Sep 18, 2010

उपराष्ट्रपति झाका स्वकीय सचिव राजेश पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ असोज : प्रहरीले राज्यविरुद्धको अपराध गरेको आरोपमा प्रहरीले मधेसवाणी साप्ताहिकका प्रकाशक एवं सम्पादक राजेश अहिराज झालाई पक्राउ गरेको छ । तराईमा भूमिगत सशस्त्र संघर्षरत संगठनमा आबद्ध भएको आरोपमा उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार मधेसवाणी साप्तहिकमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लागि नौ पदमा सैन्य भर्नासम्बन्धी विज्ञापन शुक्रबार प्रकाशित गरेको आरोपमा झालाई पक्राउ गरिएको हो ।
'राजन मुक्तिको नामबाट प्रकाशित सैन्य भर्नासम्बन्धी विज्ञापन मुलुकको राष्ट्रिय सार्वभौमसत्ता, एकता र अखण्डता एवं वर्तमान संक्रमणकालीन परिस्थितिमा शान्तिप्रक्रियासमेतका लागि प्रतिकूल हुन सक्ने' भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । शुक्रबार प्रकाशित मधेसवाणीमा मोर्चाले विभिन्न पदमा १६ एक सय ४५ जनाका लागि सैन्य भर्ना आह्वान गरेको विज्ञापन प्रकाशित गरिएको थियो ।
पक्राउ परेका राजेशमाथि राज्यद्रोहको अभियोगमा मुद्दा चलाइने महानगरिय परिसर काठमाडौंका एसपी रमेश खरेलले बताए । प्रहरीले हनुमानस्थान मन्दिरनजिक रहेको सो साप्ताहिकको कार्यालयमा छापा मारेर कम्प्युटर सिपिओ चारथान, ल्यापटप एकथान, पेनड्राइभ एक थान बरामद गरेको छ । रौतहट संग्रामपुर-४ स्थायी घर भएका राजेश उपराष्ट्रपति झाका स्वकीय सचिवालय सम्बद्ध हुन् । तर, उपराष्ट्रपतिका स्वकीय सचिव बताउने कृष्ण झाले आफू मात्र स्वकीय सचिव रहेको दाबी गरेका छन् । उनले भने, 'म मात्र हो, स्वकीय सचिव ।'

No comments: