Sep 22, 2010

शब्दभोजमा रुमल्लिएको राजनीति

डा. टीकाराम पोखरेल
विचार पढ्दा, सुन्दा र भाषणको शैली हेर्दा यस्तो लाग्छ- यो देशमा भएका यावत् समस्या आजको आजै समाधान हुन्छन् ।सबैले आ-आफ्नो डम्फू बजाउनु स्वाभाविक हो । तर, आफूले बजाएको डम्फू नै सबैभन्दा राम्रो छ र सबैले राम्रो भनिदिनु पर्दछ, त्यो भन्न नसक्ने सबै प्रतिगामी हुन्, आफूचाहिँ अग्रगामी भन्ने रोग अहिले नेपाली राजनीतिको विशेषता बनेको छ । हरेक पार्टी, पार्टीका नेता र राजनीतिक विश्लेषकहरू सबै आ-आफ्नै कामगराइ, भूमिका र तर्क ठीक भएको अरूको चाहिँ सबै बेकामे भएको तर्क गर्ने गर्दछन् । टेलिभिजनका स्त्रिन, रेडियोका तरंग र पत्रपत्रिकाका पानाहरूमा जताततै पार्टीका विचार, नेताका बोली र राजनीतिक विश्लेषकका विचारहरू बग्रेल्ती छरिएका देखिन्छन् । विचार पढ्दा, सुन्दा र भाषणको शैली हेर्दा यस्तो लाग्छ- यो देशमा भएका यावत् समस्या आजको आजै समाधान हुन्छन् ।
तर, व्यावहारिक पक्ष हेर्दाचाहिँ बोलाइ र गराइमा आकाश-जमिनको फरक छ । देश कामचलाउ प्रधानमन्त्रीको भरमा चलेको छ । ६०१ जनाको जम्बो संसद्ले समेत ३/३ महिनासम्म देशको प्रधानमन्त्री चुन्न सकेको छैन । प्रधानमन्त्रीको चुनावका लागि जम्बोसभामा ६०१ जना पटकपटक जम्मा हुने क्रम जारी छ । पूर्वनिर्धारित खटनपटनअनुसार केही सभासद् चर्का शब्द ओकल्छन्, विवेकलाई बन्धक राखेर भाषण गर्छन् । बाँकीले अरूका शब्द सुन्छन् । अनि, अन्त्यमा प्रधानमन्त्रीको चुनाव हुन्छ, हात लाग्योचाहिँ शून्य । उपलब्धिचाहिँ शब्दभोजमात्र हुन्छ ।
देशको राजनीतिक निकासका लागि बैठक बसेको भन्दै विभिन्न दलका नेताहरू सहमतिको नाममा भोज खान्छन् । भोजपछि टेलिभिजनका स्त्रिmनहरूमा दिल खोलेर हाँसेका देखिन्छन्, रमाएका देखिन्छन् । हाँसो र मनोरञ्जन हेर्दा सहमति भै नै सकेको भान हुन्छ, तर निकास पख्र्यो, हात लाग्योचाहिँ फेरि शून्य हुन्छ । त्यसो भए नेताहरूबीचको भेटवार्ताको उपलब्धि के भयो त ? भनेर मनन गर्‍यो भने भेटवार्तामा संलग्न नेताहरूको डिनरभोज हुन्छ र जनताका लागिचाहिँ मात्र उही शब्दभोज । जनतालाई सुशासनको सहभोज खुवाउनुको सट्टा आफैँ सहमतिभोज खाइरहने अनि देशलाई चाहिँ सधैँ अनिर्णयको बन्दी बनाइरहने हो भने अब जनताले नेताको शब्दजालबाट भ्रम मुक्त हुनै पर्ने हुन्छ ।
यतिवेला राजनीतिक दलका केही नेताहरूको शब्दजालमा नेपाली राजनीति दिशाहीन बनेको छ । नेताले पयाँकेका शब्दजालहरू यस्ता छन्, ती शब्दजाल सुन्दा देश तुरुन्तै रामराज्यमा परिणत भै नै सक्यो जस्तो लाग्छ । एउटा पार्टीको कुरा सुन्दा उही ठीक र अर्को पार्टीको कुरा सुन्दा त्यही ठीक जस्तो लाग्छ । ऊ हेर्दा उही ठीक र अर्को हेर्दा अर्कै ठीक लाग्ने तर देशको समस्याले चाहिँ कहिल्यै निकास नपाएको देख्दा आमजनताको दिमाग रिंगिएको छ ।
देशले नयाँ प्रधानमन्त्री चुन्ने निर्वाचनमा प्रधानमन्त्री चुन्न नसकेर आठआठ पटकको चुनावले विश्वरेकर्ड कायम गर्दै छ । नढाँटी भन्दा आमजनतालाई को व्यक्ति प्रधानमन्त्री बन्छ ? भन्ने कुरासँग कुनै सरोकार छैन । जनतालाई मात्र राजनीतिक स्थिरता, शान्ति र सुशासनसँग सरोकार छ । तर, राजनीतिक स्थिरता कायम गर्ने, शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने र सुशासन कायम गर्ने कुरामा यतिवेलाका कुनै पनि राजनीतिक शक्तिको ध्यान गएको छैन । आफू पाँचतारे होटलका डिनरभोज खाने र जनतालाई चाहिँ शब्दभोजमा नै छक्याउने दौडधूप राजनीतिक दल र नेताहरूबीच चलिरहेको छ ।
जनता भनेका राज्यको सबैभन्दा ठूलो शक्ति हुन् । यस्तो शक्तिलाई शब्दभोज बर्साएर केही वर्ष, केही दिन र केही छिन्लाई त ढाँट्न सकिएला, तर त्यो दीर्घकालीन हुन सक्तैन । किनभने शब्दभोज सुन्दा मीठो भए पनि त्यसले जनताको पेट भरिँदैन, विचारमा परिवर्तन पनि आउँदैन । शब्दजालले त्यो जाल बिछ्याउने नेतालाई क्षणिक आत्मसन्तुष्टि प्राप्त होला, तर देशले केही उपलब्धि हासिल गर्दैन, हानी मात्र पुर्‍याउँछ ।
यतिवेला दलका कतिपय नेताहरू अराजनीतिक भाषा बोलिरहेका छन् । एउटा दलले अर्का दलको र एउटा नेताले अर्को नेताको मानमर्दन गरिरहेका छन् । एउटाको अमृतवाणी अर्काको लागि विषवाणी पनि हुन सक्तछ भन्ने कुरामा नेताहरूको पटक्कै ध्यान गएको छैन । सहमतिको भोज गर्ने नाममा जनतालाई झुक्याउन अनेकन् शब्दजाल बिछ्याइरहेका छन् । यस्तो व्यवहारबाट सबै राजनीतिक दलले आफूलाई सुधार गरेनन् भने जनताको सुशासनको सहभोज खाने आशा निराशामा परिणत हुनेछ ।
आजको एक्काइसौँ शताब्दीमा सबै ठाउँमा सेन्सरको जमाना छ । नेताहरूले जथाभावी बोल्नु र जनतासँग सधैँ झूटको खेती गरिरहनु सुखद् पटक्कै होइन । त्यसैले अब नेताले बोल्ने भाषा र शब्दमा पनि अब सेन्सर लगाउनुपर्ने भइसकेको छ ।
tikaram.pokharel@gmail.com

No comments: