Oct 28, 2008

तिहारको मुन्धुम्, विकृति र सच्चाइहरू

डीबी आङ्बुङ
नेपाल वैधानिक रुपमा त धर्मरिनपेक्ष राज्यको रुपमा घोषित छ । तर, व्यवहारमा त्यो लागू भएको छैन । यो लागू हुने दिन आउला भनेर विश्वास गर्न सकिने अवस्था पनि छैन, अहिले नै । राज्य सञ्चाकहरूमा त्यो मानसिकता देखिँदैन, अझैपनि । यसमा स्वयम् धर्म निरपेक्ष राज्यको पक्षधर हुनुपर्ने व्यक्ति र समुदायको पनि कमजोरी छैन, भन्न सकिन्न । ती कमी कमजोरीहरू महसुस गरी त्यसलाई सच्याएर लैजान सहयोग हुन्छ कि भनेर यो 'तिहार' चाडको बारेमा केही अभिमतहरू राख्न खोजिएको छ । दशैं केवल हिन्दूमात्रको चाड भनिए पनि तिहार त त्यस्तो होइन । यो प्रायः नेपालका सबै अदिवासी जनजातिहरूको पनि महान राष्ट्रिय चाड हो । त्यसैले, यसबारे हामी सबै अलिक बढी संवेदनशीन हुनुपर्दछ ।
१. तिहार चाड र शब्दको उत्पत्ति
यो 'तिहार' शब्दको शाब्दिक अर्थलाई औल्याउँदै जाँदा अवश्य पनि सबै जाति र सम्प्रदाय अनुसार केही फरक मतहरू पाइन्छन् नै । तैपनि, खास सत्य तथ्य कुरा त एउटै नै हुनु पर्ने हो, यस बारेमा । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार भन्ने प्रसङ्गबाट 'त्यो हार' (त्यो पराजय) हुँदै 'तिहार' शब्दको ब्युत्पत्ति भएको हो पनि भनिन्छ । तर, वास्तवमा त्यही यमराजको कथामा पनि यमराजको न त कतै जीत भएको हो या त हार नै । त्यहाँ हार र जीतको प्रसङ्ग नै पाइँदैन । यसकारण, यो तिहार 'त्यो हार' शब्दबाटै बनेको हो भनेर विश्वास गर्न सकिन्न ।नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति 'त्यो हार' बाट नभएर 'तियाहा' भन्ने शब्दबाट भएको हो । यो 'तियाहा' शब्दको निर्माण र उत्पत्तिको तथ्यहरू पहिल्याउँदै जाँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरात कालको युगतिर पुग्नुपर्ने हुन्छ । किरात इतिहासकार स्वर्गीय इमानसिङ् चेम्जोङ्का अनुसार नेपालको हालको गण्डकी प्र्रदेशमा वालिहाङ ('हाङ्' को अर्थ किरात समुदायले बोल्ने प्रायः सबै भाषमा राजा, राजनेता वा प्रतापी व्यक्ति भन्ने हुन्छ) नाम गरेका राजनेता थिए । वाहिहाङ जनताको दुःख-सुखमा प्रत्यक्ष सहभागी हुने गर्दथे । उनी जनताप्रति बफादार, प्रतापी र दूरदर्शी भएकाले राज्यमा कुनै कष्ट थिएन । यसरी राजकाज गर्दै एवमरितले समय बित्ते जाँदा एक समय एकाएक राजनेता वालिहाङको मुहारमा उदशीनता र मलिनता छाउन थाल्यो । जनताहरू छक्क मात्र परेनन् कि आश्चार्य चकित नै हुन थाले । आफ्ना प्यारा राजनेतालाई विन्ति भाउ गर्दै जोड गरेर सोधेपछि रहस्योद्घाटन गर्दै राजनेताले भनेछन्- 'मेरो मृत्युको दिन नजिक आइपुगिसकेको छ । म यही कार्त्तिक महिनाको कालरात्री औशीको रातसम्ममा मर्दैछु । म मेरा प्यारा जनतादेखि मृत्युवरण गर्न जानुपर्दा चिन्तित छु, दुःखी भएको छु ।' राजनेता वालिहाङको यस्तो कारुणिक कुरा सुनेपछि राजदरवार र देशभरि रुवाबासी नै चल्न थाल्यो । पुनः राजनेतालाई विन्ति चढाउँदै वहाँ बाँच्ने उपाय बताइदिन हुन आग्रह गर्दा नेताले सान्त्वना दिँदै भनेछन्- 'हुन त मलाई कालले लैजान्छ नै, तै पनि त्यस रात सबैले आ-आफ्नो घर घरमा दियो कलश राखी रातभरि उज्यालो बत्ती बालेर काललाई नलैजान विन्ति गर्दै, इश्वरसँग प्रार्थना गर्दै बस्यौं भने कतै मर्दिन कि ।' त्यपछि राजनेताले भने बमोजिम त्यो औशीको रातमा दियो कलश राखी बत्ती बालेर इश्वर (तागेरा निङवाभुमाङ्) सँग आफ्ना प्यारा राजनेतको दीर्घायुको कामना गरिबसे । दुःखी जनताको यो प्रार्थनाले स्वभावैले राजनेताको मनोवलमा उर्जा थप्यो । हुनसक्छ,र्इश्वरबाट पनि जनताको कमनालाई स्वीकार भयो र होला, राजआवासमा त्यसरात बितिसक्दा पनि राजाको मृत्यु भएन । अब क्रमशः राजनेताको मुहारमा मुस्कान छाउन थाल्यो । उनी शारीरिक र मानसिक दुबै रुपले स्वस्थ्य हुँदै गए । अनि त्यस राजआवास वरिपरि रहेका जनताले खुशीले एकैसाथ भने- 'तियाहा !' यसरी हर्षर खुशीमा भनिने यो 'तियाहा' भन्ने किरात शब्दको अर्थ 'जय' वा 'विजय' भन्ने हुन्छ । यसप्रकार, राजनेता वालिहाङ र जनताको जीत भयो मुत्यृसित । तसर्थ, यो कुनै अन्य समकक्षी व्यक्ति वा शत्रू विशेष्सित भएको जय नभएर स्वयम् मृत्युसँग भएको विजय हो । यसपश्चात्, राजनेता वालिहाङले निर्देशन दिए कि यसरी निको भइसक्दा पनि अझै विचरा जनताहरू कतै राजनेता के भयो भनेर विलौना गर्दै पीर-मर्कामा दियो कलश बालेर आ-आफ्नो देवताको पूजाआजा गरी सुताएर बसेका होलान् । त्यसैले, अब यहाँका सम्पूर्ण कार्यकर्ताहरू पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैतिर राजनेता वालिहाङको मृत्यु नभई निको भएर स-कुसल रहेको खबर प्रत्येक कुना-काप्चामा पुर्‍याउन निर्देशन दिने सल्लाह भयो ।त्यही निर्देशन अनुसार सञ्चारकर्मीको रुपमा आम कार्यकर्ताहरू गाउँघर डुल्दै 'वालिहाङरन् तियाहा ! (वालिहाङको जय भयो)' भन्दै खबर पुर्‍याउँदै हिँडे । तिनीहरू आजका सञ्चारवाहक पत्रकारजस्तै थिए । यसरी किरात भाषामा 'जय होस्' वा 'जय भयो' भन्ने अर्थमा प्रयोग हुने 'तियाहा' शब्दनै खस नेपाली भाषाम अपभ्रंस हुँदै 'तिहा' र 'तिहार' भएको हो भन्ने भनाइ छ । अझै पनि कितात समुदायमा कुनै धार्मिक वा साँस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा 'तियाहा' भन्ने चलन छ ।
२. तिहारमा खेलिने देउसी-भैलोको अर्थः
देउसी वा देउसीरे भन्ने शब्दको शाब्दिक अर्थलाई केलाउँदा यो शब्द कुनै सुर, असुर वा देवासुर आदिबाट बनेको नभई अर्कै फरक र सार्थक अर्थ लाग्ने किरात शब्दबाटै बनेको देखिन्छ । किरत (लिम्बू) भाषामा त्रिकालदर्शी व्यक्तिलाई 'तेअङ्सि' भनिन्छ । तेअङ्सि भन्ने शब्दको अर्थ ज्ञानी अवतारी व्यक्ति भन्ने पनि हुन्छ । किरात मतमा वणिर्त राजनेता वालिहाङ त्रिकालदर्शी पनि थिए भनिन्छ । उनी भूत, वर्तमान र भविष्यबारे राम्ररी हेक्का राख्दथे, र त आफ्नो मृत्युबारे अग्रीम थाहा पाए । उनी सपना, विपनामा अतीत, वर्तमान र भविष्यबारे ज्ञान पाउँदथे, थाहा पाउँथे । यस्ता व्यक्तिई किरात लिम्बू समुदायमा 'तेअङ्सि' भनिन्छ । जस्तै किरात सिरिजङ्गा लिपिका पुनर्उत्थानकर्ता तेअङ्सि सिरिजङ्गा यसको ज्वलन्त उदाहरण हुन् । अतीतका कुराहरू समयसँगै व्यतीत हुँदैजाँदा कथाजस्तै हुदै जान्छन्, खास लिखित इतिहास नबनेसम्म । यस्तै इतिहासमा आज कथाजस्तै वर्णित वालिहाङको वर्णनमा आउने खबरदारीहरू 'तियहा हाम्रा राजनेताको जय भयो' भन्दै सञ्चार प्रवाह गर्दै हिँड्दा जनताले पहिलो पटक त्यति सजिलै विश्वास नगरेर उल्टै प्रश्न सोधियो होला- 'हैन तिमीहरूलाई यसरी कसले पठाएको -' जवाफमा उनीहरूले भनेँ- 'तेअङ्सिरे (महात्माले)' । ती महात्मा- तेअङ्सि तिनै राजनेता वालिहाङ थिए । यसरी 'तेअङ्सि'ले पठाएको भनी पटक-पटक स्पष्टीकरण दिँदै हिँड्दा भनिएको 'तेअङ्सिरे' भन्ने शब्दनै अपभ्रंस हुँदै कालान्तारमा देअङ्सिरे हुँदै 'देउसी वा देउसीरे' भएको हो भनेर गाउँघरका बूढापाकाहरू बताउँछन् । अझै पनि देउसी खेल्दा आफ्नो देउसी खेल्ने हक अधिकारको सफाया गर्न देउसी टोलीहरू भन्ने गर्छन्- 'ए हामी तेसै आएको होइन, यहीँको भूमिराजले खटाएको, वलिराजले पठाएको' भन्ने चलन छ ।त्यसैगरी, आज खेलिने यो भैलोको बारेमा खोज तलास गर्दा भने यसको चलन यहाँको आदिवासी जनजाति समुदायको किंम्वदन्तिमा कतै पाइँदैन । आज प्रचलित भैलोचाहिँ किरात संस्कृतिभन्दा अलिक बेमेल खालको महशुस हुन्छ । यो भैलोचाहिँ किरात समुदामा आफ्नै मुन्धुम् गाएर खेलिँदैन पनि । अहिले देउसी खेल्दा महिला पुरुष दुबै मिलेर खेलिन्छ भने भैलोचाहिँ महिलाने मात्रै, त्यसमा पनि औंशीको रातमा खेलिने चलन आदिवासी समसुदायमा छैन र कतै नक्कल गरिएको भए पनि यसको मुन्धुमी आधार पाइँदैन । यसैगरी, किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान दक्षिणा दिने-लिने चलन छैन । बरु तेतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान, दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन । भैली खेल्नेहरू आउँछन् आँगनमा । त्यो पनि गुन्युँ चोलो मागन । त्यै पनि अँधेरी औशीको रातमा, त्यसमा पनि केवल महिलाहरू मात्रै । यो अलिक बेमेल छ कि ?खासमा, वाहिहाङको मुन्धुम् अनुसार देउसी खेल्नेले गाउँगाउँमा गएर सृष्टि र सभ्यताको मुन्धुम्सँगै वालिहाङको मुन्धुम् सुनाउँदै साँस्कृतिक कार्यक्रमहरू गरेर सबै जनतालई सामाजिक, साँस्कृतिक र राजनीतिक रुपमा सचेत गराउने खालको कार्यक्रमहरू गर्नुपर्ने हो । एउटा गाउँ र अर्को गाउँ अथवा एउटा जाति र अर्को जातीय समुदायमाबीचमा सहयोग र सद्भावको विकास हुने कार्यक्रमहरू गर्नुपर्ने हो । त्यसै गर्थे पहिले पहिले गाउँघरमा र अहिले कही कतै यसको मर्म बुझ्नेले त्यसै गर्ने गर्छन् । तर धेरै जसो व्यक्ति, संस्था र समुदायबाट यसलाई त्यसरी लिन न गर्नको सट्टा केवल पैसा उठाउने र रमाइलो गर्ने पक्षमा मात्र विकसित हुँदै जानुले तिहारको भविष्य पनि खतरामा पर्दै गएको आभाष् हुन्छ । यी यस्ता चाडहरूलाई संस्थागत गर्न र समयानुसार सही सार्थक रुपमा मनाउँदै लैजानका लागि आदिवासी जनजातिको हकमा सम्बद्ध जातीय, धार्मिक र साँस्कृतिक संघ संस्थाहरूले विशेष ध्यान दिएर यसलाई सही मार्गमा डोर्याउँदै लाने कार्यक्र र नीतिहरू लिँदै लैजानु पर्दछ ।
३. तिहारमा देखिने विकृतिहरू
दशै शुद्ध हिन्दू मात्रको चाड हो । यसलाई अरु धर्म र जातिय समुदायले अशुद्ध पारिदिनु हुदैन । तर तिहारको सवालमा आज मिश्रति संस्कार, संस्कृति र दर्शनले आ-आफ्नै ठाउँ लिएको छ ।
जुवा तासको विकृतिः
तिहारको बेला घरदेखि गल्ली, सडक र चोकचोकमा जूवा तास खेल्ने चलन छ । यो चलन गाउँभन्दा पनि शहर बजारमा अझै बढी व्याप्त छ । यसरी तिहारमा जूवा-तास खेल्ने चलन आदिवासी किरात समुदायको संस्कार र चलनसँग सम्बद्ध भएको पाइँदैन । यो केवल हिन्दू संस्कृति अनुसारमात्र यम पञ्चकको रुपमा मानिन्छ र खेल्ने गरिन्छ । मनोरञ्जको रुपमा खेल्नु ठीकै भए पनि यसलाई संस्कृतिकै एउटा अङ्गको रुपमा मानेर लैजादाँ यसले अरु त के हिन्दू समुदायलाई पनि हित गर्दैन । साथै, यसको नकारात्मक असर अन्य आदिवासी समुदायमा पनि पर्न जान्छ । यो जूवा-तास आदिवासी समुदायले खैल्दै नखेलेर र खेल्नेले पनि यसलाई चाडै छोड्नु पर्दछ । अर्थात् यो जूवा-तास खेल्ने परम्परालाई सांस्कृतिक रुपमा मान्नु र वैधता दिनु राम्रो हुदैन ।

तिहारमा दान, दक्षिमा माग्ने र दिने लिने विकृति :
ख्याल ख्यालमै अहिले आएर तिहार चाड पनि दशैंभन्दा विकराल दशाको रुपमा विकसित हुँदैन । चाड मान्ने र देउसी खेल्ने निहुँमा वलिहाङको नाम जप्दै बलमिची चन्दा र दान-दक्षिणा असुल्ने गलत चलन हावी हुँदैछ । ययको उन्मूलनको लागि यतिमात्र पैसा दिने भनेर बरु दररेट तोकिन्छ तर कहिल्यै पनि यसको ऐतिहासिक तथ्यलाई खोतलेर हेर्ने अनि सही कुरा पत्ता लगाएर गलत कुराको जरै उखेल्ने प्रयत्न गरिन्न । यो हाम्रो पनि मानसिक विकृति र कुसंस्कृति हो । नेपालका आदिवासी किरात लिम्बू संस्कृति अनुसार त तिहारमा वा कुनै कुरामा पनि दान दक्षिणा माग्ने र दिनेलिने संस्कार नै छैन । यो पछि थोपरिएको विकृति हो । पहिले वालिहाङको सु-समाचार प्रवाह गर्ने खबरदारीहरूलाई माया, दया लागेर मानवीय सहयोगको भावनाले सही सु-समाचार ल्याएकोमा खुशी हुँदै एसो बाटो खर्च, केही चिजवीज वा खानेकुराहरू दिने वा खुवाई पठाउन क्रमको सुरुवात अवश्य पनि भयो नै होला । र, अझै पनि सही रुपले तिहारको अर्थ र देउसीको मर्मअनुसार देउसी खेल्नेले यसलाई त्यसरी नै बुझ्ने वा लिने गर्दछन् । गाउँघर वा शहर बजारतिर पनि कतै देउसी खेल्दा खाजापानी दिने चलन अझै पनि छँदैछ । तर, अब विस्तारै यो चलन लोप भएर खाजाको सट्टा पनि पैसै दिनुपर्ने चलन नआउला भन्न सकिन्न । त्यसरी खाजा दिनु भनेको पैसा दिनुभन्दा पनि ठूलो सम्मान दिनु र पाउनु हो । यो हुक्वा वा हातको सोवित् दिने चलन पनि हो । यो हुक्वा वा हातको सोवितसँगै खासमा माया, ममता सहयोग र सद्भाव पनि दिइएको हुन्छ । तर, आज यतिमात्र पैसाले हुँदैहुँदैन, यति त दिनैपर्छ कालो कात्तिकमा दिएको दानै हुन्छ भन्ने चलन गर्नु यो चाड र संस्कृतिको मर्मविपरीत र विरुद्धमा हुन्छ । यस्ता गलत पक्षहरूलाई सुधार्नको लागि अब हामीले कसैको करकाप् र भुभुलैयामा नपरी, नलागी आफ्नै संस्कार-संस्कृति र चाडपर्वहरूलाई पनि एक पटक गहिरो गरी हेरेर वा बुझेर यसको मुन्धुम् वा मर्मविपरीत विकसित गरिएको वा अर्काको संस्कृतिबाट भित्र्याइएका गलत प्रवृत्तिहरूलाई सच्याएर साँच्चिकै गौरव गर्न लायकको संस्कार-संस्कृतिहरूको अवलम्बन र विकास गर्दै लैजानु पर्दछ । तिहार र देउसीको सवालममा पहिले सञ्चारको साधन थिएन र कुनै समाचार पुर्‍याउन घरघर नै चाहार्नु पर्दथ्यो । आज संसार सञ्चारको कारणले सानो गाउँझै साँघुरिएको जमानामा त्यही अनुसार कतिपय परम्परागत संस्कारहरूलाई सच्याउँदै लानु अपरिहार्य भएको छ । यदि यसो गर्न सकिएन भने त्यो चाडले सामाजिक र साँस्कृतिक रुपमा कुनै खास अर्थ बोकेर समाजलाई सही दिशाबोध गर्न सक्दैन ।

४. तिहारमा गरिने पूजाआजाको प्रसङ्ग
मानव समाज र सभ्यताको विकासक्रममा आइपरेका कैयौं समस्याहरूको सामना गर्दै आउँदा जानी नजानी विभिन्न मूल्य-मान्यता र संस्कार-संस्कृतिहरूको सिर्जना र विकास हुँदै आएको हुनुपर्छ । यी कुराहरूले मानव समाजलाई सदैव सजक र सचेत गराइरहन्छ- वर्तमान र आउने भविष्यप्रति पनि यदि त्यो सही छ भने । यदि त्यो गलत छ भने त पछिको त के कुरा वर्तमानमै पनि त्यो संस्कारसँगै बाँच्न र अस्तित्व कायम गर्न गाह्रो भइदिन्छ । झण्डै यो तिहार पनि त्यस्तै हुन लाग्दैछ हाम्रो कजजोरी र गलत प्रवृत्तिको राज्यसत्ताको कारणले गर्दा ।यहाँ फेरि, यो तिहारमा गरिने पूजाआजा र मानिने पुजिने वस्तुहरूको बारेमा एउटा दृष्टिकोणबाट विश्लेषण गर्ने कासिस गरौं । यसरी हेर्दा यो तिहार चाडमा केही सही कुरासँगै अनगिन्ती गलत कुराहरू पनि हावीहुँदै आएको पाउँद्छौं । यदि सम्वेदनशील भएको आफ्नै संस्कार-संस्कृतिको कोणबाट हेर्ने हो भने थुप्रै बेमेल र असमान संस्कारहरू विकसित गरिएको पाइन्छ । वहिहाङको मुन्धुम् अनुसार तिहारमा काग, कुकुर, गाई, गोरु र भाइलाई देवता मानेर पूजा गर्ने प्रसङ्ग कतै पाइँदैन । यो तिहारमा आजसम्म विद्यमान काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र केवल चेलीले मात्रै भाइ-दाइको पुजा गर्नुपर्ने एक पक्षीय पक्षपाती चलन किरात मुन्धुम्को मर्म र संस्कार संस्कृतिभित्र पर्दैन । यो पछि हिन्दू संस्कारबाट भित्र्याई कोचिएका वा जोडिएका कुराहरू हुन् । तिहारको प्रमुख तथ्य मुन्धुम् राजनेता वालिहाङको प्रसङ्गमा कतै पनि चेलीले माइतिलाई फूलमाला, टीका आदि लगाइदिएर पूजा गरिदिएको प्रसङ्ग छैन । वलिहाङको मुन्धुम् अनुसार तिहारको सुरुदेखि औंशीको रातसम्म पहिलेका ती प्रतापी कुसल राजनेता वलिहाङको सम्झना र अबका राजनेताहरू प्नि तिनै वलिहाङजस्तै जनताको लागि मरिमेट्ने असल शासक होऊन्; उनीहरूलाई कुनै विघ्न बाधा, अड्चनहरू आइ नलागोस् र देशमा शान्ति सुब्यवस्थाले छाइरहोस् भनेर आफ्नो इष्टखदेव देवीसँग दियो कलशबाली विहान बेलुकी सेवा प्रार्थना गर्नु सान्दर्भिक हुन्छ । मुन्धुम् अनुसार प्रकृतिमा पाइने जति पनि फूलहरूको बेग्लै अर्थ, उपादेयता र पहिचान छ । किरात समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली माइतिबीचमा फूलले एकापसमा कुने हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि । किरात संस्कार, संस्कृति र मूल्य-मान्यतानुसार फूलको प्रयोग त केवल विहेमा मात्रै व्यौलीले व्यौलालाई उनिएको फूलको माला गलामा लगाइदिन सक्छ । किरात समुदायमा जुनसुकै फूलहरू तरुनी-तन्देरीबीचमा पनि आदान-प्रदान गरिँदैन । विभिन्न किसिमका फूलहरूमध्ये शुभ र मानिस जातिका फूलहरू मात्र आदान-प्रदान गरिन्छ । त्यसमा पनि तरुनी-तन्देरीले सुनाखरी फूल (अम्लारी फुङ) माया प्रेमको प्रतीकको रुपमा दिने लिने गर्दछन् । त्यसैगरी शुभ कार्य र अशुभ कार्यमा दिनेलिने र प्रयोग गर्ने फूलहरू बेग्ला बेग्लै हुन्छन् । त्यसमा पनि तिहारमा प्रयोग गर्ने बावरी फूल (अन्दङ्फुङ) त मुन्धुम् अनुसार मान्छेले लगाउन नहुने पशु वा बाघको प्रतीक फूल हो । सिल्लरी फूल (सेक्मुरिफुङ्) समग्रमा मानिसको प्रतीका फूल हो । यसैगरी सयपत्री फूल (थोप्पारा फुङ्) तरुण युवा युवतीको फूल हो ।
यसबारेमा मुन्धुम्ले भन्छ-

'मिनुआङ् फुङ्बे, सेक्मिुरिफुङ् ग
मेन्छाम्मे फुङ्लो, नाम्याप्मि फुङ्लो
मिनुआङ् फुङ्बे अन्दङ्ले फुङ् ग
थक्सारे फुङ्लो, केसामी फुङ्लो
मिनुआङ् फुङ्बे थोप्पारा फुङ् ग
नालिए फुङ्लो, मेन्छिन्ले फुङ्लो
मिनुआङ् फुङ्बे, मिक्चिरि फुङ् ग
खेमा ए फुङ्लो, यङ्सङ् ए फुङ्लो
ए मिक्कि ए सेगुम्लो, कुभुङ् ए सेगुम्लो..... ।।'

यसरी प्रकृतिमा पाइने प्रायः सबै फूलहरूको आफ्नै महत्व, पहिचान र उपादेयता मुन्धुम्मा वर्णन भएको पाइन्छ । तिहारमा ओखर-पाङ्ग्रा फुटाएर, तेलको घेरो लगाउँदै दाइभाइको वरिपरि घुम्दै फन्को मारेर विभिन्न रङ्गहरूको टीका र आफ्नो संस्कारसँग मेल नखाने फूलको माला लगाइदिनुभन्दा अन्य विकल्प बारे सोच्नु आवश्यक छ । तिहारमा चेली-माइतिको बीचमा केही अनुष्ठानहरू नगरी नसकिने वा नहुने अवस्था भएमा सोही दिन पारेर किरात लिम्बूहरूले हकमा प्रत्येक छ महिनामा चेली-माइति दुबै पक्षले गरिने शीर उठाउनी (माङ्गेन्ना) सेवा अनुष्ठान कार्य गर्न सकिन्छ । यो माङ्गेन्ना गर्ने आफ्नै शैली र मुन्धुम् हुन्छ । यसमा चेलीको माङ्गेन्ना गर्दा माइति र माइतिको माङ्गेन्ना गर्दा चेलीको उपस्थिति अनिवार्य मानिन्छ । यसमा एक अर्काको पूजाभन्दा पनि मुन्धुम् अनुसार दियो-कलश र मुन्धुम् विधिले एकअर्काको शीर उठाइदिने कार्य गरिन्छ । जीवनयात्रा र संघर्षका मोडहरूमा रहँदा कही कतै शीर ढल्छ, ढल्नसक्छ । शीर ढलेको मान्छेले कुनै प्रगति गर्न सक्दैन । यसको लागि त्यो ढलेको शीर वा तेतिकै पनि कहिलै मेरो चेली वा माइतिको शीर नढलोस् भनेर गरिने अनुष्ठान शीर उठाउनी (माङ्गेन्ना) सेवा के भाइ टीकाभन्दा कम महत्वको विषय हो र ?

Oct 26, 2008

सधै मन घोच्ने केहि गुनासाहरु

बिश्वासदीप तिगेला
यसपटक धेरै व्यवहारिक हिसाबकिताबपछि तिहार मनाउन घर जाने नियणमा पुगे । सधै सबैलाई समस्याको रूपमा खड्कनेपैसाको अनुहारलाई बिर्सिदिऊँ । मैले मेरो घर परिवारसँगसँगै बसेर रमाइलो चाड तिहार नमनाएको झण्डै एक दशकै बितेछ । सञ्जोगले भनौ सानो मौका मिल्यो र विविध समस्याका बाबजदु पनि घरतर्फ हान्निएँ । सधै गर्मी हुने देश , मुस्लिमहरूको देश ब्रुनाइबाट सिधै काठमाडौ उत्रन झण्डै ५ घण्टा लाग्यो । काठमाडौ ओर्लिनै लागको थियौ त्यहाँको मौषम लोभ लाग्दो थियो जस्ले मनमा खुसीयालीको तरङ्ग ल्याएको थियो भने अर्कोतिर काठमाडौ भन्सारमा के कति दुःख दिने भो भनेर पीरले सताउन थालिसकेको थियो । भन्नु र स्वयम् आफैले गर्नुमा आकाश पातालको फरक हु न्छ । बेला मौकामा भित्र बाहिर गर्दा अन्य देशका एयरपोर्टमा भएका सुविधा र व्यवहारको अनभु वले होला मलाई मेरै देशको एयरपोर्टको बारेमा धेरै पीर लाग्छ र मसँग धेरै गुनासाहरू आउँछन् । म इमिग्रेसन नजिक पुगिसकेको हुन्छु । यसपटक धेरै जहाज आएका थिए क्यारे मलेसिया,कतार र ब्रुनाइ एकैसाथ, त्यहाँ धेरै मान्छेहरूको हलचल थियो । सधै इमि ग्रेसनको पासपोर्ट चके गर्ने ठाउँमा झण्डै उमरे गइसकेका बूढो कर्मचारीहरू आफूखुसी लुगा लगाएर बसेका हुन्थे । उनीहरूको लुगा गोठाला जाँदाको भन्दा खासै फरक हुदैनथ्यो तर यसपटक ढाका टोपी लगाएको कर्मचारीको डेस्कअगाडि पुग्छु । पासपोर्ट हेर्न माग्यो, झिकेर दिएँ । उसले राम्ररी नियालेर हेर्यो र सोध्यो कहिले फर्कने ? मैले भने- एक हप्ता पछाडि । धेरैपटक आउँदाजाँदा धेरैपर्खनु पर्ने दुखले गर्दा किन यस्तो यहाँ हु न्छ भनरे धेरै जिज्ञासा हुनु स्वाभाविकै थियो । मलाई लाग्यो सर्वप्रथम इमिग्रेसनका कर्मचारीहरूलाई अन्य मुलुकमा कसरी छिटोछरितो राम्रो र सन्तुलित काम गरिन्छ - त्यस प्रकारको ज्ञान छैन उनीहरूलाई । दोस्रो काठमाडौको इमि ग्रेसनमा प्रायः बूढा कर्मचारी देखिन्छन् । त्यसमा थप काठमाडौ अन्तरार्ष्ट्रिय एयरपोर्ट भवन अत्यन्तै लाजलाग्दो छ ।विचरा बूढो भइसकेका कर्मचारी, त्यसमाथि पासपोर्ट चेक गर्ने ठाउँमा पर्याप्त उज्यालो बत्ती नहुँदा आँखा तन्काइतन्काइ पासपोर्ट हेरेको क्षण अझ आलै छ र मैले यसपटक मेरो अगाडिको भलादमी कर्मचारीलाई सोधे तपाइहरूलाई उज्यालो पुग्दो छ - उसले हातले देखाउँदै भन्यो- यी यो सानो लाइट भर्खरै जोडेको छ, त्यसैले अहिले खासै समस्या छैन । ती साना लाइटहरू भित्रपट्टी राखिएका रहेछन् । बाहिर केही ठाउँको यात्रापछि काठमाडौ त्रिभुवन विमानस्थलमा आइपु ग्दा साँच्चै नै घरबाट गोठ पुगे झैं लाग्छ । विमानस्थल वरिपरिको रुग्ण घरहरूले झनै बस्तीविहीन ठाउँझै लाग्छ । राजधानी काठमाडौ सहर संसारको सबैभन्दा अनियन्त्रित, अस्तव्यस्त र पुरानो सहरझै लाग्छ, जस्तो कि त्यो बेलाको सहर जुनबेला पर्याप्त स्रोत साधन र यातायातको विकास भएको थिएन । विमानस्थलबाहिर निस्कदा ट्याक्सी ड्राइभर, होटेल एजे न्ट र भारी बोकिदिने निहुँमा पैसा माग्नेहरूको भीड र व्यवहार देख्दा हामी नेपाली सभ्य भइसकेका छैनौ कि जस्तो भान हु न्छ ।अझ भनौ एउटा सभ्य समाजका मानिसहरूसँग अनुहार देखाउन पनि लाज लाग्छ । आज यो लेख तयार गर्नुभ न्दा केही क्षणअघि थाइल्यान्डको ब्याङ्कक एयर पोर्टमा केही दिनअघि जापान गएर फर्कदै गरेका काठमाडौ धापासी निवासी सुदर्शन जो पर्यटकसँग सम्बन्धितका अनुसार काठमाडौमा विदेशीलाई सपिङ गर्न लग्यो भने ६ सयको सामान २ सयतिर दिन्छ । हामी नेपालीलाई ८० डलर भनेको लज विदशीलाई १० डलरमा दिन्छन् यो ठीक मैले बुझे भन्दा फरक छ । एयरपोर्टमा पर्यटक लिन आउने दलालहरू एक जना विदेशी होटलमा ल्याएबापत पनि कमिसन लिन्छन् । वास्तविक पर्यटन भित्र्याउन त इमान्दारिता देखाउनु पर्ने हो तर यस्ता ठग प्रवृत्तिले आगामी दिन पर्यटकहरू कति ढुक्कसाथ नेपाल आउलान् सोच्नै पर्ने बेला भएको छ । विमानस्थलबाहिर निस्कनासाथ पर्यटकहरू भारी बो क्ने र ट्याक्सी दलालहरूबाट अति पिरोलिन्छन् । नेपाल टेक्ने बित्तिकै कस्तो अनुभव गर्लान् ती पर्यटकहरूले - तुरुन्त अध्ययन गर्नुपर्ने बडो अनौठो विषय बनेको छ यो कुरा । केही समयअघि म थाइल्यान्डको राजधानी ब्याङ्ककमा साथीसँग घुम्दै थिएँ त्यहाँ पनि किनबेचमा थार बहुत दलाल हुन्छ । मेरो साथीले सातसय पर्ने सामान केही घटाएर किन्न माग्यो तर दोकानेले दिएन । नजिकै हामीले पर्खाइमा राखेको ट्याक्सी ड्राइभरले त्यो हाम्रो दलाली सुन्यो र विदेशीले मेरो देशमा आएरयस्तो दलाली गर्ने भनेर होला उसलाई साहै्र चित्त दुखेछ , हामीलाई अर्को ठाउँ लैजान अस्वीकार गदै नजिकैको ठाउँमा निस्कन आग्रह गर्यो । हामी पाहुनाहरूलाई सत्कार गर्न सिकी नै रहेका छौँ तर आफ्नो देशमा आएर पर्राई मान्छेले अनावश्यक, चाहिँदोभन्दा बढी दलाल गर्न खोजेमा हाम्रो पनि चित्त दुख्नुपर्ने होइन र ? सधै लाचारी र दलाली मात्र बन्नु नहुने हो । मुख्य कुरा अन्य देशका विमानस्थल कसरी चलेका छन् र कसरी चलाउनुपर्छ भन्ने कुराको पर्याप्त जानकारी लिने प्रयास नभएझै देखिन्छ । देशका ठूलाबडा विदेश जाँदा, आउँदा हामी साधारण नागरिकभन्दा फाल्टै सुविधा उनीहरूलाई उपलब्ध हुनुले पनि हामी सर्वसाधारणको इमि ग्रेसन सिस्टम ज्यादै पुरानो तौर तरिकामा चलिरहेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अब अन्य देशको बारेमा चर्चा गरौ । बेलायतका नागरिक विश्वको जुनसुकै ठाउँमा पुगेर विमानस्थल आइपुग्दा उनीहरू ब्रिटिस भन्ने थाहा हुने बित्तिकै सजिलै प्रवेश गराइन्छ । लन्डनको हेद्रो एयरपोर्टमा ५ वटा जहाजका यात्रुहरू कागजपत्र चेक सकेर बाहिर निस्कने समयभन्दा बढी नेपालको त्रिभुवन विमानस्थलको इमि ग्रेसनमा एउटा जहाजको यात्रुहरूलाई छिर्न समय लाग्छ । यो कस्तो बिडम्बना ? यो समस्याको बारे कसले कुरा उठाउने ? भन्सार कर्मचारीले एक शब्द भन्ने बित्तिकै घुसको लागि पैसा मागेझै लाग्छ यो कस्तो नियति हो ? अन्य मुलुकका विमानस्थल र जहाजहरूमा शतप्रतिशत भर्खरका युवा-युवती हुन्छन् । उनीहरूसँग जोस जाँगर हुन्छ । आफ्नै छोरी, नातिनी, सानी बहिनीले साथ दिएझै लाग्छ । यो विश्वकै चलनभन्दा फरक पर्दैन तर त्रिभवु न विमानस्थलमा चाहिँ गोठाला गर्दै भन्सार रुँगेजस्तो देखिन्छ । अपाङ्ग, उमेर नाघेका जसले कुनै नयाँ सौन्दर्य दिन सक्दैन, गाँठा परेका रोगी कर्मचारी देखिन्छन् । नत उनीहरूसँग बोल्ने कला छ, नत उनीहरूको निश्चित पोसाक छ । मैले अपाङ्ग,बूढापाकाको अपमान गर्न खोजेको होइन । अन्य देशको विमानस्थलसँग दाँज्नमात्र खोजेको हुँ र साँच्चै भन्नुपर्दा वहाँहरूलाई अन्यत्रै सम्मानित ठाउँ दिनुपर्छ भन्ने आग्रह पनि हो । यसपटक काठमाडौबाट थाइल्यान्डसम्म ९ वर्षपछि रोयल नेपाल एयरलाइन्समा (हाल नेपाल एयरलाइन्स) चढ्ने मौका मिल्यो । केही महिनाअघि रोयल नेपाल एयरलाइन्सले अर्कोअर्को जहाज किनेको भन्ने सुनेको थिएँ । सायद त्यही जहाजमा पो परे कि भनरे कौतुहल थियो । एयर होस्टेज दिज्यूहरू ३/४ जना हुनुहुन्थ्यो । अरू एयरलाइन्समा बहिनीहरू हु न्छन् । मैले ठूलै मौका रुङेर एउटी दिदीलाई सोधे यो भर्खरै किनेको जहाज हो ? "नयाँ जहाज किनेकै छैन" उनले भनिन् । साँच्चै नै जहाज पहाडतिर चल्ने यात्रुबाहन पुरानो बसझै थियो ।जहाजको सुविधा पनि पहाडको बसझै लाग्यो फरक कन्डक्टरचाहिँ दिज्यूहरू हुनुहुन्थ्यो । कुन्नि किन हो नेपाल एयरलाइन्सले नयाँ जहाज किन्यो भन्ने समाचार सुन्दा म आफैले केही पाएँजस्तै असाध्य खुसी लागेको थियो । सायद त्यो खुसी देशको प्रगतिमा एक नागरिकमा आएको हर्षतरङ्गीत र सञ्चारित भएको हुनुपर्छ तर दिज्यूको उत्तरले म खक्रकै भएँ । बेजोडको सङ्गीतलाई बुझ्नुपर्छ, मादलको तालमा नाच्नुपर्छ । हामी देशविदेशको विकास र परिवर्तनको प्रभावबाट टाढा रहन सक्दैनौ । त्यसैले नेपालको एक मात्र त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको संरचना र आमूल परिवर्तनको लागि सोच्न ढिला गर्नु हु न्न । यदि तुरुन्त संरचना नै बदल्न नसके पनि पाहुना आएको दिन सापटी मागेरै भए पनि जाउलो ख्वाउने चलन अरू देशहरूमा पनि लोकप्रिय छँदैछ त्यस्तो चलनलाई मात्र हामीले व्यवहारमा ल्याउनसके विदेशीले छिछि ! भन्ने मौका कम पाउने छन् । दसैतिहार आएको बेला बाटो खनिएन, घरमा चुन, कमेरो छ्यापिएन, पोतिएन भने चार्डपर्वको माहौलमा कति बेरमाइलो लाग्छ, हो त्यस्तै विकट तर अति सुन्दर हाम्रो देशमा घुम्न आउने पर्यटकहरूलाई लागि रहेको हनु सक्छ । यदि यतिविघ्न ठूलो परिवर्तन गर्न सक्दैनौ भने अन्य देशहरूमा झै एकभन्दा बढी अन्तरार्ष्ट्रिय विमानस्थल बनाउने सोचमा लागे परिवर्तित समय सापेक्ष थोरै भए पनि सान्दर्भिक बन्दछ ।
१६ नोभेम्बर २००४
ब्याङ्कक, थाइल्यान्ड

देश बोक्नुको पीडा निबन्धसंग्रशबाट

Oct 25, 2008

हाम्रो बलिहाङ तङनाम र मौलिक मुन्धुम

मञ्जुल याक्थुम्बा
हरेक वर्ष मंसिर पूर्णेताका तीन दिनसम्म भव्यरूपले मनाइने चासोक तङनाम, माघ १ गते माघे संक्रान्तिमा मनाइने कक्फेक्वा तङनाम, साउन १ गते साउने संक्रान्तिमा मनाइने सिसेक्पा तङनाम, वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) मा मनाइने य?वा तङ्नाम र अक्टोवर / नोभेम्बर कार्तिक महीनाको औँसीको रात दीपावलीगरी मनाइने बलिहाङ तङ्नाम किरात लिम्बूहरूले परापूर्वकालदेखि परम्परानुसार मनाई ल्याएका मुख्यमुख्य चाडहरू हुन् ।कैरात देशले परिचित नेपालको पश्चिम क्षेत्रमा राज्यगर्ने बलिहाङ नामक ख्याती प्राप्त किरात राजा थिए । उनी अति दानी, प्रतापी, प्रजावत्सल र आध्यात्मिक व्यक्तित्वका धनी थिए । ताग्येरा निङ्वाफुमाङका परमभक्त हुनुका साथै उनमा भविष्यवाणी गर्नसक्ने शक्ति समेत थियो । आफ्ना प्रजाहरूबीच उनी अत्यन्तै लोकप्रिय थिए । त्यसैले प्रजाहरू सधै उनको दीर्घायुको कामना गर्दथे तर जन्मेपछि एक दिन अवश्य मर्नैपर्ने प्रकृतिको नियमलाई कसले टार्न सक्छ र ? जब राजाले आफ्नो मृत्युको समय थाहा पाए। उनले मुख्य मुख्य भारदारहरू, राजदर्वारका पदाधिकारीहरूलाई दर्वारमा भेला गराई यस संसारबाट विदा हुने आफनो अन्तिम दिन आइपुगेको घोषणा गरे । राजाको त्यस्तो दुःखदायी घोषणा सुनेपछि सम्पूर्ण भारदार तथा पदाधिकारीहरूले के कस्तो सद्भक्ति र उपाय गरेमा आफ्ना प्रजापालक राजाको आयु लम्ब्याउन सकिन्छ अर्थात् कालको मुखबाट बचाउन सकिन्छ भनी राजा समक्ष आफ्नो जिज्ञाशा राखे । आफ्नो अन्तिम घडी आएपछि कालको मुखबाट उम्किन नपाउने प्राकृतिक नियम हो तापनि सद्भक्ति र सदुपायले तत्कालीन आपद विपतलाई टार्न सकिन्छ। तर यस्तो कुरो मानिसको वशमा नभई यमराजको दयामा निर्भर गर्दछ भनी राजा बलिहाङले आफ्नो भनाइ राख्दै यसो भने -आउँदो कात्तिक महिना अर्थात् अक्टोवर/नोवेम्बर महिनाको औँसीको अन्धकार रातमा यमराज आउने छ र उनलाई लिएर जानेछ । तर यमराजलाई खुशी पार्न सकेमा जीवन फिर्ता गर्न पनि सक्नेछन् भनी त्यसको उपाय समेत यसरी बताए । कातिक महीनाको डरलाग्दो औंसीको रात आउनुभन्दा अघि नै राजदर्वारका प्रमुख पदाधिकारीहरूलगायत सम्पूर्ण प्रजाहरूले स्नानगरी शारीरिक सफासुग्घर र मानसिक हिसाबले पवित्र भइरहन पर्दछ । जब त्यो अन्धकार डरलाग्दो औँसीको रात आउँछ तब समस्तले आफ्नो घरभित्र र बाहिर हजारौँ बत्तीहरू बाली उज्यालो बनाई राजा बलिहाङको आयु बढाई दिन रातभर ताग्येरा निङवाफुमासँग प्रार्थना गर्नुपर्छ र मानसिक हिसाबले पवित्र भइरहन पर्दछ । जब त्यो अन्धकार डरलाग्दो औँसीको रात आउँछ तब समस्तले आफ्नो घरभित्र र बाहिर हजारौँ बत्तीहरू बाली उज्यालो बनाई राजा बलिहाङको आयु बढाइदिन रातभर ताग्येरा निङवाफुमाङसँग प्रार्थना गर्नुपर्छ र यमराजको आगमनलाई पनि हेरिरहनु पर्दछ। प्रकाशको बीचमा छायाको आकारमा यमराज देखा पर्नेछ । यसरी प्रकाशको बीचमा मान्छेको छायाजस्तो दृश्य देख्नासाथ जतिसक्दो चाँडो बूढा/ बूढी, युवा/ युवती, बाल/बालिका सबैले संयुक्त भई हात जोडी अन्तरात्माले विश्वासपूर्वक एउटै आवाजमा राजा बलिहाङको आयु बढाई डरलाग्दो रातबाट बचाउन उनीसँग प्रार्थना गर्नुपर्छ । राजा बलिहाङको जीवनरक्षाको लागि उनका प्रजाहरूको सच्चा प्रार्थना र भक्तिबाट यदि यमराज सन्तुष्ट भएमा उनले राजालाई जीवनदान दिई (आयु बढाई) त्यो डरलाग्दो रातबाट उनलाई बचाउने छन् । राजा बलिहाङको त्यस्तो कुरा सुनेपछि सम्पूर्ण भारदार र पदाधिकारीहरूले आउने कात्तिक महिनाको अन्धकारमय औँसीको रातमा आफ्ना शरीर र आत्मा शुद्ध वा पवित्र राखी सम्पूर्ण प्रजाहरूले राजा बलिहाङको जीवन रक्षाको लागि सच्चा अन्तरात्माले ताग्येरा निङवाफुमाङसंग प्रार्थना गर्न समस्त प्रजाहरूमा समेत सूचना जारी गरे ।जब कातिक महिनाको त्यो औँसीको दिन आयो समस्त्र स्त्री/पुरुष, युवक/युवती, प्रमुख भारदार, पदाधिकारीहरू समेत समावेशभई स्नान्गरी घरलाई सफासुग्घर एवम् श्रृङ्गार गरेर रात पर्नासाथ उनीहरूले घरभित्र र बाहिर बत्तीहरू बाली राजा बलिहाङको जीवनदानको लागि उपवास बसी ताग्येरा निङ्वाफुमाङको प्रार्थना गर्न थाले । राजा बलिहाङ निराश भई भारदारहरू र पदाधिकारीहरूबीच ढल्किरहेथे । सम्पूर्ण प्रजाहरू राजदरवारको भित्र/बाहिर प्रार्थना गीत गाइरहेका थिए । राजदर्वारको भित्र/बाहिर जहीँतहीँ उज्ज्वलमय बत्तीहरू बलिरहेका थिए । प्रजाहरू पूर्ण होसियारका साथ राजाका निमित्त प्रार्थना गरिरहेका थिए । मध्यरात बित्नासाथ अचानक यमराज प्रकाशको बीचमा मान्छेको छायाँको आकारमा देखा परे । त्यसलाई सबैले देखेर उनीहरू सबैले एकै स्वरमा प्रार्थना गाए र सद्भक्तिका साथ अन्तरात्माले राजा बलिहाङको आयु थप गरिदिन अनुरोध गरे । उनीहरू रुदै चिच्याउँदै भन्न लागे-यदि राजा बलिहाङको मृत्यु भयो भने राज्यभरका हामी प्रजाहरू भिषण अन्धकारमा पर्ने भएकाले राजा बलिहाङको आयु बढाई त्यस डरलाग्दो रातबाट बचाउन यमराजसँग सबैले अनुनय गरे ।राजा बलिहाङप्रति प्रजाहरूको त्यस्तो अगाध श्रद्धा एवम् स्नेह देखेर उनीहरूलाई यमराजले उत्तर दिए- मानवको जीवन-मरणको अधिकारी उनी नभए तापनि उनलाई बचाउने प्रयास गर्ने वचन दिए । उनले त्यसो भन्नासाथ त्यो छायाँ अदृश्य भयो । राजा बलिहाङले पनि अन्तिम सास लिए । सबै प्रजाहरू पनि राजा बलिहाङको आयु थप गर्न रुँदै प्रार्थना गरिरहे । विहान भाले बास्नासाथ मिरमिरे उज्यालो हुनलाग्दा पुनः राजा बलिहाङले सास फेरे र सचेत भए । जब उनी पूर्ण चेतनामा आए उनले आफना प्रमुख भारदारहरूतर्फ हेरेर भन्न थाले कि तिमीहरू लगायत सम्पूर्ण प्रजाहरूका सच्चा व्रत, प्रार्थना र अटल विश्वासद्धारा मैले पुनः जीवन पाएँ । प्रजाहरूको यस्तो भक्तिबाट उनी अत्यन्त सन्तुष्ट भए । प्रजाहरूको सच्चा भावभक्तिबाट आफूले पुनःजीवन पाएका कुरा समस्त प्रजाहरूमा खुशियालीको रुपमा मनाउन आदेश पनि जारी गरे । त्यस दिन खानु पिउनु र आनन्दका साथ रमाइलो गर्ने र त्यो घटनाको सम्झनास्वरुप प्रत्येक वर्षो कातिक महिनाको औँसीलाई उनीहरूको पर्वको दिन मनाउन उनले आफ्ना प्रमुख पदाधिकारीहरूमार्फ प्रजाहरूमा आदेश दिए । उनीहरूले आफ्नो घरभित्र र बाहिर बत्तीहरू बाली उज्यालो पारी उनीहरूको राजा बलिहाङको स्मरण गर्न राजदर्वारका पदाधिकारीहरूले राजा बलिहाङको आदेशानुसार सम्पूर्ण प्रजागणहरूमा सूचना जारी गरे। प्रजाहरूले पनि राजा बलिहाङलाई उनीहरूको पुरोहित राजाको रूपमा आदर गर्न थाले। फाइलो देउसी जस्ता शव्दहरूबाट गीत रची प्रत्येक वर्षो दीपावली पर्वमा गाउन थाले जसको अर्थ पुरोहित राजालाई सहयोग गर्‍यौ भन्ने अर्थ हुन्छ । समूह-समूह भएर यो पर्वमा राति घर-घरमा गाउँदै हिँड्दा लारिङ्गेःक् र दिनमा गाउँदा नाम्लिङ्गेःक भन्दै आफनो जातीय बाजा 'के' च्याब्रुङका साथ बलिहाङ तङनाम मनाउने चलन चल्यो । यसरी देशका सम्पूर्ण प्रजाहरूले बलिहाङ राजाको जय होस् भनी किरात लिम्बू भाषामा 'तियाहा' शब्द प्रयोग गरी दिपावली पर्व मनाइएकोले पछि अपभ्रंश हुदै तिहार भनिएको हो । त्यसैले त आजसम्म पनि नेपाल अधिराज्यभर तिहारको दीपावली पर्वमा भैलो देउसी खेल्दा ''हामी त्यसै आएनौं बलि राजाले पठाए'' भन्नेजस्ता वाक्य प्रयोग भइरहेकै छ । अतः वर्तमान नेपालमा कातिक महिनाको औंसीताका पर्ने तियाहा (तिहार) नामक दीपावली पर्व मनाइने किरात चाडको थालनी हुनमा किरात राजा बलिहाङको अविस्मरणीय योगदान भएको कुरा हामीले कहिल्यै भुल्नु हुदैन ।हिन्दूहरूले कहिले माइती यमराज र चेली यमुनाबीच त कहिले अज्ञात माइतीलाई अज्ञात चेलीले मृत्युको मुखबाट बचाएकोले तिहार पर्वलाई भाइटीकाको समेत प्रसंग जोडेका छन् । तर हाम्रो मौलिक मुन्धुममा चाहिँ दीपावली गर्नुका साथै समूह-समूह भएर लारिङ्गेक्/नाम्लिङ्गेक् भन्दै (केलाङ) च्याब्रुङ नाचकासाथ सक्नेहरूले २/३ दिनसम्म पनि (फाइलो/ देउसी) भैलो/देउसी खेल्दै मनोरञ्जन गर्दछन्। किरात लिम्बूहरूमा चेलीले माइतीलाई फूल माला लगाइदिन हुँदैन अर्थात् चेली माइतीमा फूल आदान प्रदान गर्नु हुंदैन र त्यसो गरेमा ठूलो आपद/विपत आइलाग्छ भन्ने कुरा हाम्रो मुन्धुमले निर्देश गरेकाले हाम्रो किरात लिम्बू जातिमा चेलीले माइतीलाई फूलमाला लगाई भाइटीका गर्ने चलन छैन । कसै कसैले हिन्दूहरूको प्रभावमा परी देखासिकी गर्नु भनेको आफ्नो स्वेच्छाको कुरो हो । यसबारे मुन्धुमहरूमा विस्तृत वर्णन गरिएका सम्पूर्ण कुराहरू यो छोटो लेखमा उल्लेख गरिरहन सम्भव नहुने भएकोले निम्नानुसार सारांश मात्र प्रस्तुत गरेको छु । १, सोधुङ्गेन् लेप्मुहाङपुत्र तेन् तुम्याङ बाजाइबाले आफ्नी श्रीमती लुप्ली वदनहाङमाको सल्लाहअनुसार आफना चेली इरेरे इधुङ्लुङमाको कुनियतको बदला लिन विषयुक्त फूलको गुच्छाले चेली इरेरे इधुङलुङमाको स्तनमा हिर्काएकोले नौ दिनसम्म रोगिएर इरेरे इधुङलुङमाको मृत्यु भएको हुँदा हामी किरात लिम्बूहरूमा चेली/माइतीबीच फूल आदानप्रदान गर्नु हुंदैन भनी मुन्धुमले निर्देश गरेको छ । २, केजङफेक्वाका सन्तानमा छोरै/छोराहरू मात्र भएकोले उनको छोरी पाउने उत्कट इच्छा भयो। श्रीमतीले छोरी जन्माए पछि छोराहरू जति सबैलाई खाल्टामा पुरी मार्ने बाबुको निर्दयिताबाट बच्न सबै छोराहरू कहिल्यै घर नर्फकनेगरी जंगलबास गए । छोरी बढेर जान्नेबुझ्ने भएपछि आफ्ना माइतीहरू बाबुको निर्दयिताले गर्दा वनबास गएका कुरा आफ्नी आमाबाट थाहा पाइन् । माइतीहरू खोज्दै जंगलमा भौतारिंदा सोधुङगेन लेप्मुहाङमाङको दयाले माइतीहरू पत्ता लगाउने विगुतको डल्ला उनको हातमा पर्‍यो । त्यो विगुत डल्ला गुडाई पठाउँदा जहाँ अडिन्छ त्यहीँ नै उनका माइतीहरू भेटिए । चेली एकेरा मेरिहाङमा र माइतीहरूमध्ये जेठा सगेक्सो समेल्लाहाङ भएको कुरा आपसमा परिचय भयो । यसरी माइतीहरूसँग रहँदा बस्दा एकदिन जङ्गलमा घुम्दा अति सुन्दर फूल मेरिहाङमाले देख्दा यस्तो सुन्दर फूल त मेरा माइतीहरूको लागि माला उनी लगाइदिन पाए कति राम्रो हुन्थ्यो भनी त्यो फूल टिप्न खोज्दा उनका सबै माइतीहरू कागहरूको रुप धारणा गरी बथानमा परिणत भएछन् । यस्तो दुर्भाग्य भएपछि माइतीहरूसँगको विछोडमा एकेरा मेरिहाङमा फेरि जङ्गलमा भौतारिरहिन्। कसैसँग नबोली रूखमा बसेर ताग्येरा निङवाफुमाङको ध्यान गरेपछि तिम्रा माइतीहरूसँग भेट हुनेछ भनी उनै साधुको भेषमा प्रकट भएका सोधुङगेन लेप्मुहाङमाङ मेरीहाङमालाई आश्वासन दिई अल्पिए । यस्तैमा एकदिन त्यस देशका राजकुमार जङ्गलमा शिकार खेल्दै आउँदा अति सुन्दरी मेरिहाङमालाई राजकुमारी बनाउने उद्देश्यले दर्बारमा लिई गए । तर मेरिहाङमालाई वारम्बार आफू र आफना धाईआमाले बोलाउदा पनि उनको ध्यान नखुलेकोले (नबोलेकोले) पुनः जङ्गलमा लगी मार्ने आदेश राजकुमारले आफ्ना मानिसहरूलाई दिए । तँ मार्ने कि म मार्ने भनी राजकुमारका मानिसहरूमा हानथाप हुँदाहुँदै ठूलो आँधीबेहरीका साथ ती काग भई गएका मेरिहाङमाका माइतीहरू सबै मानिसहरूको रूपमा प्रकट भई ती राजकुमारका मानिसहरूलाई हमला गरी मारी राजदर्बार समेत कब्जा गरी चेली र माइतीहरू सबै आनन्दले त्यस देशको राज्य गरेको कुरा मुन्धुममा उल्लेख भएकोले किरात लिम्बूहरूमा चेली माइतीमा फूल आदानप्रदान गर्न खोज्दा आपद/विपद निम्त्याउने काम गर्नु हुदैन भनी मुन्धुमले निर्दिष्ट गरेको छ । माथि उल्लेखित दुइ थरीका मौलिक मुन्धुमका आख्यायिक विवरणहरूबारे विस्तृत अध्ययन र विश्लेषण गरेर अझै परिमार्जित एवम् आधिकारिक निष्कर्षनिकाल्न लिम्बू समाज प्रयासरत हुनुपर्छ भन्ने यो कलमीको भनाई छ । भारतबाट लखेटिई शरणार्थीका रुपमा नेपाल प्रवेश गरेका आर्यजनहरूको नेपालमा आगमन हुनुअघि नेपाल अधिराज्यभर नै र पृथ्वीनारायण शाहको तथाकथित नेपाल एकिकरण पश्चात वि.स. १८३९ सम्म किरात प्रदेश लिम्बुवानमा दशैँ भन्ने शव्द समेत कसैलाई थाहै थिएन । यिनीहरूले आफूसँगै नेपाल भित्य्राइएको दशैँ हाम्रो हुँदै होइन भनी सप्रमाण मेरो लेख धेरै पटक विभिन्न पत्रिकाहरूमा प्रकाशित भइसकेका छन् । यस्तै बलिहाङ तङनामताका हिन्दूहरूद्धारा गरिने भाइटीका पनि माथि उल्लिखित प्रमाणका आधारमा हामी किरात लिम्बूहरूको हुँदै होइन । त्यसमा पनि हामी किरात लिम्बूहरूमा चेली र माइतीबीच फूल आदान प्रदान गर्न हुँदैन भन्ने कुरा माथि उल्लिखित दुवै मुन्धुम सारांशहरूले प्रष्ट पारेकै छ । तर जातीय पहिचान र अस्तित्वलाई तिलाञ्जली दिएर वर्णबिभाजनमा आधारित हिन्दू धर्ममा विलिन हुँदै आफू स्वयम् शूद्रको कोटीमा बस्न मञ्जुर गरी दशैंमा जमराटीका र तिहारमा भाइटीकाको सप्तरङ्गी टीका निधारमा टाँसी हिँड्न हाम्रा समाजका पढेलेखेका अगुवा लिम्बूहरू गर्व गर्छन भने त्यस्ताहरूले लिम्बू हौँ भनी परिचय दिएको देख्दा साह्रै दुःख लाग्छ । हरेक व्यक्तिलाई आफूलाई मनपरेको धर्म ग्रहण गर्ने नैर्सर्गिक अधिकार छ । कसैको धर्ममा हस्तक्षेप गर्ने कसैलाई अधिकार छैन । आ-आफ्नो धर्मसंस्कारले निर्दिष्ट गरेअनुसारको आचरण सम्बन्धित धर्मावलम्बीको हुनै पर्छ पनि । तर किरात धर्मसंस्कार भनेर सत्यहाङमाहरूले हिन्दू धर्मसंस्कारका कर्मकाण्ड गरेझैँ र मौलिक मुन्धुमवादी किरात धर्मावलम्बीहरूबाट गर्दै नगरी आएको छोरीको विवाहमा ज्वाईं र छोरीको गोडा धोएर कन्यादान दिनेजस्ता कामचाहिँ हुनु भएन। स्वधर्मसंस्कार हुँदाहुँदै परधर्म ग्रहण गर्नु नै आफू मासिने काम गर्नु हो । मौलिक किरात चाड वलिहाङ तङनामलाई ओझेलमा पार्ने किसिकका तियाहा (तिहारताका) कागपूजा, कुकुरपूजा, गाईपूजा -तथाकथित धनधान्यका मालिक (लक्ष्मीपूजा), गोरुपूजा (गोवर्द्धन पूजा), र भाइ पूजासँगका प्रसङ्ग जोडेर आर्यजनहरूले आफूले सक्दो काल्पनिक कसरत गरे तापनि वलिहाङ तङनामताका फाइलो(भैलो) तथा देउसी खेल्ने सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको मुखबाट "हामी त्यसै आएनौं, वलिराजाले पठाए" भन्नेजस्ता वलिहाङ (बलिराजा) को प्रसस्तिबारे स्वतस्फूर्त रूपमा निक्लने जनजिब्रोलाई आजसम्म कसैले रोक्न सकेका छैनन् मात्र होइन कि यो तियाहा (तिहार) चाड हिन्दू धर्मग्रन्थ श्रीमद्भागवत पुराणमा आर्यपात्र विष्णुद्वारा अनार्य पात्र वलिहाङ (बलिराज)को अवसान गराएको कथालाई नियाल्दा हिन्दू धर्मावलम्बीहरूले बलिहाङ (बलिराजा)को अस्तित्वलाई निर्विवाद रूपमा स्वीकारेकै छन् । अतः अतिदानी (दानवीर), प्रजावत्सल, आध्यात्मिक व्यक्तित्वका धनी, ख्यातीप्राप्त किरात राजा वलिहाङको जीवनगाथासँग जोडिएको 'बलिहाङ तङनाम' तियाहा (तिहार) किरातहरूको मौलिक चाड हो भनी किरात लिम्बूहरूको एक मात्र जातीय प्रतिनिधिमूलक सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले ठोकुवा गरिसकेको कुरा हामीले कहिल्यै भुल्नु हुन्न । २०६२/६/४/३

सान्दर्भिक श्रोतहरूः-

१, किरात इतिहास तथा संस्कृति, ले.इमानसिंह चेम्जोङ
२, मुन्धुमसावा दुर्गाप्रसाद फोपाहाङ, तेह्रथुम खाम्लालुङ

मौलिक किरात धर्म-संस्कारबाट

Oct 23, 2008

लिम्वूवान, लिम्वू र लिम्वूवान व्लगसाईट सम्वन्धमा

टंक सम्वाहाम्फे
केहि समय अगाडी लिम्वूवान शिर्षकमा एउटा कविता लेखे पछि लिम्वूवान सम्वन्धिका कुराहरुले मलाई पछ्याई रह्यो । मनमा पहिले देखि नै विदेशमा वसेर पनि लिम्वूवानको आन्दोलनलाई कसरी सहयोग गर्न सकिन्छ होला भनेर सोच्दै थिए । लिम्वू भएको हैसियतले आफ्नै क्षेत्रवाट केहि योगदान दिन सके राम्रो हुने थियो भन्ने लागि रह्यो । तर गर्ने कसरी ? कुनै गतिलो उपायसंग साक्षातकार हुन सकेको थिएन । गर्ने मन,जोस जाँगर भएर पनि कहिले कहिँ यस्तै हुदो रहेछ । केहि समय मैले यसरी नै गतिशील समयलाई त्यसै खेरो फाली रहेको थिए । वास्तवमा समय अत्यान्तै महत्वपूर्ण हुन्छ यदि सदुपयोग गर्न सकियो भने । दिनहरु वित्दै जादा अचानक लिम्वूवान सम्वन्धि एउटा व्लगसाईट निर्माण गर्ने योजना वन्यो । योजना वनाएर मात्रै अवश्य काम पुरा हुने होईन । पाठकहरुको लागि गतिलो सामग्री चाहियो तव न व्लगको यात्रामा आउने हुन् । यस्तै आदि र्इत्यादि कुराहरुले त्यसै सताई रह्यो । तर जसोतसो लिम्वूवानको नाममा लिम्वूवान व्लगस्पोट डटकम(http://www.limbuwan.blogspot.com/) वनाएरै छाडे । विस्तारै लिम्वू सम्वन्धि विविध जानकारी मुलक कुराहरु सम्प्रेषण गर्दै लैजाने उदेश्य र योजना सहित यो व्लगसाईट तपाईहरुको सामु आएको हो । आखीर व्लगसाईट नै किन ? वेबसाईट नै बनाउन सकिन्थ्यो तर हंगकंग जस्तो समय अभाव हुने ठाउँलाई मध्यनजर गरेर अलि सजिलो उपाय राजेको हुँ । यहा व्लग सन्चानल गर्ने समय नै नभएको वेला वेबसाईट कहिले निर्माण गरेर पाठकहरुको सामु ल्याउने ? यिनै कारणहरुले गर्दा पनि व्लगलाई अगाडी बढाउनु परेको हो । तर आजको साईवर भिलेजमा व्लगसाईट र वेबसाईट उस्तै ढङ्गले अगाडी बढी रहेछ । अहिले विश्वमा व्लगको प्रयोगकर्ता दिनानुदिन वढ्दै गएकाछन् । किनभने वेबर्साईटको जस्तो वेब डिजाईन,डोमीन नेम र र्सभरको झन्झट व्यहोरी रहनु पर्दैन । जसरी पनि पाठकहरुको सामु सम्प्रेषण गर्नु पर्ने सामग्रीहरु सम्प्रषण भएरै छाड्छन् । वेबसाईटमा जस्तै विभिन्न आकर्ष डिजायनहरु देखाउन नसकिएला तर वेबसाईट भन्दा कमजोरी व्लगसाईट अवश्य हुदैन । संसारमा ब्लगसाईटहरुको लोकप्रियता बढेकोले वेबसाईट कर्ताहरु तर्सिएकाछन् । कतिपय ठाउँहरुमा ब्लगसाईटहरुले सोच्दै नसोचेको लोकप्रियता हाँसील गरेको छ । त्यसैले साथीहरु वेबसाईट धमाधम बनाई रहनु भएको वेला म भने ब्लगसाईटतिर लोभिएको छु । लिम्वूवान सम्वन्धि अन्य वेबसाईट र व्लगसाईटहरु अवश्य नभएका होईनन् तर हंगकंगबाट भने त्यस्तो प्रकारको गतिविधी सन्चालन गर्ने कुनै साईटहरु नभएकोले पनि म यो काम गर्न तम्सिएको हुँ । हंगकंगमा पहिले देखि नै लिम्वूहरुको उपस्थिती उल्लेख्य छ । त्यसैले आफ्नो भाषा संस्कृति जगेर्ना गर्न यो ठाउमा पाईला टेके देखि नै लागि परेका छन् । तर ती कुराहरुलाई दुनियाको सामु वा विश्व सामु पुर्‍याउँने माध्यम र ब्यक्ति नभएकोले त्यो रित्तो स्थानलाई मैले ठाउँ भर्ने काम गरेको हुँ । आजको युगमा वेबर्साईट र व्लगसाईट यति लोकप्रिय भएर गयो प्रत्येक मान्छे त्यहि साईटहरुमा सधै रमिरहेको पाईन्छन् । किनभने मोवाईल इन्टरनेट प्रणालीले हरेकको गोजी मै विश्व गतिविधीलाई पुर्‍याई दिएको छ । चाहेको वेला विश्वको घट्ना तुरुन्तै जानकारी लिन सकिन्छ । त्यहि अनुरुप हंगकंगको गतिविधीलाई अन्य मुलुकमा छरीएर रहनु भएका लिम्वू दाजुभाई दिदीवहिनीहरुको समक्ष पुर्‍याउनु यस व्लगसाईटको उदेश्य भित्रका कुरा हुन् । मुल उदेश्य भने लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि जनसमर्थन जुटाउनु हो । उदेश्य भित्र कै उदेश्यहरु भाषा संस्कृति भेषभुषा विकास साथै संरक्षण सम्वर्द्घन गर्नु पनि हो । तर सवै सेवाहरु यो व्लगसाईटले दिन सक्छ वा सक्दैन म अहिले नै भन्न सक्दिन तर सक्दो प्रयास भने निरन्तर जारी रहने नै छ । यसको लागि एक्लो प्रयासले कहिले पनि सम्भव हुदैन । तसर्थ तपाई हामी लिम्वू दाजुभाई दिदीवहिनीहरु जुट्नु अनिवार्य छ । हातमा हात र साथमा साथ भए मात्र सवै कुरा सम्भव भएर जान्छ । समयसापेक्ष मानिसले आफ्नो पाईला चाल्दै लानु पर्ने भएकोले हरेक पक्षलाई हामीले मनन् चिन्तन गर्दै लानु हाम्रो कर्तव्य भित्र पर्दछ । हामी लिम्वू जातिहरु नेपालको परिप्रेक्षमा निक्कै पछाडी परेका छौ । यसो हुनुको प्रमुख कारण राज्यले उपेक्षा गर्नु हो । हामी संग पनि सीप क्षमता छ तर त्यसलाई राज्यले उपयोग गरी दिएको छैन । जुनवेला नेपालमा फुटाउ र शासन गर भन्ने निति लागू गरीएको थियो अप्रत्यासीत रुपले तर त्यो निति सवै जनताले थाहा पाए पछि धेरै समय टिक्न सकेन । फलस्वरुप विभिन्न चरणका आन्दोलनहरु भए नेपालमा र भैरहेकाछन् । निरन्तर चलिरहन्छ नेपालका जनताले चाहे अनुरुप शासन प्रणाली जव सम्म नेपालमा आउदैन । वरु आन्दोलनको स्वरुप वढ्दै जान्छ फेरिदै जान्छ । तिनै आन्दोलन भित्रको आन्दोलन लिम्वूवानको आन्दोलन पनि एक हो । संयुक्त राष्ट्र संघले समेत अनुमोदन गरेको निती जातिय उत्थानको लागि आत्मनिर्णयको अधिकार सहित स्वायत राज्य पाउने भएकोले लिम्वूहरु पनि जातिय उत्थानको लागि लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि आन्दोलनमा होमीएका हुन् । हालको अन्तरीम सरकारले त्यतातिर खासै ध्यान नमोडे पनि कुनै न कुनै दिन सरकारले लिम्वूवान स्वायत राज्य घोषणा गर्न बाध्य हुनुपर्छ । यदि सरकारले यसो गरेन भने लिम्वूहरु भोलि गएर अन्य शसस्त्र गतिविधीमा समेत उत्रन सक्छन् । त्यसको लागि समय मै सरकारी पक्षले आफ्नो ध्यान जातिय स्वायत राज्यको पक्षमा मोड्नु पर्ने हुन्छ । केन्द्रिकृत सरकारले नेपालका जनजातिहरुलाई सदियौ देखि थिचोमिचोमा पार्दै आएका छन् । तसर्थ अव त्यो थिचोमिचो जनजातिहरुले सदासदाको लागि अन्त्य चाहान्छन् । तसर्थ सरकारले चाडो भन्दा चाडो लिम्वूवान स्वायत राज्य घोषण गरोस् भन्ने सम्पूर्ण लिम्वानवासी लिम्वूहरुको चाहाना हो । अन्यथा जति यो घोषणलाई पछाडी सार्दै लगिन्छ उति उति जटिल समस्याहरु थपीदै जान्छन् । विश्वको अन्य मुलुकहरुमा पनि जातिय स्वायत राज्यहरु भएको थुप्रै उदाहरणहरु छन् । तर नेपालमा भने पुरानो मानसिकता पालेका नेताहरुले जातिय स्वायतता माग गर्नु देशलाई बिखण्डन तिर धकेल्नु हो भन्ने सोच्दछन् । हामीले कहि पनि सुनेका छैनौ जातिय स्वायत राज्य घोषणा गरेर देश बिखण्डीत भएको त्यो मात्र तानाशाही मनोवृति हो । किनभने सम्पूर्ण शक्ति आफ्नै हातमा लिएर अरुलाई उठ्न नदिने महत्वकांक्ष पाल्नु मात्र हो त्यो । अहिलेको विश्व परिस्थितीमा धेरै विषयबस्तु र नितीनियम हेरफेर भैसकेको छ । त्यसलाई पनि हामीले मध्यनजर गर्नु पर्ने हुन्छ । आफुलाई जे लागेको छ त्यहि निती मात्र अख्तियार गर्ने हो भने देश पुन विद्रोहको दलदलमा फस्न सक्छ । देश विकास र जातिय उत्थानको लागि नेपालको परिवेशमा संघीय राज्य अन्तर्गत जातिय स्वायत राज्यहरु हुनु युग सुहाउँदो नै हुनेछ । पृथ्वी नारायण शाहको पाला देखि ज्ञानेन्द्र शाह सम्मको केन्द्रिकृत शासन तपाई हामीले देखेकै हौ भोगेकै हौ तर खोई काहा जातिय उत्थान भयो र ? वरु उल्टै शाषीत पीडीत दमीत उपेक्षित वन्नु पर्‍यो । त्यहि क्रुरता र तानाशाही भएकै कारणले जनआन्दोलन मार्फत जनताले शाही शासनलाई अन्त्य गरीदिएकाछन् । तसर्थ अव वन्ने नयाँ लोकतान्त्रिक सरकारले संघीय शासन अन्तर्गत जातिय स्वायत राज्य दिई हरेक जातिहरुलाई सम्वोधन गर्नुपर्दछ । आज सम्म हामी नेपाली जनताले चाहेको पनि त्यहि नै हो जस्ले गर्दा सम्पूर्ण देश र जनताको भलाई हुन्छ ।

लिम्वूवानको सिमाना एक प्रमुख चर्चा

कमल तिगेला लिम्बू
विषयप्रवेशःने. क. पा. माओवादीले सङ्खुवासभा र धनकुटाका केही स्थानहरूलाई किरात स्वायत्त प्रदेश हुनपर्ने प्रस्ताव गरेको छ । त्यसरी नै खन्बुवान राष्ट्रिय मोर्चाले लिम्बुवान मोरङमा पर्ने बुढी खोला, लेउती, हिलेहुदै बसन्तपुर,तीनजुरे, मिल्के जलजलेसम्मको भूभाग खम्बुवान हुनपर्ने दावी गरेको छ । त्यसैगरी, लिम्बुवानको दक्षिण पट्टकिा भूभाग झापा, मोरङ र सुनसरी कोचिला प्रदेश हनु पर्ने प्र स्ताव नके पा माओवादीले राखेको छ । यही भूभागमा 'समग्र मधेश एक प्रदेश' हुनपर्ने प्रस्ताव मधेशी फोरम, तमलोपा र सदभावना पार्टी आनन्दी देवी र गुप्ता दुवैले राखेका छने भने थारू जातिको संस्था थारू कल्याणकारी सभाले झापादेखि कञ्चनपुरसम्म नै थरुहट राज्य हुनुपर्ने माग अघि सारेको छ । यही प्रकारले इलामस्थित लेप्चाको संस्थाले तमर नदीसम्म रोङ राज्य प्रदेश हुनपर्ने र उत्तरपट्टी ताप्लिजोङदेखि पश्चिम जुम्लासम्मको हिमाली क्षेत्र हिमाली स्वायत्त प्रदेश हुनुपर्ने लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चले दावी गरेपछि लिम्बुवानको सिमानाः एक प्रमुख चर्चाको विषय भएको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । नेपालमा संघीयव्यवस्था अर्न्तर्गतका राष्ट्र-राज्यहरू निर्माण गर्ने समय आइसकेको छ । यसरी बन्ने राष्ट्र-राज्यहरूमध्ये लिम्बुवान पनि एउटा प्रस्ताव गर्न सकिने भएकोले

यसको सिमाना बारेमा चर्चा गर्न आवश्यक भएको छ ।
लिम्बुवानको सिमानाका केही ऐतिहासिक पृष्ठभूमिःलिम्बुवानको सिमाना अध्ययन गर्नको लागि यसको ऐतिहासिक पृष्ठभूमि बुझ्न पर्नेहुन्छ । यसर्थ, उक्त ऐतिहासिक पृष्ठभूमिलाई क्रमशःप्रस्तुत गरिएको छ ।
.करिब चौथो शताब्दीतिर योक्नेहाङपछिका राजा लेलिमहाङ (माबोहाङ,ढुङ्गेल १९५५) पालामा उनका भाइ खाम्सोहाङले राजधानी सार्न नमानेपछि उनलाई साँगा भञ्ज्याङपूर्व दूधकोशी पश्चिमको भूभाग छोडिदिए । आज राजा लिलिमहाङका सन्तान लिम्बू र खाम्सोहाङका सन्तान खम्बू जातिमा विकसित भएका छन् । लिलिमहाङ्ले राजधानी तावालुङ सुसुवादेन (ताक्लुङ) मा सार्दा मोरङले आद्यान्न सहयोग गरेको देखिएकोले पूर्वमा टिस्टासम्म नै लिलिमहाङको सिमाना थियो कि भन्ने अनुमान गरिएको छ ।
. इशाको छैटौ शताब्दीतिर लिलिमहाङका शाखा सन्तानहरूले आठ किरात प्रान्तमा राज्य अंशवण्डा गरी राज्य सञ्चालन गरिरहेको समयमा ताइस्यानवंशी दश सरदारहरू शरणार्थीको रुपमा आए । लामो समयपछि ती सरदारका सन्तान वृद्धि भए । उनीहरूले आठ किरात विरुद्ध विद्रोह गरी आठ प्रान्तको सट्टा दश लिम्बुवान राज्यको स्थापना गरे । तिनीहरूले आफ्नो सिमाना पूर्वमा टिस्टा, पश्चिममा दूधकोशी, उत्तरमा तिब्बत र दक्षिणमा पूर्णीयाको जलालगढ निश्चय गरे । उनीहरूले दश लिम्बुवान प्रान्त विभाजन गर्दा ताक्लुङ गढमा खेवाहाङ राजा चुनिए ।1उनको पश्चिम सिमाना दूधकोशी (Chemjong :1966) थियो । खेवाहाङले खोटाङमा चाम्लिङ चिम्लिङ गढ बनाए । तुम्बा, मादेन, चोङबाङ,माङयाक, आङलाबाङ, आम्लिङ र अन्य खाम्बोङबामाथि शासन गरे । दक्षिणको सिमानाचौबीस बोधेका सइयाक लादोहाङ राजा चुनिए उनले चेम्जोङ, र्सइयाक, भाजी, वाजी, थारू,धिमाल, कोचे र अन्य जातिमाथि शासन गरे । उनले साँगुरी गढ निर्माण गरे र दक्षिणको सिमाना पूर्णिया नजीकको जलालगढ राखे । साम्लुप्ली साम्बाहाङले तम्बर गढ पाए । उनले महाफेदाप राज्यबाट छुट्याई पोमेजङ गढ बनाए । सिसियेन सिरिहाङले मेया र मैया क्षेत्र पाए । उनले मेरिङदेन गढ बनाए । थिङदोलुङ खोयाहाङले याङवारक क्षेत्र पाए उनले हस्तपुर गढ बनाए । येङगासो पापोहाङले पान्थर क्षेत्र पाए । उनले यासोक गढ बनाए । सेन्सेगुम फेदापहाङ फेदाप क्षेत्रका लागि चुनिए । उनले पोक्लाबाङ गढ बनाए । मुङग ताई चि इमेहाङले इलाम फाकफोक चार खोला क्षेत्र पाए उनले आङदाङ गढ बनाए । तापेसु पेरुहाङ तेह्रथुम क्षेत्रका लागि चुनिए । उनले थला गढ बनाए ।
. इस्वी सन् ६४० मा अंशुवर्माको मृत्यु भएपछि नाल खाल्डोमा राज्य उत्तराधिकारी नहुदा सेनचेन गेम्बा नमका तिब्बती राजाले हुकुम चलाए । उनले अंशुवर्माको छोरी भृकुटीलाई विवाह गरेका थिए । यही समयमा भोटको खाम्पाजोङ (अरुण शीरमा पर्छ) मा अघि लिम्बुवान विद्रोहबाट पलायन भई बसेका माराहाङले तिब्बती फौज उर्ठाई लिम्बुवानमा आक्रमण गरे । उनले लिम्बुवान हातमा लिएपछि उनको दक्षिणी राज्य मोरङ-मिथिलासम्म पुर्याए । उनको राज्यको सिमाना पूर्वमा सांगडोकपू पहाड, पश्चिम हेटौडा,उत्तर खाम्पाजोङ र दक्षिणमा मिथिला रहेको थियो । माराहाङ राजाकै नामबाट हालको मोरङ बन्न गएको हो ।
.माराहाङ राजाका उत्तराधिकारी नभएकाले आफना उत्तराधिकारी मकवानस्यान नामगरेका उक अफिसरलाई आफनो देशका उत्तराधिकारी छाने । माराहाङ राजाको मृत्युपछि मकवानश्यान नाम गरेका राजाको शासन चल्यो । उनले पश्चिममा एउटा गढ बनाई त्यसको नाम मकवानपूर राखे । मकवान स्यानपछि सिरिजङगाहाङ यस देशका राजा भए ।2 उनलाई सुप्रसिद्ध सन्त राजाको रुपमा पनि चिनिन्छ । उनले भाषा, धर्मको प्रचार गर्नका साथै किरात लिपि आविष्कार गरे ।
. सन् १२०० तिर सोमरपति कामरुपका किरात जातिमध्येका कोचवंशी राजाहरूको प्रभुत्व बढेको थियो । उनीहरूले राज्य विस्तार गर्नेक्रममा कोचवंशी राजा सिंग रायले आफ्नो देश मोरङसम्मा विस्तार गरे । यिनै वंशभित्र पर्ने सन् १३६४ मा मोरङ तराइमा साङलाइङ नाम गरेका राजाले राज्य गरे । उनको दरवार वाराताप्पा विजयपुरमा नै थियो । उनको सिमाना पूर्वमा टिस्टा, पश्चिम कोशी नदी, उत्तर साँगोरी गढी,दक्षिणमा जलालगढ थियो । साङ्लाइङका पूर्खा आसाम कामरुपबाट आएका थिए । इतिहासकारहरूका अनुसार कोच घरानाका थिए । किरात वंशावलीका अनुसार साङलाइङ साक्वादेन थरका लिम्बू घरानाका हुन् ।3 साङलाइङपछि उनका छोरा पुङ्लाइङ राजा भए ।4 उनले अमर राय लेख्न थाले । उनी राय पद्वी धारण गर्ने पहिलो व्यक्ति थिए । उनीपछि छोरा कीर्तिनारायण राय,अमर राय, जारेनारायण राय, इङ्दिननारायण राय,र विजय नारायण राय गरी सात पुस्ताले विजयपुरमा राज्य गरे । राजा विजय नारायण रायले परराष्ट्र नीतिमा प्रभाव पार्न मुरेहाङ(खेवाहाङ) लाई विजयपुर आउन निमन्त्रणा गरे । त्यस समयमा मुरेहाङ खेवाहाङ प्रभावशाली राजा थिए ।5 उनले मुरेहाङलाई फकाइ -फुल्याइ दुवै मित्रहरू एक भई पहाड मधेश एकमुष्ट पारी एउटै राजधानीमा बसी राजपाट गरौं भने । उनले पहाडी राज्यमा हस्तक्षेप नगर्ने साथै राजा मुरेहाङले विजयपुर राजधानीमा बसी राज्य शासन गर्नमा विजय नारायण रायलाई सहयोग गर्ने भन्ने वार्तालाप भयो । राजा विजय नारायण राय मोरङ मधेशको मात्र राजा हुने तर राजा मुरेहाङ मधेश पहाड दुवैको राजा हुने भनी र्सत राखे । त्यसका अतिरिक्त पहाडका किरातहरूले पु स्तौ पु स्तासम्म प्रधानमन्त्री वा चौतारीयाको काम गर्ने अधिकारसमेत पाए । विजयपुरका राजालाई मन्त्रीको ज्यान लिन पाउने तर मन्त्री पद खोस्न नपाउने भयो । यसपछि विजयनारायण राय मुरेहाङ खेवाङको सेनाका आडमा अघिकाभन्दा शक्तिशाली भए । विजयनारायण रायले पूर्वमा कन्काई नदी,पश्चिममा कोशी नदी, उत्तर सिमाना सानगढी,र दक्षिण सिमाना जलालगढ कायम गरी राज्य गरे । उनले स्यान गढीमा एक शहर बर्साई त्यसको नाम आफ्नै नामबाट विजयपुर राखे । उनले मुरेहाङलाई 'राय' पदले सुशोभित गरे । मुरेहाङ राय लेख्ने दोस्रा व्यक्ति भए । पहिलो व्यक्ति पुङलाइङ (अमर राय) थिए । पछि मुरेहाङलाई विजयनारायण रायले फाँसी दिए । यसको बदलामा मुरेहाङका छोरा बाजाहाङ रायले विजयनारायण रायलाई लखेट्न मकावानपुरका लोहाङ सेनसंग सहायता मागे ।6 लोहाङ सेनको राज्य विस्तारको क्रममा बाजाहाङ युद्धभूमिमै मृत्यु भएकाले विजयपुर राज्य लोहाङ सेनको भयो । सातपुस्ता राज्य गरेका कोचवंशी भनिएकाहरूको राज्य सेनहरूबाट समाप्त भयो ।
६ . लोहाङ सेनले आफ्नो राज्यालाई पाँच भाग लगाई प्रत्येक भागमा एकएक जना सुब्बाको अधीनमा राखे ।१. मकवानपुर पूर्व कमला नदी पश्चिम भूभागलाई सप्तरी प्रदेश नामाङ्करण गरी चाङबाङहाङ रायलाई सुब्बा नियुक्त गरे । २. त्यसरी नै कमलापूर्व कोशी पश्चिम भूभागलाई महोत्तरी प्रदेश नामाकरण गरे र लिवाङहाङ रायलाई सुब्बा नियुक्त गरे । ३. ताँबाकोशीपूर्व, अरुण पश्चिम,सप्तरी प्रदेश उत्तर तिब्बत पश्चिम खम्बुवान राज्यमा नाम्दुङहाङ रायलाई सुब्बा पदमा नियुक्त गरी खोटाङ गढीमा राखे । उनले विजय गढ दक्षिण, जलालगढ उत्तर, कोशीपूर्व, महानदी पश्चिमको भूभागलाई मोरङ प्रदेश र विजयपुर उत्तर, अरुणनदीपूर्व र टिस्टा नदी पश्चिम, तिब्बतको दक्षिणको भूभागलाई लिम्बुवान राज्यको नामाकरण गरी दुवै राज्यमा बाजाहाङका पुत्र विद्याचन्द्र राय (पानोहाङ खेवाहाङ) लाई स्वायत्त शासन सञ्चालन गर्न दिए । पानोहाङ विद्याचन्द्र रायले विजयपुर गढीमाबसी पहाड मधेश शासन गरे ।
. लोहाङेनपछि हरिहर सेन, सुभ सेन मकवानपुरका राजा भए । सन् १६०४ मा किरातहरू मकवानपुरे राजा मान्ने र नमान्ने दुइ भागमा विभाजन भए । नमान्नेले पुनः आफै राजा भई राज्य चलाउन थाले । मान्नेले सुभसेनका जेठा छोरा महापति सेनलाई राजा बनाए । महापति सेनपछि कामदत्त सेन विजयपुरका राजा भए । उनले पनि पिता पूर्खा झैं किराती लिम्बूहरूलाई नै मन्त्री पदमा नियुक्त गरे ।
. मन्त्रीहरूमध्ये पानोहाङ(विद्याचन्द्र राय)का छोरा विचित्र चन्द्र राय प्रभावशाली थिए । उनले कामदत्त सेनलाई विजयपुरबाट निकाली स्वतन्त्र राजा भए । उनको शेषपछि उनका छोरा हाङ बुद्धिकर्ण राय विजयपुरका राजा भए । राजा बुद्धिकर्ण रायको शासन कालमा कामदत्त सेनले विजयपुरमाथि आक्रमण गरे । तर सिक्किम तिब्बत सेनाले समेत बुद्धिकर्ण रायलाई साथ दिएकाले कामदत्त सेनलाई पराजित गरे । उक्त युद्धबाट बुद्धिकर्ण राय खुशी भई सिक्किमको राजप्रतिनिधिहरूलाई मेची र इन्दू नदीबीचको भूभाग सिक्किमलाई जागीर दिए ।7 यो समयमा लिम्बुवान पूर्वमा मेची, पश्चिम अरुण, उत्तर तिब्बत र दक्षिण जलालगढ नै रहेको थियो ।
. सन् १७०६ मा मोरङका किरात नवावबीच भीषण युद्ध भयो । यो मोरङ युद्धमा थुम् थुम्का किरात लिम्बूहरूले पूर्णीया राज्यका नवाव इस्फुन्दियार खाँलाई जलालगढ कर्टाई लिम्बुवान राज्यको सिमाना पूर्व टिस्टादेखि पश्चिम वेतीयासम्म पुर्‍याए ।8
१०. सन् १७७३ जुन २० तारिख हतुवा चौदन्डी गारेखा सेनाले आक्रमण गरी त्यहाँबाट किराती राजा कर्ण सेनलाई पराजित गरेपछि कर्ण सेन भागी विजयपुरका बद्धिकर्ण रायसंग सरण पर्न आएका थिए । त्यसबेलासम्म बुद्धिकर्ण रायले विजयपुर मोरङ वा समग्र लिम्बुवान देशको शासन चलाउँदै आएका थिए । केही इतिहासकारहरूले कर्ण सेन रायले विजयपुरका पनि राजा थिए भनी भ्रम सिर्जना गर्न खोजेका थिए तर यसको खण्डन किरातकालीन विजयपुरको इतिहासमा इतिहासकार इमासिङ चेम्जोङले गरिसकेका छन् ।
११. गोरखाका विस्तारवादी राजा पृथ्वीनारायण शाहले पूर्व आक्रमणको योजाना बनाउँदा दश लिम्बुवानमा बाह्रजना नामी सुब्बाहरू थिए । गोरखाली आक्रमणताका राजा बुद्धिकर्णलाई दरवारमा राखी आफू मोरङको मन्त्री र चौतारिया भइसकेका थिए । उनीहरूले सत्रपटक पृथ्वीनारायण शाहलाई लखेटी आजित बनाएका थिए । तिनीहरू श्री जङ राय आठर्राईका,श्री फुङ राय पान्थरका,श्री जमुना राय चौबीसका, श्री आताहाङ राय फेदापका, श्री सुभवन्त राय तम्बरखोलाका, श्री नैनसिङ राय मेवाखोलाका,देव राय मैवाखोलाका, श्री योङयाहाङ राय याङयोकका, श्री सुनुहाङ राय छतरका, आसदेव राय चारखोलाका र श्री जसमुखी राय चैनपुरका थिए । सो समयमा पूर्वमा मेची, पश्चिममा अरुण- सप्तकोशी, उत्तर तिब्बत र दक्षिणमा जलालगढ नै लिम्बुवाको सिमाना थियो ।
१२. सन् १७७४ को लालमोहरामा सिमाना उल्लेख नभए पनि माथिका आधारमा लिम्बुवानको सिमाना पूर्वमा मेची, पश्चिम अरुण कोशी, उत्तरमा तिव्बत र दक्षिणमा जलालगढ (पूर्णीया छेउ) सम्म रहेको थियो । मेचीदेखि टिस्टासम्मको भूभाग बुद्धिकर्ण रायले सिक्किमलाई जागीर दिएकोले सो भूभाग सिक्किमको अधीनस्थ रहेको पष्ट हुन्छ ।
१३. प्रताप सिंह शाहको पालामा सिक्किम- गोरखा दोस्रो युद्ध प्रारम्भ भयो । राजा रणबहादुर शाहको पालामा गोरखा राजाले लिम्बुवानको पुरानो सिमाना टिस्टासम्म पुर्‍याए । यो युद्धलाई बहादुर शाहले नेतृत्व गरेका थिए । यो युद्धमा ३२ हजारभन्दा बढी लिम्बूहरूले सिक्किमको पक्षलाई युद्धमा सहभागी भएकाले सिक्किम पराजित भएपछि ती लिम्बूहरूले पनि सिक्किमतिरै निर्वासित हुनुपर्‍यो ।
१४. सन् १७८८ मा किपटको प्रचलन भयो । यो रणबहादुर शाहले लागू गरेका थिए । यसमा आ-आफ्नो भूभाग दावी गर्नुपर्ने भयो । जसअन्तर्गत लिम्बुवानको सिमाना यही समयदेखि खुम्च्याउने षडयन्त्र प्रारम्भ भयो । राजा पृथ्वी नारायण शाहले लिम्बूसंग गरेको सन्धीको उल्लङ्घन क्रमशः गर्दै जाने कार्यको थालनी भयो ।
१५. सन् १७७२ को चीन-भोट गोरखाबीचको सन्धीमा चीनले गोरखालाई सिक्किमका पश्चिमी भूभाग छोड्न प्रस्ताव गरेको थियो । नेपालले पश्चिम सिक्किम फिर्ता लिने बाचा गरे पनि उनले केही सिमित प्रदेशहरूमात्र फिर्ता गरी दार्जिलिङ आफै राखेकाले सिक्किमे राजाले अंग्रेज सरकारसंग अर्को सहायता मागे । अंग्रेजी फौजले एकै चोटि दार्जीलिङको नाग्रिजोङ गढीमा आक्रमण गरे । यो आक्रणमा गोरखाली सेनाहरू पराजित भए । त्यसपछि सन् १८१६ मा सुगौली सन्धी भयो । जस अनुसार मेची नदीदेखि टिस्टासम्मको मधेश पहाड सबै भूभाग गोरखालीले सिक्किमलाई छाड्नुपर्ने भयो । यस सन्धीबाट लिम्बुवानको पूर्वको मेचीदेखि टिष्टा र दक्षिणपट्टीको जलालगढसम्मको भूभाग गुमाउनु पर्यो । हाल जलालगढ नेपाल-भारतस्थित जोगवनीबाट ६१ कि.मि. दक्षिण भारतको पूर्णीया जिल्लामा पर्दछ ।
१६. पछिल्लो समयमा किपट दावी गर्ने क्रममा तत्कालीन लिम्बुवानको सम्भवत रङ्गेली, तेलकोटी बर र भुडे सिम्मलसम्म मात्र दावी गरे । यो दावी पछिल्लो समयसम्म कायमै देखिएको छ । यो किपटीया सिमाना दावी गर्दै मुद्धासमेत परेको थियो । यसबाट के देखिन्छ भने लिम्बूहरूको आफ्नो पछिल्लो दावी लिम्बुवानको रङ्गेली, तेलकोटी बर र भुँडे सिम्मलसम्म रहेको थियो । भुडे सिम्मल पूर्व- पश्चिम राजमार्गस्थित् पाडाजुँगीबाट ४६ कि.मि. दक्षिण जुडोपानी गा.वि. स . वडा नं.२ मा पर्छ ।
१७.सन् १९५१ मा राजा त्रिभुवनले लिम्बूहरूलाई दिएको लालमोहरबाट लिम्बुवानको सिमाना दक्षिणतर्फबाट खुम्च्याइएको छ । लालमोहरमा चार किल्ला तोक्दा 'पूर्वमा मेची,पश्चिम अरुण, उत्तरमा तिब्बत र दक्षिणमा तराइमाल उत्तर' भनेका छन् । यसबाट मधेशी मलिलो भाग विर्ता बाँड्न राखेको प्रष्ट हुनआउँछ ।
१८. सन् १९६० मा किपट भूमि लिम्बुवान महेन्द्र राजाको पालामा एक लालमोहर जारी गरी थमौति भएको पनि पाइएको छ । राजा महेन्द्र र तिनका प्रशासकहरूले षडयन्त्रबाट सन् १९६५ बाट भूमिसुधारका नाममा किपट खोसिएको हो ।
१९. चारकोशे जङगलबीच आधार बनाई फार लाइन निर्माण गरी साँध लगाएको अझै पनि पाइन्छ । त्यसमा लाख र माल बनाई L/M को साइनबोर्डसमेत राखेका थिए । उत्तरतिर लाख कायम गरी किपट प्रथा र दक्षिणतर्फ माल कायम गरी जमिन्दारी प्रथा लागू गरे । हात्तिलेदाको माङहिमबाट लाख र माल छुट्याइएको सिमाना प्रत्यक्ष देख्न सकिन्छ भने यता सुनसरीको चारकोशे झाडीमासमेत फारलाईन बनाई सिमाना बनाएको पाइएको छ । यो पछिल्लो मिचिएको सिमाना हो ।
२०. यसरी लिम्बुवान खुम्च्याएपछि लिम्बूहरूले यसको विरुद्ध समय-समयमा वि द्रोह गर्दै आएका छन् । लिम्बूहरूलाई दिइएको लालमोहर र जारी गरिएका इस्तिहारहरूमा आगे "अरुणपूर्व मेची पश्चिम भोट सिमाना दक्षिण" बाट लेखन प्रारम्भ भएबाट लिम्बुवानको पूर्व-पश्चिम र उत्तर दक्षिणको सिमाना प्रष्ट हुन आउँछ ।
२१.ऐतिहासिक प्रमाणको रुपमा लिन सकिने हड्सन पाण्डुलिपीमा अरुणपूर्व लिम्बुवान लेखिएको एक कागजात फेला परेको छ । जसमा खम्बुवानको नक्सा प्रष्ट कोरिएको र अरुण नदीपर्वू लिम्वूवान लेखिएको खम्बुवान र लिम्बुवानको सिमाना विवादमा प्रमाणको रुपमा पेश गर्नसक्ने अवस्था छ । यसमा लिम्बुवानको मानचित्र नबनाइए पनि प्रष्टसंग अरुणनदी पूर्व लिम्बुवान उल्लेख गरिएबाट लिम्बुवान राज्यको पश्चिम सिमाना प्रमाणित गर्न सकिन्छ ।
२२. सुनसरी जिल्ला बन्नभन्दा अगाडि यो जिल्लाका सम्पूर्ण भूभाग मोरङ अन्तर्गत पर्ने भएकाले यतापट्टकिो सिमानामा विवाद रहन्न । विगतमा कोशीपूर्व मेची पश्चिमको भूभाग मोरङले समेटेको थियो । जुन प्राचीन किरात राजा माराहाङले स्थापना गरेका थिए । पछि मोरङबाट झापा प्रशासन छुट्टीदा समेत मोरङझापा भन्ने गरिएको तथ्यबाट पनि लिम्बुवानको सिमाना प्रष्ट हुन्छ ।9

सिमाना निर्धारणका आधारहरूः
१. जातीय ऐतिहासिक पृष्ठभूमिको आधारःआधुनिक नेपाल वा गोरखा राज्यको विस्तारपूर्व कुन राज्यको सिमाना कहाँ थियो भन्ने यकिन गर्नुपर्दछ र सोही आधारमा राज्यको सिमाङ्कन गर्न सकिन्छ । २. भौगोलिक अनुकूलताः सिमाना निर्धारण गर्दा भौगोलिक अनकूलतालाई समेत हेर्नुपर्दछ ।उदाहरणको लागि समग्र मधेश एक प्रदेश,हिमाली प्रदेश, झापा-कञ्चनपुर थरुहट प्रदेश नामकरण गरी सिमाङ्कन गर्दा भौगोलिक अनकूलता छ छैन, हेर्नुपर्दछ, जस्तै समग्र मधेश एक प्रदेशको राजधानी जनकपुर राख्दा कञ्चनपुरका जनताहरूका लागि अनुकूल हुन्छ वा हुन्न भनी ख्याल गर्नुपर्ने हुन्छ । त्यसरी नै हिमाली प्रदेशको कुरा गर्ने हो र सोलुमा सदरमुकाम राख्ने हो भने जुम्लाका हिमाली जनताहरूका लागि भौगोलिक अनुकूलता छ छैन हेर्नुपर्ने हुन्छ । ३. जातीय सघनताः अर्को जातीय सघनता पनि हो तर यो सबै राज्यहरूमा अभ्यास गर्न सकिन्न । किनकि उदारहणका लागि लिम्बुवानलाई लिने हो भने लिम्बुवानमा लिम्बूहरू नै अल्पमतमा परेका छन् । त्यस्तै, नेपाल मण्डलमा नेवारहरू अल्पमतमा पर्दछन् । अर्को जातीय सघनतालाई मात्र आधार बनाउने हो भने राज्यको सिमाना कोर्दा अक्टोपसको जस्तो आकार बन्न सक्दछ । यसर्थ, जनसाङ्ख्यिक् आधारमात्र प्रयाप्त आधार होइन । ४. अन्तर्राष्ट्रिय सिमाङ्कन विधिः राज्य सिमाङ्कन गर्दा अन्तर्राष्ट्रिय विधि अपनाउनु पर्नेहुन्छ । यसमा ठूलो नदी, पहाड, हिमाल, पानी ढलोको माध्यमबाट राज्यको सिमाना निर्धारण गर्न सकिन्छ । ५. आर्थिक उपलब्धताः राज्य सिमाङ्कन गर्दा आर्थिक स्रोत साधनहरूको उपलब्धतालाई समेत ख्याल गर्नुपर्ने हुन्छ । सिमाङकन गर्दा त्यस राज्य वा जनताहरूलाई आर्थिक एवम् विकासका हिसाबले प्रभाव पार्छ वा पार्दैन ख्याल गर्नुपर्ने हुन्छ । ६. दस्तावेज/प्रमाण : राज्यको सिमाङ्कन गर्दा राज्यका दावेदारहरूसंग आवश्यक दस्तावेज र प्रमाणहरू हुनपर्दछ जसले त्यस राज्यको सिमाना निर्धारणका लागि आवश्यक तथ्यहरू प्रस्तुत गर्न सकोस् । ७. अध्ययन अनुसन्धानः सिमाना निर्धारण गर्दा अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य र वास्तविकताको आधारमा गर्नपर्दछ । एकात्मक राज्य व्यवस्थाबाट संघात्मक राज्यको संरचना गर्दा सिमाना निर्धारण एक जटिल विषय हो ।

सिमाना विवाद भएमा निरुपण गर्ने विधि
क. सिमाना विवाद भएमा विवादित पक्षहरूबीचको आपसी सहमतिबाट सिमाना निर्धारण गर्न सकिन्छ । ख. पहिलो विधिबाट समस्या समाधान नभएमा दुबै पक्षलाई स्वीकार्य तेस्रो पक्षको सहजीकरणमा सिमाना निर्धारण गरी सहमतिमा पुग्न सकिन्छ । ग. पहिलो र दोस्रो विधिबाट सिमाना निर्धारण गर्न नसकिएमा दुइ राज्यको मामिला संघीय अदालतले हेर्ने भएकाले आवश्यक प्रमाणहरू पेस गरी अदालतको आदेशको आधारमा सिमाना निर्धारण गर्न सकिन्छ ।

निष्कर्ष सुझावहरू
आधुनिक नेपाल निर्माण वा गोरखा राज्य विस्तारपूर्व बुद्धिकर्ण रायले विजयपुरबाट अन्तिम राज्य सञ्चालन गरेका थिए । उनले राज्य सञ्चालन गर्दा लिम्बुवानले विजयपुरलाई केन्द्र सरकार मानेको थियो । यो समयमा पूर्वको सिमाना मेची, पश्चिम अरुण सप्तकोशी, उत्तर तिब्बत र दक्षिणमा जलालगढसम्म नै कायभ भएको थियो । यो सिमाना गोरखा राज्य विस्तारबाट पृथ्वीनारायण शाहले सन्धी सम्झौतामार्फत् आफ्ना अधीनस्थ बनाएका थिए । पछि विभिन्न कालखण्डमा मधेशको मलिलो जमिन विर्ता बाँड्न लिम्बुवानलाई दक्षिणबाट खुम्च्याइयो । किरात याक्थुङ चुम्लुङको एक अध्ययन प्रतिवेदनले दक्षिणपट्टीको सिमाना नेपाल-भारत सिमानालाई निर्धारण गर्न सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा लिम्बुवान राज्य निर्माणका लागि आवश्यक पहल गर्न आवश्यक छ । यसलाई पहिलो प्राथमिकता दिनुपर्दछ । यसका लागि लिम्बुवानाबासीको समेत सहमति खोज्न आवश्यक छ । लिम्बुवानमा रहने थात थलो खुलेका जातिलाई विशेष स्वायत्त क्षेत्र र थातथलो नखुलेका जातिहरूको स्वशासित क्षेत्र निर्माणका लागि प्रस्ताव गर्नुपर्दछ । विशेष स्वायत्त क्षेत्र,स्वशासित क्षेत्र र लिम्बुवान राज्यबीच सहकार्य गर्न आवश्यक छ । लिम्बुवान खस परिषद् जस्तै अन्य जातिहरूको पनि संगठन निर्माण गर्न सहयोग पुर्याउनु पर्दछ । लिम्बुवानअन्तर्गत् रहन नचाहने वा स्वायत्त राज्य माग गर्ने संगठनहरूसंग निरन्तर सम्वाद गर्न आवश्यक छ । लिम्बुवानको सिमाना क्षेत्रमा बसोबास गर्ने जातिहरूसंग अन्तरसम्वाद अविलम्ब थालिनी गर्नुपर्दछ । जातीय ऐतिहासिक पृष्ठभूमिको आधारलाई अघि सारी यसको जनवकालत सशक्त रुपमा गर्नपर्दछ । सिमाना उल्लेख भएका दसी प्रमाण सङ्कलन कार्य यथासीघ्र थालनी गर्नपर्दछ र सिमाना विवादित् पक्षसंग सम्वाद थालनी गरी आपसी सहमति कायम गर्नुपर्दछ । अध्ययन अनुसन्धानका प्रतिवेदनहरू सङ्कलन र त्यसको प्रचार-प्रसार गर्न आवश्यक छ । यी प्रयासहरूबाट सिमाना निर्धारण गर्नका लागि सहज हुन सक्दछ र विवाद भएमा विधिबाट समाधान खोज्न पर्दछ ।

(यो कार्यपत्र सन् २००८ जुन् २ तारिख, इलाम बजार, लिम्बुवानमा किरात याक्थुङ चुम्लुङको १३ औं राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत गरिएको हो । लेखकको 'लिम्बुवानको राजनीति' नामक पुस्तक पनि प्रकाशित छ ।)

सन्दर्भ सामग्री
1.IS Chemjong: History and Culture of Lirat Peoples, Page 54
2. स्व. इमान सिं चेम्जोङ, १९४८, किरात इतिहास पृष्ठ २५
3. स्व. इमान सिं चेम्जोङ, १९७४, किरात कालीन विजयपुरको इतिहास, पृष्ठ १३
4. पुङलाइङ (अमर राय) सातरेनुहाङ तुम्बाहाङफे वंशावली र फेदाप लिम्बुवान पृष्ठ ५७
5. मानव उत्पत्ति र खेवा वंशावलीमा मुरेहाङको वंशावली उल्लेख छ ।
6. पश्चिम किरात देशका आपुङ्गी राजाहरुमध्ये पाल्पाका मुकुन्द सेन सबभन्दा श्रेष्ठ निस्किए । उनलाई आपुङ्गी राजाहरुलेसमेत मान्दथे । उनले आफ्नो राज्य पाल्पादेखि मकवानपुरसम्म राज्य विस्तार गरे ।
7. इमान सिङ चेम्जोङ, १९४८, किरात इतिहास पृष्ठ ३६
8. स्व. इमानसिङ चेम्जोङ :१९७४, किरातकालीन विजयपुरको इतिहास पेज ५१
9. दाहाल, डा. पेसल, मोरङको ऐतिहासिक रुपरेखा,मोरङ एक परिचय, पृष्ठ २९
पालाम मासीकबाट

Oct 19, 2008

लिम्बुवानको चाड : बलिहाङ तङ्नाम

येहाङ लावती
यो बलिहाङ् तङ्नाम्लाई 'वालिङ्हाङ् तङ्नाम्' पनि भन्ने गरेको पाइन्छ । यो तङ्नाम (चाड) थेसेक्क्रो -कातिक) महिनामा 'लासिःक' (औँसी) को समय पारेर मानिन्छ । यो पर्वको विकासको बारेमा किरात लिम्बँ समाजमा यस्तो कथन पाइन्छ, 'उहिल्यै किरात देशमा 'बलिहाङ / वालिङहाङ' नामक अति नै प्रजाप्रेमी र शक्तिशाली किरात राजा थिए । आफ्ना देशभित्रका जनताका सारा दुःख सुखमा उनले साथ दिन्थे । देशलाई क्षेत्र क्षेत्रमा छुट्याई सम्पूर्ण जनताले खाना खाए नखाएको बुझी खाएको खबर दरबारमा नपुगेसम्म आफँ पनि खाना खाँदैनथे । यस कारण उनको प्रजाहरू उनीप्रति अति नै मोहित थिए । उनी त्रिकालदर्शी पनि थिए । एकदिन राजसभा बोलाएर आफ्ना मन्त्री, सल्लाहकार र देशवासीसम्मुख यसरी आफ्ना कुरा राखे, 'मानिस मरणशील प्राणी भएकाले एकदिन यो देहलाई छोडेर जानैपर्छ । मेरो पनि दिनगन्ती पुगिसक्यो, यो देहलाई त्याग गरी अब म स्वर्ग जाँदैछु, तिमीहरूले यो हाम्रो देशलाई हृदय समान सम्झी माया गर्नु, तिमीहरू एकै परिवार सम्झी माया ममताका साथ कहिल्यै पनि झगडा टण्टा नगरी मिलेर बस्नु, देशको उन्नति र प्रगतिको लागि एकै मतले दत्तचित्त भई काम गर्नु ।' देशवासीले यो कुरा सुनेपछि आँशु झार्दै एकै स्वरमा राजासँग विन्ती गर्न थाले 'महाराज १ हामीलाई छोडेर त्यसरी जान पाउँनु हुन्न । तपाईं यो देशमा नभएमा हामी जम्मै टुहुरा टुहुरी भई दुःख पाउछौँ' । देशवासीको एकै स्वरको यो विन्ती सुनेपछि राजाले पनि आँखाबाट आँशु झार्दै फेरि भन्न थाले- 'प्यारा देशवासी हो १ तिमीहरूको यो कारुणिक विन्ती सुनेपछि मेरो मुटु नै छियाछिया भयो । तर मैले के गर्नु ? तिमीहरूको माया लाग्दा लाग्दै पनि छाडेर जान म वाध्य छु । मलाई लिन काल आउनै लाग्यो, संसारिक नियम नै यस्तो छ, यसलाई रोकेर रोक्न सकिँदैन' भन्नासाथ राजदरबारमा 'हाःम्लाःक्वा' (रुवावासी) ले थर्कन थाल्यो । देशवासीले राजासँग फेरि विन्ती गर्न थाले 'महाराज १ यसको रोकथामको लागि अन्य केही उपाय पनि छ कि ? भएमा सो सुन्नपाए हामी आभारी हुन्छौँ र सो गर्न हामी तयार छौँ' ।
मन्त्री मण्डलका सदस्यलगायत देशवासीले पुनः गरेका उक्त बिन्ती सुनेपछि राजा फेरि बोल्न थाले 'मप्रति तिमीहरूको यति धेरै माया भएमा मेरो प्राण बच्न सक्ने एउटा उपाय त छ, त्यो तिमीहरूले गर्न सकेमा म बाँच्न पनि सक्छु' राजाको यो कुरा सुनेपछि देशवासी खुशीले गद्गद् हुँदै फेरि बोल्न थाले 'महाराज! तपाईंको जीवन रक्षाको लागि हामी जे पनि गर्न तयार छौँ, विधिको जानकारी पाउँ' । यो विन्ती सुनेपछि राजा फेरि बोल्न थाले 'त्यसो भए यसबारेको विधि तिमीहरूलाई म सुनाउँछु सुन है थेसेक्क्रो -कातिक) महिनाको औँसीको अध्यारो रात पारेर कालले मलाई लिन आउनै लागेको छ । यहाँछेउ आई पुग्नासाथ म बेहोस भई आफ्ना शयन कक्षमा लडिहाल्छु, त्यसभन्दा अगाडि नै तिमीहरूले प्रत्येक घरलाई लिपपोत सफा गरी घरघरमा बत्ती बाली खुवै उज्यालो बनाउनु र मेरो प्राण रक्षाको लागि तागेञँरा निङ्वाफुमाङको अटुट प्रार्थना गर्नु । यो खवर देशभरका घरघरमा पुर्‍याई एक आपसमा सहयोगी भई सम्पूर्णले यो काम गर्न सक्यौ भने काल फर्केर जानेछ र म कालको पञ्जामा नपरी अवश्य पनि फुत्कन सक्नेछु' । राजाको यो कुरा सुनेपछि उपस्थित सबै खुशी भई 'महाराज ! यो काम गर्न हामी तयार छौँ' भनी एकै स्वरमा सबै कराए ।
राजाबाट उक्त आदेश हुनासाथ सो आदेश घरघरमा पुर्‍याउन देशवासीहरू हँलका हँल भई 'फा-सिङ्म्रो/ फा-सिङ्मारो' -यो आपतमा सहयोग गरागर गरौँ है) भन्दै राजाबाट हुकुम भएको विधि बताउदै घरघर, गाउँगाउँमा गए । हुकुमअनुसार आफ्ना पितातुल्य प्यारा राजाको प्राण रक्षाको लागि प्रत्येक घरमा सरसफाई गरी झिलिमिली बत्ती बाली प्रत्येकले तागेरा निङ्वाफुमाङसँग प्रार्थना गर्न सुरू गरे । उत्ता दरबारमा राजा वेहोस भई लडिहाले । 'फा-सिङम्रो' भन्दै राजदरबार लगायत देशभरका जनता प्रार्थना गर्दै रातभर कराइरहे, बिहानीको उषाको लालीसँगै राजाले आँखा खोली उठे । राजदरबारमा राजपरिवार, मन्त्री र सल्लाहकारलगायत उपस्थित सबैमा खुशीको आनन्दले सीमा नाघ्यो । राजा पूर्ण
रूपले होसमा आएपछि बोल्नथाले 'अब म पूर्ववत अवस्थाको होसमा आँए, यो खबर देश भरका जनताको घरघरमा पुर्‍याउँनु, देशवासीहरू सुर्ताएर बसेका होलान्' भनी उपस्थित सबैलाई आदेश दिए ।
उक्त आदेश राजाबाट पाउँने बितिकै मन्त्री मण्डलका सदस्य र सल्लाहकार तथा सामान्य जनतासमेत 'राजा पूर्ववत होसमा आयो है, 'त्येञँअङसीरो' (राजा अबतार लिई आयो है) अब प्रार्थनामा मात्र एकाग्र भएर नवस उठ है, बिहान भयो बेलुकि भयो, 'नाम्लिङ्गेःत् / लालिङ्गेःत्' -घाम झुल्क्यो जुन झुल्क्यो) आदि भन्दै खुशीले नाच गान गर्दै हँलका हँल घरघरमा खबर पुर्‍याउँन गए । यसैलाई खस भाषामा पनि 'बलीराजको हुकुम हुँदा आएको हामी' भनी 'भैलो र द्यौसिरे' भनी खेल्ने चलन चलेको हो' भन्ने कथन छ । आफ्ना प्राणतुल्य प्यारो राजा पुनर्जीवित भएको खबर सुन्न पाएकोमा घरघरका मानिसहरू पनि खुशी भई यो शुभखवर पुर्‍याउन आउँनेलाई विभिन्न परिकारका 'पकवान' बनार्इर्र्खानदिँदै रूपैयाँ पैसा पनि दिन थाले । ती खबर दिन आउनेले पनि आफँले स्वागत सत्कार पाएकोमा खुशी भई विभिन्न किसिमका आशिर्वाद दिन थाले । राजालाई कालको मुखबाट बचाएको खुशीयालीमा हर्षवढाइ गर्दै पुनः देशभरि झिलिमिली बत्ती बाले । यो खुशीयालीमा विभिन्न पौष्टिक परिकार बनाई एक आपस्तमा बाँडी खान थाले । यसै खुशीयालीको सम्झनास्वरूप प्रत्येक 'थेसेक्रो' -कातिक) महिनामा पर्ने औँसीको समयमध्ये गणना गरेर निस्केको समयमा बलिहाङ राजाकै पालामा सालवसाल यो तङ्नाम् (चाड) मनाउन थाले र त्यसैको निरन्तरता दिँदै आज पनि यो चाड खासगरी दुइदिनसम्म किरात जातिले धुमधामसँग मनाउँछन्।
यो पर्व पहिलो दिन बलिराजाकै सम्झनामा र आफ्ना दीर्घायुको लागि घर आँगन सफागरी बत्ती बाली प्रार्थना गर्ने । दोश्रो दिन बत्ती बाली हर्षर्ढाई गर्ने र खुशीयाली मानि मिठा-मिठा पकवान बनार्इर्र्खाने साथै खुवाउने पनि गरिन्छ । सामान्य रूपले तेश्रो दिन पनि त्यसैगरी मनाइन्छ ।
मुन्धुमअनुसार 'चेली माइतीले फँल साटासाट गर्नु (आपस्तमा लगाउँनु) हुँदैन, लगाएमा 'चोःत्लुङ' (शिर) ढल्छ' भन्ने मान्यता छ, कारण फँललाई जोवनको प्रतीक पनि मानिन्छ । त्यसैले लिम्बँ जातिमा भाइ टीकाको चलन छैन । हाल आएर यो पर्वमा विभिन्न जाति उप-जातिको धार्मिक कथा र सांस्कृतिक पक्षहरू सम्मिश्रण हुन गएकाले यो चाडको नाम र मान्ने तरिकाहरू पनि विभिन्न हुन गएको देखिन्छ । जस्तै काग तिहार, कुकुर तिहार, गोवर्द्धन पँजा, गाई तिहार, भाइ तिहार आदि नामहरूलाई लिन सकिन्छ । यस अवस्थामा जगत्बहादुर जोशीले लेख्नुभएका यी शब्दहरू पनि सम्झना राख्नु पर्ने हुन आउँछ, उहाँ लेख्नुहुन्छ- "अनार्य राजा महाबलिको सहादत र उनको महान् बलिदानको सम्झानामा अनार्यहरूले ३ (तीन) दिनसम्म बत्ती बालेर दीपाबली मनाउने चलन चलाएका थिए । यस अनार्य संस्कृतिलाई कालान्तरमा आर्यहरूले पनि बलिराजाको आत्माको सम्मान गरेर आत्मसात् गरे ।"
सन्दर्भ सूची
१. इमानसिंह चेम्जोङ, किरात इतिहास र संस्कृति २०५१ पृष्ठ ८० नेपाली अनुवादक शेरबहादुर इङनाम, सालबाडी, झापा ।
२. ऐ ऐ पुष्ठ ८१
३. सम्पादक मण्डल, मेचीदेखि महाकाली (पूर्वाञ्चल भाग) २०३१ पृष्ठ ९९ सञ्चार मन्त्रालय, सँचना विभाग, काठमाडौँ ।
४. इमानसिंह चेम्जोङ, किरात मुन्धुम सन् १९६१ पृष्ठ ७१, ७२ राजेन्द्रराम पलनवा (चम्पारण) विहार-भारत ।
५. जगत्बहादुर जोशी, सयपत्री वर्ष३ वैशाख-मङ्सिर २०५४ पृष्ठ ८५ नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान काठमाडौँ ।
६. उक्त क्र.सं. ४ को लेखक र पुस्तक पृष्ठ ७१ ।

Oct 15, 2008

ग्यासट्राइटिस / ग्याष्ट्रिक रोग उपचार

डा केदार कर्माचार्य
पेटमा हुने रोगहरूमध्ये पाचनसम्बन्धी समस्या प्रमुख हो । उदर-प्रदाहलाई अंग्रेजीमा 'ग्यासट्राइटिस' भनिन्छ । सामान्य भाषामा यो समस्यालाई अधिकांश व्यक्तिले ग्याष्ट्रिक रोग भन्ने गरेको पाइन्छ । यसले प्रायःजसो हरेक क्षेत्रका मानिसलाई धेरै-थोरै सताइरहेको हुन्छ । सर्वेक्षण अनुसार प्रत्येक तीनजना मध्ये दुइजना यो समस्याबाट ग्रसित छन् । पाकस्थली भित्ताको म्युकसमेम्ब्रेन (श्लेष्मिक आवरण) बाट ग्याष्ट्रिक जुस (आमाशय रस) को उत्पादनले हाम्रो पाचनक्रियामा सहयोग पुर्‍याएको हुन्छ । जब म्युकसको उत्पादनमा ह्रास हुन्छ, त्यसबेला आमाशयबाट उत्पादित हाइड्रोक्लोरिक एसिड (उदर-उम्ल) को प्रत्यक्ष असरले श्लेष्मिक आवरणलाई सुरक्षित राख्न असमर्थ हुदा सुन्निने हुन्छ । यस्तो अवस्थालाई ग्यासट्राइटिस भनिन्छ । हाइड्रोक्लोरिक एसिडको पनि हाम्रो पाचनक्रियामा महत्त्वपूर्ण योगदान रहन्छ । हामीले खाएको खानासँग रहेका सूक्ष्म कीटाणुलाई नष्ट गरेर यसले खाना पचाउन सहयोग पुर्‍याउछ । आमाशयमा रहेका म्युसिन नामक पदार्थले आमाशयको आवरणलाई हाइड्रोक्लोरिक एसिडको पोलाइबाट बचाउछ ।
ग्यासट्राइटिसका प्रकार -1.एक्ट्यु (तिव्र) 2.क्रोनिक (दीर्घ)
ग्यासट्राइटिस हुनुका कारण
मुख्यतया अनियमित तथा असन्तुलित खानपिन, चिल्लो, पीरो, अमिलो, गरम मसला, तारे-भुटेको खाना, चिया, कफी आदि बढी सेवन गर्नु, जाड-रक्सी पिउनु, धूमपान गर्नु, लामो समयसम्म खाना नखाएर पाकस्थलीलाई खाली राख्नु, आवश्यकताभन्दा बढी खानु, पानी थोरै पिउनु, विभिन्न प्रकारका औषधी तथा रासायनिक पदार्थ सेवन गर्नु, शारीरिक श्रम नगर्नु, मानसिक तनावको स्थितिमा खाना खानु आदि ।
शरीरको स्नायुप्रणाली अर्न्तर्गत जिव्रोको टुप्पादेखि पाकस्थलीसम्म भेगर्सनर्भ नामक नसा फिजिएको छ । अमिलो, पीरो खादा, धूमपान गर्दा तथा मानसिक रूपले तनावग्रस्त रहदा यो नर्भ (नसा) मा उत्तेजना पैदा हुन्छ । फलस्वरूप पाकस्थलीमा हाइड्रोक्लोरिक एसिड बढी मात्रामा उत्पादन हुन्छ र यो खानानली हुदै घाटीसम्म पुगेर मुखमा समेत अमिलोपनको अनुभूतिसाथ पोल्न थाल्छ । यो स्थितिलाई चिकित्सा विज्ञानको भाषामा 'हार्टवर्न' भनिन्छ । पाकस्थलीमा 'हाइपर एसीडीटी' (अम्लपित्त) को अवस्थाले गर्दा यस्तो स्थिति सिर्जना हुन्छ ।
ग्यासट्राइटिसका लक्षण
पेट फुलेर पेटको कुना-काप्चा घोच्ने र दुख्ने ।
खानामा अरुचि हुने ।
वाकवाकी लाग्ने ।
अमिलो स्वादको वान्ता हुने ।
पेट, छाती तथा घाटी पोलेको अनुभूति हुने ।
पटक-पटक डकार आउने ।
मानसिक तनाव बढ्ने ।
शारीरिक अवस्था कमजोर हुने ।
यौनइच्छामा कमी हुने ।
ग्याष्ट्रिक अल्सर
यो अवस्था त्यसबखत हुन्छ, जब खानपिनमा सतर्कता नअपनाउदा अनियन्त्रित मात्रामा असन्तुलन हुन्छ । हाइड्रोक्लोरिक एसिडको नकारात्मक असरले गर्दा पाकस्थलीमा एसिडको मात्रा बढेर पोल्ने क्रिया पटक-पटक लामो समयसम्म भइरहदा तथा पेप्सिन नामक इन्जाइमभन्दा अम्ल बढी मात्रामा निष्काशनसाथ म्युसिनको कार्यक्षमतामा ह्रास हुदा अम्लको प्रत्यक्ष असरका कारण अन्ततः पाकस्थलीमा घाउ हुन्छ । यसलाई ग्याष्ट्रिक अल्सर भनिन्छ ।
अल्सरको लक्ष्ँण
खाना खानेबित्तिकै पेटको दुखाइमा वृद्धि हुने ।
वान्ता भएपछि दुखाइ कम हुने ।
वान्ता तथा दिसामा कफी
रङ्गको रगत क्रमशः हेमाटेमेसिस तथा मेलिना देखापर्छ ।
अम्लपित्त औषधी (एन्टासिड) खादा तथा दूध पिउदा तत्कालका लागि फाइदा हुने ।
रोकथाम तथा नियन्त्रण
यो रोग मुख्यतया असन्तुलित खानपानले गर्दा बढी देखापर्ने भएकाले यसप्रति बढी सतर्कता अपनाउनुपर्छ । बढी चिल्लो, अमिलो, पीरो, गरम मसलाको प्रयोग नगरी सन्तुलित भोजन नियमित खानुपर्छ । माछा, मासु र अन्डाको प्रयोग बढी गर्नु हुदैन । जाड-रक्सी, धूमपान तथा चिसो पेयपदार्थ सेवनमा नियन्त्रण गर्नुपर्छ । चिया, कफीजस्ता निकोटिनयुक्त पेयपदार्थ कम पिउनुपर्छ । लामो समयसम्म पेट खाली राख्नु हुदैन । मानसिक तथा शारीरिक तनाव भएको बेला खाना खानु हुदैन । चोकरसहितको गहुको रोटी, च्याख्ला, फलफूल, हरियो सागपातजस्ता क्षार (अल्कलाइन) प्रधान खाना खानुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । तर खाना खानु आधा घन्टा अघिपछि पानी पिउनु हुदैन । अन्यथा पाचनक्रियामा यसले नकारात्मक भूमिका खेल्छ । नियमित बिहान सबेरै भ्रमण गरेपश्चात हलुका व्यायाम वा योगासनको अभ्यास गर्दा उपयोगी हुन्छ । दूध, जाउलो तथा बढी मसला नभएको झोलिलो खाना र सुप प्रयोग गर्दा लाभप्रद हुन्छ ।
निदान
विशेषज्ञद्वारा विशेष प्रकारका नली पाकस्थलीसम्म घुसारेर इन्डोस्कोपी प्रक्रिया अपनाएर श्लेष्मिक आवरण सुन्निएको (ग्यासट्राइटिस) तथा घाउ (ग्याष्ट्रिक अल्सर) भए-नभएको टुङ्गो लगाउन सकिन्छ । वान्ता तथा दिसासँग निष्काशन भएका रगत (ओकल्ट ब्लड) लाई प्रयोगशालामा परीक्षण गरेर यकिन गर्न सकिन्छ ।
उपचार
ग्यास्ट्रोइन्टरोलोजिष्ट विशेषज्ञ वा चिकित्सकको परामर्शमा औषधोपचार गरिदा उपयोगी हुन्छ ।
लेखक - साढे पाच दशकदेखि स्वास्थ्योपचार क्षेत्रमा संलग्न छन् ।

कान्तिपुरबाट

Oct 6, 2008

किरात जाति, दसैँ र यथार्थता

मञ्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमनअगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ।

१. ऐतिहासिक तथ्य
क) रणबहादुर शाह र ५२ सुब्बाहरूः
पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए।
तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो।

ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ वदी ६ रोज शुभम्।
यो लिखतबाट दसैँको भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली थपिनुले (किरातहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ।
राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किरातका अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किरात प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएका थिए। उनीहरूले दसैँमा आआफ्नो रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए। वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किरातका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः- गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याएको प्रष्ट हुन्छ।

ग) राजेन्द्र विक्रम शाह र दसैँमा राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा टन्टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी टन्टा लगाउँदा ६२ सालदेखि टन्टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेखि थुमथुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम्।
वि. सं. १८४३ देखि १८६१ सालसम्म दसैँमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि दसैँको मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने टन्टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झन्झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो।

घ) लिम्बूवानमा तिलिङ्गा आतङ्कः
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किरात प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई आर्थिकदेखि शारीरिक दौड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।

ङ) दसैँ नमान्दा रिदामा र रामलीहाङ शहीद भएः

किरात प्रदेशमा दसैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा धनकुटाको पालो आयो। त्यसताका छथर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज गरी जमरा, टीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू - यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन।

२. धार्मिक तथ्यः
हिन्दूहरूको वेद, बौद्धहरूको धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको कुरान झैं किरातहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किरात धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महान्तामा गर्व गर्छन् र आआफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किरात प्रदेशमा दसैँ भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किरातहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ।

क) मुन्धुममा राम र रावणको कथा छैनः

हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ। हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।

ख) मुन्धुममा नव दुर्गा र महिषासुरको कथा छैनः
हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।

ग) (मुन्धुममा) दसैँ शब्दै छैनः
हामी किरातहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किरातहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ। यो दसैँ चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै हाइन भन्ने ऐतिहासिक एवम् धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किरात बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दसैँरूपी जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किरात भन्ने? यस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ ? यो दसैँया संस्कार मान्नेवित्तिकै किरातहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा छ। यसैले अबका जनजाति, आदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक, सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र स्वरूप दसैँया "विजया टीकालाई" निधार भरी टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो। उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर "शूद्र वर्गमा" नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न।
आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिवासी किरातहरूको थिदैथिएन, हुदैहोइन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाति, आदिवासी बन्धुहरूले बुझदिनु पर्‍यो, मनन् गरी दिनु पर्‍यो, प्रत्येक जनजाति, आदिबासीको घरदैलोमा सन्देश पुर्‍याउनु पर्‍यो।
१.माथि उल्लिखित अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रह, घृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्‍याउने भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ। मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँ, भन्छौँ पनि।
२.आफ्नो मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बुझ्ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ । आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्? यस कार्यले उनीहरूको असहिष्णुता, अमिलनसारिता र विखण्डनवादी नीति छर्लङ्गिगएन र?
३. परंपरादेखि हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको 'चासोक तङनाम' राईहरूको 'साकेला' याख्खाहरूको 'चासुवा' र सुनुवारहरूको 'फोलष्याँदर' मौलिक किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र ख48ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।
४. विभिन्न जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्चिममेली हिन्दूहरूले थप १ दिन छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूले 'छठपर्व' इस्लामहरूले 'इद पर्व' भोटे, सेर्पा, तामाङ, गुरुङहरूले 'ल्होसार पर्व' मनाउन १/१ दिन विदा पाएजस्तै हामी किरात धर्मावलम्बीहरूले पनि किरात चाड अर्थात लिम्बूहरूले चासोक तङनाम मनाउनु मङ्सिर पूर्णिमाको दिन १ दिन विदा पाएका छौँ।
५. माल पाएपछि चाल पाउन सक्नु पर्छ। अधिकार पाए पछि त्यसको सदुपयोग पनि गर्न सक्नु पर्छ। अर्काको अधिकार लाई सम्मान गरेर मात्र आफ्नो अधिकारको प्रयोग गर्नु पर्छ। अतः यस देशका सवै धर्मावलम्बीहरूसँग सद्भाव राखेर हाम्रो चाडलाई हामीले भब्यताका साथ मनाएर यसलाई निरन्तरता दिन सकेनौँ भने हामी कालान्तरमा पुनः परधर्मावलम्बीहरूको अतिक्रमण वा प्रभावमा पर्न सक्छौँ। वितेका अनुभव र व्यवहारबाट हामीले शिक्षा लिन सक्नु पर्छ। यदि यस्ता कुरामा होसियार भएनौँ भने हिन्दू धर्मावलम्बीहरूले गैर हिन्दू शिवलाई देवाधिदेव, महादेव आदि र अर्का गैरहिन्दू बुद्धलाई हिन्दू धर्मका नवौँ अवतार भनी हिन्दूकरण गर्न खोजिए जस्तै हाम्रो किरात चाडलाई पनि "नामाकरण मात्र लिम्बू भाषामा चासोक तङनाम भनिएको हो वास्तवमा न्वागीपूजा पनि हाम्रै हिन्दू चाड हो" भनी यो चाड अर्थात किरात चाड 'चासोक तङ्नाम'लाई पनि हिन्दूकरण गरिनु बेर छैन।
हाम्रो काम हामी आफैले गर्नुपर्छ। अरूले गरिदिँदैन। गरेर पनि हुँदै्न। भाषा, धर्म, संस्कृति भनेको जातीय अस्तित्व हो। यो लोप भएपछि जाति स्वतः अस्तित्वहीन हुन्छ। अतः जसरी हामीले हाम्रो धर्मग्रन्थ मुन्धुम र ऐतिहासिक तथ्यलाई खोतलेर दसैँ चाड हाम्रो थिँदै थिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगेर हिन्दू मात्रको चाड दसैँलाई मान्न छोड्दै आयौँ, त्यसरी नै अव हाम्रो मौलिक मुख्य चाड चासोक तङ्नाम हो भनी मान्यतासमेत पाइसकेपछि यसलाई निरन्तरता दिने अभियानमा अहम भूमिका खेल्दै अघि बढ्यौँ भने मात्र हाम्रो महान् चाडलाई बचाउन सक्छौँ। चारै किरात संस्थाहरूको अथक प्रयासले यो मौलिक चाडलाई सरकारी मान्यता दिलाएपछि अव यसलाई हरप्रयासबाट बचाइराख्न हामी सम्पूर्ण किरातहरूको परम कर्तव्य भएकोले हाम्रो चासोक तङनामलाई मङ्सिर पूर्णेको त्रयोदशी, चर्तुदशी र पूर्णेसम्म तीन दिन प्रत्येक वर्ष भव्यताको साथ मनाऔँ भनी सम्पूर्ण याक्थुङ बन्धुहरूमा हार्दिक निवेदन गर्दछु। किनभने हाम्रो सानो दुःखले मान्यता दिलाइएको चासोक तङनाम होइन्, सबै लिम्बूहरूलाई चेतना भया। समयमै बुद्धिविवेक पुर्‍याऔँ। पछि न्याउरी मारी पछुतो नपरोस्।
(किरात याक्थुङ चुम्लुङका भूपू केन्द्रीय अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार श्री मञ्जुल याक्थुम्बाद्वारा लिखित यो लेख 'दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन' भन्ने शीर्षकमा यसअघि तान्छोप्पा र पालाम पत्रिकाहरूमा प्रकाशित भइसकेको भए पनि यसका केही तथ्यगत सान्दर्भिकतालाई ध्यानमा राखेर सामान्य सम्पादनसहित पुनः प्रकाशित गरिएको छ - सम्पादक)

Oct 2, 2008

चक्का जानले विथोलेको नेपाल यात्रा

टंक सम्वाहाम्फे
गत जुलाई ५,२००८ शनिवारका दिन एक वर्षअगाडी देखि वनाएको योजनाको फत्ते हुने दिन थियो र भयो पनि । त्यो योजना ३ वर्षपछिको नेपाल यात्रा अथवा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो यात्रा । साथमा संलग्न थिए जिवन संगीनी कमला,सालो इन्द्र र छोरा विश्वास । गाउँघर र परिवारको सम्झनाले हङकङबाट उता नेपालमा जाउँ जाउँ लागे पनि समयले ३ वर्षको फड्को मारीदियो । तिन वर्ष अगाडी नेपाललाई माओवादी जनयुद्घले आक्रान्त पारेको थियो तर यसपाली भने म निक्कै ढुक्क थिए । किनभने माओवादीहरु शान्तिपूर्ण तरिकाले सहमतिको राजनितीक सहतमा उत्रेर संविधानसभाको चुनावमा समेत सवै भन्दा ठुलो दलको रुपमा अवतर तथा स्थापित भैसकेको थियो । त्यसैले शान्तिसुरक्षाको लागि मैले वा मेरो परिवारजनले गम्भिर रुपले सोच्नु पर्ने वा चिन्ता लिनु पर्ने स्थिती थिएन । तै पनि मन मधेशको हिंसात्मक आन्दोलनले गर्दा कता कता नकुडिएको होईन । किनकी पहाड गाउँ सम्म पुग्नको लागि त्यहि मधेशको बाटो हुदै जानु पर्ने हुन्छ । तर सर्वत्र शान्ति छाएको अनुभूतिले ति कुराहरु गौण भएर गए । २४० वर्षसम्म शासन सत्तामा रहेको शाही शासनको अन्तसंगै नयाँ नेपालको उदयले हामी सवै सपरिवार निर्धक्क आफन्ताहरु भेट्न देशतिर हुइकिएका हौं । तिन वर्ष अगाडी नेपाल जादा यति सहज रुपले यात्रा तय भएन किनभने त्यसवेला हत्या आतङ्क व्याप्त थियो । त्यसैले हरेक प्रकारको जोखिम वहन गर्नुपर्थ्यो साथै अनेकौ प्रकारको मानसिक पीडा लिएर जानु पर्थ्यो । हङकङ जस्तो शान्तिमय शहरमा वस्दा सधै नेपालमा यस्तै शान्ति छाईदिए चाईनिजहरुको गुलाम गर्नु भन्दा सदा सदा लागि आफ्नै मुलुकमा सानोतिनो ब्यापार ब्यावसाय वा खेतिपाती नै गरेर भए पनि जिवनयापन गर्ने विचारहरु मनभरी चल्मलाउँथ्यो । यस्तो इच्छा सायद मेरो मात्र नभएर सारा विदेशीएका नेपालीहरुमा उम्लिएर आउँछ होला । राजनैतिक परिवर्तनले नेपालमा नसोचेको शान्ति मौलायो तव स्वदेश तथा विदेश वस्ने सारा नेपालीहरुको मनोकांक्ष पुरा भयो । फलस्वरुप हरेक नेपालीको मनमा मुटुमा शान्ति पौलाउँदै गयो लहराउँदै गयो । दशकौ सम्म द्वन्दको पीडा ब्यहोर्नु पर्दा लाग्थ्यो श्रीलङ्काले झैं अरु धेरै युद्घ लड्दै जानुपर्ने हो कि ? जस्तै लागेको थियो तर कारणवस भनौ वा नेपालीको भाग्यवस त्यसको विपरीत शान्ति नै छाएकोले हामी नेपालीको अहोभाग्य उदाएको सम्झनुपर्छ । झण्डै १५ हजारको वरिपरि नेपाली जनताले नयाँ नेपालको लागि ज्यान अर्पिए भन्दा अत्युक्ति नहोला । किनभने सरकारी प्रतिवेदनले १२ देखि १३ हजार विचको मृतक संख्या सार्वजानिक गरेको थियो । त्यसपछि कति घाईतेहरु विते त कति सरकारी प्रतिवेदनमा समावेश नै भएनन् होला त्यसैले मैले मेरै अन्दाजी प्रतिवेदनमा १५ हजारको मृतक संख्या प्रस्तुत गरेको हुँ । यसमा विस्थापित र प्रताडितको कुरा त वाँकी नै छ । आशा छ नयाँ नेपालको नयाँ सरकारले ती सवै समस्याहरुको समाधान गर्दै जानेछ भन्ने कुरामा हामी सवै नेपाली आशावादी हुनुपर्छ । द्वन्द पछिको शान्ति प्रकृया अझै पनि संस्थागत गर्न वाँकी नै छ । किनभने हालसालै भएको संविधानसभाको चुनावले नयाँ सम्विधान वनाउँने तयारी मात्रै तय गरिरहेछ । सम्विधान निर्माण गरेर लागु गर्न केहि समय कुर्नै पर्ने हुन्छ । तसर्थ हामीले आशा गर्ने ठाउँ र समय पुरै भविष्यको गर्भ भित्र रहेको छ । मानिसको मन मिले र गर्न चाहेमा के हुदैन रहेछ र ? हिजो कस्ले सोचेको थियो ? नेपालका यति चाडै शाही शासनको अन्त हुन्छ भनेर । भन्नेहरु त भन्दै थिए शाही शासन अझै सय वर्षसम्म रहन्छ भनेर । तर आज त्यो मिथ्या भएर गयो अथवा इतिहासमा परिणत भएर गयो । साथै माओवादी द्वन्द पनि यति चाडै ब्यवस्थापन होला भनेर कसैले सोचेका थिएनन् । वास्तवमा ती सवै समयले जुराउँदै ल्यायो र त अहिले पुरानो नेपालबाट नयाँ नेपालको शुरुआत भएको छ । यस्तै विभिन्न कुराहरु मनमा खेलाउँदा खेलाउँदै नेपाल वायुसेवा निगमबाट साँझ १० बजे थाहै नपाई नयाँ नेपालको राजधानी काठमाडौ पो टेक्न पुगीएछ । पोका पन्तुरा निकाल्न पनि शाहि शासनको जस्तै कुनै झन्झट भएन लाग्यो अध्यागमन विभागमा पनि लोकतन्त्र आएछ । ससुरालीमा वास वस्न सपरिवार ट्याक्सी लिएर हुइकियौं । भोलिपल्टको विहानीसंगै आँखा खोल्दा नयाँ नेपालको राजधानीको दृश्यले एक्कासी अङ्गालो हाल्यो । चारैतिर आँखा डुलाए तव लाग्यो काठमाडौले अलि प्रगति गरेछ जताभावी घरहरु बाक्ल्याएर । तर सडक त्यस्तै जिर्ण थियो ३ वर्षअगाडी जस्तो मैले देखेको थिए । त्यहाँ सरसफाई थिएन फोहोर मैला डंगुर थुप्रिएका थिए अझै पनि छ । विजुली वत्ति त्यस्तै ४ घण्टा जस्तो आउथ्यो त्यो पनि अहिले लोडसेटिङ्ग बढेर समय घट्यो होला । वेरोजगार ,आम हड्ताल, चक्का जाम आदि आदि । काठमाडौ छोडेर विराटनगर हुदै धरान पुग्दा पहिलो पटक चक्का जामले स्वागत गर्‍यो । त्यसलाई लुक्दै छेल्दै जेनतेन गाउँ पुगीयो । गाउँको एक हप्ते वसाईमा साउने दायी सम्म भ्याएर पोखराको सम्मको यात्रा तय गरियो । वुढेस लागेका वुवाआमाको डुल्ने इच्छा पुरा गर्न सपरिवारै त्यतातिर मोडिएका हौं । आफ्नो हङकङको वसाइ फेरि फेरि मौका मिल्ला कि नमिल्ला भनेर हामी पनि त्यता जान हौसियौ । तर इटहरीको जक्का जामले विथोलेर विराटनगर देखि काठमाडौको उडान नै छुट्यो जस्ले गर्दा विराटनगरमा एकरात विताउँन वाध्य हुनु पर्‍यो । काठमाडौ पुगे पछि अचानक वृद्घ वुवाआमाको स्वास्थ्यमा खरावी आयो । तै पनि पोखरा डुल्ने वहाहरुको इच्छा मरेन । अन्तत स्वस्थ्य खरावीको वावजूद पनि पोखरा प्रस्थान गरियो । फर्कदा अचानक मुङलीन वजारको चक्का जामले झण्डै त्यतै वास वसायो । चक्का जामसंग जुझ्दै छलिदै पोखराको यात्रालाई काठमाडौमा ल्याएर टुङग्यायौ । केहि दिनको आराम पाश्चात वुवाआमालाई गाउँ फिर्ता पठाए पछि म काठमाडौको ब्यक्तिगत भेटघाट र कामकाजको लागि पौठेचोरी खेल्न थाले चक्का जामसंग । तेल अभावसंगै गुडेका गाडीहरुमा कहिले घेप्टीएर,चेप्टिएर,नेप्टिएर कहिले हुटमा वसेर यात्रा गर्नुपर्थ्यो। किनकी नेपालमा प्राय दिनहुँ जस्तो चक्का जाम हुने गर्थ्यो र अहिले पनि हुदैछ । कहिले कहि विहान काममा जाँदा चक्का जान हुदैनथ्यो साँझ घर फिर्दा चक्का जाम हुन्छ फसाद परेन त ? पैशा भएर पनि घर पुग्न नसकिने स्थिति सिर्जना भैदिन्थ्यो । हिडेर जाउँ पुग्न सकिन्न वास वसौ भएन हरिविजोगमा परिन्थ्यो । रुनु न हाँस्नु भईन्थ्यो । चक्का जाम त हाम्रो देशको संस्कार नै भैसक्यो । सरकारले पनि चक्का जाम नगरे सम्म कान हल्लाउँदैन जनता त जनतै भैगए । हरेक पार्टी समूहले आफ्नो माग पुरा गर्ने माध्यमै वनेको छ चक्का जाम । तर चक्का जामले नेपालको अर्थतन्त्रमा कति घाटा पुर्‍याएको छ भन्ने कुरा न त जनतालाई मतलव छ न त कुर्सी आसीन नेतालाई नै । घाटा त सवैलाई छ देशलाई छ । यहि तरिकाले निरन्तर नेपालमा चक्का जाम भैरहने हो भने नयाँ नेपाल केवल नाम मात्रको नयाँ नेपाल हुन के वेर ? किनकी चक्का जाम नै नेपाली अर्थतन्त्रको मुल वाधक हो । अर्थतन्त्र देशको मेरुदण्ड हो जहाँ मेरुदण्ड नै भाचिए पछि देशले कसरी विकास गर्न सक्छ ? यदि देशलाई विकास पथतिर लैजानु छ भने कडा भन्दा कडा कानुन वनाएर चक्का जामलाई तुरुन्त रोक्नु आवश्यक छ । यसरी चक्का जामसंग लड्दै,जुझ्दै वस्नु पर्दा केहि दिन नेपाल वसौं भन्ने मानसिकता पनि छोटिएर गयो । आफ्नै देशमा वस्नको लागि यति सास्ति खप्नु परे पछि मनहरु खिन्न भएर गयो । नेपालमा शान्ति स्थापना भए पाश्चात जे जति रमाईलो हुन्छ वा गरिन्छ भनेर सोचेको थिए त्यो चक्का जामले विथोलि दियो । चाहेर पनि भनेको ठाउँमा पुग्न सकिएन भेट्न खोजेको मान्छेलाई भेट्न सकिएन समग्रमा त्यसले लक्ष्यमा तगारो हाल्ने काम गर्‍यो । कष्टपूर्ण नै भए पनि नेपालमा शान्ति स्थापनाको संक्रामणकालिन भएकोले त्यति निराश हुनु पर्ने स्थिती त देख्दिन । किनभने सुविधा सम्पन्न शहर हङकङमा वसिएकोले होला ती पक्कै पनि नराम्रा र अप्ठ्यारा लागेका हुन् । हङकङ फर्कदा माथि हवाई जहाजवाट काठमाडौलाई नियाल्दै सोचे "हरे नेपालमा यो चक्का जाम हटि दिए कति राम्रो हुन्थ्यो । " हङकङ आएको पछिल्लो दिन म निक्कै डराए किनभने चक्का जाममा पो परिने हो कि भनेर ? यसो बाहिर निस्केको त हङकङ पो रहेछ । मलाई त नेपालको चक्का जामको ह्याङ्गओभरले पो छोडेको थिएन रहेछ । यहाँ त ट्राफिक जामको रातो वत्ति वले वाहेक चक्का जाम नै हुदैन । कति मजा कति शान्ति कति आनन्द हङकङ यस्तै भै दिए कति राम्रो हुन्थ्यो हाम्रो नेपाल ।