Oct 15, 2008

ग्यासट्राइटिस / ग्याष्ट्रिक रोग उपचार

डा केदार कर्माचार्य
पेटमा हुने रोगहरूमध्ये पाचनसम्बन्धी समस्या प्रमुख हो । उदर-प्रदाहलाई अंग्रेजीमा 'ग्यासट्राइटिस' भनिन्छ । सामान्य भाषामा यो समस्यालाई अधिकांश व्यक्तिले ग्याष्ट्रिक रोग भन्ने गरेको पाइन्छ । यसले प्रायःजसो हरेक क्षेत्रका मानिसलाई धेरै-थोरै सताइरहेको हुन्छ । सर्वेक्षण अनुसार प्रत्येक तीनजना मध्ये दुइजना यो समस्याबाट ग्रसित छन् । पाकस्थली भित्ताको म्युकसमेम्ब्रेन (श्लेष्मिक आवरण) बाट ग्याष्ट्रिक जुस (आमाशय रस) को उत्पादनले हाम्रो पाचनक्रियामा सहयोग पुर्‍याएको हुन्छ । जब म्युकसको उत्पादनमा ह्रास हुन्छ, त्यसबेला आमाशयबाट उत्पादित हाइड्रोक्लोरिक एसिड (उदर-उम्ल) को प्रत्यक्ष असरले श्लेष्मिक आवरणलाई सुरक्षित राख्न असमर्थ हुदा सुन्निने हुन्छ । यस्तो अवस्थालाई ग्यासट्राइटिस भनिन्छ । हाइड्रोक्लोरिक एसिडको पनि हाम्रो पाचनक्रियामा महत्त्वपूर्ण योगदान रहन्छ । हामीले खाएको खानासँग रहेका सूक्ष्म कीटाणुलाई नष्ट गरेर यसले खाना पचाउन सहयोग पुर्‍याउछ । आमाशयमा रहेका म्युसिन नामक पदार्थले आमाशयको आवरणलाई हाइड्रोक्लोरिक एसिडको पोलाइबाट बचाउछ ।
ग्यासट्राइटिसका प्रकार -1.एक्ट्यु (तिव्र) 2.क्रोनिक (दीर्घ)
ग्यासट्राइटिस हुनुका कारण
मुख्यतया अनियमित तथा असन्तुलित खानपिन, चिल्लो, पीरो, अमिलो, गरम मसला, तारे-भुटेको खाना, चिया, कफी आदि बढी सेवन गर्नु, जाड-रक्सी पिउनु, धूमपान गर्नु, लामो समयसम्म खाना नखाएर पाकस्थलीलाई खाली राख्नु, आवश्यकताभन्दा बढी खानु, पानी थोरै पिउनु, विभिन्न प्रकारका औषधी तथा रासायनिक पदार्थ सेवन गर्नु, शारीरिक श्रम नगर्नु, मानसिक तनावको स्थितिमा खाना खानु आदि ।
शरीरको स्नायुप्रणाली अर्न्तर्गत जिव्रोको टुप्पादेखि पाकस्थलीसम्म भेगर्सनर्भ नामक नसा फिजिएको छ । अमिलो, पीरो खादा, धूमपान गर्दा तथा मानसिक रूपले तनावग्रस्त रहदा यो नर्भ (नसा) मा उत्तेजना पैदा हुन्छ । फलस्वरूप पाकस्थलीमा हाइड्रोक्लोरिक एसिड बढी मात्रामा उत्पादन हुन्छ र यो खानानली हुदै घाटीसम्म पुगेर मुखमा समेत अमिलोपनको अनुभूतिसाथ पोल्न थाल्छ । यो स्थितिलाई चिकित्सा विज्ञानको भाषामा 'हार्टवर्न' भनिन्छ । पाकस्थलीमा 'हाइपर एसीडीटी' (अम्लपित्त) को अवस्थाले गर्दा यस्तो स्थिति सिर्जना हुन्छ ।
ग्यासट्राइटिसका लक्षण
पेट फुलेर पेटको कुना-काप्चा घोच्ने र दुख्ने ।
खानामा अरुचि हुने ।
वाकवाकी लाग्ने ।
अमिलो स्वादको वान्ता हुने ।
पेट, छाती तथा घाटी पोलेको अनुभूति हुने ।
पटक-पटक डकार आउने ।
मानसिक तनाव बढ्ने ।
शारीरिक अवस्था कमजोर हुने ।
यौनइच्छामा कमी हुने ।
ग्याष्ट्रिक अल्सर
यो अवस्था त्यसबखत हुन्छ, जब खानपिनमा सतर्कता नअपनाउदा अनियन्त्रित मात्रामा असन्तुलन हुन्छ । हाइड्रोक्लोरिक एसिडको नकारात्मक असरले गर्दा पाकस्थलीमा एसिडको मात्रा बढेर पोल्ने क्रिया पटक-पटक लामो समयसम्म भइरहदा तथा पेप्सिन नामक इन्जाइमभन्दा अम्ल बढी मात्रामा निष्काशनसाथ म्युसिनको कार्यक्षमतामा ह्रास हुदा अम्लको प्रत्यक्ष असरका कारण अन्ततः पाकस्थलीमा घाउ हुन्छ । यसलाई ग्याष्ट्रिक अल्सर भनिन्छ ।
अल्सरको लक्ष्ँण
खाना खानेबित्तिकै पेटको दुखाइमा वृद्धि हुने ।
वान्ता भएपछि दुखाइ कम हुने ।
वान्ता तथा दिसामा कफी
रङ्गको रगत क्रमशः हेमाटेमेसिस तथा मेलिना देखापर्छ ।
अम्लपित्त औषधी (एन्टासिड) खादा तथा दूध पिउदा तत्कालका लागि फाइदा हुने ।
रोकथाम तथा नियन्त्रण
यो रोग मुख्यतया असन्तुलित खानपानले गर्दा बढी देखापर्ने भएकाले यसप्रति बढी सतर्कता अपनाउनुपर्छ । बढी चिल्लो, अमिलो, पीरो, गरम मसलाको प्रयोग नगरी सन्तुलित भोजन नियमित खानुपर्छ । माछा, मासु र अन्डाको प्रयोग बढी गर्नु हुदैन । जाड-रक्सी, धूमपान तथा चिसो पेयपदार्थ सेवनमा नियन्त्रण गर्नुपर्छ । चिया, कफीजस्ता निकोटिनयुक्त पेयपदार्थ कम पिउनुपर्छ । लामो समयसम्म पेट खाली राख्नु हुदैन । मानसिक तथा शारीरिक तनाव भएको बेला खाना खानु हुदैन । चोकरसहितको गहुको रोटी, च्याख्ला, फलफूल, हरियो सागपातजस्ता क्षार (अल्कलाइन) प्रधान खाना खानुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । तर खाना खानु आधा घन्टा अघिपछि पानी पिउनु हुदैन । अन्यथा पाचनक्रियामा यसले नकारात्मक भूमिका खेल्छ । नियमित बिहान सबेरै भ्रमण गरेपश्चात हलुका व्यायाम वा योगासनको अभ्यास गर्दा उपयोगी हुन्छ । दूध, जाउलो तथा बढी मसला नभएको झोलिलो खाना र सुप प्रयोग गर्दा लाभप्रद हुन्छ ।
निदान
विशेषज्ञद्वारा विशेष प्रकारका नली पाकस्थलीसम्म घुसारेर इन्डोस्कोपी प्रक्रिया अपनाएर श्लेष्मिक आवरण सुन्निएको (ग्यासट्राइटिस) तथा घाउ (ग्याष्ट्रिक अल्सर) भए-नभएको टुङ्गो लगाउन सकिन्छ । वान्ता तथा दिसासँग निष्काशन भएका रगत (ओकल्ट ब्लड) लाई प्रयोगशालामा परीक्षण गरेर यकिन गर्न सकिन्छ ।
उपचार
ग्यास्ट्रोइन्टरोलोजिष्ट विशेषज्ञ वा चिकित्सकको परामर्शमा औषधोपचार गरिदा उपयोगी हुन्छ ।
लेखक - साढे पाच दशकदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न छन् ।

कान्तिपुरबाट

No comments: