कमल तिगेला लिम्बू
विषयप्रवेशःने. क. पा. माओवादीले सङ्खुवासभा र धनकुटाका केही स्थानहरूलाई किरात स्वायत्त प्रदेश हुनपर्ने प्रस्ताव गरेको छ । त्यसरी नै खन्बुवान राष्ट्रिय मोर्चाले लिम्बुवान मोरङमा पर्ने बुढी खोला, लेउती, हिलेहुदै बसन्तपुर,तीनजुरे, मिल्के जलजलेसम्मको भूभाग खम्बुवान हुनपर्ने दावी गरेको छ । त्यसैगरी, लिम्बुवानको दक्षिण पट्टकिा भूभाग झापा, मोरङ र सुनसरी कोचिला प्रदेश हनु पर्ने प्र स्ताव नके पा माओवादीले राखेको छ । यही भूभागमा 'समग्र मधेश एक प्रदेश' हुनपर्ने प्रस्ताव मधेशी फोरम, तमलोपा र सदभावना पार्टी आनन्दी देवी र गुप्ता दुवैले राखेका छने भने थारू जातिको संस्था थारू कल्याणकारी सभाले झापादेखि कञ्चनपुरसम्म नै थरुहट राज्य हुनुपर्ने माग अघि सारेको छ । यही प्रकारले इलामस्थित लेप्चाको संस्थाले तमर नदीसम्म रोङ राज्य प्रदेश हुनपर्ने र उत्तरपट्टी ताप्लिजोङदेखि पश्चिम जुम्लासम्मको हिमाली क्षेत्र हिमाली स्वायत्त प्रदेश हुनुपर्ने लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चले दावी गरेपछि लिम्बुवानको सिमानाः एक प्रमुख चर्चाको विषय भएको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । नेपालमा संघीयव्यवस्था अर्न्तर्गतका राष्ट्र-राज्यहरू निर्माण गर्ने समय आइसकेको छ । यसरी बन्ने राष्ट्र-राज्यहरूमध्ये लिम्बुवान पनि एउटा प्रस्ताव गर्न सकिने भएकोले
यसको सिमाना बारेमा चर्चा गर्न आवश्यक भएको छ ।
लिम्बुवानको सिमानाका केही ऐतिहासिक पृष्ठभूमिःलिम्बुवानको सिमाना अध्ययन गर्नको लागि यसको ऐतिहासिक पृष्ठभूमि बुझ्न पर्नेहुन्छ । यसर्थ, उक्त ऐतिहासिक पृष्ठभूमिलाई क्रमशःप्रस्तुत गरिएको छ ।
लिम्बुवानको सिमानाका केही ऐतिहासिक पृष्ठभूमिःलिम्बुवानको सिमाना अध्ययन गर्नको लागि यसको ऐतिहासिक पृष्ठभूमि बुझ्न पर्नेहुन्छ । यसर्थ, उक्त ऐतिहासिक पृष्ठभूमिलाई क्रमशःप्रस्तुत गरिएको छ ।
१.करिब चौथो शताब्दीतिर योक्नेहाङपछिका राजा लेलिमहाङ (माबोहाङ,ढुङ्गेल १९५५) पालामा उनका भाइ खाम्सोहाङले राजधानी सार्न नमानेपछि उनलाई साँगा भञ्ज्याङपूर्व दूधकोशी पश्चिमको भूभाग छोडिदिए । आज राजा लिलिमहाङका सन्तान लिम्बू र खाम्सोहाङका सन्तान खम्बू जातिमा विकसित भएका छन् । लिलिमहाङ्ले राजधानी तावालुङ सुसुवादेन (ताक्लुङ) मा सार्दा मोरङले आद्यान्न सहयोग गरेको देखिएकोले पूर्वमा टिस्टासम्म नै लिलिमहाङको सिमाना थियो कि भन्ने अनुमान गरिएको छ ।
२. इशाको छैटौ शताब्दीतिर लिलिमहाङका शाखा सन्तानहरूले आठ किरात प्रान्तमा राज्य अंशवण्डा गरी राज्य सञ्चालन गरिरहेको समयमा ताइस्यानवंशी दश सरदारहरू शरणार्थीको रुपमा आए । लामो समयपछि ती सरदारका सन्तान वृद्धि भए । उनीहरूले आठ किरात विरुद्ध विद्रोह गरी आठ प्रान्तको सट्टा दश लिम्बुवान राज्यको स्थापना गरे । तिनीहरूले आफ्नो सिमाना पूर्वमा टिस्टा, पश्चिममा दूधकोशी, उत्तरमा तिब्बत र दक्षिणमा पूर्णीयाको जलालगढ निश्चय गरे । उनीहरूले दश लिम्बुवान प्रान्त विभाजन गर्दा ताक्लुङ गढमा खेवाहाङ राजा चुनिए ।1उनको पश्चिम सिमाना दूधकोशी (Chemjong :1966) थियो । खेवाहाङले खोटाङमा चाम्लिङ चिम्लिङ गढ बनाए । तुम्बा, मादेन, चोङबाङ,माङयाक, आङलाबाङ, आम्लिङ र अन्य खाम्बोङबामाथि शासन गरे । दक्षिणको सिमानाचौबीस बोधेका सइयाक लादोहाङ राजा चुनिए उनले चेम्जोङ, र्सइयाक, भाजी, वाजी, थारू,धिमाल, कोचे र अन्य जातिमाथि शासन गरे । उनले साँगुरी गढ निर्माण गरे र दक्षिणको सिमाना पूर्णिया नजीकको जलालगढ राखे । साम्लुप्ली साम्बाहाङले तम्बर गढ पाए । उनले महाफेदाप राज्यबाट छुट्याई पोमेजङ गढ बनाए । सिसियेन सिरिहाङले मेया र मैया क्षेत्र पाए । उनले मेरिङदेन गढ बनाए । थिङदोलुङ खोयाहाङले याङवारक क्षेत्र पाए उनले हस्तपुर गढ बनाए । येङगासो पापोहाङले पान्थर क्षेत्र पाए । उनले यासोक गढ बनाए । सेन्सेगुम फेदापहाङ फेदाप क्षेत्रका लागि चुनिए । उनले पोक्लाबाङ गढ बनाए । मुङग ताई चि इमेहाङले इलाम फाकफोक चार खोला क्षेत्र पाए उनले आङदाङ गढ बनाए । तापेसु पेरुहाङ तेह्रथुम क्षेत्रका लागि चुनिए । उनले थला गढ बनाए ।
३. इस्वी सन् ६४० मा अंशुवर्माको मृत्यु भएपछि नाल खाल्डोमा राज्य उत्तराधिकारी नहुदा सेनचेन गेम्बा नमका तिब्बती राजाले हुकुम चलाए । उनले अंशुवर्माको छोरी भृकुटीलाई विवाह गरेका थिए । यही समयमा भोटको खाम्पाजोङ (अरुण शीरमा पर्छ) मा अघि लिम्बुवान विद्रोहबाट पलायन भई बसेका माराहाङले तिब्बती फौज उर्ठाई लिम्बुवानमा आक्रमण गरे । उनले लिम्बुवान हातमा लिएपछि उनको दक्षिणी राज्य मोरङ-मिथिलासम्म पुर्याए । उनको राज्यको सिमाना पूर्वमा सांगडोकपू पहाड, पश्चिम हेटौडा,उत्तर खाम्पाजोङ र दक्षिणमा मिथिला रहेको थियो । माराहाङ राजाकै नामबाट हालको मोरङ बन्न गएको हो ।
४.माराहाङ राजाका उत्तराधिकारी नभएकाले आफना उत्तराधिकारी मकवानस्यान नामगरेका उक अफिसरलाई आफनो देशका उत्तराधिकारी छाने । माराहाङ राजाको मृत्युपछि मकवानश्यान नाम गरेका राजाको शासन चल्यो । उनले पश्चिममा एउटा गढ बनाई त्यसको नाम मकवानपूर राखे । मकवान स्यानपछि सिरिजङगाहाङ यस देशका राजा भए ।2 उनलाई सुप्रसिद्ध सन्त राजाको रुपमा पनि चिनिन्छ । उनले भाषा, धर्मको प्रचार गर्नका साथै किरात लिपि आविष्कार गरे ।
५. सन् १२०० तिर सोमरपति कामरुपका किरात जातिमध्येका कोचवंशी राजाहरूको प्रभुत्व बढेको थियो । उनीहरूले राज्य विस्तार गर्नेक्रममा कोचवंशी राजा सिंग रायले आफ्नो देश मोरङसम्मा विस्तार गरे । यिनै वंशभित्र पर्ने सन् १३६४ मा मोरङ तराइमा साङलाइङ नाम गरेका राजाले राज्य गरे । उनको दरवार वाराताप्पा विजयपुरमा नै थियो । उनको सिमाना पूर्वमा टिस्टा, पश्चिम कोशी नदी, उत्तर साँगोरी गढी,दक्षिणमा जलालगढ थियो । साङ्लाइङका पूर्खा आसाम कामरुपबाट आएका थिए । इतिहासकारहरूका अनुसार कोच घरानाका थिए । किरात वंशावलीका अनुसार साङलाइङ साक्वादेन थरका लिम्बू घरानाका हुन् ।3 साङलाइङपछि उनका छोरा पुङ्लाइङ राजा भए ।4 उनले अमर राय लेख्न थाले । उनी राय पद्वी धारण गर्ने पहिलो व्यक्ति थिए । उनीपछि छोरा कीर्तिनारायण राय,अमर राय, जारेनारायण राय, इङ्दिननारायण राय,र विजय नारायण राय गरी सात पुस्ताले विजयपुरमा राज्य गरे । राजा विजय नारायण रायले परराष्ट्र नीतिमा प्रभाव पार्न मुरेहाङ(खेवाहाङ) लाई विजयपुर आउन निमन्त्रणा गरे । त्यस समयमा मुरेहाङ खेवाहाङ प्रभावशाली राजा थिए ।5 उनले मुरेहाङलाई फकाइ -फुल्याइ दुवै मित्रहरू एक भई पहाड मधेश एकमुष्ट पारी एउटै राजधानीमा बसी राजपाट गरौं भने । उनले पहाडी राज्यमा हस्तक्षेप नगर्ने साथै राजा मुरेहाङले विजयपुर राजधानीमा बसी राज्य शासन गर्नमा विजय नारायण रायलाई सहयोग गर्ने भन्ने वार्तालाप भयो । राजा विजय नारायण राय मोरङ मधेशको मात्र राजा हुने तर राजा मुरेहाङ मधेश पहाड दुवैको राजा हुने भनी र्सत राखे । त्यसका अतिरिक्त पहाडका किरातहरूले पु स्तौ पु स्तासम्म प्रधानमन्त्री वा चौतारीयाको काम गर्ने अधिकारसमेत पाए । विजयपुरका राजालाई मन्त्रीको ज्यान लिन पाउने तर मन्त्री पद खोस्न नपाउने भयो । यसपछि विजयनारायण राय मुरेहाङ खेवाङको सेनाका आडमा अघिकाभन्दा शक्तिशाली भए । विजयनारायण रायले पूर्वमा कन्काई नदी,पश्चिममा कोशी नदी, उत्तर सिमाना सानगढी,र दक्षिण सिमाना जलालगढ कायम गरी राज्य गरे । उनले स्यान गढीमा एक शहर बर्साई त्यसको नाम आफ्नै नामबाट विजयपुर राखे । उनले मुरेहाङलाई 'राय' पदले सुशोभित गरे । मुरेहाङ राय लेख्ने दोस्रा व्यक्ति भए । पहिलो व्यक्ति पुङलाइङ (अमर राय) थिए । पछि मुरेहाङलाई विजयनारायण रायले फाँसी दिए । यसको बदलामा मुरेहाङका छोरा बाजाहाङ रायले विजयनारायण रायलाई लखेट्न मकावानपुरका लोहाङ सेनसंग सहायता मागे ।6 लोहाङ सेनको राज्य विस्तारको क्रममा बाजाहाङ युद्धभूमिमै मृत्यु भएकाले विजयपुर राज्य लोहाङ सेनको भयो । सातपुस्ता राज्य गरेका कोचवंशी भनिएकाहरूको राज्य सेनहरूबाट समाप्त भयो ।
६ . लोहाङ सेनले आफ्नो राज्यालाई पाँच भाग लगाई प्रत्येक भागमा एकएक जना सुब्बाको अधीनमा राखे ।१. मकवानपुर पूर्व कमला नदी पश्चिम भूभागलाई सप्तरी प्रदेश नामाङ्करण गरी चाङबाङहाङ रायलाई सुब्बा नियुक्त गरे । २. त्यसरी नै कमलापूर्व कोशी पश्चिम भूभागलाई महोत्तरी प्रदेश नामाकरण गरे र लिवाङहाङ रायलाई सुब्बा नियुक्त गरे । ३. ताँबाकोशीपूर्व, अरुण पश्चिम,सप्तरी प्रदेश उत्तर तिब्बत पश्चिम खम्बुवान राज्यमा नाम्दुङहाङ रायलाई सुब्बा पदमा नियुक्त गरी खोटाङ गढीमा राखे । उनले विजय गढ दक्षिण, जलालगढ उत्तर, कोशीपूर्व, महानदी पश्चिमको भूभागलाई मोरङ प्रदेश र विजयपुर उत्तर, अरुणनदीपूर्व र टिस्टा नदी पश्चिम, तिब्बतको दक्षिणको भूभागलाई लिम्बुवान राज्यको नामाकरण गरी दुवै राज्यमा बाजाहाङका पुत्र विद्याचन्द्र राय (पानोहाङ खेवाहाङ) लाई स्वायत्त शासन सञ्चालन गर्न दिए । पानोहाङ विद्याचन्द्र रायले विजयपुर गढीमाबसी पहाड मधेश शासन गरे ।
७. लोहाङेनपछि हरिहर सेन, सुभ सेन मकवानपुरका राजा भए । सन् १६०४ मा किरातहरू मकवानपुरे राजा मान्ने र नमान्ने दुइ भागमा विभाजन भए । नमान्नेले पुनः आफै राजा भई राज्य चलाउन थाले । मान्नेले सुभसेनका जेठा छोरा महापति सेनलाई राजा बनाए । महापति सेनपछि कामदत्त सेन विजयपुरका राजा भए । उनले पनि पिता पूर्खा झैं किराती लिम्बूहरूलाई नै मन्त्री पदमा नियुक्त गरे ।
८. मन्त्रीहरूमध्ये पानोहाङ(विद्याचन्द्र राय)का छोरा विचित्र चन्द्र राय प्रभावशाली थिए । उनले कामदत्त सेनलाई विजयपुरबाट निकाली स्वतन्त्र राजा भए । उनको शेषपछि उनका छोरा हाङ बुद्धिकर्ण राय विजयपुरका राजा भए । राजा बुद्धिकर्ण रायको शासन कालमा कामदत्त सेनले विजयपुरमाथि आक्रमण गरे । तर सिक्किम तिब्बत सेनाले समेत बुद्धिकर्ण रायलाई साथ दिएकाले कामदत्त सेनलाई पराजित गरे । उक्त युद्धबाट बुद्धिकर्ण राय खुशी भई सिक्किमको राजप्रतिनिधिहरूलाई मेची र इन्दू नदीबीचको भूभाग सिक्किमलाई जागीर दिए ।7 यो समयमा लिम्बुवान पूर्वमा मेची, पश्चिम अरुण, उत्तर तिब्बत र दक्षिण जलालगढ नै रहेको थियो ।
९. सन् १७०६ मा मोरङका किरात नवावबीच भीषण युद्ध भयो । यो मोरङ युद्धमा थुम् थुम्का किरात लिम्बूहरूले पूर्णीया राज्यका नवाव इस्फुन्दियार खाँलाई जलालगढ कर्टाई लिम्बुवान राज्यको सिमाना पूर्व टिस्टादेखि पश्चिम वेतीयासम्म पुर्याए ।8
१०. सन् १७७३ जुन २० तारिख हतुवा चौदन्डी गारेखा सेनाले आक्रमण गरी त्यहाँबाट किराती राजा कर्ण सेनलाई पराजित गरेपछि कर्ण सेन भागी विजयपुरका बद्धिकर्ण रायसंग सरण पर्न आएका थिए । त्यसबेलासम्म बुद्धिकर्ण रायले विजयपुर मोरङ वा समग्र लिम्बुवान देशको शासन चलाउँदै आएका थिए । केही इतिहासकारहरूले कर्ण सेन रायले विजयपुरका पनि राजा थिए भनी भ्रम सिर्जना गर्न खोजेका थिए तर यसको खण्डन किरातकालीन विजयपुरको इतिहासमा इतिहासकार इमासिङ चेम्जोङले गरिसकेका छन् ।
११. गोरखाका विस्तारवादी राजा पृथ्वीनारायण शाहले पूर्व आक्रमणको योजाना बनाउँदा दश लिम्बुवानमा बाह्रजना नामी सुब्बाहरू थिए । गोरखाली आक्रमणताका राजा बुद्धिकर्णलाई दरवारमा राखी आफू मोरङको मन्त्री र चौतारिया भइसकेका थिए । उनीहरूले सत्रपटक पृथ्वीनारायण शाहलाई लखेटी आजित बनाएका थिए । तिनीहरू श्री जङ राय आठर्राईका,श्री फुङ राय पान्थरका,श्री जमुना राय चौबीसका, श्री आताहाङ राय फेदापका, श्री सुभवन्त राय तम्बरखोलाका, श्री नैनसिङ राय मेवाखोलाका,देव राय मैवाखोलाका, श्री योङयाहाङ राय याङयोकका, श्री सुनुहाङ राय छतरका, आसदेव राय चारखोलाका र श्री जसमुखी राय चैनपुरका थिए । सो समयमा पूर्वमा मेची, पश्चिममा अरुण- सप्तकोशी, उत्तर तिब्बत र दक्षिणमा जलालगढ नै लिम्बुवाको सिमाना थियो ।
१२. सन् १७७४ को लालमोहरामा सिमाना उल्लेख नभए पनि माथिका आधारमा लिम्बुवानको सिमाना पूर्वमा मेची, पश्चिम अरुण कोशी, उत्तरमा तिव्बत र दक्षिणमा जलालगढ (पूर्णीया छेउ) सम्म रहेको थियो । मेचीदेखि टिस्टासम्मको भूभाग बुद्धिकर्ण रायले सिक्किमलाई जागीर दिएकोले सो भूभाग सिक्किमको अधीनस्थ रहेको पष्ट हुन्छ ।
१३. प्रताप सिंह शाहको पालामा सिक्किम- गोरखा दोस्रो युद्ध प्रारम्भ भयो । राजा रणबहादुर शाहको पालामा गोरखा राजाले लिम्बुवानको पुरानो सिमाना टिस्टासम्म पुर्याए । यो युद्धलाई बहादुर शाहले नेतृत्व गरेका थिए । यो युद्धमा ३२ हजारभन्दा बढी लिम्बूहरूले सिक्किमको पक्षलाई युद्धमा सहभागी भएकाले सिक्किम पराजित भएपछि ती लिम्बूहरूले पनि सिक्किमतिरै निर्वासित हुनुपर्यो ।
१४. सन् १७८८ मा किपटको प्रचलन भयो । यो रणबहादुर शाहले लागू गरेका थिए । यसमा आ-आफ्नो भूभाग दावी गर्नुपर्ने भयो । जसअन्तर्गत लिम्बुवानको सिमाना यही समयदेखि खुम्च्याउने षडयन्त्र प्रारम्भ भयो । राजा पृथ्वी नारायण शाहले लिम्बूसंग गरेको सन्धीको उल्लङ्घन क्रमशः गर्दै जाने कार्यको थालनी भयो ।
१५. सन् १७७२ को चीन-भोट गोरखाबीचको सन्धीमा चीनले गोरखालाई सिक्किमका पश्चिमी भूभाग छोड्न प्रस्ताव गरेको थियो । नेपालले पश्चिम सिक्किम फिर्ता लिने बाचा गरे पनि उनले केही सिमित प्रदेशहरूमात्र फिर्ता गरी दार्जिलिङ आफै राखेकाले सिक्किमे राजाले अंग्रेज सरकारसंग अर्को सहायता मागे । अंग्रेजी फौजले एकै चोटि दार्जीलिङको नाग्रिजोङ गढीमा आक्रमण गरे । यो आक्रणमा गोरखाली सेनाहरू पराजित भए । त्यसपछि सन् १८१६ मा सुगौली सन्धी भयो । जस अनुसार मेची नदीदेखि टिस्टासम्मको मधेश पहाड सबै भूभाग गोरखालीले सिक्किमलाई छाड्नुपर्ने भयो । यस सन्धीबाट लिम्बुवानको पूर्वको मेचीदेखि टिष्टा र दक्षिणपट्टीको जलालगढसम्मको भूभाग गुमाउनु पर्यो । हाल जलालगढ नेपाल-भारतस्थित जोगवनीबाट ६१ कि.मि. दक्षिण भारतको पूर्णीया जिल्लामा पर्दछ ।
१६. पछिल्लो समयमा किपट दावी गर्ने क्रममा तत्कालीन लिम्बुवानको सम्भवत रङ्गेली, तेलकोटी बर र भुडे सिम्मलसम्म मात्र दावी गरे । यो दावी पछिल्लो समयसम्म कायमै देखिएको छ । यो किपटीया सिमाना दावी गर्दै मुद्धासमेत परेको थियो । यसबाट के देखिन्छ भने लिम्बूहरूको आफ्नो पछिल्लो दावी लिम्बुवानको रङ्गेली, तेलकोटी बर र भुँडे सिम्मलसम्म रहेको थियो । भुडे सिम्मल पूर्व- पश्चिम राजमार्गस्थित् पाडाजुँगीबाट ४६ कि.मि. दक्षिण जुडोपानी गा.वि. स . वडा नं.२ मा पर्छ ।
१७.सन् १९५१ मा राजा त्रिभुवनले लिम्बूहरूलाई दिएको लालमोहरबाट लिम्बुवानको सिमाना दक्षिणतर्फबाट खुम्च्याइएको छ । लालमोहरमा चार किल्ला तोक्दा 'पूर्वमा मेची,पश्चिम अरुण, उत्तरमा तिब्बत र दक्षिणमा तराइमाल उत्तर' भनेका छन् । यसबाट मधेशी मलिलो भाग विर्ता बाँड्न राखेको प्रष्ट हुनआउँछ ।
१८. सन् १९६० मा किपट भूमि लिम्बुवान महेन्द्र राजाको पालामा एक लालमोहर जारी गरी थमौति भएको पनि पाइएको छ । राजा महेन्द्र र तिनका प्रशासकहरूले षडयन्त्रबाट सन् १९६५ बाट भूमिसुधारका नाममा किपट खोसिएको हो ।
१९. चारकोशे जङगलबीच आधार बनाई फार लाइन निर्माण गरी साँध लगाएको अझै पनि पाइन्छ । त्यसमा लाख र माल बनाई L/M को साइनबोर्डसमेत राखेका थिए । उत्तरतिर लाख कायम गरी किपट प्रथा र दक्षिणतर्फ माल कायम गरी जमिन्दारी प्रथा लागू गरे । हात्तिलेदाको माङहिमबाट लाख र माल छुट्याइएको सिमाना प्रत्यक्ष देख्न सकिन्छ भने यता सुनसरीको चारकोशे झाडीमासमेत फारलाईन बनाई सिमाना बनाएको पाइएको छ । यो पछिल्लो मिचिएको सिमाना हो ।
२०. यसरी लिम्बुवान खुम्च्याएपछि लिम्बूहरूले यसको विरुद्ध समय-समयमा वि द्रोह गर्दै आएका छन् । लिम्बूहरूलाई दिइएको लालमोहर र जारी गरिएका इस्तिहारहरूमा आगे "अरुणपूर्व मेची पश्चिम भोट सिमाना दक्षिण" बाट लेखन प्रारम्भ भएबाट लिम्बुवानको पूर्व-पश्चिम र उत्तर दक्षिणको सिमाना प्रष्ट हुन आउँछ ।
२१.ऐतिहासिक प्रमाणको रुपमा लिन सकिने हड्सन पाण्डुलिपीमा अरुणपूर्व लिम्बुवान लेखिएको एक कागजात फेला परेको छ । जसमा खम्बुवानको नक्सा प्रष्ट कोरिएको र अरुण नदीपर्वू लिम्वूवान लेखिएको खम्बुवान र लिम्बुवानको सिमाना विवादमा प्रमाणको रुपमा पेश गर्नसक्ने अवस्था छ । यसमा लिम्बुवानको मानचित्र नबनाइए पनि प्रष्टसंग अरुणनदी पूर्व लिम्बुवान उल्लेख गरिएबाट लिम्बुवान राज्यको पश्चिम सिमाना प्रमाणित गर्न सकिन्छ ।
२२. सुनसरी जिल्ला बन्नभन्दा अगाडि यो जिल्लाका सम्पूर्ण भूभाग मोरङ अन्तर्गत पर्ने भएकाले यतापट्टकिो सिमानामा विवाद रहन्न । विगतमा कोशीपूर्व मेची पश्चिमको भूभाग मोरङले समेटेको थियो । जुन प्राचीन किरात राजा माराहाङले स्थापना गरेका थिए । पछि मोरङबाट झापा प्रशासन छुट्टीदा समेत मोरङझापा भन्ने गरिएको तथ्यबाट पनि लिम्बुवानको सिमाना प्रष्ट हुन्छ ।9
सिमाना निर्धारणका आधारहरूः
१. जातीय ऐतिहासिक पृष्ठभूमिको आधारःआधुनिक नेपाल वा गोरखा राज्यको विस्तारपूर्व कुन राज्यको सिमाना कहाँ थियो भन्ने यकिन गर्नुपर्दछ र सोही आधारमा राज्यको सिमाङ्कन गर्न सकिन्छ । २. भौगोलिक अनुकूलताः सिमाना निर्धारण गर्दा भौगोलिक अनकूलतालाई समेत हेर्नुपर्दछ ।उदाहरणको लागि समग्र मधेश एक प्रदेश,हिमाली प्रदेश, झापा-कञ्चनपुर थरुहट प्रदेश नामकरण गरी सिमाङ्कन गर्दा भौगोलिक अनकूलता छ छैन, हेर्नुपर्दछ, जस्तै समग्र मधेश एक प्रदेशको राजधानी जनकपुर राख्दा कञ्चनपुरका जनताहरूका लागि अनुकूल हुन्छ वा हुन्न भनी ख्याल गर्नुपर्ने हुन्छ । त्यसरी नै हिमाली प्रदेशको कुरा गर्ने हो र सोलुमा सदरमुकाम राख्ने हो भने जुम्लाका हिमाली जनताहरूका लागि भौगोलिक अनुकूलता छ छैन हेर्नुपर्ने हुन्छ । ३. जातीय सघनताः अर्को जातीय सघनता पनि हो तर यो सबै राज्यहरूमा अभ्यास गर्न सकिन्न । किनकि उदारहणका लागि लिम्बुवानलाई लिने हो भने लिम्बुवानमा लिम्बूहरू नै अल्पमतमा परेका छन् । त्यस्तै, नेपाल मण्डलमा नेवारहरू अल्पमतमा पर्दछन् । अर्को जातीय सघनतालाई मात्र आधार बनाउने हो भने राज्यको सिमाना कोर्दा अक्टोपसको जस्तो आकार बन्न सक्दछ । यसर्थ, जनसाङ्ख्यिक् आधारमात्र प्रयाप्त आधार होइन । ४. अन्तर्राष्ट्रिय सिमाङ्कन विधिः राज्य सिमाङ्कन गर्दा अन्तर्राष्ट्रिय विधि अपनाउनु पर्नेहुन्छ । यसमा ठूलो नदी, पहाड, हिमाल, पानी ढलोको माध्यमबाट राज्यको सिमाना निर्धारण गर्न सकिन्छ । ५. आर्थिक उपलब्धताः राज्य सिमाङ्कन गर्दा आर्थिक स्रोत साधनहरूको उपलब्धतालाई समेत ख्याल गर्नुपर्ने हुन्छ । सिमाङकन गर्दा त्यस राज्य वा जनताहरूलाई आर्थिक एवम् विकासका हिसाबले प्रभाव पार्छ वा पार्दैन ख्याल गर्नुपर्ने हुन्छ । ६. दस्तावेज/प्रमाण : राज्यको सिमाङ्कन गर्दा राज्यका दावेदारहरूसंग आवश्यक दस्तावेज र प्रमाणहरू हुनपर्दछ जसले त्यस राज्यको सिमाना निर्धारणका लागि आवश्यक तथ्यहरू प्रस्तुत गर्न सकोस् । ७. अध्ययन अनुसन्धानः सिमाना निर्धारण गर्दा अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य र वास्तविकताको आधारमा गर्नपर्दछ । एकात्मक राज्य व्यवस्थाबाट संघात्मक राज्यको संरचना गर्दा सिमाना निर्धारण एक जटिल विषय हो ।
सिमाना विवाद भएमा निरुपण गर्ने विधि
क. सिमाना विवाद भएमा विवादित पक्षहरूबीचको आपसी सहमतिबाट सिमाना निर्धारण गर्न सकिन्छ । ख. पहिलो विधिबाट समस्या समाधान नभएमा दुबै पक्षलाई स्वीकार्य तेस्रो पक्षको सहजीकरणमा सिमाना निर्धारण गरी सहमतिमा पुग्न सकिन्छ । ग. पहिलो र दोस्रो विधिबाट सिमाना निर्धारण गर्न नसकिएमा दुइ राज्यको मामिला संघीय अदालतले हेर्ने भएकाले आवश्यक प्रमाणहरू पेस गरी अदालतको आदेशको आधारमा सिमाना निर्धारण गर्न सकिन्छ ।
निष्कर्ष सुझावहरू
आधुनिक नेपाल निर्माण वा गोरखा राज्य विस्तारपूर्व बुद्धिकर्ण रायले विजयपुरबाट अन्तिम राज्य सञ्चालन गरेका थिए । उनले राज्य सञ्चालन गर्दा लिम्बुवानले विजयपुरलाई केन्द्र सरकार मानेको थियो । यो समयमा पूर्वको सिमाना मेची, पश्चिम अरुण सप्तकोशी, उत्तर तिब्बत र दक्षिणमा जलालगढसम्म नै कायभ भएको थियो । यो सिमाना गोरखा राज्य विस्तारबाट पृथ्वीनारायण शाहले सन्धी सम्झौतामार्फत् आफ्ना अधीनस्थ बनाएका थिए । पछि विभिन्न कालखण्डमा मधेशको मलिलो जमिन विर्ता बाँड्न लिम्बुवानलाई दक्षिणबाट खुम्च्याइयो । किरात याक्थुङ चुम्लुङको एक अध्ययन प्रतिवेदनले दक्षिणपट्टीको सिमाना नेपाल-भारत सिमानालाई निर्धारण गर्न सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान राज्य निर्माणका लागि आवश्यक पहल गर्न आवश्यक छ । यसलाई पहिलो प्राथमिकता दिनुपर्दछ । यसका लागि लिम्बुवानाबासीको समेत सहमति खोज्न आवश्यक छ । लिम्बुवानमा रहने थात थलो खुलेका जातिलाई विशेष स्वायत्त क्षेत्र र थातथलो नखुलेका जातिहरूको स्वशासित क्षेत्र निर्माणका लागि प्रस्ताव गर्नुपर्दछ । विशेष स्वायत्त क्षेत्र,स्वशासित क्षेत्र र लिम्बुवान राज्यबीच सहकार्य गर्न आवश्यक छ । लिम्बुवान खस परिषद् जस्तै अन्य जातिहरूको पनि संगठन निर्माण गर्न सहयोग पुर्याउनु पर्दछ । लिम्बुवानअन्तर्गत् रहन नचाहने वा स्वायत्त राज्य माग गर्ने संगठनहरूसंग निरन्तर सम्वाद गर्न आवश्यक छ । लिम्बुवानको सिमाना क्षेत्रमा बसोबास गर्ने जातिहरूसंग अन्तरसम्वाद अविलम्ब थालिनी गर्नुपर्दछ । जातीय ऐतिहासिक पृष्ठभूमिको आधारलाई अघि सारी यसको जनवकालत सशक्त रुपमा गर्नपर्दछ । सिमाना उल्लेख भएका दसी प्रमाण सङ्कलन कार्य यथासीघ्र थालनी गर्नपर्दछ र सिमाना विवादित् पक्षसंग सम्वाद थालनी गरी आपसी सहमति कायम गर्नुपर्दछ । अध्ययन अनुसन्धानका प्रतिवेदनहरू सङ्कलन र त्यसको प्रचार-प्रसार गर्न आवश्यक छ । यी प्रयासहरूबाट सिमाना निर्धारण गर्नका लागि सहज हुन सक्दछ र विवाद भएमा विधिबाट समाधान खोज्न पर्दछ ।
(यो कार्यपत्र सन् २००८ जुन् २ तारिख, इलाम बजार, लिम्बुवानमा किरात याक्थुङ चुम्लुङको १३ औं राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत गरिएको हो । लेखकको 'लिम्बुवानको राजनीति' नामक पुस्तक पनि प्रकाशित छ ।)
सन्दर्भ सामग्री
1.IS Chemjong: History and Culture of Lirat Peoples, Page 54
2. स्व. इमान सिं चेम्जोङ, १९४८, किरात इतिहास पृष्ठ २५
3. स्व. इमान सिं चेम्जोङ, १९७४, किरात कालीन विजयपुरको इतिहास, पृष्ठ १३
4. पुङलाइङ (अमर राय) सातरेनुहाङ तुम्बाहाङफे वंशावली र फेदाप लिम्बुवान पृष्ठ ५७
5. मानव उत्पत्ति र खेवा वंशावलीमा मुरेहाङको वंशावली उल्लेख छ ।
6. पश्चिम किरात देशका आपुङ्गी राजाहरुमध्ये पाल्पाका मुकुन्द सेन सबभन्दा श्रेष्ठ निस्किए । उनलाई आपुङ्गी राजाहरुलेसमेत मान्दथे । उनले आफ्नो राज्य पाल्पादेखि मकवानपुरसम्म राज्य विस्तार गरे ।
7. इमान सिङ चेम्जोङ, १९४८, किरात इतिहास पृष्ठ ३६
8. स्व. इमानसिङ चेम्जोङ :१९७४, किरातकालीन विजयपुरको इतिहास पेज ५१
9. दाहाल, डा. पेसल, मोरङको ऐतिहासिक रुपरेखा,मोरङ एक परिचय, पृष्ठ २९
पालाम मासीकबाट
No comments:
Post a Comment