Sep 18, 2010

कङ्ग्रेसको १२ औँ महाधिवेशनमा ३६१ जनाले मनोनयन दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २- नेपाली कङ्ग्रेसको १२ औँ महाधिवेशनमा विभिन्न पदका लागि ३ सय ६१ जनाले मनोनयन दर्ता गराएका छन्। महाधिवेशन निर्वाचन समितिका सदस्य केशव रिजालका अनुसार बिहान ८ देखि १२ बजेसम्मका लागि निर्धारण गरिएको उम्मेदवारी मनोनयन अवधिभरमा सभापतिका लागि तीन, महामन्त्रीका लागि तीन र कोषाध्यक्षका लागि दुई जनासहित सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो।
सभापतिका लागि पहिलो नम्बरमा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, दोस्रोमा नेता भीमबहादुर तामाङ र तेस्रोमा कार्यवाहक सभापति सुशील कोइरालाले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ। त्यसैगरी महामन्त्रीका लागि पहिलो नम्बरमा नरहरि आचार्य, दोस्रोमा विमलेन्द्र निधि र तेस्रोमा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका थिए भने कोषाध्यक्षका लागि पहिलोमा चित्रलेखा यादव र दोस्रोमा पद्मनारायण चौधरीले मनोनयन दर्ता गराए। पार्टी विधानअनुसार खुल्लातर्फको २५ जना केन्द्रीय सदस्यका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका उपसभापति रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ, महामन्त्री कुलबहादुर गुरुङ, सहमहामन्त्री अर्जुननरसिंह केसी तथा खुमबहादुर खड्का, डा रामशरण महत, चक्र बाँस्तोला र सुजाता कोइरालालगायतका प्रभावशाली नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएको रिजालले बताए। निर्वाचन आयोगले उम्मेदवारहरूको पहिलो नामावली आजै २ बजे प्रकाशित गर्नेछ भने उम्मेदवारीमाथिको दाबी विरोधको समय दिउँसो ३ बजेसम्मलाई तोकेको छ। दाबी विरोधपछि आयोगले आजै बेलुकी ५ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।यसपटक हरेक निर्वाचन क्षेत्रबाट दुई महिलासहित जनजाति, मधेसी, मुस्लिम गरी समावेशी सहभागिताका आधारमा मुलुकभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८० र भ्रातृ एवम् शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिबाट गरी कुल तीन हजार ८८ महाधिवेशन प्रतिनिधिले भाग लिएका छन्। महाधिवेशनले ८५ सदस्यीय नयाँ कार्यसमितिका लागि सभापति, महामन्त्री र एक कोषाध्यक्ष तथा ६१ सदस्य गरी ६४ पदाधिकारीको निर्वाचन हुने भएको छ।

No comments: