स्वीकारनु पर्ने हुन्छ । किनभने १५ लाख जनसङ्ख्याको भावनालाई राज्यले सम्बोधन गर्न नसकेको खण्डमा नयाँ बन्ने संविधान अपुरो र अधुरो हुनेछ । यसका साथै किरात येले संवत्लाई सरकारी मान्यता दिने र यलम्बर हाङलाई राष्ट्रिय विभूतिको रुपामा स्थापन गर्न लगाउने अभियान चलाउनु र अभियानलाई सफल पार्नु हामी सबै समान दायित्व हो र यो दायित्व पूरा गर्नु पनि हाम्रो परम कर्तव्य हो ।संविधानमा संस्कृति शीर्षकको अनुसूची छुट्टै रहने व्यवस्था हुन्छ । यो संवत् शब्द संस्कृतिसँग जोडिएको कारण नेपालमा चलिआएका विभिन्न संवत्हरू सूचीकृत गर्ने क्रममा किरात येले संवत्लाई पनि यी अनुसूचीहरूमा राख्नुपर्दछ भनेर साझा आवाज संविधानसभाको सदनमा उठाउन लगाउनका लागि व्यक्तिगत र सामूहिक दवाब सृजना गर्न हार्दिक आग्रह गर्दछौँ ।
ग. किरात येले संवत् व्यापक प्रयोग गरौँ: जुनसुकै कामको सुरुवात आफैबाट गर्नु अत्यन्तै आकर्षक र व्यवाहारिक हुन्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै हामी सबैजना -किरात सङ्घ-संस्था, राजनीतिक दल, बुद्धिजीवी, प्रतिष्ठित व्यक्ति-व्यक्ति, श्रमिक आदि) मिलेर आ-आफ्नो क्षेत्रमा -किरात, लिम्बुवान, खम्बुवान आदि) यसलाई (तत् तत् क्षेत्रमा) स्थापित गर्न किरात येले संवत् हाम्रो दैनिक जीवन पद्दतिको रुपमा अङ्गीकार गरी प्रयोग गर्न सामुहिक प्रतिवद्धता जाहेर गरौँ भन्ने आग्रह गदैछौँ ।
अन्त्यमा
यो महानतम यात्रा पूरा गर्न त्यति सजिलो र सहजता भने पक्कै छैन । किनभने हिजोको समयमा भएको गल्ती, कमी-कमजोरीहरूलाई सुधार्दै लैजानु र बिग्रिएका इतिहासका पन्नाहरूलाई सच्याउँदै यसलाई नयाँ आयामको रूपमा परिवर्तन गर्दै, यस बीचमा आइपर्ने अनेकौँ चुनौतीहरूको सामाना गर्नु पर्ने छर्लङ्गै छ । हामीलाई लागेको छ, यो हाम्रो यात्राको थालनीमात्र भइरहेको छ र यही नै सत्य पनि हो । भोलिको दिनमा यो यात्रा कहाँ गएर टुङ्गिन्छ, कुन-कुन मोडमा पुग्छ त्यो भविष्यको कुरा हो तर वर्तमान धरातलमा रहेर भविष्यको रेखाङ्कन सुनौलो नै कोर्ने प्रयास गर्नुपर्दछ । त्यो सुनौलो रूपलाई साकार पार्नको लागि तपार्इं हामी सबै मिलेर सचेत रूपमा अगाडि बढ्नु आजको परम् कर्तव्य हो । 'जस पाउँदा आफू, अपजस पाउँदा अरू' भन्ने उक्खानलाई चिर्दै हामी सबैको साझा समस्या हो भन्ने हेतुले यसलाई आत्मसाथ गर्नु नै महान् बुद्धिमता र यो यात्राको सफलता हो । जुन सफलताको महान् गाथामा हामी सबैजना हुनेछौं र आउने पुस्ता अर्थात् हाम्रा दरसन्तानहरूले गौरव गर्नेछन्, हाम्रो स्मरण गर्नेछन् । जहाँ हामी सबैजना यो ऐतिहासिक दस्तावेजमा अमरत्वको प्रतिविम्व बोकेर बाँचिरहने छौँ सदा-सदा ।
(यो कार्यपत्र ७ नाभेम्बर, २००९ मा 'किरात येले सम्बत' अन्तर्राष्ट्रिय विचार गोष्ठीको पूर्वसन्धयामा आयोजित 'अन्तर्त्रिया कार्यक्रम' काठमाडौंमा 'किरात येले सम्बत अध्ययन समन्वय समितिद्वारा प्रस्तुत गरिएको थियो ।)
No comments:
Post a Comment